5th March | 2021 | Friday | 4:01:02 AM

के मा रोकिए ओली ?

शान्तिकृष्ण अधिकारी   POSTED ON : माघ ८, २०७७ (९:०९ AM)

के मा रोकिए ओली ?

नेपाल र नेपाली जनताले कहिले बहुलाहा राजाहरूलाई आफ्नो राष्ट्र प्रमुखका रूपमा मान्दै आउनु प¥यो भने कहिले सनकमानहरूलाई सरकार प्रमुख मानेर तिनको आदेश पालना गर्नु प¥यो । धेरैअघिको होइन, नेपाल राष्ट्रका एकीकरणकर्ता पृथ्वीनारायण शाहपछिकै इतिहास हेर्ने हो भने पनि धेरै राजा या राणा शासकहरूलाई मेरो देशको प्रमुख भनेर चिनाउन लाजमर्दो हुने खालका थिए । यद्यपि विष्णु भगवानका अवतार भन्दै तिनको स्वस्ती गरेर बाँच्नुपर्ने अवस्थामा हाम्रा पुर्खाहरू रहे ।

हाम्रा पुर्खामात्रै होइन हामीले पनि राजा र प्रधानमन्त्रीका सन्दर्भलाई लिएर कस्ता–कस्ता अवस्था भोग्यौं भन्ने कुरा नेपालको राजनीतिक चलखेल नपढेको कुनै विदेशीलाई बतायौं भने सहजै उसले पत्याउँदैन । अझै पनि कतिपय ब्राहृमणहरूले भात खानुअघि सबैभन्दा पहिलेको गास भूपतिलाई चढाउँछन् अर्थात् औसेनी हाल्दा भनिने भूपतये स्वाहाले तिनै राजा, राष्ट्रपति या प्रधानमन्त्री बुझाउँछ तर के गर्नु नेपालीको विडम्बना त्यो चढाएको अन्नकै अपमान हुने अवस्था आएको छ ।

मैले पनि दिन्दिनै भूपतिलाई त्यसैगरी खाना चढाउने गरेको छु तर आज मलाई यो शिक्षा दिने गुरु जीवित हुनु भएको भए सोध्ने थिएँ–के अब राजालाई वा राष्ट्रप्रमुखलाई चढाउन छाडिदिए हुन्छ ? मेरो पनि दुर्भाग्य, आज उहाँ यो धर्तीमा हुनुहुन्न, त्यसैले जे जस्ता भए पनि सम्मान गर्न बाध्य छु । जनताको सुखदुःख हेर्ने पो राजा र त्यस्तालाई पो पूजा गर्नु । जनतालाई नै झन्झन् दुःख र गरिबीको भासमा डुबाउँदै लैजाने पनि के राजा, के राष्ट्र प्रमुख ? त्यस्तालाई त पूजा नगरे हुन्न र ? अर्को राष्ट्र प्रमुख नआउँदासम्म औसेनीमा त्यो एक भाग घटाए हुन्न र ?

इतिहासमा रणबहादुर शाहलाई बहुलाहा नै भनियो । कहिले दरबार छाडेर हिँडे त कहिले फर्के । दरबारमा रानी हुँदाहुँदै अर्की रानी भिœयाउने शाहहरू त धेरै नै भए । राजेन्द्र विक्रम शाहले हो कि सुरेन्द्र शाहले दरबारमा सोखका लागि एउटा अजंगको साँढे पालेका थिए रे । बुढो भएपछि साँढे बिरामी परेछ, जति उपचार गरे पनि ठीक भएनछ । राजाले साँढेलाई हेरे अनि आदेश फर्मान जारी गरेछन्– जसले यो साँढे मरेको खबर सुनाउँछ, उसको टाउको गिँड्छु ।

केही दिनपछि साँढे म¥यो । खबर सुनाउन गए मरिन्छ । दिन बित्दै गएपछि साँढे कुहिएर गन्हाउन थाल्यो, राजालाई भन्नै पर्ने भयो । यत्तिकैमा एक पण्डितले उपाय निकालेछन् । गएर राजालाई भनेछन्– सरकार ! साँढे महाराज त बोली बक्सन्न । मुख अगाडिको घाँस पनि खाई बक्सन्न । पुच्छर पनि हल्लाई बक्सन्न महाराज । खोइ खोइ म हेर्छु भनेर राजा आएछन् । यो त मरिसक्यो, केही पनि हल्लाउँदै भनेर राजा फर्केछन् । अनि बल्ल समस्याको समाधान भएको थियो रे । 

राजा त्रिभुवन बारम्बार कलकत्ता गएको विषयमा भारतका प्रधानमन्त्रीले नै आपत्ति जनाएको विषय त कुनै नौलो होइन । युवराजधिराज दीपेन्द्रलाई कोमामा राखेका बेलामा राजा घोषणा गरेको त धेरै पुरानो कुरा भएन । राज्य सहायकका रूपमा रहँदा राजा ज्ञानेन्द्रले स्वचालित हतियार आफैं पड्केर दरबार हत्याकाण्ड हुन पुगेको र सो काण्डमा राजा वीरेन्द्रदेखि लिएर रानी, अधिराजकुमारहरूको मृत्यु भएको भनी दिएको वक्तव्य अझै सबैका मनमस्तिष्कमा ताजै हुनुपर्छ ।

राणाकालमा संविधान, ऐन, कानुन भनेको सबै राणा शासकहरूको जिब्रोको टुप्पोमा हुन्थ्यो । कस्ता कस्ता राणाहरूले मुलुक चलाए त्यतातर्फ धेरै चर्चा गरिरहनु परेन । आफू चाँडै प्रधानमन्त्री हुन आफूभन्दा माथिल्लो रोलक्रममा रहेकाहरूलाई तल्लो क्रमकाले ज्यान लिनु सामान्य नै थियो । त्यतिबेलैदेखि हुनुपर्दछ नेपालमा चलेको– राजनीतिमा आफ्नो पराइ भन्ने कोही हुँदैन । न काका, न मामा । आफ्नै भाइहरूलाई समेत ‘बी’ क्लास र ‘सी’ क्लासको श्रेणीमासमेत बाँडियो ।

घृणित राजनीतिको सिकार हुँदै आएका नेपाली नागरिकहरू गणतन्त्र आएपछि मुक्त हुने अपेक्षामात्र होइन कि विश्वासमै थिए । जनताकै शासन हुन्छ र नेपाल र नेपाली जनताका खुशीका दिनहरू आउने छन् भन्नेमा ढुक्क थिए । आम नेपालीको मतदानबाट चुनिएको नेता पूर्णतः जनताप्रति उत्तरदायी हुन्छ र ऊ पथभ्रष्ट हुने सम्भावना अति न्यून हुन्छ भन्ने धारणा थियो । विडम्बना, विगतमा जस्ता शासक भोगे, त्यसभन्दा अलिक उपल्लोस्तरको शासक गणतन्त्रमा पनि मिल्न पुगेको अनुभूति भएको छ नेपाली जनतालाई ।

गणतान्त्रिक संविधान जारी गर्ने राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला थिए । संविधानलाई कार्यान्वयन गराउने क्रममा सबै तहका निर्वाचन सम्पन्न गराउने अभिभारा लिएका प्रधानमन्त्री शेरबहादुर देउवा थिए र त्यो जिम्मेवारी पूरा गरे । संविधान आएपछिका प्रथम प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारी हुन् । जो जोबाट संविधानको रक्षा हुनुपर्दछ भन्ने मान्यता राखिएको थियो, तिनैबाट चीरहरण हुँदा आज पूरै नेपाली समाज आक्रान्त हुन पुगेको अवस्था छ ।

संविधान किन च्यातियो त ? यसमा प्रधानमन्त्री ओलीको ठाडो उत्तर छ–मलाई काम गर्न दिइएन, च्यातेँ । दुई तिहाइ बहुमतको सरकार नहुँदासम्म मनलाग्दी काम गर्न नपाइने रहेछ, त्यसैले संसद् भंग गरेँ । नेकपाभित्रैबाट अवरोध सिर्जना भयो, त्यसैले प्रतिनिधिसभा विघटन गरेँ । यी त सामान्य कुरा भए । अझ उनी भन्दैछन्–अझै निहुँ खोज्छन् भने यसपछि पनि कठोर कदम चाल्नेछु, अनि थाहा पाउँछन् । डरलाग्दो कुरो त यो छ कि त्यो कठोर कदम भनेको के हो ?

आमजनताका नजरबाट हेर्दा प्रधानमन्त्री कुनै कार्य गर्न नेकपाका उनीविरोधी नेताहरूबाट रोकिएका थिएनन् । उनले गुठी विधेयक, सञ्चार विधेयक, सुरक्षा विधेयकहरू ल्याउँदा नेकपाका लोकतन्त्रवादी भनेर आफूलाई चिनाउन अहिले कम्मर कसेर लागेका प्रचण्ड–नेपालहरू कसैले रोकेका थिएनन् । बरु जनताले ठूलो संघर्ष गरेर ती विधेयक फिर्ता गराएका थिए । उपकुलपतिलाई सुरक्षाकर्मी लगाई एयरपोर्टबाट ल्याएर घण्टौं प्रधानमन्त्री क्वार्टरमा राखी प्लेन उडेपछि छोड्दा होस् या नेपालको परराष्ट्र नीतिमा खलल पु¥याउँदा होस्–नेकपाका सबै नेताका साथ पाएकै थिए । 

ल एकछिनलाई केपी ओलीकै कुरा मानौं । नेकपाका नेताहरूको उनले साथै पाएनन् रे । नेकपाका अध्यक्ष उनै छन् भने त्यही पार्टीका अरू नेताहरूलाई खुशी पार्ने जिम्मा कसको हुन्छ ? उनले पार्टीका नेताहरूको साथ पाएनन् भनेर संसद विघटन गर्न पाइन्छ ? उनको सनकमा हुँदाखाँदाको संंसद विघटन गरेर निर्वाचनको अनावश्यक बोझ नेपाली नागरिकको टाउकामा उनले थोपर्न पाउँछन् ? नेकपा सन्तुष्ट हुँदासम्म संसद् चल्ने नभए मुलुक नै विघटनमा लैजान परे पनि तयार हुने भन्ने कहाँसम्मको निकृष्ट सोच हो बुझ्न सकिएको छैन ।

यो संवैधानिक विघटन होइन, राजनीतिक हो भनेर प्रधानमन्त्री स्वयंले ठाउँठाउँमा भनिसकेका छन् । गैरसंवैधानिक निर्णय निश्चय नै कसैलाई स्वीकार्य हुन सक्दैन । राजनीतिक भन्नुको अर्थ नेकपाभित्रको असन्तुष्टि या नेकपाका नेताहरूसँगको आक्रोश पूरै देश र जनतामाथि पोखिएको छ । यो प्रवृत्तिलाई बढावा दिने हो भने भविष्यमा बन्ने अरू प्रधानमन्त्रीहरूलाई सनकका भरमा संसद् विघटन गर्ने बाटो खुल्नेछ । बुढी मरेको होइन कि काल पल्केको उखान चरितार्थ हुनेछ । प्रचण्ड धेरैलाई विधवा बनाएर शक्तिमा आएका थिए, उनका कारण धेरै टुहुरा बनेका थिए, आम नेपालीलाई धुरुधुरु रुवाएका थिए । त्यसैले उनको साथबाट नेपाली जनतालाई हँसाउन सकिन, अब एक्लै दुई तिहाइ बहुमत ल्याएर जनतालाई खुशी दिन्छु भन्ने प्रधानमन्त्रीको तर्क छ । प्रचण्डका सन्दर्भका कुरा ठीकै मान्न सकिएला तर अब उनका साथमा प्रचण्डकै मतियारका रूपमा रहेका र प्रचण्डलाई जे आरोप लगाइएको छ, त्यसैका भागीदार बादल, टोपबहादुर र प्रभु साहहरू छँदैछन् । अर्को पटक पनि ओलीले मैले गल्ती गरेछु, बादलहरू भएका कारण मैले काम गर्न सकिनभन्दा जनताले मानिदिनुपर्ने ? 

ओलीसँग क्षमता भएको भए अहिले नै ६४ प्रतिशत सांसद नेकपाका थिए, जनताका काम हुन्थे । ओलीको भित्री मनमा निरंकुुश हुने चाहना नभई दिएको भए यतिबेला उनी बीपी कोइरालापछिका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए, देशले मुहार फेर्ने बाटो समात्थ्यो । सनकका भरमा देश र पार्टी चलाउँछु भन्ने मनसाय नराखेको भए अहिलेजस्तो सुनौलो अवसर कुनै प्रधानमन्त्रीलाई मिलेको थिएन, ओली नायक हुन सक्दथे तर इतिहासका राजा महाराजाहरूकै जस्तो रहर उनमा पलायो– नेकपामात्रै होइन कि देश र जनतालाई नै सिध्याए । 

भनेको सुनिन्छ–ओलीका अगाडि कसैले सत्य कुरा पनि ठाडोरूपमा राख्न सक्दैन रे । साँढे महाराजले पुच्छर हल्लाई बक्सन्न भनेझैँ कुरा राख्न सक्ने बोल्छन् नत्र गलत कुरामा पनि मौन समर्थन जनाउन बाध्य हुन्छन् रे बालुवाटार दरबारमा । उनका ठट्यौलीमा ताली पिट्दै हिँड्नुको विकल्प छैन रे । यस्ता शासक नेपाली जनताले कहिलेसम्म भोग्नुपर्छ ? जान्ने ज्योतिषी कोही हुनुहुन्छ कि ?


Views: 338