बर्दियामा कांग्रेसको महाधिवेशन तयारी सुरु, जिल्ला सभापतिका लागि ६ जनाको दाबेदारी

दीपककुमार शर्मा   POSTED ON : आश्विन ३, २०७८ (५:०९ AM)

बर्दियामा कांग्रेसको महाधिवेशन तयारी सुरु, जिल्ला सभापतिका लागि ६ जनाको दाबेदारी

बर्दिया । बर्दियामा नेपाली कांग्रेसको अधिवेशनका लागि नेता तथा कार्यकर्ताहरूबीच  दौडधुप बाक्लिएको छ । असोज ५ गते हुने जिल्ला अधिवेशनको तयारी लगभग पूरा भएको छ । यसपटक बर्दियामा नेपाली कांग्रेसले करिब ६ हजार नयाँ क्रियाशील सदस्यता थपेको छ । योसहित बर्दियामा नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या करिब १३ हजार पुगेको छ । 

जिल्ला सभापतिका लागि सोदे विष्ट, जन्मजय तिमिल्सिना, पूर्वसचिवद्वय विद्याप्रसाद खनाल, तेजबहादुर भाट तथा पूर्वसभापति अरुण राठौर, जग्गाप्रसाद पाण्डेको नाम चर्चामा आएको छ । यसमध्ये अरुण राठौर दुईपटक पार्टी सभापति भइसक्नुभएको छ भने अन्यले पार्टीको नेतृत्व लिने मौका पाएका छैनन् । जन्मजय तिमिल्सिनाले २०४९ सालमा नेपाल विद्यार्थी संघ बर्दियाको उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष तथा नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ । नेतृत्व लिएर काम गर्न सक्ने क्षमता उहाँमा छ । 

हाल नेपाली कांग्रेसको महासमिति सदस्य तथा केन्द्रीय संगठन विभागका सदस्य रहनुभएका जन्मजय तिमिल्सिनाले कोभिड-१९ को महामारीको  अवस्थामा आफ्नो व्यक्तिगत पहलमा कोभिड स्वास्थ्य सामग्री तथा  बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्नुभएको थियो । सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउनुभएका तिमिल्सिनाको पल्ला भारी देखिन्छ । 

नेपाली कांग्रेसका कार्यकर्ताहरू विद्याप्रसाद खनालले खेमा परिवर्तन गर्नुभएका कारण उहाँको पनि पल्ला भारी भएको बताउँछन् । ‘तर, ठ्याकै भन्न नसकिने अवस्था रहेको छ,’ एक कार्यकर्ताले भन्नुभयो । त्यसो त तेजबहादुर भाटको पनि पल्ला भारी छ तर दुवैजना एउटै खेमाका हुनुभएका कारण अन्यले फाइदा लिने सम्भावना पनि कम नै रहेको छ । अरुण राठौर निर्वाचन नलडेको खण्डमा जन्मजय तिमिल्सिना, विद्याप्रसाद खनाल, सोदे विष्ट,  तेजबहादुर भाट तथा जग्गा पाण्डेबीच निकै कडा प्रतिस्पर्धा हुने कार्यकर्ताको अनुमान छ । विद्याप्रसाद खनाल देउवा खेमाका हुनुहुन्थ्यो तर अहिले रामचन्द्र पौडेलको खेमामा जानुभएको छ । त्यसमा वर्तमान सभापति सञ्जय गौतमको सहयोग हुने देखिन्छ । गौतम पौडेल खेमाको हुनुहुन्छ ।

उता राजनीतिमा लागेदेखि नै रामचन्द्र पौडेलको खेमामा रहनुभएका तेजबहादुर भाटको पनि पल्ला भारी देखिन्छ । यता अरुण राठौर देउवा खेमाका हुनुहुन्छ । नेपाली कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल सभापति भइसकेका व्यक्ति पुनः निर्वाचनमा उठ्न नपाउने भएका कारण वर्तमान सभापति सञ्जय गौतमले आफ्नो अनुकूलको व्यक्तिलाई सपोर्ट गर्ने प्रष्ट देखिन्छ । 

नेपाली कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यले वडा कार्यसमिति, क्षेत्रीय समिति चयन गर्नेछन् भने क्षेत्रीय प्रतिनिधिले नगर, प्रदेश तथा जिल्ला कार्यसमिति चयन गर्नेछन् । क्रियाशील सदस्यको संख्याअनुसार क्षेत्रीय प्रतिनिधि छनोट गरिने नियम रहेको छ । दुईवटा संघीय क्षेत्र रहेको बर्दियामा क्षेत्र नं. १ मा गंगाधर पौडेल र भुवनेश्वर चौधरीको नाम चर्चामा आएको छ भने क्षेत्र नं. २ मा कमलप्रसाद रेग्मी, रामचन्द्र थापा, दिपकजंग शाहको नाम चर्चामा आएको छ । अहिले क्षेत्र नं. १ मा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव र क्षेत्र नं. २ मा दिपकजंग शाह क्षेत्रीय सभापति रहनुभएको छ । 

आठवटा स्थानीय तह रहेको बर्दियामा ६ वटा नगरपालिका र दुईवटा गाउँपालिकामध्ये गुलरिया नगरपालिकामा राजकुमार यादव, अनुप यादव र सुधांशु शर्माको नाम नगर सभापतिका लागि चर्चामा आएको छ । बारबर्दिया नगरपालिकामा अमृत ढकाल र सुरेन्द्र बोहराको नाम आएको छ । यसैगरी गेरुवा गाउँपालिकाको अध्यक्षमा दरबारी थारु, प्रेम रावल र उमाकान्त धितालको नाम चर्चामा रहेको छ । ठाकुरबाबा नगरपालिकामा बीपी भण्डारी र पदम खड्काको नाम चर्चामा रहेको छ, राजापुर नगरपालिकामा धनिराम गिरी, महेश चौधरी र विष्णुप्रसाद थारुको नाम चर्चामा छ । यता, मधुवन नगरपालिकामा बलिराम थारु, अर्जुन केसी, लक्ष्मण पाण्डे  र प्रेमबहादुर गुरुङको नाम चर्चामा छ । बाँसगढी नगरपालिकामा बलिराम थारु र लोकप्रसाद शर्माको नाम चर्चामा छ । बढैयाताल गाउँपालिकाका लागि मानबहादुर बुढा र टुकराज घिमिरेको नाम चर्चामा छ । 

बारबर्दिया नगरपालिका नगर सभापतिका लागि पहिलोपटक उम्मेद्वारी घोषणा गर्नुभएका अमृत ढकालले सांगठनिकरूपमा अग्रजहरूको पार्टीका लागि लगानी गरेको हुँदा सो लगानीलाई मध्यनजर गर्दै सम्मानको स्थानमा राख्दै आन्तरिक मत अभिमतलाई सम्बोधन गर्दै प्रतिपक्षसँग सशक्तरूपमा लड्नका लागि आफूले नगर सभापतिको उम्मेद्वारी घोषणा गरेको बताउनुभयो । 

नयाँ क्रियाशील सदस्यता वितरण तथा पुरानो सदस्यता नवीकरणका विषयमा केही विवाद देखिएको थियो । विवादबीच ढिलो गरी नयाँ सदस्यता वितरण तथा नवीकरण भएको थियो । कांग्रेसको  १४ औं महाधिवेशनलाई सफल पार्नका लागि यसलाई पर्वका रूपमा लिन आग्रह गर्दै जिल्ला सचिव जीवन मल्लले एकता र सर्वसम्मतको महाधिवेशन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

सबै आ–आफ्नो तवरबाट जुटनुपर्ने बेला आएको बताउँदै सभापति पदका दाबेदार जन्मजय तिमिल्सिनाले आपसी सद्भावसहित स्वच्छ साथै मुस्कानसहितको प्रतिस्पर्धाका निम्ति सबै तयार हुनुपर्ने बताउनुभयो । पछिल्लोपटक नेपाली जनताले नेपाली कांग्रेसबाट धेरै अपेक्षा गरेको दाबी गर्दै तिमिल्सिनाले त्यो गरिमा कायम राख्नुपर्ने जिम्मेवारी पनि रहेको बताउनुभयो । 


Top