चैते धानको व्यावसायिक खेती

शुभाकर विश्वकर्मा   POSTED ON : आश्विन १५, २०७८ (५:४३ AM)

चैते धानको व्यावसायिक खेती

नेपालगञ्ज । बाँकेमा चैते धानको व्यावसायिक खेतीको तयारी थालिएको छ । अन्नको भण्डारसमेत भनिने बाँकेमा अघिल्लो वर्ष चैते धानको परीक्षण सुरु गरिएको थियो । कृषि ज्ञान केन्द्र बाँकेले बैजनााथ र कोहलपुरमा सुरु गरेको परीक्षण खेती सफल भएपछि व्यावसायिक चैते धान खेती सुरु गरिएको हो ।

बैजनाथ गाँउपालिका-८ झिंगौराका किसान अजितकुमार सुनार र कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कठ्ठा जमिनमा चैते धान फलाउन सफल हुनुभएको थियो । चैते धानको खेती सफल हुने देखिएपछि केन्द्र ३० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेतीको तयारी थालेको हो । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार जिल्लाका अन्य पालिकामा समेत चैते धान खेतीको तयारी सुरु भइसकेको छ । 

वसन्ते बाली प्रवद्र्धन अभियान सञ्चालन गरेर जिल्लाभर यसको खेती बढाउने कार्यक्रम रहेको उहाँको भनाइ छ । जसअन्तर्गत जिल्लाका एक हजार किसानलाई चैते धान खेतीबारे प्रशिक्षण गराइनेछ । किसानहरूलाई वसन्ते खेतीको बारेमा जानकारी गराउने, चैते धान खेती गर्न किसानलाई अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको उहाँको भनाइ छ । ढकालले चैते धान उत्पादन गर्न इच्छुक तोरी आलु लगाएका किसानलाई सहभागी हुन आग्रह गर्नुभयो । 

वसन्त ऋतुमा गरिने खेतीहरू मकै, मुङ, मास, तरकारी लगाउनसमेत किसानलाई सहजीकरणको भूमिका निभाउने बताइएको छ । यो अभियान विशेषगरी सिञ्चाइ सुविधा भएको क्षेत्र पहिचान गरी स्थानीय जनप्रतिनिधि तथा कृषि शाखासँग समन्वय गरेर सञ्चालन गरिने वसन्ते बाली प्रवद्र्धन अभियानका लागि स्मार्ट कृषि गाउँ कार्यक्रमको अन्नबाली रोजेको स्मार्ट गाउँलाई समावेश गराउन पहलसमेत गरिने संयोजक ढकालले जानकारी दिनुभयो ।


Top