भैरहवा, बुटवलको दृष्य हेर्न पाल्पाको नुवाकोटमा पर्यटक

रामचन्द्र रायमाझी   POSTED ON : कार्तिक ४, २०७८ (११:३० AM)

भैरहवा, बुटवलको दृष्य हेर्न पाल्पाको नुवाकोटमा पर्यटक

पाल्पा । भैरहवा र बुटवलको मनोमहक दृष्यहरु हेर्न पर्यटकहरु पाल्पाको नुवाकोट पुग्ने गरेका छन् ।  पर्यटकीय गन्तव्यको रुपमा रहेको पाल्पाको तिनाउँ गाउँपालिका–२ दोभान स्थित नुवाकोट क्षेत्रबाट रुपन्देहीको बुटवल, र भैरहवाको मनोमहक दृष्यहरु अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँ आउने गरेका हुन् । यहाँ आउने पर्यटकहरुले पाल्पाका ऐतिहासिक स्थलहरुको अवलोकनसँगै बुटवल, भैरहवाका दृष्यहरु अवलोकन गरी आनन्द लिने गर्दछन् ।  

कोभिड संक्रमणको अवस्था केही सहज बन्दै  गएपछि आन्तरिक पर्यटकहरु यहाँ घुम घामका लागि निस्कन थालेका छन् । बुटवल, भैरहवा जस्ता सहर बजारको बीचमा लावा लस्कर गाडी हिडेका दृष्यहरु नुवाकोट डाँडाबाट देख्न सकिन्छ  । त्यति मात्र होइन बुटवल सहरकै बीचमा बगिरहेको नदी,  बजारकै किनारमा रहेका हरिया जंगलको दृष्य पनि यहाँबाट देख्न सकिन्छ । डाडाँकाडा बनजंगल नदी नालादेखी समथर फाँटको दृश्यले यहाँ आउने जोकोहीको मन लोभ्याउने गरेको छ । बुटवलबाट साथीहरुसँगै घुम्न नुवाकोट पुग्नुभएका गुल्मीका कृष्ण घर्ती बुटवल र भैरहवाका दृष्य हृृर्दा अचम्मै पर्नु भयो । आफु ३ वर्ष  बुटवल बसे पनि त्यहाँको सम्पूर्ण दृष्यहरु यसरी नदेखेको उहाँको बताउँनुहुन्छ । घर्ती भन्नुहुन्छ ‘नुवाकोटको नाम सुनेको तर यस्तो होला भन्ने कल्पना समेत गरेको थिएन, यहाँ आएपछि त बुटवल, भैरहवाको झल्को मात्र होइन, मन नै आनन्दित हुँदो रहेछ ।’

दोभान नुवाकोट क्षेत्र बुटवल, भैरहवा पुग्ने पर्यटकहरुको लागि नयाँ गन्तव्यको रुपमा विकास भएको छ । बुटवलको बेलवासबाट १० किलोमिटर, बुटवल, तानसेन सडक खण्डको दोभानबाट ४ किलोमिटर दुरीमा नुवाकोट क्षेत्र पुग्न सकिन्छ ।  बुटवल क्षेत्रबाट जाडो महिनामा घाम ताप्न र गर्मी महिनामा शितल हावा खाँदै तराईका समथर फाँट, रुपन्देही नवलपरासीका विभिन्न शहरहरुको दृश्वालोकन गर्दै भारतको सुनौली, नौतनुवा, सम्मको भू–भाग हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पाल्पाको नुवाकोट आउने गर्छन् । पाल्पाको नुवाकोटबाट बुटवल देखी भैरहवा सम्मको सबै दृश्यहरु देखिन्छ, डाँडाबाट प्राकृतिक आनन्द लिनको लागि यस क्षेत्रमा घुम्न आएको बुटवलका रामचन्द्र सुनारले बताउनुभयो । नुवाकोट डाँडा पर्यटकहरुको लागि अहिले सेल्फी डाँडा समेत बनेको छ । तराईका फाँटदेखी बुटवलको घना बस्ती क्यामेरामा कैद गर्न चलचित्र तथा वित्तचित्र निर्माताहरु नुवाकोट डाँडामा पुग्ने गरेका छन् । नुवाकोट डाँडाबाट बुटवल शहरबस्ती विकासको अवस्था, तिनाउँ नदीको सुन्दरता, चुरे क्षेत्रको तथा वन वातावरणको अवस्था, बढ्दै गएको शहरीकरणको बारेमा सही योजना बनाउन सकिन्छ । हालै चुरे क्षेत्रको स्खलनबाट बुटवलका विभिन्न क्षेत्रमा पुर्याएको क्षतीको सही मुल्याङ्कन, भु–बनोटको अवस्था पत्ता लगाउदै रोकथामको लागि भावी योजना बनाउन समेत भुर्गवविद तथा ईन्जिनियरहरुको लागि नुवाकोट डाँडा महत्वपूर्ण स्थान बनेको छ । पर्यटकको आगमन बढेपछी नुवाकोट डाँडामा दृश्वालोकनको लागि तिनाउँ गाउँपालिकाले भ्यू प्वाईन्ट, सुरक्षाको लागि रेलिङबार, तथा वनभोज स्थल निर्माण गरेको छ ।  सबैको आकर्षणको केन्द्र तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित हँुदै गएपछी बुटवल फुलवारीदेखी नुवाकोट सम्मको केवलकार निर्माणको काम समेत शुरु भएको छ । केवलकार निर्माण भएपछी बुुटवलका पर्यटकहरु पाँच मिनेटमै नुवाकोट पुग्ने छन् । 


Top