5th March | 2021 | Friday | 3:54:46 AM

साथी भेट्न कलकत्ता पुग्दा

लेखनाथ पोखरेल   POSTED ON : माघ ७, २०७७ (८:४५ AM)

साथी भेट्न कलकत्ता पुग्दा

कोशी व्यारेजको लागि आवश्यक ढुंगा ओसार्न भीमनगरदेखि चतरा र धरानको घोपासम्म बिछ्याइएको रेल्वे लाइनको जक्सन थियो चक्रघट्टी बजार । त्यो ढुंगेरेलमा काम गर्ने विहारी स्टाफका लागि चक्रघट्टीमा ठूलो क्याम्प बनेको थियो । विहारीहरू बसेको ठाउँमा बिहान दिउँसोको नास्तामा घुंगुनी, चिया, पान र खैनीको पसल नहुने कुरै भएन । सडक होस् कि घरको भित्ता, माइलपोष्ट होस् कि बत्तीको पोल, जता पनि उनीहरूले थुकेको खैनी र पानको पिकले रंगिएको हुन्थ्यो । 

भिक्टोरिया मेमोरियल 

कताबाट हो कुन्नि ? त्यो बेला एउटा टुरिङ टाकिज आइपुगेको थियो हाम्रो चक्रघट्टीमा । त्यो हलमा देखाइने सिनेमा रंगीन हो कि श्यामस्वेत भन्ने छुट्टिँदैनथ्यो । पर्दामा छायाँमात्र देखिन्थ्यो । टिकट काट्ने पैसा नहुने भुराहरूले भने प्वाल परेको बोराबाट गर्दन छिराएर सिनेमा हेरेका हुन्थे । त्यसरी हेरेको त्यो सिनेमामा उनीहरूले के र कस्तो देख्थे, के बुझ्थे त्यो कुरा भने हेर्नेले नै जानुन् । त्यसरी सिनेमा हेर्ने ती भुराहरूले बाहिर निस्केर, जिब्रो ट्वाक्क पार्दै खाएको बंगाली झालमुरीजस्तो स्वादिलो बनाएर आफ्ना दौंतरीलाई कथा सुनाउने गर्थे । 

एक दिन सिनेमा हेरेर बजारतर्फ जाँदै गर्दा मेरा आँखा पान पसलमा मेरोजस्तै लुगा लाएर उभिएको एकजना ठिटोमाथि पर्न गयो । आफ्नो उमेरमा म पनि कहाँ कम झिल्के थिएँ र ! गुलाबी सर्ट, सेतो पाइन्ट र हिन्दी फिल्मको हिरो राजकुमारले लगाउने खालका ‘ब्ल्याक एण्ड हृवाइट’ जुत्ता, मेरो पहिरन हुने गथ्र्यो । मेरोजस्तै लुगाको सोख राख्ने, अर्को को आइपुगेछ भन्ने लागेर, त्यो ठिटो उभिएको पान पसलतिर लागेँ । 

हाइड पार्क 

मुखभरिको पानको बुजो हालेको ऊ पनि म जस्तै फरासिलो र हँसमुख रहेछ । मलाई नजिकै आएको देखेर, बंगाली पारामा सोध्यो, ‘पान खाने ?’ मैले ‘नाइँ’ भनेँ । त्यसपछि मात्र हाम्रो परिचय भएको थियो । उसको नाम रहेछ कोमलप्रसाद दाहाल । सिलिगुडीमा १२ कक्षाको पढाइ सकेर बिकम र सिए पढ्ने उद्देश्यले कलकत्ता जान लागेकाले सबैसँग भेटघाट गर्न घर आएको रहेछ । 

अल्लारे बेलामा, जब जब अग्रजहरूबाट ‘विधिको विधान विचित्रको छ !’ भनेर आपसमा विधिको बखान गरेको सुन्दथेँ, तब तब म सोच्थेँ यी बुढाहरू अनावश्यक विषयमा चर्चा गरेर दिन व्यतीत गरिरहेका छन् ।’ तर, आज आएर भन्न मन लाग्छ विधिको विधान नै त थियो होला ! पहिलो भेटमै हामी दुवै पुराना मित्रझैँ भयौँ । हाम्रो त्यो पहिलो भेट चिरकालीन मित्रतामा बदलिएला भन्ने कुराको सोच न उसलाई थियो होला न त मलाई नै थियो । केही महिनालेमात्र फरक उमेरको मेरो मित्रको मित्रता अद्यापि अडिग छ मुँगाको चट्टानसरह । हाम्रो प्रत्येक भेट उत्सवमय बन्ने गर्छ । त्यसैले हामी निःसंकोच भन्दछौं हामी प्यारा मित्र हौं भनेर ।

अर्को वर्ष कोलम्बो प्लानअन्र्तगत पढ्न म विशाखापतनम् पुगेको थिएँ । गर्मीको छुट्टीमा घर पुगेको मलाई फर्किँदा केही दिन कोमलसँग कलकत्तामा बिताउने रहर लागेले कलकत्तातिर हानिने विचार गरेँ ।

डिग

त्यो बेला हामीलाई कलकत्ता पुग्ने रेल चढ्न बरौनी स्टेसन पुग्नुपर्ने बाध्यता थियो । सास्ती भन्ने कुरा कस्तोसम्म हुन्छ भन्ने कुरा नबुझ्नेलाई भारतीय रेल्वेको थर्डक्लास डिब्बामा चढ्न बरौनीको रेल्वे स्टेसनमा पठाउनुपर्छ । त्यो मान्छे ‘चेत बाबा कासी’ भएन भने मलाई भन्नु होला । डिब्बाभित्र यति भीड हुन्छ कि कुरा गरेर साध्य छैन, झ्यालबाट कोही छि¥यो भने कुरा अर्कै हो मरेर गन्तव्यसम्म पुग्ला कि ! ढोकाबाट भित्र छिरौंला भन्ने कुरा नसोचे पनि हुन्छ । 

खचाखच भरिएको दिल्ली–हावडा मेलको डिब्बामा चढ्न नसक्ने स्थितिमा पुगेको म ट्वाँ परेर उभिइरहेको थिएँ । त्यो रेल छुटेमा अर्को १२ घण्टा त्यहीँ बस्नुपर्ने हुन्थ्यो । रेल चड्न नसकेका मजस्ता मान्छे त्यहाँका कुल्लीको मिठो ‘खुराक’ हुँदा रहेछन् । स्टेसनमा सामान बोक्दा आठआना पाउने कुल्लीले दश रुपैयाँ लिने सर्तमा मलाई रेल चढाउँन तयार भए । 

हाउडाको पुल 

उनीहरूले मलाई झ्यालबाट कोचेर ढुटोको बोरा फालेजस्तो गरी डिब्बाभित्र फ्याँकिदिए । कुल्लीले भित्र फ्याँकेको झोला मुस्किलले हातपारेँ । गर्मीको महिना, ठेलमठेल भीड, चट्पटाउने ठाउँसम्म थिएन । पसिनाले भिजेर लफ्रक्क भएको शरीर । डिब्बामा फैलिएको बिँडी, खैनी र पसिनाको दुर्गन्ध । हाच्छिउँ र उल्टी दुवै कुरा एकैपटक होलाजस्तो परिस्थिति । एउटा खुट्टा टेकेको भरमा एक स्टेसन अगाडि पुगेपछि, मुस्किलले दुईटा खुट्टा टेक्ने ठाउँ बनाएँ । अत्यासलाग्दो त्यो स्थितिमा पनि, मान्छे एकअर्कोको काँधमा टाउको अड्याएर निदाइराखेका देखिन्थे ।

बरौनीबाट हिँडेको पाँचौं घण्टामा बेन्चको एकछेउमा नितम्बको एउटा फब्ल्याटो टेकाउन पाउँदा के के न पाएजस्तो आनन्द आएको थियो । पूरै रात त्यही स्थितिमै बित्यो । सजिलो हुने कुनै सम्भावना थिएन । उठ्यो कि अर्को मानिस बसिहाल्थ्यो । 

भोलिपल्ट बिहान बर्धमान पुग्दासम्म मेरो नितम्ब पाकेको पिलो जस्तो टनटन दुख्ने भइसकेको थियो । बर्धमान पुगेपछि, केही यात्रीहरू ओर्लिए । लामो सास फेर्दै खुट्टा पसारेँ । स्टेसनको खोम्चावालासँग दशपैसामा माटोको कपको चिया लिएँ । चियामा चिनीको सट्टा स्याक्रिन हालेको रहेछ । मुख तम्तम्याइँदो भएर आयो । कप बाहिर हु¥याई दिएँ । हावडा पुग्दा बिहानीको आठ बज्दै थियो । 

के मात्रै छैन कलकत्ता शहरमा । हावडा ब्रिजको नामले विश्वचर्चित हुगली नदीमा बनेको शानदार पुल । यौटै सडकमा कुद्धै गरेका दुईतले बस र ट्राम । चौरंगी र पार्क स्ट्रिटजस्ता सुन्दर ठाउँ । ठूल्ठूला व्यापारिक केन्द्र, सिनेमा घर र शानदार होटेलहरू भएको यो ठाउँमा साधन सम्पन्नता छ, मोजमस्ती छ । त्योसँगै छ गरिबी, भोक, चोरी, डकैती, वेश्यावृत्तिदेखि लुटपाटसम्म । त्यो शहरमा मानिसले मौका परेको खण्डमा के–के मात्र गर्दैनन् भन्नै गाह्रो छ ।

कलकत्तामा छिर्नेबित्तिकै, गंगा नदीको नाम हुगली भएजस्तैगरी, त्यो शहरभित्र छिरेका अनगिन्ती मानिसको अस्तित्व र नाम हराउन बेर लाग्दैन । कामको अवसरको खोजीमा भारतका गाउँ–गाउँबाट आएर बसेका विभिन्न जातजातिका मानिसको थलो हो कलकत्ता । उनीहरूको स्थायी बासस्थान बनेको छ सडकको फुटपाथ । शहरभित्र तीन पांग्रे साइकल रिक्सा प्रतिबन्धित छ । त्यहाँ पाइने काठका पांग्रा भएका ‘बाबा आदमको जमानाका’ रिक्सा बिहार र युपीतिरबाट कामको खोजीमा आएका मानिसले तान्ने गर्छन् । त्यस्ता रिक्सा तान्ने उनीहरूको नाम कलकत्ता पुग्दा हराइसकेको हुन्छ । उनीहरू सबैको एउटै सामूहिक नाम हुन्छ ‘भैया’ ।

बाबुहरूको शहर हो कलकत्ता । रायसल्लाह दिनेलाई रायबहादुरको पदवी दिएजस्तो, अफिसमा कामगर्ने तल्लो तहका क्लर्कलाई कुनै बेला गोराहरूले ‘बाबु’ भनेर सम्बोधन गर्ने गर्थे । गोराहरूले भारत छोडेर हिँडेको वर्षौं बितिसकेको थियो । ‘बाबु’ शब्दको महिमा भने घट्नुको साटो बढ्दै गयो । पछिल्लो समयमा त्यो शब्द यति मर्यादित बन्न पुग्यो कि सम्पन्न बंगाली समुदायले आफूलाई ‘बाबु’ शब्दले सुसज्जित गर्न थाले । उनीहरूकै प्रताप हो, नेपालमा पनि ठूल्ठूला ओहदामा पुग्नेलाई ‘बाबु’ भन्न थालियो । देखासेखी गरेको हो कि रमाइलो लागेर हो भन्न गाह्रो छ ।

ट्रामबाट धेरै दिन लगाएर हामीले चौरंगी, भिक्टोरिया मेमोरियल, इडेन गार्डेन, बोटानिकल गार्डेन, काली मन्दिर, प्लानेटोरियम, बिरला म्युजियम सबै घुमिसकेपछि सिनेमा हालतर्फ लाग्यौं । ग्लोब सिनेमाको उद्घाटन भर्खरमात्र भएको थियो । ब्ल्याकमा लिएको महँगो टिकेट । एयरकण्डिसन हलको आरामदायी सिटमा बसेर देवानन्दको ‘गाइड’ सिनेमा हेर्नुको मज्जै अर्कै ! 

जुनको महिना, कलकत्तामा आगो बलेजस्तो गर्मी थियो । त्यो दिन हामीहरू चौरंगी घुमेर पार्कस्ट्रिटतिर लागेका थियौं । कोमलले प्रस्ताव ग-यो आज बियर पिउने भनेर । ‘बियर भनेको कुन चरीको नाम हो ?’ म अलमल्ल परेँ किनकि बियर भन्ने शब्द आजसम्म पनि मैले सुनेको थिइनँ । मनमा सोचेँ बियर भनेको आइसक्रिम जस्तै कुनै रसिलो र पोसिलो चिज होला ! 

उसले मलाई एउटा निक्कै महँगो होटेलभित्र लिएर गयो । होटेल भन्ने यस्तोसम्म पनि हुनसक्छ भन्ने कुराको सोचसम्म नभएको म, त्यो होटेल देखेर, अहिलेसम्म आफू ठगिएको रहेछु भन्ने लघुताभाषको सिकार भएँ एकछिन । खुट्टै चिप्लिने खालको टायल बिछ्याएको रंगीचंगी फ्लोर । झकिझकाउ सिलिङका बत्तीहरू । सेतोकपडाले छोपेका चिटिक्क परेका टेबल । आरामदायी काउच । एयरकन्डिसन हल । सुन्दर बारकाउन्टर देखेर म चकित परेको थिएँ । 

मध्याहृनको समय भएकाले होला, मान्छेको भीडभाड भने खासै थिएन । धेरैजसो टेबलहरू खाली नै देखिन्थे । त्यो होटेलको नाम थियो ‘होटेल पार्क ।’ होटेलको यही बारमा मधुवालाको फिल्म ‘हावडा ब्रिज’ को ‘आइए मेहेरवान भन्ने...’ गीतको सुटिङ भएको थियो भनेर कोमलले सुनाउँदा म दंगदास परेँ । अहिलेसम्म मलाई त्यो गीत रमाइलो लाग्न छोडेको छैन । 

वेटरले अर्डरअनुसारको एक बोतल बियर दुइटा अग्ला–अग्ला खाली ग्लास र हल्का स्न्याक्स टेबलमा राखेर गयो । कोमलले ग्लासमा बियर खन्याउन सुरु गर्दैगर्दा मेरो नाकमा हृवास्स एउटा नमीठो गन्ध पस्दाको जस्तो अनौठो अनुभूति भयो । पहेंलो रंगको बियर ग्लासमा झर्न सुरु भएसँगै त्यसबाट उठेको फिँजले ग्लास भरिन थाल्यो । चिसो बियर खन्याएको ग्लासको बाहिरपट्टि झुण्डिँदै गरेका शीतका थोपाहरू देख्दा लागेको रमाइलोले गर्दा एकक्षण अगाडिको तीखो गन्ध विस्तारै विस्तारै मेरो नाकबाट हराएर मग्मगाउँदो वासनामा परिणत भएको थियो । त्यसपछि, यो कुनै रसिलो र पोषिलो कुरा नै हो भन्ने कुरामा मलाई कुनै शंका रहेन, म ढुक्क भएँ । 

कोमलले मलाई ग्लास उठाउन इशारा गरेर आफूले एक घुट्को तानेर ग्लासलाई टेबलमा राख्यो । ग्लास उठाउँदा मलाई यो कस्तो चिज होला भन्ने एकप्रकारको कौतुहल, एकप्रकारको उकुसमुकुस भने भएकै हो । उसले तानेको घुट्कोभन्दा सानो घुट्को तानेको थिएँ मैले । 

मेरो घाँटीभित्र छिरेको त्यो टर्रो झोल उलुक्क भएरअमाथि नै फर्किउँलाजस्तो गर्नथाल्यो । उल्टी होलाजस्तो भएसँगै खोकी लाग्न थाल्यो । छेउछाउका टेबलमा बस्ने सबैको आँखा एकाएक मतिर फर्किएको देख्दा लाज लागेर कोमलको मुखमा पुलुक्क हेरेँ । उसले भन्यो, पहिलोपटक यस्तै हुन्छ । यसलाई धेरैबेर मुखमा नराखी स्वाट्ट निल्नुपर्छ । आफूलाई अररो पार्दै, आँखा बन्द गरेर, बियरको भरी ग्लास एकसासमा स्वाट्ट पारेर निलेँ । घाँटी चिरेर चह-याउँदै चिसो बियर पेटभित्र छि¥यो । हर्रो चपाउँदाजस्तो टर्रो भएको मेरो मुखको स्वाद नराम्रोसँग बिग्रियो । मेरो बिग्रिएको अनुहार देखेर कोमलले विस्तारै स्न्याक्सतिर इसारा ग-यो । 

प्लेटमा राखिएमध्येको एकबुजो स्न्याक्सलाई हत्तनपत्त मुखभित्र ओइ-याएँ । स्न्याक्स खाएपछि पनि मेरो मुख सोझिएन । बरु टर्रो चिज खाएपछि पानी पिउँदा मीठो स्वाद आउने कुरा सम्झना भएसँगै टेबलमा राखेको पानीको भरी ग्लास उठाएर घटघटी पिएँ । छेउछाउको टेबलमा भएका मानिसले मेरो त्यो अनौठो क्रियाकालाप नियालिरहेझैँ लाग्यो । घोप्टो मुन्टो पारेर छेउछाउका मानिसको अनुहार चियाएँ । हो, उनीहरू मलाई नै नियाल्दै थिए । कोमल मुसुक्क हाँस्यो र भन्यो पानी नै हो बियर पनि । बियर पिएको लगत्तै पानी पिउने कुरा अशिष्टता पो मानिदो रहेछ पछि बुझ्दै जाँदा । 

ज्यान जोखिममा परेको त्यो बेला मलाई अरूको मतलब भएन । मलाई त जसरी भए पनि त्यो टर्रोपनबाट उन्मुक्ति चाहिएको थियो । पानी पिएपछि, तत्काल त मुख केही गुलियो भएर सोझिएझैँ लागेको थियो । तर, के को सोझिन्थ्यो ? क्षणभरमा नै फेरि उस्तै भएको मेरो मुख तीन दिनसम्म ऐरेलु खाएजस्तो तीतोको तीतै रहृयो ।


Views: 117