कृषकले तरकारीको उचित मूल्य पाएनन्

रामचन्द्र रायमाझी   POSTED ON : आश्विन ४, २०७८ (४:१७ PM)

कृषकले तरकारीको उचित मूल्य पाएनन्

पाल्पा । जिल्लामा कृषकले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन सकेको छैन । भारतीय बजारबाट आएको तरकारीले बजार ओगटेपछि यहाँका कृषकहरुले उत्पादन गरेको तरकारीले उचित मूल्य पाउन नसकेको हो ।

राम्रो बजार मूल्य पाउने आसमा बेमौसमी तरकारी खेतीमा हौसिएका पाल्पाको रिब्दीकोट र रैनादेवी छहराका किसान उत्पादनले उचित मूल्य र बजार नपाउँदा निरास बन्दै गएका छन् । रिब्दीकोट गाउँपालिका –७ पालुङमैनादी र रैनादेवीछहरा गाउँपालिका– ५ मुझुङ्गका ४ सय कृषकले यतिबेला टमाटर उत्पादन गरे पनि उचित मूल्य पाउन कसेको छैन् । यतिबेला यहाँका कृषकहरु उत्पादित टमाटर टिप्न, प्याकिङ्ग गर्न, बजारमा पठाउन सवारी साधनमा लोड अनलोड गर्न व्यवस्त छन् । विगतका वर्षहरुमा बेमौसमी टमाटर, सिमी, तिते करेलाबाट राम्रो आम्दानी गर्न सफल भएका पालुङ्गमैनादी र मुझुङ्गका ४ सय कृषक यति बेला व्याबसायिक तरकारी खेतीमा हौसिएका हुन । गत वर्षहरुमा गाउँघरमा बृद्ध, बृद्धा मात्र रहे पनि अहिले युवाहरु गाउँमै बसेर कृषि व्यवसायमा सक्रिय भएका छन् । कोभिड १९ को कारण स्वदेश तथा विदेशबाट फर्किएका युवाहरुको मुख्य आयश्रोत नै अहिले तरकारी खेती भएको छ । दुबै गाउँका ४ सय घरपरिवारले दुई रोपनीदेखी १० रोपनी क्षेत्रफलमा व्यावसायिक टमाटरसँगै तरकारी खेती गर्दै आएका छन् । कृषकको उत्पादन अध्याधिक रहेपनि उत्पादित तरकारीले विक्री मूल्य पाउन सकेको छैन । तरकारीको मूल्य उत्पादन लागत भन्दा तल झरेपछी कृषकहरु चिन्तित भएका छन् । पहिला उत्पादन कम थियो, भारतबाट बर्षायाममा तरकारी आउदैनथ्यो तर अहिले भारतीय बजारबाट आएको टमाटर र तरकारीले नेपाली बजार ओगटेपछि यहाँका कृषकहरुको उत्पादन बारीमै कुहिन थालेको छ । लाखौ रुपैयाँ कृषिमा लगानी गरियो, तर आम्दानी हजार भएपछी बैकल्पिक पेशा खोज्नुपर्ने अवस्था आएको पालुङ्ग मैनादीका अगुवा कृषक जगदीश कुवँरले बताउनुभयो ।

स्थानीय सरकारले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरे पनि प्रदेश तथा केन्द्रिय सरकारले कृषकको उत्पादन तथा बजारीकरणमा बेवास्ता गरेका कारण हामी जस्ता व्यावसायिक कृषकहरु जोखिममा परेको रिब्दीकोट गाउँपालिका– ७ पालुङ्गका कृषक ईन्द्रबहादुर कुवँरले बताउनुभयो । सरकारले कृषि पेशामा लाग्न विभिन्न कार्यक्रम लागु गरे पनि, उत्पादित बस्तुको न्यूनतमदेखि अधिकतम मूल्य निर्धारण र उत्पादित कृषि बस्तुको बजारको ग्यारेन्टी नगर्दासम्म नेपालका स–साना कृषकहरु कृषि पेशाबाट पलायन हुने पालुङ्गमैनादी कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका कुवँरले बताउनुभयो । विगतका वर्षहरुमा वर्खाको समयमा तराई तथा शहरी क्षेत्रमा पहाडको तरकारी तथा टमाटरले राम्रो बजार पाएपनि भारतबाट विना रोकतोक, विना चेक जाँच तरकारी भित्रिएपछी आफुहरुको मेहनत र लगानी डुवेको कृषक लुमबहादुर कुवँरले बताउनुभयो । गत वर्ष ७० देखी ९० रुपैयाँ प्रति केजी टमाटर विक्री गरेपनि यस वर्ष प्रति केजी २५ रुपैयाँमा विक्री गर्नुपर्दा आफुहरुको लागत पनि नउठ्ने कृषक कंवरको गुनासो छ । पालुङमैनादी र मुझुङ्गका कृषकहरुले दैनिक १० टन टमाटर विक्रीको लागि पोखरा, बुटवलका बजारमा पठाउने गरेका छन् । कृषकहरुलाई एकजुट बनाउन, प्राविधिक तथा विउ मलको व्यवस्थापन, उत्पादित वस्तुको बजारीकरणदेखी कृषकहरुलाई सचेतना लगायतका विषयमा पालुङमैनादी कृषि सहकारी संस्थाले सहयोग गर्दै आएको छ ।

स्थानीय सरकारले एक वडा एक उत्पादनमा आधारित रहेर काम गरेपछी उत्पादनमा वृद्धि भएको छ । हामी पहिला पकेट क्षेत्र बनाएर, विभिन्न योजना अनुसार ठाउँ विशेष उत्पादनमा जोड दियौं, तरकारी, टमाटर, सुन्तला लगायतका उत्पादनमा प्रति केजी ३ रुपैयाँसम्म अनुदान दिएका छौं, उत्पादन पकेट क्षेत्रमा कृषि प्राविधिक खटाएका छौ, पहिलो चरणमा उत्पादनमा जोड दियौ, सोही अनुसार उत्पादनमा वृद्धि भयो तर अहिले बजारीकरणमा समस्या देखिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो । पहाडका स–साना कृषकले भारतीय उत्पादनसँंग प्रतिष्प्रर्धा गर्न नसकेको र पालिकाको एक्लो प्रयासबाट मात्रै कृषकको उत्पादन बजारीकरण समस्या उत्पन्न भएको अध्यक्ष जिसीको भनाई छ । उहाँ भन्नुहुन्छ ‘प्रदेश र केन्द्र सरकारले उत्पादित वस्तुको ग्यारेन्टी लिने गरी नीति नियम बनाई कार्यान्यवय गरिदिनुपर्छ ।’ पाल्पाको मदनपोखरा, जल्पा, डुँम्रे, मस्याम, पालुङ्गमैनादी, मुझुङ्ग, अर्गली, बतासे, देवीनगर, रामपुर, हुँगी क्षेत्र तरकारी पकेट क्षेत्र हुन । यहाँका मात्र करीव ४ हजार कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।


Top