नेपालगञ्जमा भाटभटेनीको कालोबजारी, बेकरी उद्योग नै अवैध, अखाद्य वस्तु खुलेयाम बिक्री

शुभाकर विश्वकर्मा   POSTED ON : आश्विन १९, २०७८ (५:०० AM)

नेपालगञ्जमा भाटभटेनीको कालोबजारी, बेकरी उद्योग नै अवैध, अखाद्य वस्तु खुलेयाम बिक्री

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा कालोबजारी हुने गरेको पाइएको छ । देशभरस्तरीय सेवा दिने दाबी गर्दै आएको नेपालगञ्जस्थित शाखामा उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर लापरबाही गर्दै म्याद गुज्रेका खाद्यवस्तु खुलेयाम बिक्री वितरण भइरहेको पाइएको हो । चाडपर्व लक्षित बजार अनुगमनको क्रममा भाटभटेनीमा अवैध बेकरी उद्योग सञ्चालन गरेको पाइएको उपभोक्ता हित संरक्षण समिति बाँकेले जनाएको छ । त्यति मात्रै होइन खाद्य वस्तुमा आफैँ कृत्रिम मूल्य बढाएर मनलाग्दी स्टिकर टाँस गरेर खाद्यवस्तु बेच्ने गरेको पाइएको अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले बताउनुभयो । 

देशभरस्तरीय सेवा दिने दाबी गर्दै आएको भाटभटेनी सुपरमार्केट नेपालगञ्ज शाखामा म्याद गुज्रेका खाद्यवस्तु बिक्री गरिरहेको पाइएको छ । गुणस्तरीय वस्तु बिक्री हुने विश्वासका साथ दैनिक सयौं उपभोक्ता भाटभटेनीमा  विभिन्न सामग्री खरिदका लागि जाने गर्दछन् । सुपरमार्केटमा बिक्रीका लागि उत्पादन हुने बेकरी जति सबै म्याद गुज्रेर खान नमिल्ने अवस्थामा भए पनि बिक्री–वितरण हुँदै आएको उहाँले जानकारी दिनुभयो । संयुक्त अनुगमन समितिले बजार अनुगमनका क्रममा अखाद्य बेकरी उत्पादन बरामद गरेको छ । 

उहाँका अनुसार नेपालगञ्ज–१८ सुर्खेतरोडमा ‘अपरक्राष्ट प्रालि चुच्चेपाटी काठमाडौ’को नामले सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुजे्रको बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको थियो । यसैगरी, अनुगमनका क्रममा नेपालगञ्ज बजारका केही होटल तथा सपिङ मलमा यस उद्योगको उत्पादनहरूमा उत्पादन मिति, म्याद समाप्त हुने मिति उल्लेख नभएको अवस्थामा पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विवेक कुमार सुवेदीले जानकारी दिनुभयो । 

खोजी गर्दै जाँदा सुर्खेतरोडमा उद्योगको कुनै बोर्ड नराखी खाद्य अनुज्ञापत्र समेत नलिएर सञ्चालनमा रहेको अवस्थामा गोदाम भरी प्रयोगका म्याद गुजारेका बेकरी उत्पादन गर्न आवश्यक पर्ने कच्चा भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उहाँको भनाइ छ ।

उद्योगलाई दुई लाख जरिवानासमेत गरिएको छ । यस्तै, बरामद गरिएको ब्रेड, पाउरोटी, केक, डुनट र सो बनाउने म्याद गुजारिएको अवस्थाका कच्चा पदार्थ दुई लाख २२ हजार ६७ रुपैयाँ बराबरको सामाग्री मुचुल्का तयार गरी नष्ट गरिएको थियो ।  यसअघि पनि बाँकेको कोहलपुर तथा बैजनाथ क्षेत्रमा सञ्चालित खाद्य डिलर तथा चामल उत्पादन गर्दै आएको एक सहकारी कारबाहीमा परेका थिए । बाँकेमा दशैं तिहार लगायतका चाडपर्व नजिकिन थालेसँगै बजार अनुगमनलाई तीव्र बनाइएको छ । 


Top