प्रविधिसँगै सुनसान हुलाक कार्यालय, तर टिकट बिक्रीबाट ४६ लाख आम्दानी

विवेक खड्का   POSTED ON : आश्विन १, २०७८ (५:३२ AM)

प्रविधिसँगै सुनसान हुलाक कार्यालय, तर टिकट बिक्रीबाट ४६ लाख आम्दानी

दाङ । पछिल्लो समय प्रबिधिको विकाससँगै हुलाक कार्यालयमार्फत आदान-प्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ । एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउनका लागि इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो । व्यक्तिको नाममा दैनिक करिब १० प्रतिशत मात्र चिठीपत्र आउने गरेको जिल्ला हुलाक कार्यालय दाङका प्रमुख शोभाराम बस्नेतले जानकारी दिनुभयो । धेरैजसो सरकारी कार्यालयका चिठीपत्रहरू आदान–प्रदानको काम हुने उहाँकोे भनाइ छ । ९० प्रतिशत विभिन्न पत्र संघसंस्था तथा सरकारी कार्यालयका आउने गरेको उहाँ बताउनुहुन्छ ।

हाल दैनिक सरदर दुईसय चिठी आउने गर्दछन् । दाङका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्रहरू आउने उहाँले बताउनुभयो । अन्य चिठी आउन छोडे पनि हुलाकको काम भने घटेको छैन । प्रविधिको विकाससँगै नयाँ काम तथा क्षेत्राधिकार बढेको प्रमुख बस्नेतको भनाइ छ । हाल केही वर्षयता सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन तथा रिर्पोटिङ, प्रेस प्रतिनिधि प्रमाण पत्र र अनलाइन सञ्चारमाध्यम, छापा माध्यमहरूको लोक कल्याणकारी विज्ञापनको पैसा भुक्तानीको काम हुलाक कार्यालयले गर्ने जिम्मेवारी बढेको बस्नेतले जानकारी दिनुभयो ।

यी कार्यक्रमका लागि हुलाक कार्यालयले काम सुरु गरेको छ । योभन्दा अगाडि भने चिठीपत्र आदानप्रदान, बचत बैंक सेवा, रेडियोको नवीकरण सेवालगायतका सेवा सञ्चालन गर्दै आएको थियो । जिल्ला हुलाक कार्यालयले बचत बैंक सेवा संचालन गर्दै आएको छ । जसमा तीन करोड ३५ लाख पाँच हजार १९८ रुपैयाँ नगद जम्मा भएको छ भने दुई करोड ४६ लाख, ३५ हजार ९४५ रुपैयाँ भुक्तानी गरिएको छ ।

चिठी इन्क्वायरी सिष्टम

जिल्ला हुलाक कार्यालयले चिठी इन्क्वायरी सिष्टम लागू गरेको छ । यसले पठाएका चिठी हराउने समस्याको समाधान गर्नेछ । विगतमा पठाएका चिठी हराएको गुनासो धेरै आएकाले यस्तो सुविधा सुरु गरिएको हो । आर्थिक वर्ष २०७६ साउन महिनाबाट चिठी इन्क्वायरी सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय दाङले जनाएको छ ।

यो सिष्टमअन्तर्गत हुलाकमार्फत चिठी पठाएका व्यक्तिहरूले आफूले पठाएको पत्र कहाँ गयो कस्तो अवस्थामा छ भनेर घरमै बसेर जानकारी पाउन सक्नेछन् । कार्यालय प्रमुख बस्नेतले पोष्टल इन्टरनल टे«किङ सिष्टमबाट चिठीको अवस्थाको बारेमा थाहा पाउन सकिने जानकारी दिनुभयो ।

५७ लाख बढी राजस्व

जिल्ला हुलाक कार्यालय दाङमा ५७ लाख ७७ हजार ५१२ रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ । हुलाक टिकट बिक्रीबाट ४५ लाख ९९ हजार ४५५ रुपैयाँ, पार्सल भुक्तानी आम्दानीबाट ४८ हजार ८०६ रुपैयाँ, रेडियो रोयल्टीबाट ७१ हजार १३८ रुपैयाँ संकलन भएको कार्यालय प्रमुख शोभाराम बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, पत्रिका नवीकरणबाट एक हजार १०, पोष्टबक्स नवीकरणबाट तीन हजार, केवुल नवीकरणबाट २५ हजार रुपैयाँ, काउण्टर अटोमेसिन आम्दानी एक लाख ९९ हजार ५८५, केबुल रोयल्टीबाट ६ लाख ७८ हजार २८५, एफएम रेडियो इजाजत नवीकरणबाट चार हजार रुपैयाँ राजस्व संकलन भएको हो । यस्तै, घरबहाल आम्दानी एक लाख ४५ हजार २३४ रुपैयाँ, एफएम रेडियो लाइसेन्स नवीकरणबाट दुई हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो ।


Top