5th March | 2021 | Friday | 3:31:13 AM

दलहरू फुट्ने र जुट्ने शृंखला

डा. डीआर उपाध्याय   POSTED ON : माघ ८, २०७७ (९:१२ AM)

दलहरू फुट्ने र जुट्ने शृंखला

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि राजनीतिक अन्योलता बढेको छ । संसद विघटनसँगै मध्यावधि निर्वाचन घोषणा गरेका ओलीले चुनावी वातावरण निर्माण गर्न सक्छन् वा सक्दैनन् भन्ने प्रश्न यतिबेला उठेको छ । प्रचण्ड–नेपाल समूह र कांग्रेसलगायतका दलले संसद पुनस्र्थापनाको माग अघिसारेका छन् । उनीहरू सडक आन्दोलनमा छन् । केपी ओली सडक आन्दोलनलाई प्रतिकार गर्ने मनस्थितिमा छन् । यसरी हेर्दा मुलुक दोहोरो भिडन्तमा जाने परिस्थिति निर्माण हुँदैछ । मुडभेडको राजनीतिले मुलुकको हित गर्ने छैन । मुलुकमा फेरि अशान्ति मच्चिने हो कि भन्ने जनतामा एक खालको चिन्ता बढेको छ । 

राजनीतिक दलहरू मुलुकको भाग्य र भविष्यप्रति गम्भीर हुन सकेनन् । विकासको हिसाबले अरू देश कहाँ–कहाँ पुगिसके तर हाम्रो देशमा आन्तरिक कलह, झैझगडा, सत्तास्वार्थ, नेताको अहंकारलगायत विविध कुराले गर्दा देश यथास्थानमा छ । देश बनाउने सोच कुनै नेतामा देखिएन । नेताहरू आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्नमै व्यस्त रहन्छन् । नेताहरूका कारणले देश विकासका कामहरू अघि बढ्न सकेनन् । नेताहरूको गलत सोच, गलत चिन्तन र गलत प्रवृत्ति हावी हुँदै गयो । देश गम्भीर संकटको भुँमरीमा फसेको छ । दुई तिहाइ बहुमतको संघीय संसद विघटन गरेर चुनाव घोषणा गर्नु त्यति जायज देखिँदैन । 

यो संसदको आयु अझै डेढ दुई वर्ष बाँकी थियो । संसदको बाँकी समय छँदै प्रधानमन्त्री ओलीले सनकका भरमा मध्यावधि निर्वाचन घोषणा गर्नु जनमतको अपमान हो । जनताले पाँच वर्ष यही संसद, यही सरकारलाई अनुमोदन गरेका हुन् । नेपाली जनताले मध्यावधि निर्वाचन चाहेका होइनन् । जनताले स्थायित्व, शान्ति र विकास चाहेका हुन् । यो अवधिभित्र जनताले विकासका नाममा केही प्राप्त गर्न सकेनन् । विगतमाझैँ सरकार बनाउने र गिराउने गतिविधि बढ्ने अवस्था सिर्जना भयो । 

यसले गर्दा विकास, समृद्धि र सुशासन कायम हुने कुनै छाँटकाँट देखिएन । टाठाबाठाहरूले राज्यको स्रोतसाधन दोहन गर्ने तर श्रमजीवी जनतालाई दिनरात श्रम गर्दा पनि आफ्नो दैनिकी गुजारा चलाउन निकै कठिन छ । यस कारणले गर्दा नेताहरूले जनताको अवस्थाप्रति गम्भीर बन्नुपर्ने देखिन्छ । नेपाली जनता भनेका सार्वभौम सत्ता सम्पन्न हुन् । त्यसैले नेताहरूले जनतालाई धोका दिनु हुँदैन । जनताले आफूले पाएको धोकाको हिसाबकिताब गरेर बसेका छन् । त्यसको परिणाम निर्वाचनमार्फत देखाउने छन् । देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । 

यो देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरूलाई नभएको आमनागरिकलाई महसुस भएको छ । जनता भोकै बसून् वा जेसुकै गरून् नेताहरूलाई त्यसप्रति कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने यो देशलाई निकास दिन सही बाटोमा दलहरू लाग्थे । सत्तामा पुगेपछि आन्तरिक विवाद गर्ने, पार्टी फुटाउने खेल अहिलेमात्रै होइन योभन्दा पहिला धेरै पार्टीहरूले गरे । विगतमा फुट्ने र जुट्ने शृंखला भएकै हो । यो कुनै नौलो कुरा होइन । अहिले सत्तारुढ दल नेकपा विभाजनको पनि त्यही प्रवृत्ति हो । भोलि आफ्नो लेनदेनको कुरा मिले फेरि मिल्छन् । यसलाई आश्चर्यको रूपमा लिनु जरुरी छैन । 

विगतमा नेकपा (एमाले) फुटेर माले भएको थियो । फुटेको केही वर्षपछि वामदेव नेतृत्वको माले तत्कालीन एमालेमा फर्केको थियो । नेता तथा कार्यकर्ता शुभेच्छुक जनता फुटको पछि लाग्दैनन् भन्ने कुरा इतिहासले पुष्टि गरेको छ । अरू पार्टीभन्दा बढी कम्युनिष्टहरू नै फुट्ने गरेका छन् । नेपालको कम्युनिष्ट इतिहासमा चिराचिरामा विभाजित धेरै कम्युनिष्ट नामधारी पार्टी छन् । कम्युनिष्टहरू पदका लागि फुट्छन् भन्ने कुराको पुष्टि भएको छ । अहिलेको सत्तारुढ दल नेकपा विभाजन हुनुमा विचार, नीति र सिद्धान्त नभएर सत्ताको लागि भएको प्रष्ट देखिन्छ । 

नेताहरूबीच व्यतिmगत टकरावका कारण पार्टी विभाजन भएकाले यसले आम नेता, कार्यकर्ता र जनतामा केही क्षति पु¥याएको छ । केही सीमित नेताहरूको टकरावका कारण सिंगो मुलुक बन्धक बनेको छ । अहिले नेकपा फुट्नु हुँदैनथ्यो । यो फुटले देशलाई दूरगामी प्रभाव पारेको छ । नेकपा फुटाउँन देशीविदेशी शक्तिहरू लागेका हुनुपर्छ । नेकपा फुटमा प्रतिगामीहरू खुशी भएका छन् । लोकतन्त्रवादी शक्तिहरूलाई यो फुटले कमजोर बनाएको छ । अब लोकतन्त्रवादी शक्तिहरू सचेत र जागरुक बन्नुपर्ने आवश्यकता देखिन्छ । 

राजनीति भनेको त समाजसेवा हो । राजनीतिको नाममा अर्बौंपति बनेका नेता प्रशस्त छन् । हिजोका दिनसम्म राम्रोसँग चप्पल लगाउन नसक्ने अधिकांश नेताहरूको अहिले आलिसान महल, गाडी बैंक व्यालेन्स सबथोक छ । लगानीविनाको व्यापार भएको छ नेपाली राजनीति । पछिल्लो पुस्ता राजनीतिबाट पलायन हुँदैछ । राजनीतिले वितृष्णा जन्मायो । २०४६ सालको परिवर्तनपछिका पाँच÷छ वर्षसम्म राजनीतिलाई ठूलो इज्जतले हेरिन्थ्यो । नेता भनेपछि इज्जत, मान, सम्मान र प्रतिष्ठा दिइन्थ्यो ।

त्यस बेलाका नेताहरू त्यागी र निःस्वार्थी पनि थिए । तिनीहरूले लाभको राजनीति कहिल्यै गरेनन्, देश र जनताका लागि सोच्थे तर अहिलेका नेताहरू आफ्नो व्यक्तिगत स्वार्थभन्दा अरू केही हेर्न सकेनन् । जसका कारण राजनीति दूषित भयो । अब राजनीतिलाई सफा गर्नुपर्ने आवश्यकता छ । राजनीति आफैंमा दूषित होइन । राजनीति गर्ने नेताहरूको व्यावहार, नैतिकता र चरित्रका कारण राजनीति दुषित र बदनाम भयो । कारण के हो भने राजनीतिको नाममा कमाउने र जनता ठग्ने खेला भयो ।

देशमा अशान्तिका रेखाहरू कोरिँदैछन् । लामो समयको द्वन्द्वपछि नेपालमा शान्ति कायम भएको थियो । अहिले फेरि अशान्ति हुने हो कि भनेर आमजनता चिन्तित छन् । जनताको भाग्य र भविष्य अन्योलमा छ । सत्तारूढ दलभित्रको किचलो अन्ततः फुटमा गएर टुंगियो । सत्तारूढ दल विभाजन हुँदा मुलुकमा संकट उत्पन्न हुन थालेको छ । संसद विघटनपछिको अवस्था जटिल बन्दै गएको छ । नेपाली जनता सत्तारूढ दल विभाजन भएकोमा खुशी छैनन् । जनता निराश छन् । यतिबेला जनता निराश हुनु भनेको व्यवस्थामाथिको नै खतरा हो । अहिले सडकमा धेरै थरिका समूह आन्दोलित छन् ।

आन्दोलनले समस्या समाधान गर्ने होइन । द्वन्द्व निम्ताउने खतरा बढेर गएको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहबाट पुनस्र्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने दलहरूको अडान छ । सबै सडकमा आए भने समस्या उत्पन्न हुने देखिन्छ । माधव–प्रचण्ड समूहले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने बताउँदै आएका छन् । नेपाली कांग्रेसले पनि आन्दोलन गर्ने भनेको छ । यसले के जनाउँछ भने देशमा अब अशान्ति सिर्जना हुँदैछ । देशको राजनीतिक अवस्था त्यति सहज ढंगले अघि बढ्ला जस्तो देखिँदैन । देशका विभिन्न ठाउँबाट आन्दोलन उठ्ने संकेत देखिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक अलोकतान्त्रिक छ भन्दै विपक्षीदलहरू सडकमा आएपछि समस्या झन् बढेर गएको छ । यतिबेला जनता धेरै समस्यामा छन् । कोरोनाको प्रभाव अझै आमनागरिकमा छ । सत्ता स्वार्थको राजनीतिले सबै बिगा¥यो । देशमा धेरै परिवर्तन भए तर नेपाली जनताको जीवनमा कुनै परिवर्तन आउन सकेको छैन । हिजो जनताको अवस्था जस्तो थियो आज त्यस्तै छ । जनताको नाममा राजनीति गर्नेहरूले बेइमानी गर्दै आएका छन् । जनताको विश्वासमाथि कुठाराघात गरिराखेका छन् । 


Views: 73