बर्दघाट नगरपालिकाको कृषि शाखामा किसानले लगाए ताला

प्रकाश न्यौपाने   POSTED ON : मंसिर १४, २०७८ (५:५८ AM)

बर्दघाट नगरपालिकाको कृषि शाखामा किसानले लगाए ताला

नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाको कृषि शाखामा किसानले ताला लगाएका छन् । बर्दघाट-१३ मा रहेको नवदुर्गा कृषक मूल समूहले मकैको बिउ माग गर्ने विषयमा कृषि शाखा प्रमुख युवराज लम्सालले किसानलाई गालीगलौज र दुव्र्यवहार गरेकाले ताला लगाइएको सोही कृषक मूल समूहका सहसचिव बिनिराम पराजुलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि शाखा प्रमुख लम्सालले १३ नम्बर वडा कार्यालयमा गएर किसानहरूलाई पाँच दिनसम्म कोठामा थुनेर आगो लगाउँछु भनेर धम्की दिनुभएछ । कर्मचारीमाथि पनि धाकधम्कीसहित दुव्र्यवहार गरेकाले कृिष शाखा प्रमुख लम्साललाई नगरबाट हटाइनुपर्ने मागसहित किसानहरू आन्दोलनमा उत्रनुपरेको हो ।’ 

लम्सालले दिएको अभिव्यक्तिले सबै किसानको मानमर्दन भएको र उहाँमाथि कारबाही हुनुपर्ने बर्दघाट-१३ का किसान नगदुर्गा कृषक मूल समितिका सचिव श्याम श्रेष्ठले बताउनुभयो । कृषि कार्यका लागि कृषि शाखा प्रमुखले किसानसँग कुनै सहजीकरण नगरेको, कुहेको बिउ वितरण गरेको र पछि किसानसँग खोसेर लगेकाले तत्काल प्रमुख लम्साललाई बर्दघाट नगरपालिकाको सेवाबाट हटाइनुपर्ने मागसहित समूहले उपप्रमुख मायादेवी पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

हामीले साझेदारी रूपमा मकै खरिद गर्नका लागि किसानसँग पैसा उठाएर आधा पैसा खातामा जम्मा गरेर कृषि शाखा प्रमुखसँग कुरा गर्न जाँदा हाम्रो कुरा नसुनी उल्टै हामीाथि ज्यान मार्ने धम्कीसहित जाइलाग्नु भएछ ‘बर्दघाट-१३ कै कृषक पिताम्बर पाण्डेले भन्नुभयो । बर्दघाट नगरपालिकाले बर्दघाट-१३ लाई मकै पकेट क्षेत्रको रूपमा घोषणा गरेको छ ।

Top