सिंह दरबारको झल्को गाउँमा : वडाबाटै योजना सम्झौता

रामचन्द्र रायमाझी   POSTED ON : आश्विन २०, २०७८ (१२:०८ PM)

सिंह दरबारको झल्को गाउँमा : वडाबाटै योजना सम्झौता

पाल्पा।  सिंह दरबारको झल्को गाउँ–गाउँमा दिने गरी पाल्पाको बगनासकाली गाउँ सरकारले जनतालाई सेवा दिन थालेको छ । गाउँ सरकारले पालिकामा हुने योजना सम्झौता र बैंक खाता खोल्ने काम वडाबाटै दिन थालेको हो । योसँगै आफ्नो ठाउँका लागि छुट्याइएका योजना सम्झौता गर्न उपभोक्ता समितिले गाउँपालिकाको केन्द्र धाउँनु पर्ने बाध्यता टरेको छ ।  गाउँपालिकाको वडा ९ मा वडा कार्यालयमैं योजना सम्झौंता भइरहेको छ ।

भुक्तानीका लागि बैंक खाता खोलिएको छ । यसले उपभोक्तालाई सहज भएको छ । ‘एउटा योजनाका लागि उपभोक्ता समितिका पदाधिकारी केन्द्र धाइरहनुपर्ने र छिटो काम नहुने समस्या देखियो,’ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले भन्नुभयो, ‘त्यसको सहजताका लागि वडामै सम्झौंता गर्न थालेका हौं ।’ वडा नं ९ का धेरै योजनामा सम्झौता भइसकेको छ । सिंहदरबारको अधिकार गाउँमै आएको महसुस गराउनका लागि उपभोक्ता समितिका योजना सम्झौता, बैँक खाता सञ्चालन गर्ने गरी जनतालाई सहज बनाउन सबै वडामा यो कार्यक्रम गर्न थालिएको अध्यक्ष बस्यालको भनाई छ । समयमै काम सम्पन्न गरी उत्तरदायित्व निर्वाह गर्न उपभोक्ता समितिलाई अनुरोध गर्दै छिटो काम गर्न र सम्पन्न भएको योजनाको रकम निकासा गर्न उहाँले आग्रह गर्नुभयो । वडा तहबाटै योजना सम्झौता गर्ने कार्य यो जिल्लामै पहिलो हो । जिल्लाका अन्य स्थानीय तहहरुले उपभोक्ता समितिका पदाधिकारीहरुलाई तालिम तथा प्रशिक्षण दिदै आए पनि वडाबाटै सम्झौताको काम भने गरेका छैनन् ।  

 बगनासकाली गाउँपालिकाले वडा नं ९ बाट योजना सम्झौता र बैंक खाता सञ्चालनको काम सुरुवात गरेको हो । वडा अध्यक्ष थानेश्वर तिमिल्सीना र प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा उपभोक्ता समितिका अध्यक्षहरुलाई योजनाको सम्झौता फाइल हस्तान्तरण गरेका थिए । सेवा शुभारम्भको पहिलो दिन १५ भन्दा बढी योजना सम्झौता भएका छन् । वडा अध्यक्ष थानेश्वर तिमिल्सीनाले उपभोक्ता समितिले फाइल बोकेर गाउँपालिकाको केन्द्र जाने र कागज नमिल्दा बेहार्नुपर्ने हैरानी कम भएको बताउनुभयो । असार मसान्तमा योजना सम्झौता गरी हतारमा काम गरिने हुँदा उपभोक्ताले सास्ती खेप्नु परेकाले वडाबाटै योजना सम्झौता गरिएको वडा अध्यक्ष तिमिल्सीनाको भनाई छ । ‘पहिलो दिन चालु आर्थिक वर्षमा सञ्चालन हुने वडाका ७५ प्रतिशत योजनाको उपभोक्ता समितिहरुले सम्झौता र खाता सञ्चालन गरेका छन्, अब योजनाको काम सुरु हुन्छ,’ वडाअध्यक्ष तिमिल्सीनाले भन्नुभयो । गाउँपालिकाको केन्द्रमा धाइरहन पर्ने, कागजात नपुग्ने, टाढा टाढाबाट आउँदा समय खर्च हुने तथा आर्थिक बोझ हुने समस्या भोगिरहेका उपभोक्तालाई यो कामको शुरुवातले महत्वपूर्ण टेवा पुग्नेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले विश्वास व्यक्त गर्नुभयो ।

‘गाउँपालिकाबाट प्रदान गरिने सेवालाई सजिलो र सरल बनाउँदै लैजाने क्रममा वडामा गएर योजनाको सम्झौता गर्ने काम गरेका छौँ’ प्रशासकिय अधिकृत घर्तीले भन्नुभयो । अब सबै वडाबाट योजना सम्झौंताका काम गरिने उहाँले बताउनुभयो । नेपाल बैंकले वडामै गएर उपभोक्ता समितिको खाता खोलेको छ । वडामा उपभोक्ता समितिमार्फत गरिने चालु आर्थिक बर्षका योजनाहरुको सम्झौता र वडाबाटै बैंक खाता सञ्चालन भएपछि वडावासी उत्साहित भएका छन् । योजना सम्झौता गर्न जादाँ र बैंकमा खाता सञ्चालन गर्न जादाँ धेरै खर्चिलो हुने भएकाले वडामै योजना सम्झौता हुँदा आफुहरु उत्साहित भएको चुरेडाँडा ढलान मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष तिर्थराज बस्यालले बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन भएको महसुस हुनेगरी  पालिकाले गाउँमै सेवा दिएको  बताउनुभयो । निर्वाचनको समयमा जनताको घरदैलोमै सेवा दिने वाचा गरेका जनप्रतिनिधी र सरल सेवा दिने आश्वासन बाँडेका प्रशासकको कामको वडावासीले प्रशंसा गरेका छन् ।

बगनासकाली–९ मा  उपभोक्ता समितिलाई योजना सम्झौंताको फाईल हस्तान्तरण गर्दै वडा अध्यक्ष थानेश्वर तिमिल्सीना र प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्ती ।  तस्बिर : रामचन्द्र रायमाझी

 


Top