5th March | 2021 | Friday | 4:23:28 AM

बिग्रियो भन्नेहरू आफैं सप्रनु पर्ने कि नपर्ने ?

प्रा. देवीभक्त ढकाल   POSTED ON : माघ ७, २०७७ (८:४० AM)

बिग्रियो भन्नेहरू आफैं सप्रनु पर्ने कि नपर्ने ?

देश बिग्रियो, समाजमा अराजकता र बेथितिहरू बढे, राजनीति प्रदुषित भयो, इमानदारीता र नैतिकता सबै क्षेत्रमा हरायो । भ्रष्टाचार, दूराचार, ठग प्रवृत्ति मौलायो । जताततै अनियमितता, दमन, थिचोमिचो, अनुशासनहीनता, अकर्मण्यता बढ्यो । युवाहरूमा लगनशीलता, कर्मशीलता, अध्ययन, अनुसन्धान जस्ता सकारात्मक पक्षहरू किन हराउँदै जान लागे ? गलत तरिकाबाट धन आर्जनतिरमात्र समाज किन आकर्षित भयो ? मिहिनेत र जाँगरले बाँच्ने र नाँच्ने संस्कार र संस्कृति किन लोप हुँदै गयो ? युवाहरूमात्र होइन समाज नै चारित्रिक रूपमा किन स्खलित भयो ? परोपकार, आध्यात्मिक भावना, सेवा र सहयोगी भावना समाजमा एकाएक किन कमजोर हुँदै गए ? 

समाजमा आत्मनिर्भरता, बौद्धिकता, आत्मविश्वास, सहयोगको आदानप्रदान किन कमजोर हुँदै गए ? किन मानिस गलत तरिकाले धनार्जन गर्न उत्प्रेरित हँुदै गयो ? इमानदारीता, नैतिकता, सदाचार र सादगीलाई कसरी पुनस्र्थापित गर्ने ? शिक्षा, स्वास्थजस्ता क्षेत्रमा व्यापक अनियमितता र शोषण हुने अवस्था आयो ? जताततै निराशा, अनियमितता, पीडा, शोषण, अनैतिकता, अकर्मण्यता र अव्यवस्था किन ? सभ्य समाजका लक्षण र विशेषतालाई हामीले दिनप्रतिदिन किन गुमाउँदै छौं ? शिक्षितहरूको संख्यात्मक वृद्धिसँगै अनियमितता, अनुशासनहीनता, अकर्मण्यता, भ्रष्टाचार, दुव्र्यसनहरू किन दिनप्रतिदिन बढ्दैछन ? अहिले समाजको चिन्ता यही सेरोफेरोमा केन्द्रीकृत हुन अनिवार्य भएको छ ।

विगतमा सुधारका नाममा भएका सबै राजनीतिक परिवर्तनले विकृतिमात्र उत्पादन गरेको छ । नैतिकताको उत्पादन गर्ने जिम्मेवार राजनेता, शिक्षक, प्राध्यापकमै अनैतिकता र दुव्र्यसन मौलाएको छ । न्यायाधीशको नियुक्तिमै न्यायाधीश झुकेको छ । त्यसैले न्यायाधीश स्वच्छ र निष्पक्ष न्याय दिन चुकेको छ । नैतिकताको धरातलमा टेकेर न्याय दिनुपर्ने न्यायाधीश नै अनैतिकताको सहारा र आधारमा न्यायाधीशको कुर्सीमा बसेको छ । योग्यहरू पछि–पछि अयोग्यहरू अघि–अघि छन् । योग्यता धन, नाता, पार्टी, चाकरी र चम्चागिरी बनेको छ । यहाँ राजनीति, अर्थनीति, सामाजिक क्षेत्र, प्रशासनिक, न्यायिक, शैक्षिक सबै क्षेत्रका मानिसहरू अनैतिक बाटामा हिँडेको अवस्था छ ।

पुलिस अपराधीसँग झुक्ने अवस्था भनेको आफैंमा भयावह अवस्था भन्नुपर्छ । सबै उच्च पदस्थहरू पदमा प्रवेश गर्दा भ्रष्टाचार निवारणका चर्को नारा लिएर पदमा प्रवेश गर्दछन् तर प्रायः सबैको कार्यशैली अन्ततः भ्रष्टाचारमैत्री भएको प्रमाणित भएको छ । सबैलाई पद चाहिएको छ । त्यसको गोप्य उद्देश्य भनेको भ्रष्टाचार गरेर छिट्टै धन आर्जन गर्न हो न कि देश र सामजलाई परिवर्तनको लाभ वितरण गर्न समाजका सबै क्षेत्रमा सत्य, पारदर्शिता, सदाचार, नैतिकता, इमानदारीता, इन्टिग्रिटी अनिकालको बिउ र महामारीको औषधि जस्तै दुर्लभ विषय बनेको छ । चारैतिरको नकारात्मक परिस्थितिलाई अवलोकन गर्दा त लाग्छ सिंगो समाज सत्यबाट धेरै टाढिएको छ । 

फेरि त्यही समाजको सदस्य भएर बाँच्नुको विकल्प छैन । त्यसको पीडाबोधको इतिहास पनि मर्न दिनु हुँदैन । इतिहासको महŒव वर्तमानमा होइन भविष्यमा हुन्छ । हामीले यो युगका राम्रा नराम्रा इतिहासको फेहरिस्तलाई लिखित रूपमै आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । यदि हामीले हाम्रो भोगाइको इतिहास नलेखिकन हाम्रो मृत्यु भयो भने त्यो अनुभव र ज्ञान सदाका लागि लोप हुन्छ, नाश हुन्छ । यस्तो परिस्थिति बन्यो भने देश, समाज र मानव जातिका लागि साथै सम्बन्धित व्यक्तिका लागि दुर्भाग्यपूर्ण भन्नुपर्छ । मृत्युुसँगै सम्बन्धित व्यक्तिको ज्ञान, विज्ञता, अनुभव, सिकाइ, भोगाइ सबै नष्ट हुन्छन् किनकि जीवधारीको मृत्युु अवश्यम्भावी छ, उत्तरार्धको उमेर समूहका सबैले यो हेक्का राख्नैपर्छ । 

विक्रम संवत् २००० सालपछि जन्मेको पुस्तालाई म विशेष पुस्ता भन्ने गर्दछु किनकि यो पुस्ताले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक आदि सबै पछौटेपनलाई भोग्यो । सबै राजनीतिक र सामाजिक परिवर्तनको साक्षी पनि यो पुस्ता बनेको छ । यो पुस्ताले भोगेको र व्यहोरेको परिवर्तन अघिल्लो पुस्ताहरूले व्यहोरेनन् । अब आउने पुस्ताले व्यहोर्ने सम्भावना छैन । त्यसैले यो विसं २००० पछि जन्मेको पुस्ता विशेष पुस्ता हो । यो पुस्ता स्कुल, कलेज नभएको बेलामा जन्मियो । आफ्नै समयमा सुरुवात भएका स्कुल र कलेजबाटै शिक्षाको अपूर्व अवसर पायो । जुन अवसरबाट अघिल्लो पुस्ता नितान्त वञ्चित थियो । 

हामीले शिक्षा त्यसमा उच्च शिक्षाको अवसर पाउने विषय वास्तवमा अहोभाग्य भन्नुपर्छ । हामी अधिकांशले स्याउलाले छाएको स्कुलमा भारतबाट खोजेर ल्याएका शिक्षकबाट शिक्षा लिएका हौं । हाम्रो पुस्ता खेतीपातीको काम र स्कुलबीचको छनौटको अवसर पाएको थियो । त्यसैले म भन्ने गर्दछु कि हाम्रो पुस्ता विशेष पुस्ता हो ? यो पुस्ता संक्रमणकालीन पुस्ता पनि हो । अनुभव र भोगाइको हिसाबले यो ऐतिहासिक पुस्ता हो ।

हिजो हाम्रो पुस्ताको सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, औद्योगिक, व्यावसायिक अवस्था आज र भोलिसँग नितान्त भिन्न थियो । यो प्रकृतिको नियम हो । त्यो भिन्नताको प्रभाव र परिणाम हो हाम्रो पुस्ताले व्यहोरेको र अनुभव गरेको नितान्त भिन्न जीवन । हाम्रो जीवनरूपी इतिहासको खोज, अध्ययन र उत्खननभित्र भोलिको पुस्ताले धेरै अध्ययन सामग्री पाउँछन् । यस्ता प्रयासले हाम्रो समाजको यथार्थ परिस्थितिको अध्ययन, विश्लेषण, अनुसन्धान र उत्खननमा सहयोगी भूमिका निर्वाह गर्ने कुरा निर्विवादित छ । यसबाट भोलिको समाजले संघर्षको महŒवलाई आत्मसात गर्नेछ । त्यसैले हामीले आज चिया गफ गर्ने होइन ? 

हाम्रा भोगाइ, अनुभव, पीडा, संघर्ष, उपलब्धि, परम्परा, खानपिन, शिक्षा, स्वास्थ्य, रहनसहन, संस्कृति, संस्कार, व्यवहार, उत्पादन विधि, पद्धति, प्रविधिको यथार्थ अवस्था जस्ता तमाम विषयलाई हामीले आउने पुस्तालाई लिखित दस्तावेज हस्तान्तरण गर्नुपर्छ । हस्तान्तरण मौखिक गर्दा त्यो मानिसको मृत्युसँगै नासिन्छ । तसर्थ हामीले हस्तान्तरण लिखित नै गर्नुपर्छ ।

नेपालको राजनीतिक, सामाजिक, आर्थिक, प्राविधिक, व्यावसायिक, धार्मिक, शैक्षिक सक्रमणकालमा जन्मेकाहरू जो अहिले पेशा वा सेवा निवृत्त भएका छन्, उनीहरूको संक्रमणकालीन अनुभव, भोगाइ विचित्रको छ । यो अनुभव न भूतो न भविष्यति हो । किनकि अनुभवहरूको अवसर समयले दिन्छ । समय गुज्रेपछि त्यो पुनरावृत्ति हुँदैन । त्यसैले हामी जो अहिले सेवा निवृत्त जीवन बिताइरहेका छौं, हामीसँग त्यसबखतको विशेष अनुभव र भोगाइ छ । यो अनुभव र भोगाइलाई लिखित हस्तान्तरण नगर्दा हाम्रो अनुभव मृत्युसँगै लोप हुन्छ । 

यसलाई हस्तान्तरण गर्दा आगामी पुस्ताले पूर्वजहरूको अवस्था थाह पाउँछ । पूर्वजका दुःख र अनुभवले भावी पुस्ताले सिक्छ र प्रेरणा लिन्छ । हाम्रा अनुभव र भोगाइले भावी पुस्तालाई अध्ययन, अनुसन्धानका लागि उत्प्रेरित गर्न ऊर्जाको काम गर्छ । त्यो ऊर्जा हस्तान्तरण गर्ने कि नष्ट गर्ने त्यसको निर्णायक हामी नै हौं । 

पश्चिमा मुलुकमा खास गरेर विदालय र विश्वविद्यालयमा पढाउनेहरूमा एउटा भनाइ लोकप्रिय छ त्यो हो ‘लेख कि मर’ हामीमध्ये विश्वविद्यालयको उच्चपदबाट अवकाश प्राप्तहरू पनि निर्लज्जताका साथ मेरो त कलम नै चल्दैन भन्छौं । के उच्च पदको निवृत्तिभरण बुझ्ने व्यक्तिले यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिन मिल्छ ? लेख्न नै नजान्ने र लेख्न्न नै नसक्नेलाई किन र कसरी उच्च पदमा नियुक्ति गरियो ? आफैंलाई छानविनको विषय हाम्रा विद्वानहरू आफैं किन बनाउँदैछन् ? लेखनको क्षमता नभएको होइन । समाजले लेखन संस्कार र संस्कृतिको विकास नगर्दा विद्वानहरू पनि मेरो कलम चल्दैन भन्ने लज्जास्पद शब्द उच्चारण गर्दा कत्ति हीनताबोध गर्दैनन् । 

यो लेखन संस्कृति विकासका लागि अत्यन्तै नकारात्मक ऊर्जाको उत्सर्जन हो । यो इतिहासलाई सुरक्षित गर्न उत्पन्न जबरजस्त खतरा हो । इतिहास हस्तान्तरण हाम्रो ध्येय बन्नुपर्छ । यसले लेखन संस्कृति र संस्कारलाई विकसित गर्न प्रोत्साहित गर्दछ । लेखनले स्वतः अध्ययनलाई उत्प्रेरित गर्छ । अध्ययनले व्यक्तिमा सिर्जनशीलताको विकास गर्छ । सिर्जनशीलताको अर्को नाम विकास हो । त्यसैले शिक्षण, प्रशासन क्षेत्रबाट सेवा निवृत्त सबैले आआफ्ना क्षेत्रगत विषयमा कलम चलाउनुपर्छ । यो हाम्रो कर्म र धर्म दुवै हो । हामीले समयलाई दुरुपयोग नगरेको सन्देश समाजमा जानु भनेको समाजलाई क्रियाशील बनाउने प्रयत्न हो । त्यो प्रयत्न हाम्रो कर्तव्य हो साथै धर्म पनि । 

त्यसका लागि सबै सेवा निवृत्तहरूले आआफ्नो ज्ञान, अनुभव, भोगाइको फेहरिस्त समाजलाई लिखित छोड्नुपर्छ भन्ने मनोविज्ञान विकसित हुनुपर्छ । त्यसका लागि सेवा निवृत्त सबैले आफ्नो लेख्ने क्षमतालाई प्रयोग गर्नुपर्छ, अभिवृद्धि गर्नुपर्छ ।

हाम्रो अघिल्लो पुस्ताको सेवा निवृत्त अनुभवको साटासाट गर्न यो पुस्ता वञ्चित छ किनकि अघिल्लो पुस्तासँग त्यो अनुभव थिएन । सेवा निवृत्त जीवन कसरी बिताउने ? के गर्दा समाजले लाभ पाउछ ? के गर्दा आत्मसन्तोष हुन्छ ? जागिर खाने कला आफ्ना अग्रज अभिभावकबाट सिक्न पाएनौं । जागिरपछिको जीवनलाई सुखमय, शान्तिमय र आनन्दमय बनाउने उपाय र तरिकाहरू बारे अनुभव साटासाट गर्ने जान्ने विषयमा छलफलसम्म गर्ने वातावरण नहुँदा सेवा निवृत्त जीवनलाई कसरी उपयोगी, उत्पादनमूलक बनाउने र कसरी आफ्नो ज्ञान, अनुभव र भोगाइबाट समाजलाई लाभान्वित बनाउने चिन्ता र सोचमग्न हुनुपर्ने बाध्यताको शिकार हाम्रो पुस्ता भएको छ । 

सेवा निवृत्त जीवनलाई कसरी व्यवस्थित र सम्मानित बनाउने भन्ने खोज, अनुसन्धान र प्रयोगसमेतको जिम्मा हाम्रै पुस्तासँग छ । सधैं नयाँ वातावरण र परिस्थितिसँग सम्बन्ध स्थापित गर्ने गरेको हाम्रो पुस्ता सेवा निवृत्त हुँदासमेत नयाँ अनुभव र आगामी पुस्ताका लागि नयाँ बाटोको रेखांकन गर्नुपर्ने बाध्यतालाई आत्मसात गर्नुको कुनै विकल्प नै नभएको अवस्थाबाट गुज्रनु हाम्रो रहर नभएर बाध्यता भएको छ । जीवनमा धेरै रहरलाई दमित बनाउँदै बाध्यतालाई आत्मसात गरेका कारण यो उत्तरार्धको बाध्यतालाई सहजै सामना गर्ने क्षमता निर्माण गर्न यो पुस्ता सक्षम भएको प्रमाणित गर्दै संसारबाट बिदा हुनुको विकल्प छैन । 

मानिसको जन्मसँगै प्रतिष्ठा, सत्कर्म, अमरत्वका भाव र भावनाहरू अन्तरसम्बन्धित हुन्छन् । मानिसले जीउनलाई संघर्ष गर्छ । ऊसँग समय परिस्थितिले दिएको र विकसित भएको चेतना र ज्ञानको विकाससँगै ऊ मृत्युपछि कसरी बाँच्ने भन्ने खोजीमा हुन्छ । जीवनको महŒवपूर्ण पाटो नै मृत्युपछि कसरी जिउने भन्ने सोचमा रूपान्तरण मात्र नभएर केन्द्रीकृत हुनु जीवनको महŒवलाई आत्मसात गर्नु हो । यस्तो भावना र चाहनाले मानिसलाई क्रियाशीलमात्र होइन जिज्ञासु र खोज तथा अनुसन्धानमूलक बनाउँछ । 

यसको उच्चतम प्रयोग गर्नेहरूले मात्र आफूलाई मृत्युपछि जीवित राख्न सक्षम हुन्छन् । झट्ट सुन्दा अपत्यारिलो जस्तो अनुभव हुने विषयलाई हामीले गम्भीरतापूर्वक उपयोग गर्दा यो असम्भव विषय होइन । कुनै व्यक्ति जन्मदा कवि, कलाकार, लेखक, वैज्ञानिक, राजनीतिज्ञ भएर जन्मदैन । उसले मिहिनेत, लगनशीलता, निरन्तरता तथा अभ्यासको माध्यमले आफूलाई योग्य प्रमाणित गर्नसक्छ ।

अरूलाई बिग्रियांै भन्ने हामीले नै सप्रने काम गरेनौं भने समाज कसरी सप्रन्छ ? यसलाई हामी सेवा निवृत्तहरूले आफ्नो व्यवहार र कार्यशैलीबाट प्रमाणित गर्नुपर्छ अन्यथा अरूलाई बिग्रियो भन्ने हाम्रो हक हँुदैन । 


Views: 281