क्याम्पसको माग गर्दै विद्यार्थीहरू आक्रोशित

हिमालय टाइम्स   POSTED ON : आश्विन २, २०७८ (५:४१ AM)

क्याम्पसको माग गर्दै विद्यार्थीहरू आक्रोशित

दाङ । सबैतिर निजी तथा सामुदायिक विद्यालयहरूमा भौतिक उपस्थितिबीच पढाइ हुँदा विद्यार्थीहरू उत्साहित भइरहेको अवस्थामा दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेद चिकित्साको स्नातक तह बिएएमएस पढ्ने विद्यार्थीहरू भने आक्रोशित बनेका छन् । 

नजिकैका विद्यालयहरूमा साना बालबालिकाहरू भौतिक उपस्थितिबीच अध्ययन गरिरहँदा आयुर्वेद चिकित्सा शास्त्र अध्ययन गर्ने बिएएमएसका विद्यार्थीहरू भने विश्वविद्यालय प्रशासनप्रति आक्रोशित देखिएका छन् । उनीहरूले अघिल्लो बर्षकै माग दोहोर्‍याएर आन्दोलनमा आएको बताएका छन् । ‘हाम्रो अघिल्लै वर्षदेखिको माग हो कि हामीलाई हाम्रो क्याम्पस चाहियो, चिकित्सा शिक्षाजस्तो नितान्त प्रयोगात्मक शिक्षा अनलाइनमा मात्र सम्भव छैन’, आन्दोलनमा खटिएका बिएएमएसका एक विद्यार्थीले भने । कोरोनाको महामारीका बेला क्याम्पस भवन अस्पताललाई दिनु स्वाभाविक भए पनि अहिले यतिका महिनासम्म पनि आफूहरूको पढाइलाई बेवास्ता गरिनु विश्वविद्यालय प्रशासनको गैरजिम्मेवारीपन भएको उनीहरूको भनाइ छ ।

वरपरका विद्यालयहरूमा धमाधम भौतिक उपस्थितिबीच कक्षा चलिरहँदा आयुर्वेद चिकित्साशास्त्र अध्ययन गर्ने बिएएमएसका विद्यार्थीहरू कक्षा माग्दै रजिष्टारको कार्यकक्षमा ताला लगाउन बाध्य छन् । अन्य स्कुलका बसहरूले विद्यार्थीहरू बोकिरहँदा भारत सरकारले विद्यार्थी बोक्नका लागि अनुदानमा उपलब्ध गराएको नेसंवि केन्द्रीय आयुर्वेद विद्यापीठको बसले भने विश्वविद्यालयभरीका कर्मचारीलाई बोकिरहेको छ ।

लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस भवनमा अस्थायी रूपमा सञ्चालन गरेको कोरोना विशेष अस्पताल दुई वर्षसम्म पनि स्थायी रूपमा व्यवस्थापन हुन नसक्दा आयुर्वेद चिकित्सा अध्ययन गर्दै आएका करिब तीन सय विद्यार्थीहरू दुई वर्षदेखि क्याम्पस जान पाएका छैनन् । प्रयोगात्मक कक्षामा समेत उनीहरूलाई मुस्किल भएको छ । विद्यार्थीहरूले आफ्नो क्याम्पस माग्दै आन्दोलन थाल्दा उनीहरूको मागमा समर्थन जनाउने नेपाल संस्कृत विश्वविद्यालयका उच्च अधिकारीहरू नै आयुर्वेद चिकित्सा शिक्षालाई बेलझुण्डीबाट यो र त्यो बहानामा विस्थापित गर्न चाहेको विश्वविद्यालय सम्बद्ध एक अधिकारीले बताउनुभयो । 

‘केही संस्कृतका गुरुहरू नै किन हो कुन्नि नेसंविमा चल्दै आएको आयुर्वेद चिकित्सा शिक्षाप्रति सकारात्मक देखिनुहुन्न’, ती अधिकारीले भन्नुभयो । खासमा नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारीहरू नै गम्भीररूपमा प्रस्तुत नहुँदा तीन सय विद्यार्थीहरूको शिक्षा विगत दुई बर्षदेखि अन्योलको अवस्थामा छ । चार बर्षे बिएएमएस सात बर्षमा पनि पूरा हुन सक्ने अवस्थामा देखिँदैन । विद्यार्थीहरूले कोरोनाको संक्रमण न्यून हुँदै गएर अस्पतालमा बिरामीको संख्या अत्यन्तै न्यून भएको अवस्थामा अघिल्लो वर्ष पनि आफ्नो क्याम्पस माग गर्दै सडक आन्दोलनसमेत गरेका थिए ।

सडक अवरुद्ध गरेपछि तात्कालीन प्रमुख जिल्ला अधिकारी दलबलसहित बेलझुण्डी आएर बाटो खुलाउनुभएको थियो । यो वर्ष पनि कोरोना संक्रमण न्यून भएको अवस्थामा विद्यार्थीहरूले क्याम्पस प्रशासनसँग आफूहरूको भौतिक उपस्थितिबीच पढाइ हुनुपर्ने माग गरे । प्रशासनले सुनेन । अन्ततः उनीहरूले नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार माधव अधिकारीकै कार्यकक्षमा सोमबार एक घण्टा तालासमेत लगाए । बेलझुण्डी, हेमन्तपुर मात्र नभएर इलाका प्रहरी चौकीका सुरक्षाकर्मीहरू समेत बोलाउन बाध्य भयो, नेसंवि प्रशासन ।

तर, विद्यार्थीका समस्याका विषयमा विश्वविद्यालयका रजिष्टार भने हल्कारूपमा प्रस्तुत हुँदै आएका छन् । विद्यार्थीहरूको भौतिक रूपमा पठन–पाठन कहिलेदेखि हुन्छ ? हिमालय टाइम्सको प्रश्नमा रजिष्टार माधव अधिकारीले भन्नुभयो– ‘त्यो त क्याम्पसका प्राचार्यलाई सोध्नुस् ।’ जहिले टिचर जुट्छन् त्यहिले पढाइ सुरु हुने रजिष्टार अधिकारीको अभिव्यक्ति थियो । दुई बर्षदेखि पटक–पटक आन्दोलन भइरहँदा पनि रजिष्टार अधिकारीले दिएको यस्तो अभिव्यक्तिलाई विद्यार्थीहरूले पनि गम्भीरता नभएको अभिव्यक्तिका रूपमा लिएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयले अस्थायी कोरोना विशेष अस्पताललाई अन्यत्र व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग अर्थपूर्ण पहल गर्न सकेको छैन । विश्वविद्यालयका केही उच्च पदाधिकारीहरू अस्पताललाई त्यही राख्ने तर क्याम्पस र शिक्षण अस्पताललाई अन्तै विस्थापित गर्ने गृहकार्यमा रहेका छन् । विश्वविद्यालयका जिम्मेवार पदाधिकारीहरूले क्याम्पस भवन अन्तै बनाउनका लागि भन्दै अघिल्लो आर्थिक वर्ष प्रदेश सरकारसँग ८० लाख रूपैयाँ मागसमेत गरेपछि प्रदेश सरकारले आयुर्वेद क्याम्पस भवन बनाउनका लागि ५० लाख रुपैयाँ विश्वविद्यालयलाई उपलब्ध गराइसकेको छ ।

भवन कहाँ बनाउने भन्ने आन्तरिक कसरतमा विश्वविद्यालयका अधिकारीहरू लागिरहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयले निर्माण गरिसकेको संरचनाको स्वामित्व प्रदेश सरकारलाई सुम्पने अभ्याससमेत सुरु भएको विश्वविद्यालय स्रोतले बताएको छ । ‘क्याम्पस भवन विश्वविद्यालयमा फर्काउनका लागि गएको पाँच महिनामा शून्य प्रगति भएको छ, विद्यार्थीहरूलाई आन्दोलनमा होस्टेमा हैसे गर्नु खालि उच्च पदाधिकारीहरूको नाटक मात्रै हो’, ती अधिकारीले भन्नुभयो । विश्वविद्यालय आफ्नो भवनको स्वामित्वप्रति गम्भीर हुन्थ्यो भने अन्यत्रै क्याम्पस भवन बनाउनका लागि प्रदेश सरकारसँग पैसा लिनु उपयुक्त होइन । विश्वविद्यालयले प्रदेश सरकारलाई नै अस्पताल भवन बनाउनका लागि कुनै पनि उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउन सक्थ्यो ।

आयुर्वेद अध्ययन संस्थानका डिन प्राडा. सञ्जय पोख्रेलले विद्यार्थीहरूलाई क्याम्पस भवन हस्तान्तरणको अर्को विकल्प नरहेको भन्दै नेपाल संस्कृत विश्वविद्यालयका सबै पदाधिकारीहरूको अर्थपूर्ण पहलको आवश्यकता रहेको बताउनुभएको छ । ‘आजको छाक टर्‍यो, भोलि हेरौंला’ भन्ने प्रवृत्ति हावी हुँदा अस्थायी कोरोना विशेष अस्पताललाई अन्यत्र व्यवस्थापनमै आनाकानी भइरहेको पनि डिन पाख्रेलले बताउनुभयो ।

विद्यार्थीहरूको माग अत्यन्तै स्वाभाविक भएको भन्दै उपकुलपति लगायतका पदाधिकारीले अस्थायी कोरोना अस्पताललाई अन्तै व्यवस्थापनका लागि प्रदेश सरकारसँग अर्थपूर्ण पहल गर्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा कोरोनाको संक्रमण घटेर घोराही, लमही र तुलसीपुर अस्पतालमा गरी एक दर्जन पनि बिरामी भर्ना नभएको अवस्थामा एउटै स्थानमा कोरोना संक्रमितलाई उपचारहुने गरी दीर्घकालीन व्यवस्था गर्न पनि उहाँको आग्रह थियो ।


Top