पाल्पामा पीडितको नाममा ठगी !

रामचन्द्र रायमाझी   POSTED ON : आश्विन १६, २०७८ (५:४६ AM)

पाल्पामा पीडितको नाममा ठगी !

पाल्पा । पाल्पामा पछिल्ला केही दिनयता अपरिचित व्यक्तिहरू हातमा सहयोग लेखिएका कागजपत्रहरू लिएर प्रत्येकको घर-घरमा पुग्ने गरेका छन् । उनीहरू पीडितको नाममा रकम सहयोग गरिदिन आग्रह गर्दै तानसेनसहित जिल्लाका ग्रामीण बस्तीहरूमा समेत पुग्ने गरेको पाइएको हो । 

विभिन्न अपरिचित व्यक्तिहरू मिर्गाैलापीडित, क्यान्सरपीडित, भूकम्प, बाढीपहिरो तथा आगलागीपीडितको नाममा सहयोग उठाउने गर्दै आएका छन् । अपरिचित व्यक्तिहरूले जिल्लाबाहिरबाट नक्कली कागजपत्र बनाएर ठगी धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् । यहाँ दिनहुँजसो एकपछि अर्को व्यक्ति सहयोगका अवैध कागज लिएर सहयोग माग्न हिँड्न थालेपछि स्थानीयहरूले प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले पीडितको नाममा अवैध चन्दा उठाउने गरेको व्यापक गुनासोपछि यसतर्फ नजर लगाएको छ । 

विभिन्न संघसंस्थाहरूको नामका रसिद लिएर पीडितहरूको नाम उल्लेख गर्दै अवैध चन्दा रकम उठाउने कार्यमा संलग्नहरूको खोजी कार्यलाई प्रहरीले तत्परता देखाएको हो । मिर्गौलापीडितका लागि भन्दै ठाउँ-ठाउँमा चन्दा संकलन गर्नेहरूको धन्दा चलिरहेको सूचना पाएपछि प्रहरीले जिल्लाका विभिन्न ठाउँहरूमा प्रहरी परिचालन गरी उनीहरूको खोजी कार्य थालेको छ । खोजतलास गर्दै जाँदा अन्ततः प्रहरीले गत सोमबार सूचनाका आधारमा अवैध चन्दा संकलन गर्नेहरूको पत्तो पायो । त्यसपछि पाल्पा प्रहरीले अवैधरूपमा चन्दा संकलन गरिरहेको आरोपमा पाँचजनालाई पक्रेको छ । तानसेनका विभिन्न ठाउँहरूबाट अवैधरूपमा चन्दा संकलन गर्ने पाँचजना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

तानसेनमा अवैध चन्दा संकलन गरेको सूचनाका आधारमा गोरखा पालुङ्टार नगरपालिका-७ का ३६ वर्षीय दिपक भन्ने प्रदिप गुरुङ, मोरङ उर्लाबारी नगरपालिका–९ का ३३ वर्षीय धनबहादुर विश्वकर्मा, मोरङ पथरी शनिश्चरे- ९ का ४३ वर्षीय राजेश खरेल, झापा कनकाई नगरपालिका-४ का ३८ वर्षीय केदार विक र झापा कनकाई नगरपालिका-३ का ४६ वर्षीय सूर्यबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सूचनाका आधारमा खोजतलास गर्दा प्रहरीले तानसेन नगरपालिका-६, बसपार्कको करुवा होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट मिर्गाैलापीडित सहयोग लेखेको सहयोग रसिदमध्ये काटेको १३ थान, नकाटेको १० थान, सामाजिक सहयोग नेपाल अभियानको सहयोग रसिदबाट  काटेको १३ थान र नकाटेको १९ ठेली थान सहयोग रसिद बरामद गरेको छ । यस्तै अवैधरूपमा संकलन गरेको २१ हजार २५५ रुपैयाँ रकमसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । 

अनुमति नलिई कसैले पनि आर्थिक सहयोग संकलन गर्न वा चन्दा उठाउन पाउँदैन । ‘नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यका लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिनदिनबाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिनुहुँदैन,’ चन्दा ऐन २०३० को दफा ३ मा भनिएको छ । पक्राउ परेका पाँचैजनालाई चन्दा ऐनअनुसारकै कारबाहीका लागि मुद्दा चलाउने तयारी भएको प्रहरी नायब उपरीक्षक त्वातीले बताउनुभयो । 


Top