दशैँ खर्च जोहो गर्न तराई झरे राउटे अगुवा

शुभाकर विश्वकर्मा   POSTED ON : आश्विन ९, २०७८ (५:४४ AM)

दशैँ खर्च जोहो गर्न तराई झरे राउटे अगुवा

नेपालगञ्ज । कर्णाली प्रदेशका पहाडी जिल्लाका जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटे अगुवा तराई झरेका छन् । दशैँ, तिहार नजिकिएसँगै खर्च जोहो गर्नको लागि कर्णालीको सल्यानमा बसोबास गर्दै आएका राउटे समुदायका अगुवा बाँके पुगेका हुन् । लोपोन्मुख राउटे समुदाय केही समयअघिसम्म शिकार र कन्दमूलको भरमा जीवन धान्दै आएका थिए ।

तर, पछिल्लो समय राउटेहरू अन्य समुदायसँग घुलमिल हुन थालेका छन् । उनीहरूको रहनसहन, जीवनशैली र बानी व्यहोरामा समेत परिवर्तन हुँदै गएको छ । जंगलमा खाने आहारा अभाव भएपछि बस्तीहरूमा निस्कने गरेको राउटे सल्यान हुँदै बाँके झरेका हुन् । त्यो पनि दशैँ तिहारको लागि खर्च जोहो गर्न । 

राउटे अगुवा भद्रबहादुर शाही र सुरेन्द्र शाही यतिबेला बाँकेमा हुनुहुन्छ । सल्यान, सुर्खेत हुँदै गाडीमा तराई झर्नुभएका उहाँहरूले केहीदिन अघि कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई भेट्नुभएको थियो । 

मुखिया शाहीले भन्नुभयो, ‘हामी सल्यानबाट आएका हौं । मेयरलाई भेट्ने हो, काम छ ।’ सल्यानबाट कोहलपुर किन आउनुभएको हो ? भन्ने प्रश्नमा मुखिया शाहीले दशैँका खर्च जोहो गर्न आएको जानकारी दिनुभएको थियो । उहाँहरूले प्रमुख रावतलाई दुई हात जोडेर नमस्कार भन्दै अभिवादन गर्नुभएको थियो । प्रमुख रावतले समेत उठेर नमस्कार फर्काउनुभयो । यो समुदायका मानिस कुनैबेला अन्य मानिसहरूसँग दोहोरो संवादसमेत गर्दैन थिए । पछिल्लो समय यो समुदाय सामाजिकीकरणतर्फ उन्मुख भइरहेको छ ।

लगत्तै प्रमुख रावतले उहाँहरूको हाल खबर सोध्नुभयो- राउटे मुखियाले हाँस्दै जवाफ फर्काउनुभयो । ‘हामी सञ्चै छौं । ठिकै छ ।’ ‘एउटा कुरा भुन्नु थियो, भनम् कि नभनम्, मेयर सापजी । भनम् भनिसकेपछि अलि लाज लाग्छ क्यारे ।’ उहाँले भन्नुभएको थियो । दशैँ खर्च चाहियो, गाह्रो भयो, एउटा खसी मार्नुपर्‍यो । ‘जंगलका राजा’समेत भनिने राउटे समुदाय कुनै बेला पैसा छँुदा पाप लाग्छ भन्ने मान्यता राख्थ्यो ।

राउटे समुदायको एउटा बथान अहिले सल्यानस्थित झुप्रोखोलामा बसोबास गर्दै आएको छ । त्यहाँ अहिले ६० जनाको संख्या रहेको छ । महिला र अन्य पुरुष त्यहीँ छन् । भद्रबहादुर र सुरेन्द्र भने खर्चको लागि बाँके आइपुग्नु भएको हो । दशैँको खर्च जोहो गर्न आउनुभएका उहाँहरूलाई नगरपालिकाले रित्तो हात फर्काएन । आर्थिक समितिका संयोजक परियारले उहाँहरूलाई नगरपालिकाको तर्फबाट १० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिनुभयो । सहयोगकै लागि सल्यानबाट आउनुभएका उहाँहरूलाई केही राहत होस् भन्ने उद्देश्यले सहयोग गरिएको संयोजक परियारको भनाइ छ ।

राउटे मुखियाले बाँकेका अन्य स्थानीय तहमा पनि सहयोगको लागि भने जानकारी दिनुभयो । भद्रबहादुरले केही दिन बाँके र दाङका स्थानीय तहमा सहयोग मागेर फेरि सल्यान फर्किने योजना रहेको सुनाउनुभयो । सुदूरपश्चिमको अछाम, कर्णालीका कालिकोट, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र लुम्बिनी प्रदेशका दाङ राउटे समुदाय परिभ्रमण गर्ने जिल्लाहरू हुन् । 


Top