दुई वर्षपछि मनाइयो लुम्बिनीमा विश्व पर्यटन दिवस

दीपक घिमिरे   POSTED ON : आश्विन १२, २०७८ (५:५२ AM)

दुई वर्षपछि मनाइयो लुम्बिनीमा विश्व पर्यटन दिवस

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा दुई वर्ष पछाडि स्वदेशी तथा भारतीय पर्यटकको उपस्थितिमा विश्व पर्यटन दिवस मनाइएको छ । कोभिड–१९ का कारण दुई वर्षसम्म सामान्य औपचारिक कार्यक्रम गर्दै आइएकोमा यसपटक भने विभिन्न कार्यक्रम गरेर पर्यटन दिवस मनाइएको हो । विश्व शान्तिको मुहान् लुम्बिनीमा ‘समावेशी विकासका लागि पर्यटन’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । 

दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबार विभिन्न कार्यक्रम गरिएको छ । लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघलगायत संघसस्थाको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा सोमबार बेलुन उडान तथा दीप प्रज्वलन, मायादेवी मन्दिरमा पूजा तथा ध्यान, डुंगा शयर, बिहार तथा गुम्बा अवलोकन, प्रकृति फोटोग्राफी वर्कसपलगायत कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताउनुभयो । उहाँले यस वर्ष पर्यटन दिवस संक्षिप्त कार्यक्रम गरी मनाइएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले कोभिड-१९ का कारण संसारभर पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो । उहाँले अझै करिब एक वर्षसम्म विदेशी पर्यटक अपेक्षित रूपमा आउन नसक्ने अवस्था रहेकाले आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा. हृदयरत्न बज्राचार्यले विश्वमा शान्तिको सन्देश फैलाउने भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको आफ्नै महत्व रहेको बताउँदै बौद्धमार्गी सबैलाई जीवनमा एकपटक लुम्बिनी आउन आग्रह गर्नुभयो । उनले भन्नुभयो, ‘बुद्ध भगवान्लाई मनमा राख्नुहोस् ।’

विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनीमा सस्तो प्याकेजको शुभारम्भ गरिएको छ । लुम्बिनीका होटेल व्यवसायीले २१९९ रुपैयाँमा एक रात दुई दिनको प्याकेज शुभारम्भ गरेका हुन् । 


Top