मोतीपुर औद्योगिक क्षेत्रः यसरी शुरु भएको थियो विवाद

दीपक घिमिरे   POSTED ON : आश्विन २६, २०७८ (५:१८ AM)

मोतीपुर औद्योगिक क्षेत्रः यसरी शुरु भएको थियो विवाद

बुटवल । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल अहिलेको प्रदेश मुकाम हो । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले बुटवल क्षेत्र (रुपन्देही) लाई औद्योगिक राजधानीको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै दाङलाई राजधानी बनाउने प्रयास गर्नुभयो । उहाँको जोडबल अनुसार नै दाङ प्रदेश राजधानी तोकियो । आर्थिक राजधानी भनेर विभिन्न औद्योगिक कार्यहरू शुरु गर्ने क्रममा मोतीपुर औद्योगिक क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि पहल शुरु भयो । 

बुटवल क्षेत्रमा पर्ने करिब दुई सय बिघा क्षेत्रफल भूमिहीन समूहको नाममा कब्जा गरेर ४०० घर टहरा बनिसकेको उक्त स्थानमा मोतीपुर औद्योगिक क्षेत्र बन्ने भन्ने भइसकेपछि विवाद उत्पन्न हुन थाल्यो । शिलान्यास हुनुभन्दा पहिलेदेखि नै त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीहरूमा संघर्ष समिति बनाएर विरोधका कार्यहरू अगाडि बढाउन थालिएको थियो । सरकारले २०७३ मा ८१३ बिगा क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्रको नाममा पुर्जा बनाएदेखि नै उक्त क्षेत्रबारे विवाद बढिरहेको थियो ।  

शिलान्यासमा स्थानीयको अवरोध

सरकारले औद्योगिक क्षेत्र बनाउन शिलान्यास गर्दा पनि केहीले अवरोध गरेका थिए । अवरोधका बीच रुपन्देहीकै जनप्रतिनिधि एवं तत्कालीन अर्थमन्त्री विष्णु पौडेल तथा उद्योगमन्त्री लेखराज भट्टले २१ फागुन २०७७ मा  शिलान्यास गर्नुभयो । 

विवादित कार्यक्रम अघि बढाएको भन्दै मन्त्रीद्वय सवार गाडीलक्षित ढुंगा प्रहारसमेत भएको थियो । करिडोरमा बनाइएको मञ्च तथा शिलालेख स्थानीयले अघिल्लो दिन नै भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर अवरोधकै बीचमा शिलान्यास भएको थियो । 

सरकारले मोतीपुर औद्योगिक क्षेत्रमा बसोबास गरिरहेका ब्यक्तिहरूलाई शिलान्यासपश्चात् स्थानान्तरण गर्ने गरी अगाडि बढिरहेको बताए पनि स्थानीयले पहिले नै स्थानान्तरण र त्यसपछि मात्रै शिलान्यास हुनुपर्ने माग गर्दै विरोध गरिरहेका थिए । 

सुकुम्बासीको नाममा हुकुमबासीद्वारा जग्गा अतिक्रमण

औद्योगिक क्षेत्र बनाउन छुट्याएको जग्गाबारे स्थानीयसँगै सुकुम्बासीको नाममा जग्गा कब्जा गर्ने गिरोहको सक्रियता बढेको थियो । भूमिहीनको नाममा दिन–प्रतिदिन जग्गा कब्जा गरेर टहरा बनाउने क्रम बढेपछि स्थानीय प्रशासनले घर टहरा भत्काउन प्रहरी परिचालन गरिरहेको थियो । प्रहरीले दिनहुँ स्थानीयलाई लखेट्ने र रेखा लगाएको स्थानमा नष्ट गर्ने गरे पनि अतिक्रमण रोकिएको थिएन । 

जग्गा अतिक्रमण गरी बस्ती बसाल्न सर्वसाधारणसँग रकम उठाएका आठ जनालाई करिब तीन हप्ताअघि प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालयले अतिक्रमण नरोकिएपछि तीन साता अघिदेखि निषेधाज्ञा जारी राखेको छ । निषेधाज्ञाकै बीच पनि जग्गा अतिक्रमणका कार्यहरू भने रोकिएनन् । 

शिलान्यासपछि शून्य काम

मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास भएको सात महिना भए पनि कामको प्रगति भने शून्य छ । शिलान्यास भएको एक महिनाभित्र उद्योग स्थापनाको लागि आशय पत्र आहृवान गर्ने, उक्त आशय पत्रको आधारमा ६ महिनाभित्र उद्योगीहरूलाई चाहिने न्यूनतम पूर्वाधारहरू (अस्थायी सडक, विद्युत् र पानी) को व्यवस्थापन गर्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले रोडम्याप तयार पारेको थियो ।

लिमिटेडले तयार पारेको कार्ययोजना अनुसार हालसम्म औद्योगिक क्षेत्रमा आवश्यक पर्ने सम्पूर्ण आधारभूत संरचनाहरू निर्माण भइसक्नुपर्ने भए पनि जग्गा विवादले योजना नै अन्यौलता छ ।

मोतीपुर औद्योगिक क्षेत्रका प्रमुख निमेश अधिकारीले औद्योगिक क्षेत्रभित्र पर्ने घर परिवारलाई व्यवस्थापनको काम समेत अन्यौलता रहेको बताउनुभयो । शिलान्यास भएको दुई वर्षभित्र त्यस क्षेत्रमा उद्योग सञ्चालनमा ल्याउने र पाँच वर्ष भित्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्पूर्ण पूर्वाधारहरूको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि जग्गा विवाद तथा त्यसको व्यवस्थापनमा सहयोग गरिरहेको आयोग नै खारेज भएपछि औद्योगिक क्षेत्रको काम ठप्प भएको छ ।

आइतबार एकाएक रणभूमि भन्यो मोतिपुर

प्रहरीले तीन दिनदेखि टहरा हटाउने अभियान शुरु गरेको थियो । बेलुका टहरा हटाउने र अवरोध गर्नेलाई पक्राउ गरेको भन्दै टहरा बनाएर बसेकाहरू आक्रोशित भएका थिए । प्रहरीले स्थानीयलाई पक्राउ गरेपछि स्थानीय रिसाएका थिए । आइतबार बिहानैदेखि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।  

तर अवैध टहराले निर्माणमै समस्या आएपछि स्थानीय प्रशासनले आइतबार टहरा हटाउन सशस्त्र प्रहरी परिचालन गर्‍यो । टहरा बनाएर बसेकाहरूले प्रतिरोध गर्दै प्रहरीमाथि ढुंगा प्रहार गर्न थाले । पाँच प्रहरी घाइते भएपछि प्रहरीले भिड तितरबितर गर्न शुरुमा अश्रुग्यास र हवाई फायर गर्‍यो । त्यति गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले बाध्य भएर गोली चलाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । तीन दर्जन बढी हवाईफायरिङ गरिएको सुरक्षा निकायका प्रमुखले जनाएका छन् । आइतबारको घटनामा चार जनाले ज्यान गुमाए भने ५० जनाभन्दा बढी घाइते भएका थिए । मृत्यु भएका चार जनामध्ये तीन जनाको अझै सनाखत हुन सकेको छैन । आइतबार अपरा≈न प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि गोली चलाउनु परेको प्रजिअ तिवारीले बतउनुभयो । उहाँले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनु परेको बताउनुभयो । मोतिपुर औद्योगिक क्षेत्रको जमिन कब्जा गर्न देशैभरीबाट जुटेका हजारौं सुकुम्वासी र प्रहरीबीच जंगलमा झडप भएपछि हजारौं जना एकाएक रानीगञ्ज बस्तीमा प्रवेश गरेका थिए । त्यसपछि हरेक चोक र गल्लीहरूमा दोहोरो झडपमा प्रहरीले ठाउँ-ठाउँमा हबाईफायर र अश्रुग्यास हानेपछि आखाँहरू पोलेर घरभित्रसमेत बस्न समस्या भएको स्थानीयहरूले बताएका छन् । 

सुकम्बासीको समस्या समाधान गर्न कार्यदल बनाउन निर्देशन 

लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मोतिपुरका वास्तविक सुकम्बासीको समस्या समाधान गर्न कार्यदल बनाउन निर्देशन दिनुभएको छ । उहाँले समस्या समाधान गर्नका लागि सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार मानसिङ बिकले जानकारी दिनुभयो ।  

प्रदेश सरकारले मृतकका परिवारलाई जनही एक लाख राहतस्वरुप प्रदान गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो । सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले उक्त निर्देशन दिनुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या सामाधान सुझव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीका प्रतिनिधि, नापी कार्यालय रुपेन्देहीका प्रतिनिधि, औद्योगिक ग्राम रुपेन्देहीका प्रतिनिधि, भूमिहीनका प्रतिनिधि लगायतको टोली सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

 


Top