लुम्बिनी प्रादेशिक अस्पतालमा डुप्लेक्स अक्सिजन प्लान्ट सुरु

चन्द्रकान्त खनाल   POSTED ON : मंसिर २०, २०७८ (६:०२ AM)

लुम्बिनी प्रादेशिक अस्पतालमा डुप्लेक्स अक्सिजन प्लान्ट सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डुप्लेक्स अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । विश्व बैंकको सहयता तथा युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिस युएनओपिएसमार्फत् सो डुप्लेक्स अक्सिजन प्लान्ट निर्माण भएको हो ।

एक समारोहबीच विश्व बैंकको कन्ट्री म्यानेजर फरिस हाडाड जेरर्भस, युएनओपिएसका कन्ट्री म्यानेजर कमल कार्की र अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले रिबन काटेर अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । १४२ सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स अक्सिजन प्लान्टले प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन उत्पादन गर्ने युएनओपिएसका कन्ट्री म्यानेजर कमल कार्कीले बताउनुभयो । 

यसमा कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्यांक, अक्सिजन स्टोरेज ट्यांक, सिलिण्डर फिलिङ स्टेसनलगायत उपकरण राखिएको छ । यो सिष्टम युएनओपिएसको सहयोगमा करिब तीन करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले बताउनुभयो । उहाँले अस्पतालको सेवालाई उत्कृष्ट बनाउन र उपलब्ध साधनस्रोतलाई सही रूपमा प्रयोग गरेर बिरामीको सेवा गरिने बताउनुभयो । उहाँले अहिलेको चुनौतीलाई अवसरको रूपमा लिएर चनाखो भई इमानदारीपूर्वक काम गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन विभागका डा. मदन उपाध्याय, डा. रुद्र मरासिनी तथा अध्यक्ष भट्टराईले बोल्दै अवसरको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । यसप्रकारका डुप्लेक्स अक्सिजन प्लान्ट सातै प्रदेशका प्रादेशिक अस्पतालमा जडान गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोना महामारीमा अक्सिजनको अभावका कारण संक्रमितहरूको धमाधम ज्यान जान थालेपछि विश्व बैंकको सहुलियत ऋण सहयोगमा युएनओपिएसको निगरानीमा लुम्बिनी प्रादेशिक अस्पतालसहित सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । विश्व बैंककै सहयोगमा एक हजार थान अक्सिजन कन्सल्टेलर तथा सातवटा अस्पतालहरूलाई जेनरेटर उपलब्ध गराइएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले बताउनुभयो । प्रत्येक अस्पतालहरूमा दुई करोड ५० लाख बढीको लगानीमा प्लान्ट स्थापना भएको उहाँले जानकारी दिनुभयो । 

Top