पहिरोले ताजमहल घुम्न पुगेका पर्यटक अलपत्र

रामचन्द्र रायमाझी   POSTED ON : कार्तिक २, २०७८ (३:१२ PM)

पहिरोले ताजमहल घुम्न पुगेका पर्यटक अलपत्र

पाल्पा। नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहल घुम्न पुगेका आन्तरिक पर्यटकहरु अलपत्र परेका छन् ।  आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले सडक अवरुद्ध हुन पुग्दा रानीमहल घुम्न पुगेका पर्यटकहरु अलपत्र परेका हुन् । 

तानसेनदेखि रानीमहल जाने सडक खण्डका विभिन्न स्थानमा पहिरो गई सडक अवरुद्ध हुँदा त्यहाँ पुगेका आन्तरिक पर्यटकहरु  गन्तव्यमा पुग्न सकेका छैनन् । पहिरोले यहाँका सडकहरु दूई दिनदेखि अवरुद्ध रहेको स्थानीयले बताएका छन् । 

रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायतका सथानमा पहिरो गएको छ । सोमबार रातीसम्म निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन  ढिला हुँदा यहाँ घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेको स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले बताउनुभयो ।

कतिपय पर्यटकहरु पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने धेरैजसो फर्कन समेत पाएका छैनन् । पहिरो फाल्नका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको तानसेन नगरपालिकाका प्रमुख अशोक शाहीले बताउनुभयो । पानी नपरेमा पहिरो आज नै हटाईने उहाँले बताउनुभयो ।

दसैंपछि घुम्न रानीमहल पुगेका पर्यटक सडक अवरुद्ध भएपछि स्थानीय होटल तथा रिसोर्टमा  बास बसेका छन् । सोमबार बिहानदेखि अवरुद्ध भएको रानीमहल जाने सडक मंगलबार बिहानसम्म पनि सञ्चालन नहुँदा समस्या भएको रुपन्देहीबाट घुम्न आएका  मनोज घर्तीले बताउनुभयो । सडकमा पहिरो खस्ने क्रम नरोकिएकाले समस्या आएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

काठमाडौं, पोखरा, बुटवल, कपिलवस्तु, नारायणगढ, नवलपरासीलगायतका स्थानबाट आन्तरिक पर्यटक रानीमहल घुम्न आएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि आफूहरुले सडक डिभिजन, नगरपालिका लगायत निकायमा फोन गरेर बाटो खुलाउन अनुरोध गरेपनि पहिरो हटाउन कहि कतैबाट पहल नभएको पोखराबाट रानीमहल घुम्न पुगेका प्रेम रिजालले बताउनुभयो । 


Top