सीमा-नाका सुचारु तर सहज छैन आवतजावत

दीपक घिमिरे   POSTED ON : आश्विन २६, २०७८ (५:४५ AM)

सीमा-नाका सुचारु तर सहज छैन आवतजावत

भैरहवा । डेढ वर्षपछि सरकारले यात्रुसहित भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ चैत १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । 

कोरोना महामारीका कारण मालवाहकबाहेक नेपाली निजी सवारीसाधन भारत र भारतीय सवारीसाधन नेपाल आउन सकेका थिएनन् । सरकारले सीमा-नाका खुला गर्ने निर्णय गरेसँगै सीमा क्षेत्रमा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने रूपन्देहीको बेलहिया नाकामा पनि चहलपहल बढेको छ । हिन्दूहरूको महान् चाड दशैँतिहारका कारण पनि नेपाल आउनेको संख्या बढेको हो । नाका सञ्चालनमा आए पनि स्वास्थ्य मापदण्ड पूरा गरेरमात्रै नेपाल प्रवेश गर्न पाइने भएको छ ।

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान हुने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ को दफा ७ बमोजिम स्थलमार्गबाट नेपाल आगमन हुने यात्रुहरूलाई मापदण्ड पूरा गरेरमात्र नेपाल प्रवेश गर्न अनुमति रहेको भैरहवा भन्सार कार्यालय बेलहिया, रूपन्देहीले जनाएको छ । नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड-१९ को परीक्षण रिपोर्ट (पिसिआर) नेगेटिभ भएको, विदेशबाट आउने व्यक्तिले अनलाइन फाराम भर्नुपर्ने र सोको प्रिन्ट साथमा रहेको भारतीय नागरिकलाई नेपाल-भारत सीमाको स्थलमार्गबाट नेपाल प्रवेश अनुमति दिइने भन्सारले जनाएको छ ।

तेस्रो मुलुकका नागरिकको हकमा भने तोकिएको मापदण्ड पूरा गरी अध्यागमन बिन्दुबाट अनअराइभल भिसा लिएका र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका यात्रुहरूलाई नेपाल प्रवेश अनुमति दिइने भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्जराज पासवानले बताउनुभयो । नेपाल प्रवेश गर्दा कुनै पनि व्यक्तिमा कोभिड-१९ को लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र नेपाल प्रवेश गर्न दिइने उहाँले बताउनुभयो । 

त्यस्तै नेपालको नजिक बजारसम्म पुगी सोही दिन फर्किने सवारीसाधनका लागि पास (सुविधा) बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म तथा अस्थायी पैठारी हुने सवारीसाधनहरूको हकमा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म समय निर्धारण गरिएको भन्सार कार्यालयले जनाएको छ ।

नाकामा आवतजावत सहजरूपमा सञ्चालन भएको भनिए पनि भारतीय सवारीसाधनका चालक तथा यात्रु पनि सास्ती खेप्नुपरेको गुनासो गर्छन् । सवारीसाधन लिएर आउँदा आफूहरूसँगै यात्रुहरूको ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट मागिएको र रिपोर्ट दिन नसके गाडी लिएर पुनः भारत फर्कनुपरेको उनीहरूको गुनासो छ । भारतीय चालक श्यामनारायण जैसवालले भन्नुभयो, ‘गाडी लिएर नेपाल आउँदा चालकसँगै यात्रुको पिसिआर रिपोर्ट मागिन्छ तर त्यही गाडी भारत राखेर पैदल आउँदा भने त्यति चेकजाँच हुँदैन ।’ पैदल आउँदा रोकतोक नहुने तर गाडी लिएर आउँदा विभिन्न कठिनाइ रहेको उहाँको भनाइ छ ।

त्यस्तै भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नुभएका बुटवलका कर्णबहादुर गुरुङले पनि पिसिआर रिपोर्ट र खोप लगाएको प्रमाण देखाउँदा पनि कठिनाइ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जापानबाट बिदामा नेपाल फर्केको छु, भएको डकुमेन्ट देखाउँदासमेत भन्सार कार्यालयमा डकुमेन्ट पुगेन भनिरहनुभएको छ ।’

मुख्य नाका बेलहियामा कडाइ गरिएको र विभिन्न स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र नेपाल प्रवेश गर्न भनेर सूचना जारी गरिएको छ । सीमा क्षेत्रमा यात्रु नागरिक सहायता कक्ष, हेल्थ डेस्कसमेत सञ्चालनमा ल्याइएको छ ।

सीमा क्षेत्र नजिकका केही भारतीय गाउँ हुँदै सामान लिएर भारतीय नागरिक भने नेपाल प्रवेश गरिरहेका छन् । साइकलमा तरकारी बोकेर आइरहेका नागरिकलाई त्यति रोकतोक गरिएको छैन । उनीहरूसँग पिसिआर रिपोर्ट मागिएको पाइँदैन । मुख्य नाका नभई सीमा नजिकका भारतीय गाउँ हुँदै प्रवेश गर्ने विभिन्न व्यक्तिहरूले प्रवेश गर्न पाइरहेका छन् । अझ भारतीय नम्बर प्लेटको मोटरसाइकलले तरकारीलगायतका सामान ल्याउने र नेपाल प्रवेश गरेपछि सीमा क्षेत्रमा नेपाली नम्बरको मोटरसाइकलमा सामान राखेर ल्याउँदै गरेको दृश्य पनि देखिन्छ । नेपाली नम्बर प्लेटमा भारतीय एसएसबीले सामान बोक्न नदिने भएका कारण भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सामान बोकेर ल्याएको र नेपाल पुगेपछि नेपाली प्लेटको मोटरसाइकलमा सामान राख्ने गरेको स्थानीय बताउँछन् । चोरबाटोबाट स्वास्थ्य मापदण्ड पूरा नगरी नेपाल प्रवेश गर्ने व्यक्तिहरूबाट कोरोना संक्रमण फैलिने जोखिम भने कायमै रहेको छ । 

यता जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सत्यनारायण थापाले खुल्ला सीमाका कारण तस्करी नियन्त्रणमा केही कठिनाइ भएको बताउनुभयो । उहाँले विगत महिनामा करोडौंका अवैध सामान बरामद गरिएको बताउनुभयो । ‘खुला सीमा छ भन्दैमा चुप लागेर बस्न सक्ने अवस्था छैन, अवैध सामान नियन्त्रणमा लिएका छौं,’ डिएसपी थापाले भन्नुभयो ।

Top