दश दिन देखि उठ्न सकेन सिद्धार्थनगरमा फोहोर, नगर दुर्गन्धित

दीपक घिमिरे   POSTED ON : आश्विन १२, २०७८ (४:२४ PM)

दश दिन देखि उठ्न सकेन सिद्धार्थनगरमा फोहोर, नगर दुर्गन्धित

भैरहवा । बिगत दश दिनदेखि सिद्धार्थनगरको फोहर उठ्न सकेको छैन् । फोहर सडकमा यत्रतत्र फैलिएको छ । फोहोरले सिद्धार्थनगर दुर्गन्धित बनेको छ । दिउँसो घाम लागेको समयमा फोहरको दुगन्धले हिड्न नसक्ने अबस्था आइसकेको छ । 

नगरमा फोहरको दुर्गन्ध फैदिएका कारण व्यपार व्यवसायमा समेत गिरावट आएको व्यवसायीहरुले गुनासो गरेका छन् ।  नगरका मुख्य सडकमै फोहोर थुप्रिदा सडक हो कि फोहोर फाल्ने ठाउँ (डम्पिङ साईट) भनेर प्रश्न उठिरहेको छ । भैरहवा हुदै लुम्बिनी तथा अन्य पर्यटकिय क्षेत्र जाने पर्यटकले शहरमा थुप्रिएको फोहोर देख्दा कस्तो सन्देश जाला ? प्रश्नचिन्ह खडा भएको छ । नगरपालिकामा फोहोर प्रशोधन केन्द्र (डम्पिङ साइट) नहुँदा नगरमा उठ्ने फोहर संकलन गरी डण्डा खोला छेउमा थुपार्ने गरिएको छ । तर स्थानीयले नगरमा संकलित फोहरका लागि नगरपालिकाले योजना बनाएर अगाडी बढ्नुपर्ने र अब डण्डा खोला नजिक फोहोर फाल्न नदिने बताउँदै आएका छन् ।

डण्डा नदी छेउमा फालिएको फोहरका कारण स्थानियलाई बिभिन्न खालका संक्रामक रोग लागेको भन्दै फोहर फाल्न नदिने बताउँदै आएका छन् । 

सिद्धार्थनगर नगरपालिकाले रुपन्देहीको ओमसतिया गाउँपालिका–५ पट्खौलीमा खरिद गरेको जग्गामा पनि स्थानीयको अबरोधपछि यत्तिकै अलपत्र परेको छ। स्थानीय आशिष पन्तले सडकमै फोहर थुप्रिदा शहर दुर्गन्धित भएको बताउनु भयो । उहाँले पटकपटक नदी किनारमा फोहोर नफाल्न माग गर्दै स्थानीयले अबरोध गरेकाले स्थानिय सरकारले यसतर्फ दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिनु भयो । ‘डण्डा नदी छेउमा फोहोर नफाल्न र फोहरमैला व्यवस्थापनका लागि विगतदेखि नै आवाज उठ्दै आएको छ, नगरपालिकाले यस विषयमा चासो दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

समाजसेवी प्रख्यात बन्जाडेले २०७६ साल चैतको लकडाउन अघि नै नगरपालिकालाई फोहरमैला व्यवस्थापन गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाइए पनि नगरपालिकाले यसतर्फ चासो दिन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नगरपालिकालाई फोहोरमैला प्रशोधन केन्द्र बनाउन एक्लै समस्या छ भने नजिकका पालिकाहरुसंग समन्वय गरेर एकीकृत फोहर प्रशोधन केन्द्र बनाउनेतर्फ लाग्नुपर्छ।’ त्यस्तै प्लाष्टिक पूर्ण रुपमा निषेध गरे फोहोर उत्पादनमा न्यूनीकरण हुने उहाँले बताउनु भयो ।

डण्डा नदी किनार स्थानीय (पक्लिहवा र मेउडहवा) स्थानीयले भने नदी छेउमा फोहर फाल्दा त्यसले आफूहरुको स्वास्थ्यमा नकारात्मक असर गरेकोले अब फोहार फाल्न नहुने भन्दै विरोध गरिरहेका छन्। सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडा सदस्य समेत रहेका स्थानीय दिपेश प्रताप शाहीले करिब ३० वर्षदेखि एउटै ठाउँमा ल्याएर फोहर थुपारिएको बताउनु भयो । ‘फोहर एकै स्थानमा ल्याएर दिनहुँ डम्पिङ गर्दा यो क्षेत्र दुर्गन्धित भएको छ, यहाँका स्थानीय स्वास्थ्यसम्बन्धि समस्याबाट पीडित हुनुहुन्छ,’ उहाँले भन्नुभयो । यस क्षेत्रमा स्वर्गद्वारी घाट समेत निर्माण भइरहेको अवस्थामा अब नदी र नदी किनारलाई स्वच्छ र सफा राख्नुपर्ने उहाँको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका फोहोर, वातावरण तथा सरसफाई शाखा प्रमुख केशव पौडेलले स्थानीयको अवरोधका कारण फोहर फाल्न नसकिएकाले फोहोर सडकमा थुप्रिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘फोहोर बोक्ने गाडी जान नसकेकाले फोहोर फाल्न सकिएको छैन, स्थानीयले व्यवस्थित गर्ने कुरा गर्नुभएको छ, यसको लागि नगरपालिकाले पहल गरिरहेको छ।’

फोहर उठाउन माग गर्दै काँग्रेस सिद्धार्थनगरद्वारा ज्ञापनपत्र 

बिगत दश दिन नगरबाट फोहर उठ्न नसकेपछि नेपाली काँग्रेस सिद्धार्थनगरले फोहर व्यवस्थापन गर्न माग गर्दै सिद्धार्थनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । 

फोहरका कारण नगरमा दुर्गन्ध फैलिएको तत्काल फोहरमैला व्यवस्थापनको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । 

नेपाली काँग्रेस सिद्धार्थनगरको नवनिर्वाचित सभापति कोशिशबहादुर खड्काले नगर उपप्रमुख उमा काफ्लेलाई ज्ञापन पत्र बुझाउदै तीन दिन भित्रमा नगरको फोहर नउठे त्यसबाट उत्पन्न हुने परिस्थीतिबाट नगरपालिका जिम्मेवार हुने चेतावनी दिनु भयो । 

कोभिडका कारण समस्यामा परेका नगरवासी फोहरको दुर्गन्धले झनै समस्यामा परेको भन्दै फोहरको दीर्घकालिन व्यवस्थाका लागि नगरपालिका लाग्नु पर्नेमा जोड दिनु भयो । 

ज्ञापन पत्र बुझाउन नेपाली काग्रेस सिद्धार्थनगरको नवनिर्वाचित टिम सहित नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। 

ज्ञापन पत्र बुझाउनका लागि नगरप्रमुख हरिप्रसाद अधिकारीसंग सयम लिएको भएपनि सयम नदिई बाहिर गएको भन्दै नगरप्रमुखको कार्यकक्ष बाहिर केहि समय नारावाजी समेत गरेका थिए। 

ज्ञापन पत्र बुझ्दै नगर उपप्रमुख काफ्लेले फोहर व्यवस्थापन बारे सहमति भईसकेको बताउनु भयो । उहाँले फोहरको बिषयमा राजनीति नगर्न आग्रह गर्दै यस्ता समस्यालाई सबै मिलेर समाधान गर्नु पर्नेमा जोड दिईन । 


Top