दाङका स्थानीय तहलाई फोहोर व्यवस्थापनमा सकस

विवेक खड्का   POSTED ON : कार्तिक ४, २०७८ (५:०२ AM)

दाङका स्थानीय तहलाई फोहोर व्यवस्थापनमा सकस

दाङ । स्थानीय तह निर्वाचनको समयमा फोहोरलाई मोहर बनाउने सबै दलको चुनावी नारा थियो । निर्वाचित भइसकेपछि पनि जनप्रतिनिधिले फोहोरको उचित व्यवस्थापनको विषय नीति तथा कार्यक्रममा समावेश गरे । तर, स्थानीय पालिकामा जनप्रतिनिधि आएको चार वर्ष हुँदा पनि फोहोर व्यवस्थापन भएको छैन । अहिले बजार क्षेत्रका फोहोरलाई उठाएर जंगल क्षेत्र तथा डम्पिङ गर्ने ठाउँमा फाल्नेबाहेक अरू काम हुन सकेका छैनन् । दाङको तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाले बजार क्षेत्रवाट संकलन गरेको फोहोर डम्पिङ गर्ने ठाउँमा लगेर फाल्ने गर्छन् । उनीहरूले फोहोरलाई फेरि प्रयोग गर्ने योजना बनाए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । यता दाङका गाउँपालिकाले चाहिँ फोहोरको पुनः प्रयोग गर्न त परै जाओस्, डम्पिङ साइडसमेत बनाएका छैनन् । बजार सानो भएकाले कम फोहोर उत्पादन हुने भन्दै चासो नदेखाएको उनीहरूको भनाइ छ । गाउँपालिकामा फोहोरमैला व्यवस्थापन शाखासमेत छैन । अहिले पालिकामा फोहोर व्यवस्थापनमा चासो नदेखाउँदा यत्रतत्र रूपमा फोहोर छरिएका छन् ।

नीतिमा प्राथमिकता, कार्यान्वयनमा शून्य

व्यवस्थित रूपमा फोहोरको व्यवस्थापन गर्न नसक्दा डम्पिङ साइडमा डम्प गरिएको फोहोर तलसीपुर उपमहानगरपालिका-१२ स्थित पातुखोलाबाट लाग्ने गौरीगाउँ कुलोबाट स्थानीयको खेतबारीमा पुग्ने गरेको छ । यसले गर्दा स्थानीय मर्कामा परेका छन् भने तुलसीपुरमा फोहोर व्यवस्थापन ठूलै समस्याको रूपमा रहेको छ । ‘हाम्रो घर वरिपरि फोहोरको डंगुर छ । स्थानीय पालिकामा जनप्रतिनिधि निर्वाचित भएको करिब चार वर्ष पूरा भएको छ । तर, डम्पिङ साइड बनाउने विषय अन्योलमा छ’, पातुखोलाबाट गौरीगाउँ लगिएको कुलो सफा गर्दै स्थानीय भीमबहादुर चौधरीले हिमालय टाइम्ससँग भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकामा स्थायी डम्पिङ साइड छैन । तुलसीपुर उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको लागि स्थायी डम्पिङ साइड बनाउने भन्दै करिब एक करोड रुपैयाँमा तुलसीपुर–१३ फूलबारीमा जग्गा किनिएको छ । बस्तीनजिक रहेको जमिनमा स्थानीयले डम्पिङ साइड बनाउने कुरामा विरोध गर्दा स्थायी डम्पिङ साइड बनाउन सकिएको छैन । स्थायी डम्पिङ साइड गराउने भन्दै लिएको जग्गा भने उपमहानगरपालिकाले लिजमा दिएको छ । फूलबारीस्थित जग्गा तुलसी गौशालालाई लिजमा दिएको प्रवक्ता सूर्यप्रकाश डाँगी (श्याम)ले बताउनुभयो । हाल तुलसीपुर–१२ मा अस्थायी डम्पिङ साइड बनाएर फोहोर फाल्ने गरिएको छ ।

नगरको फोहोरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनको लागि बर्सेनि उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ । फोहोर संकलन, ढुवानी, फोहोरको प्रकृतिअनुसार छुट्याउने र फोहोरबाट ऊर्जा, प्रांगारिक मल र पुनः उपयोगमा ल्याएर सामग्री उत्पादन गर्न निजी सरकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गरिने नीति कार्यक्रममा समावेश छ ।

दैनिक रूपमा उत्पादन हुने घर परिवार तह वा अस्पताल, विद्यालय, कार्यालयजस्ता सार्वजनिक क्षेत्रबाट संकलन हुने फोहोरलाई व्यवस्थित रूपमा विसर्जन गर्न वा प्रशोधन गरी बिक्री गरिने, फोहोरमैला प्रशोधन केन्द्रको स्थापना गरिने बुँदालाई प्रत्येक वर्षको नीति तथा कार्यक्रममा निरन्तरता दिइएको छ । तर, सो नीति तथा कार्यक्रम कार्यान्वयन भएको छैन । यो वर्ष पनि उपमहानगरले नगरको फोहोरलाई मोहरमा बदल्न र दीर्घकालीन व्यवस्थापन गर्न डम्पिङ साइडको व्यवस्था र फोहोरलाई वर्गीकरण तथा व्यवस्थापनका लागि एक करोड २५ लाख विनियोजन गरिएको छ ।

हाल उपमहानगरपालिकाले काम चलाउका रूपमा फोहोर विसर्जन तुलसीपुर महेन्द्र स्कुलनजिकै शिवशक्ति टोलको खोल्सामा गर्दैै आएको छ । स्थायी डम्पिङ साइडको अभावका कारण नगरपालिकामा फोहोर विसर्जनमा समस्या हुने गरेको छ । उपमहानगरपालिकाका प्रवक्ता डाँगीले फोहोरलाई मोहरमा बदल्न दीर्घकालीन डम्पिङ साइडको व्यवस्थापनका लागि आफूहरू लागे पनि स्थान अभाव भएको बताउनुभयो ।

स्थायी डम्पिङ साइड बनाउने र फोहोरलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न जमिनको खोजी गरेको भए पनि उपयुक्त जमिन नभेटिँदा समस्या भएको प्रवक्ता डाँगीको भनाइ छ । ‘हामीहरूले नीति तथा कार्यक्रममा प्राथमिकता दिएका छौँ र बजेट पनि ल्याएका छौं, स्थान अभावले काम हुन सकेको छैन हामीहरू जग्गाको खोजीमै छौंँ’, डाँगीले भन्नुभयोे । अहिले फोहोर वर्गीकरण नहुँदा र स्थायी डम्पिङ साइड नहुँदा समस्या आउने गरेकोे उहाँले बताउनुभयो । अहिले तुलसीपुर उपमहानगरपालिकाले फोहोर विसर्जन गर्ने स्थायी ल्याण्डफिल्ड साइड नहुँदा फोहोरको वर्गीकरणसमेत नगरेर उठाउने गरेको छ ।

तुलसीपुरमा स्थायी डम्पिङ साइड निर्माणका लागि पहल गरिएपनि सो विषय छलफलमा मात्र सीमित भएको छ । डम्पिङ साइड नहुँदा त्यसको प्रत्यक्ष मारमा बजारदेखी दक्षिण क्षेत्रका गाउँ परेका छन् । तुलसीपुर उपमहानगरपालिकाको दक्षिण तर्फका टारिगाउँ, गोलौरा, गोलौरी, गौरीगाउँलगायतका किसानहरूले तुलसीपुर बजार हुँदै बग्ने कुलाको फोहर जाँदा बर्षेनि समस्या व्यहोर्दै आएका छन् ।

तुलसीपुर बजारका वरपर रहेका कुला तथा नालामा फोहोर फाल्दा त्यसको प्रत्यक्ष मारमा यहाँका किसानहरू परेका छन् । कुलो तथा नालामा पसलबाट निस्कने फोहोर, सुई, सिसा तथा प्लाष्टिकजन्य वस्तु तथा कपडाको टुक्रा जस्ता फोहोरहरू जथाभावी फाल्नाले वर्षातको समयमा बाढी आएको बेला सो फोहोर किसानको खेतबारीमा सोझै जाने गरेको छ । वर्षाको पानीले सबै फोहोरहरू बगाएर किसानको खेत तथा घर आँगनमा थुपारेको हुन्छ । दिनहुँजसो खेतमा प्लाष्टिक र कुलोले बगाएर ल्याएको फोहोर टिप्न बाध्य भएको किसानहरू बताउँछन् । खेतैभरि फोहोरको डुंगुर जम्मा हुने समस्या रहेको छ ।

खेतमा कुलोले बगाएर ल्याएको प्लाष्टिकले गर्दा खेत जोत्न कठिनाइ हुनुका साथै प्लाष्टिकले गर्दा खेतको माटोसमेत बिग्रिएको किसानहरू बताउँछन् । त्यसैगरी फोहोरले गर्दा खेतीयोग्य जमिनमा असर गर्नुका साथै नोक्सानी पुर्‍याएको भन्दै गुनासो गर्ने गरेका छन् । पालिकाको स्थायी ल्याण्डफिट साइट नहुँदा जैविक तथा अजैविक फोहर वर्गीकरण नहुँदा पनि यस्तो समस्या उत्पन्न हुने गरेको छ । तर, वडा नम्बर १२ का अध्यक्षसमेत रहनुभएका प्रवक्ता डाँगीले चाहिँ समस्याको दीर्घकालीन समाधानका उपायहरूको खोजी भइरहेको बताउनुहुन्छ । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आउनुभन्दा अगाडि बजारमा जथाभावी रूपमा फोहोर फाल्ने गर्दा बजार दुर्गन्धित तथा कुरूप थियो । तर, जनप्रतिनिधि आइसकेपछि चाहिँ बजारको फोहोरलाई उठाउने र सफा गर्ने काम गरिए पनि नीति तथा कार्यक्रममा समावेश भएअनुसार दीर्घकालीन समाधानको उपाय कार्यन्वयनमा आएको छैन ।

फोहोर व्यवस्थापनमा असफल

लमही नगरपालिका पनि फोहोर व्यवस्थापनमा सफल हुन सकेको छैन । बजार क्षेत्रवाट संकलन भएको फोहोर लमही नगरपालिका–५ मा रहेको अजम्मरी सामुदायिक बनमा बनाइएको डम्पिङ साइडमा फाल्ने गरिएको छ । जनप्रतिनिधि आएको पहिलो बर्ष गल्ने फोहोरलाई कम्पोष्ट मल बनाउने तथा नगल्ने फोहोरलाई फेरि प्रयोग गर्नेगरी योजना बनाइए पनि चार बर्षसम्म पनि काम हुन सकेको छैन । लमही नगरपालिका वातावरण तथा सरसफाई शाखाकी प्रमुख गायत्री थापाले फोहोर व्यवस्थापनको योजनाअनुसारको काम हुन नसकेको बताउनुहुन्छ ।

तीन बर्षमा फोहोरलाई संकलन गरी फाल्ने काम मात्र गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर डम्प गर्ने योजनाअनुसार अभ्यास गरिएको थियो । करिव एक महिना गल्ने र नगल्ने फोहोरलाई छुट्याएर उठाउने काम गरियो । तर, पछि बजार क्षेत्रका बासिन्दाले गल्ने र नगल्ने फोहोरलाई छुट्याएर दिन सकेनन् जसले गर्दा यो काम पनि सफल हुन सकेन । जनप्रतिनिधि आएको चार वर्षमा फोहोरलाई मोहर बनाउने कामलाई प्राथमिकता नदिदा पालिका फोहोर व्यवस्थापनमा असफल देखिएको हो । अहिले गल्ने, नगल्ने, सिसाका टुक्रा, प्लाष्टिक एकैठाउँमा डम्प गर्ने गरिएको छ जसले गर्दा वन क्षेत्रमा कामका लागि जानेहरूलाई दुर्गन्धले सताउने गरेको छ । लमहीकी स्थानीय सरिता चौधरीले गाईभैँसीका लागि घाँस काट्न तथा अन्य कामका लागि जंगल जाँदा दुर्गन्धले सताउने गरेको बताउनुहुन्छ । बजार क्षेत्रमा खासै फोहोर नभए पनि जंगल भने फोहोर बन्दै गएको चौधरीको भनाइ छ ।

फोहोर व्यवस्थापनको लागि सचेत हुन आवश्यक भएको भन्दै नगरपालिकाले पालिकाका एक सय तीन टोल विकास संस्थाका पदाधिकारीलाई तालिम दिएको छ । नगरबासीमा भएको चेतनाको अभावका कारण फोहोर व्यवस्थापनमा चुनौती भएको भन्दै तालिम दिने काम गरिएको सरसफाइ शाखा प्रमुख थापाले बताउनुहुन्छ । फोहोर व्यवस्थापन गर्न भन्दै यो वर्ष ७५ लाख रुपैँया बिनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो । पहिले बजार तथा बसपार्क क्षेत्रमा अत्याधिक फोहोर हुने गरेको भए पनि पछिल्लो समयमा भने बजारको फोहोरलाई उठाउने र नियमित सफा गर्ने काम गरिएको छ । तर, फोहोर उठाए पनि त्यसलाई फेरि प्रयोग गरिने योजनाअनुसारको काम भने गर्न सकिएको छैन । फेरि प्रयोग गर्ने विषय पालिकाको प्राथमिकतामा नपरेको हुँदा समस्या भएको हो ।

फोहोर व्यवस्थापनमा सकस

उता दाङको पश्चिम बबई गाउँपालिकामा डम्पिङ साइड बनाउन सकिएको छैन । डम्पिङ साइड नहुँदा फोहोर व्यवस्थापनमा सकस परेको छ । बजार क्षेत्रवाट उत्पादन हुने फोहोर व्यक्तिले नै व्यवस्थापन गर्ने गरेका छन् जसले गर्दा बजार नजिक बस्ती, खाली जमिनमा तथा बजार क्षेत्रमा फोहोर देखिने गर्छ । बजार क्षेत्र सानो भएकाले फोहोर खासै संकलन नहुने भन्दै फोहोर व्यवस्थापनको विषयलाई पालिकाले प्राथमिकता नदिएको हो ।

गाउँपालिका सूचना अधिकारी भुवन चन्द (बालान)ले यो वर्ष डम्पिङ साइड बनाउने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । त्यसका लागि बजेटको व्यवस्थापनसमेत गरिएको छ । ल्याण्डफिल साइटका लागि १० लाख रुपैयाँ, फोहोर व्यवस्थापन शीर्षकमा चार लाख रुपैयाँ तथा फोहोर उठाउने ट्याक्टर खरिदका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो । आगामी वर्षसम्म फोहोर व्यवस्थापनको सबै कामहरू गरिने चन्दको भनाई छ ।

जंगलमा फाल्दै फोहोर

राप्ती गाउँपालिकामा डम्पिङ साइड बनाइएको छैन । बजार क्षेत्र सानो भएकाले डम्पिङ साइड बनाउने काम प्राथमिकतामा नपरेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । गाउँपालिकाले स्थायी डम्पिङ साइड नबनाएर पुरानो भालुवाङ क्षेत्रस्थित जंगलमा बजारको फोहोर जथाभावी फाल्ने गरेको छ । गाउँपालिकामा भएको एउटा ट्याक्टरले फोहोर संकलन गरेको छ । पालिकामा फोहोरमैला व्यवस्थापन शाखा हुनुपर्ने भए पनि राप्तीमा छैन । उता गढवा गाउँपालिकाले चाहिँ वडा नं. ५ को जंगलमा फाल्ने गरेको छ ।

पालिकाहरू फोहोरमैला व्यवस्थापन ऐनविपरीत

फोहोरमैला ऐन २०६८ ले फोहोरमैला व्यवस्थापन गर्ने गराउने दायित्व स्थानीय तहलाई तोकेको छ । फोहोरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेशन), ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट, बायो ग्यास प्लाण्टलगायत फोहोरमैलाको संकलन, अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पूर्वाधार तथा संरचनाको निर्माण र सञ्चालन गर्ने जिम्मेबारी स्थानीय तहको हुने ऐनमा समेटिएको छ ।

डम्पिङ साइड बनाउने र डम्पिङ साइड बनाउँदा जनस्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर नपर्ने गरी बनाउनुपर्ने छ भने त्यस स्थानमा दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्थासमेत गर्नुपर्ने ऐनमा उल्लेख छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्र संकलन भएको फोहोरमैलालाई व्यवस्थापन तथा स्थायी रूपमा विसर्जन गर्नको लागि वातावरणसम्बन्धी प्रचलित कानुनको अधीनमा रही फोहोरमैला व्यवस्थापनस्थल (स्यानिटरी ल्याण्डफिल साइट) तोक्न सक्ने, जथाभावी रूपमा फाहोरमैला फाल्न नहुने ऐनमा उल्लेख छ ।


Top