5th December | 2020 | Saturday | 10:55:39 AM

मूल संरक्षण गर्ने कि भाग्ने ?

मूल संरक्षण गर्ने कि भाग्ने ?

प्रारम्भ

यो हप्ता टिक्टके डाँडा अर्थात् तनहुँको मानुङकोट निकै चर्चामा आयो । कोभिड–१९ को त्रासका बीच गत शनिबारमात्रै दश हजार पर्यटक त्यहाँ पुगे र तीन किलोमिटरसम्म सवारीसाधनको जाम नै प¥यो । युवा वर्गमा अति नै लोकप्रिय टिक्टकमार्फत प्रख्यात् बनेको उक्त गाउँ भने लगभग मानवविहीन गाउँ हो । २०३२ सालतिर ६०–६५ घरपरिवार बस्ने त्यो गाउँमा हाल सात घरमात्र बाँकी छन् तर पनि कोही बस्दैन । मुख्य कारण हो–पानीको समस्या । पानीका मूल सुकेका कारण गाउँका सबै अन्यत्र बसाइँ सरे । किन भने पानी नै जीवन हो, पानीविना जीवन सम्भव छैन । 

हिन्दूकुश पर्वत शृंखला क्षेत्रका ग्रामीण बासिन्दाहरूका लागि बस्तीवरिपरिका मूलहरू नै पानीका मुख्य स्रोत हुन् र जीविकोपार्जनका आधार पनि । नेपालका हिमाल, पहाड र चुरे क्षेत्रमा ठूलो संख्यामा पानीका मूलहरू छन् र एक करोडभन्दा बढी मानिस तिनै मूलमा आस्रित छन् तर तिनै मूलहरू सुकेर पानीको संकट परिरहेको विभिन्न अध्ययनले देखाएका छन् । मूलहरू सुकेका कारण या त मानुङकोट जस्तै कतिपय गाउँका बस्ती नै खाली हुँदैछन् अथवा तिनलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर महँगा खानेपानी आयोजना खोज्न गाउँ÷नगरपालिकाहरू बाध्य छन् । फलतः विगतमा खानेपानी क्षेत्रमा नामै नसुनेको लिफ्ट, बोरिङजस्ता प्रविधि आज सबैका लागि प्रिय विकल्प बनेका छन् । अन्य क्षेत्रमा लगानी गर्नुपर्ने बजेटको महत्वपूर्ण हिस्सा त्यसैले खाइरहेको छ र तिनै प्रविधि मूल सुकाउनेमध्येका मुख्य कारक हुन् भन्ने हेक्का पनि छैन । अतः यो लेखमा त्यति चर्चामा नरहेको तर गम्भीर मानवीय समस्या बन्दै गएको उक्त विषय समेटिएको छ । 

वर्तमान अवस्था

नेपाल पानी सदुपयोग फाउण्डेशनले एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को सहकार्यमा नेपालको पूर्वमा इलामदेखि पश्चिममा दार्चुलासम्मका हिमाल, पहाड र चुरे क्षेत्रका ३०६ गाउँ÷नगरपालिकाहरूमा गरेको अध्ययनले करिब ७५ प्रतिशत गाउँ÷नगरपालिकामा मूल सुक्ने समस्या रहेको र ५८ प्रतिशतमा मूल सर्ने घटना भएको देखाएको छ । त्यसबाट खानेपानी, सरसफाइ, सिँचाइ, पशुपालनमा समस्या परेको छ भने कतिपय ठाउँमा त मूल सुकेकै कारणले गाउँ नै छोड्न बाध्य भएको पनि देखिएको छ । यो समस्या सर्वत्र पाइयो । 

कारण

मूल सुक्नुका प्राकृतिक र मानवजन्य दुवै कारण भए पनि मुख्य कारक भने मानवीय गतिविधि नै देखिन्छन् । गाउँ÷नगरपालिकाका पदाधिकारीहरूका अनुसार मूलाधार क्षेत्रको विनाश, परम्परागत पोखरीहरू मासिनु, विकासका नाममा जथाभावी सडक तथा भौतिक संरचना बनाउनु, जलविद्युत् आयोजनाका सुरुङ, इनार र डिप बोरिङ खन्नु मुख्य मानवीय कारण हुन् भने जलवायु परिवर्तनका कारण हुने अतिवृष्टि, अल्पवृष्टि तथा त्यसबाट हुने बाढीपहिरो तथा खडेरी र भूकम्पआदि मुख्य प्राकृतिक कारण हुन् । 

बस्ती नजिकका पानीका स्रोतहरूको उपेक्षा गरियो र बाबुबाजेले बनाएका हिले पोखरी, तालतलाउ जस्ता आकाशे पानीलाई सञ्चित गरेर जमिनभित्र पठाउने परम्परागत संरचना मासिए । 

वर्षाको स्वरूपमा समेत परिवर्तन आएको पनि देखियो । सिमसिमे पानी लामो समय पर्नुपर्नेमा छोटो समयका मुसलधारे पर्न थालेकाले जमिन भिज्न नपाउँदै सतहबाटै बग्ने गरेको छ । पहिलेका खाली जग्गा, धाप, बाटोघाटो क्षेत्रमा अहिले पक्की संरचना बनेकाले पानीलाई जमिनमा अल्मलाउने ठाउँ रहेनन् । त्यसले गर्दा नाला, ढल, खहरे नदीमा बग्ने पानीको आयतन र प्रवाहमा वृद्धि भएर बाढीपहिरोजस्ता जलजन्य विपद्को मात्रालाई बढाउन मद्धत गरेको छ ।

संस्कार र परम्परा मासिए । काठमाडौं उपत्यकाकोे सिथिनखः तराईको छठ, माझी समुदायको नदीपर्व जस्ता खोलानाला, ताल, पोखरी तथा मूल, पानीका स्रोतलाई सम्मान गर्ने संस्कारलाई बेवास्ता गरियो । 

पानीका स्रोत नै पर्याप्त नभएको ठाउँमा बस्ती बसाइएका कारण त्यस्ता क्षेत्रमा जनसंख्या थपिँदा पानीको समस्या हुने गरेको पनि पाइयो । 

पीडित को ?

पहाडी क्षेत्रका बासिन्दा सबैभन्दा बढी पीडित छन् । उनीहरूका लागि खानेपानी, सरसफाइ, सिँचाइजस्ता अत्यावश्यक उपयोगमा समस्या परेको छ । त्यसभित्र पनि सबैभन्दा बढी समस्या महिलाहरूमाथि थपिएको छ । 

बेमौसमी तरकारी खेती गरेर बेच्ने किसानले खेती छाड्न बाध्य छन् । खानेपानी आपूर्तिका वैकल्पिक स्रोत रहेका स्थानमा महंगा आयोजना बनाउन बाध्य छन् । लिफ्टिङ तथा बोरिङको अभ्यास बढ्दै गइरहेको छ । त्यसका लागि सुख्खा क्षेत्र घोषणा गर्ने गरिएको छ । बोरिङ÷लिफ्टिङका लागि वर्षेनी खानेपानीको शीर्षकमा हरेक गाउँ÷नगरपालिकाले ठूलो रकम छुट्याउने र प्रदेश सरकारहरूले पनि सहयोग गर्ने रहेछन् । परापूर्वकालदेखिका मूल, कुवा, पँधेरालाई लत्याएर एकघर एकधारा नीतिअन्तर्गत शहरमा जस्तै गाउँका घरघरमा धारा बाँड्ने र पानीको महसुल उठाउनेतर्फ लगभग सबै स्थानीय तह लागेका छन् तर मूल सरंक्षणको महत्व र बोरिङ तथा लिफ्टिङ परियोजनाको दिगोपनातर्फ कसैको ध्यान नजाने रहेछ । जबकि बोरिङ तथा ट्युबवेलले जमिनमुनिको पानीको सतह घटाएर उल्टै भइरहेका मूल सुकाउन मद्धत गर्दछ । साथै प्लाष्टिक पोखरीलाई पनि विकल्पका रूपमा अघि बढाइएको पाइयो तर त्यस्ता पोखरीले मूलको पुनर्भरणमा मद्धत गर्दैनन् । 

अन्य विकल्प नभएका स्थान खासगरी भोजपुरको रामप्रसाद राई गाउँपालिका, धनकुटाका शहिदभूमि गाउँपालिका र महालक्ष्मी नगरपालिका, मुस्ताङको दालोमे गाउँपालिका र सल्यानको छत्रेश्वरी गाउँपालिका कतिपय गाउँ नै विस्थापित भएको पनि पाइयो ।

समाधानका प्रयास

नेपाल तथा समग्र हिन्दूकुश पर्वत क्षेत्रका मूलहरू सुक्ने क्रममा तीव्रता आएको तथ्यलाई मध्यनजर गरेर नेपाल पानी सदुपयोग फाउण्डेशन र इसिमोड मिलेर पानीका मूल पुनस्र्थापनाका लागि नीतिगत मूलप्रवाहीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् । सोही कार्यक्रमअन्तर्गत विभिन्न गाउँ÷नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रनिनिधि, संघसंस्थाका प्रतिनिधि तथा विशेषज्ञ, स्थानीय समुदायका प्रतिनिधिको सहभागितामा आयोजित पानी सत्संग कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएको हो । यो आलेखका लेखकहरूले गरेको उक्त अध्ययनका आधारमा पानीका मूलहरूको पुनर्ताजगी एवं संरक्षणका लागि गाउँ÷नगरपालिकास्तरबाट केकस्ता पहल भइरहेका छन् र थप के गर्न जरुरी छ भन्ने विषयमा पनि छलफल भएको थियो । सो क्रममा कतिपय गाउँ÷नगरपालिकाहरूले मूल सुक्ने समस्यालाई गम्भीर रूपमा लिएर परम्परागत पोखरी पुनस्र्थापन, आकाशे पानी संकलन, मूल पुनर्भरणका विविध कार्यक्रम सञ्चालन गरेकोसमेत पाइयो तर यस विषयमा पर्याप्त प्राविधिक ज्ञान र सीपको अभाव रहेको पाइयो । 

त्यसैले संरक्षणका लागि स्थानीयस्तरमा गरिएका उल्लेखनीय काम तथा असल अभ्यासहरूलाई अन्य क्षेत्रमा लैजान र संरक्षण कार्यमा संलग्न सम्बद्ध सबैको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको पनि देखियो । त्यस अतिरिक्त पानीका मूलहरूको दिगो एवं प्रभावकारी संरक्षणका लागि नीतिगत तहमा व्यवस्था गरेर अघि बढ्न जरुरी रहेको देखियो । साथै स्थानीय, प्रदेश र संघ तीनैतहका सरकार, स्थानीय समुदाय, उपभोक्ता, संरक्षणका क्षेत्रमा कार्यरत संघसंस्था, अनुसन्धान केन्द्र, विश्वविद्यालय, वन, भूगर्भ तथा योजना तर्जुमा क्षेत्रमा लागेका सबै मिलेर काम गर्न आवश्यक छ । 


Views: 637