नेपाल कम्युनिष्ट पार्टी प्युठानका संस्थापक गुरुङको निधन

विमलप्रसाद पोख्रेल   POSTED ON : आश्विन ४, २०७८ (५:३९ AM)

नेपाल कम्युनिष्ट पार्टी प्युठानका संस्थापक गुरुङको निधन

प्युठान । नेपाल कम्युनिष्ट पार्टी प्युठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ । १०४ वर्षीय गुरुङको आइतबार बिहान निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उहाँको उपचारका क्रममा निधन भएको हो । 

विसं १९७५ साल भदौ २५ गते जन्मनुभएका गुरुङ नेपालका कम्युनिष्ट नेताहरूमध्यकै उमेरमा सबैभन्दा जेठा कम्युनिष्ट नेता हुनुहुन्थ्यो । प्युठानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा मुक्ति सेनाका कमाण्डर गुरुङ कम्युनिष्ट आन्दोलनका निष्ठावान नेताका रूपमा परिचित ब्यक्ति हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेका थिए । त्यसैगरी, प्युठानमा चलेको किसान आन्दोलनका चर्चित नेता हुनुहुन्थ्यो, गुरुङ ।

निष्ठावान कम्युनिष्टका रूपमा परिचित गुरुङ विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो । संविधान दिवसका अवसरमा गतवर्ष लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख) बाट गुरुङलाई सम्मानित गरेको थियो । 

विसं. २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी गुरुङ नेपाल कम्युनिष्ट पार्टी प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ सात जनामध्ये एक संस्थापक सदस्य हुनुहुन्थ्यो । खगुलाल २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो ।

Top