महेशपुर भन्सार नाका आजदेखि खुल्ला

प्रकाश न्यौपाने   POSTED ON : आश्विन १७, २०७८ (७:५० PM)

महेशपुर भन्सार नाका आजदेखि खुल्ला

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार नाका करिव १९ महिना पछि आइतबारदेखी  खुल्ला भएको छ । नेपाल तर्फको नाका हिजो देखि खुल्ला गरी महेशपुर नाकामा हेल्पडेक्स समेत स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिनु भयो । कोभिड–१९ का कारण महेशपुर नाका बन्द हुदा नेपालका स्थानिय सिमावर्ती क्षेत्रका नागरीकहरुलाई बजार गर्न कहि समस्या भएको थियो ।

यद्यपि कोरोना संक्रमण उच्च रहेको बेला पनि भारतबाट नेपाल तर्फ सहायक मार्ग हुँदै आउजाउ भईरहेको थियो । सिमा क्षेत्रका स्थानियले लामो समयदेखि नाका खोल्न माग गर्दै आएका थिए । जिल्लाको मुख्य भन्सार नाका महेशपुर सहित अन्य सिमा नाका पनि खुला गरिएको छ । मुख्य नाकाहरुमा स्थानिय तहलाई हेल्थ डेस्क राख्न पनि सुरक्षा समिति र डिसिएमसिको बैठकले आग्रह गरेको छ ।

नेपाल प्रवेश गर्नेहरुमा कुनै कोरोना संग सम्बन्धीत लक्षण देखिएमा सिमामा एन्टिजिन परिक्षण गरि रिपोर्ट नगेटिभ आएमा मात्र नेपाल प्रवेश गर्न दिईने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो । दोस्रो चरणको कोरोना महामारी सुरु भएपछि बन्द भएका सिमानाका मन्त्रिपरिषदको असोज ११ गतेको बैठकले खला गर्ने निर्णय गरेको थियो ।


Top