खाद्यान्न सामाग्री ओसारपसारमा प्रतिबन्ध नलगाउन उद्योग वाणिज्य संघको आग्रह

प्रकाश न्यौपाने   POSTED ON : आश्विन १४, २०७८ (२:२२ PM)

खाद्यान्न सामाग्री ओसारपसारमा प्रतिबन्ध नलगाउन उद्योग वाणिज्य संघको आग्रह

नवलपरासी  । नवलपरासी उद्योग बाणिज्य संघ नवलपरासीले  मटर (केराउ) को कारोबार गर्न पाउनुपर्ने माग गरेको छ ।  जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यलयमा मंगलबार ज्ञापन पत्र नै  बुझाएर मटरको कारोबार गर्न पाउनु पर्ने माग गरेका छन् । मटर कारोबारमा संलग्न व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको व्यवसायिको टोलीले आफूहरुको मटर सहितका गाडि नियन्त्रणमा लिएको भन्दै प्रशासनसंग असन्तुष्टि जनाएको हो ।

खाद्यान्न सामाग्री ओसारपसारमा प्रतिबन्ध लगाईएको भन्दै उद्योग वाणिज्य संघले व्यवसायीलाई मर्कामा नपार्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको छ । तर उक्त ज्ञापन पत्रको आशय र व्यवसायीसङ्ग  दुई घण्टासम्म भएको छलफलमा मटरको सहज कारोबारको विषयले प्राथमिकता पाएको थियो । पश्चिम नवलपरासी हुँदै भारत तर्फ मटरको कारोबार हुँदै आएको छ ।

पछिल्लो समय प्रहरीले बिलविजक सहितको मटर लोड गरिएको सवारी साधन पनि नियन्त्रणमा लिएपछि आक्रोशित मटर कारोबार गर्ने व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघले मंगलबार सुरक्षा निकायको ध्यानार्कषण गराएको हो । मटर छोहडा र मरिज जस्ता सामाग्री ओसारपसारमा प्रहरीले अवरोध सृजना गर्दै आएको भन्दै व्यवसायीले घुमाउरो तरिकाले भारत तर्फ तस्करी गर्न पाउनुपर्ने माग गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको छलफलमा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार यादवसँग व्यवसायीको चर्काचर्कि भएको थियो । उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी केशव चापागाँई र प्रहरी उपरिक्षक यादव बिच मटर सहितका सवारी साधन नियन्त्रणमा लिएको विषयमा केहिबेर चर्काचर्की भएको थियो ।

प्रमुख जिल्ला अधिकारी मिश्रले सुरक्षा निकायले तस्करी नियन्त्रणको जिम्मेवारी लिएको बताउँदै विल विजक भएपनि भारत तर्फ तस्करी हुँदै आएका सामानको चेकजाँच गरिने बताउनुभयो । सिमा क्षेत्रमा आवश्यकता भन्दा बढी सामान पठाएर भारत तर्फ तस्करी गर्ने उदेश्य प्रष्ट रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी मिश्रले त्यस्तो कार्यमा सुरक्षा निकायले साथ दिन नसक्ने स्पष्ट पार्नुभयो ।

लामो समय सम्म छलफल भएपनि कुनै निष्र्कष निस्कन नसकेपछि व्यसायीहरु प्रशासन कार्यालयबाट बाहिरिएका थिए । प्रशासनमा यस्तो विषयमा ज्ञापन पत्र बुझाउन आउने होईन ‘यो त सिधै तस्करी गर्न दे’ भने जस्तै भयो एक जना व्यापारीले भने तर नेपाल भित्रै कारोबार गर्न भने पाउनुपर्छ ।

प्रहरीले पश्चिम नवलपरासीको बजार क्षेत्रमा पनि कारोबार गर्न नदिएको र सवारी साधन नियन्त्रणमा लिएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् । तर प्रमुख जिल्ला अधिकारी मिश्र सहित जनपथ र शसस्त्र प्रहरी उपरिक्षकले भने बजारमा विक्रिका लागि सानो परिमाणमा आएको मटर नियन्त्रणमा नलिएको दाबि गरेका छन् । ‘‘रातभरी मटर तस्करी भयो भनेर फोन आउछ सुत्न पाइँदैन,’’ प्रहरी उपरिक्षक यादवले भन्नुभयो, ‘‘व्यवसायीले एक दिन रातिमा आफूसँगै बसेर फोन कलको जवाफ दिनुस् ।’’

पश्चिम नवलपरासीमा लामो समयदेखि खुल्ला सिमानाको फाईदा उठाउँदै विरगञ्ज नाका हुँदै आएको मटर भारत तर्फ तस्करी हुँदै आएको छ । नेपालमा भन्दा भारतमा महंगो भएकाले नेपाली व्यापारीले सिमानामा मटरको ठुलो परिमाण भण्डाण गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् ।

सरकारले नेपालमा आवश्यक परिमाण भन्दा बढी मटर आयात गर्दै आएको छ । जिल्लामा विभिन्न तवरले मटर तस्करी नियन्त्रणको चर्चा हुने गरेपनि तस्करी भने नियन्त्रणमा आउन सकेको छैन् । जिल्ला आउने सुरक्षा निकायलाई तस्करी नियन्त्रण टाउको दुखाईको विषय बन्ने गरेको छ ।

सुरक्षा निकायको नेतृत्व कर्तालाई मोटो रकमको प्रलोभनमा तस्करी गराउँदै आएको आरोप पनि लाग्ने गरेको छ । खुल्ला सिमानाका कारण भारतबाट लागुऔषध सहित विभिन्न सामाग्रि अवैध रुपमा आयात पैठारी हुँदै आएपनि त्यसको नियन्त्रणको पहलका लागी जिल्लाका राजनैतिक दल समेत उदासिन बन्ने गरेका छन् ।


Top