5th March | 2021 | Friday | 3:40:04 AM

अबको राजनीतिक गन्तव्य कता ?

प्रकाशमणि दहाल   POSTED ON : माघ ८, २०७७ (९:१५ AM)

अबको राजनीतिक गन्तव्य कता ?

यतिखेर नेपाली राजनीति सम्भवत इतिहासकै सबैभन्दा तरल दौरमा पुगेको छ जसलाई कति मानिस तुफानमा फसेको जहाजसँग तुलना गरिरहेका छन् जब कप्तान र कप्तान तहका व्यक्तिहरू चाहिँ यसो गर्नुपर्छ र उसो गर्नुहुँदैन भन्दै चालक दललाई आआफ्ना पछि लगाएर सकेसम्म पाखुरा सुर्कासर्की गर्दै आआफ्ना डम्फु बजाइरहेका छन् र भरोसाहीन यात्री भने बिलखबन्द छन् ।

नेपाल राजाशासित परम्परागत राजतन्त्रात्मक मुलुक हो । यसको निर्माण त्यसबेलाका पचासभन्दा बढी भुरेटाकुरे राज्यमध्येको गोरखाका राजा पृथ्वीनारायाण शाहको अगुवाइमा भएको हो जसको डेढाजति उनका शेषपछि उनका उत्तराधिकारीले थपे भने त्यसको आधाजति त्यसपछिका उत्तराधिकारीले गुमाए र यति, करिब एक लाख सत्चालीस हजारभन्दा केही बढी किलोमिटर रहेको छ ।

समयक्रममा यसका एक चौथाइजति बासिन्दा सिमानापारि परेका छन् । अर्को एक चौथाइ जति विश्वभरि छरिएका छन् । यी दुवै चौथाइमध्ये नब्बे प्रतिशत जति मजदुर, सिपाही, साना किसान–व्यवसायी–सेवकका रूपमा सामान्यदेखि दारुण स्थितिसम्म भोगेर तथा बाँकी दश प्रतिशतजति आफ्नो सीप–ज्ञान–क्षमतानुसार राम्रै हैसियतमा बाँचेका छन् । 

आफ्नै सिमानाभित्र रहेका दुई चौथाइमध्ये करिब बीस प्रतिशत त घोषित गरिबीको रेखामुनि आफ्नै रगतको आँसु चाटेर मर्दै बौरिँदै रहेका छन् भने करिब पचासप्रतिशत विपन्न हालतमा र बाँकी तीस प्रतिशत चाहिँ विलासको जीवन बाँचिरहेका छन् । 

यतिखेर नेपाली राजनीति बहना हराएको डुंगा, बाटो हराएको यात्री, अभिभावक गुमाएको परिवार, सेनापति गुमाएको फौज, सिद्धान्तविनाको राजनीतिजस्तै भएको छ । यद्यपि सबैसँग आकर्षक नारा छन्, बस् नारा, जसको व्यावहारिकता, औचित्य, सम्भाव्यतासँग कुनै मतलब छैन । केवल ठगी, झुट, ब्ल्याकमेलिङ, बलजफ्ती र भोकले हरहर भएका जनतालाई नाराजुलुसमा हिँडाएर एकछाक मासु चिउरा खुवाउने र निर्वाचनताका हातमा हजार पाँचसयसमेत हालिदिने पैसा छ । तर, नभइनहुने देशभक्ति, जनविश्वास, सैद्धान्तिक स्पष्टता, कार्य कुशलता–क्षमता–चारित्रिक दृढता–ठोस कार्यक्रम केही छैन !

नेपालमा यतिखेर कथित संयुक्त र फुटेको भनेर खुशी खुशी नाम–चिहृन–आधिकारिकताको खोसाखोसमा परेको नेकपा (नेपाल कम्युनिष्ट पार्टी) को सरकार छ जसको कम्युनिष्ट शब्दले निम्न गजल सम्झाउँछ ः

पाल्न त निख्खुर लाल चिनियाँ गाई नै पालेको छ ।

थारै छन् डिँगा यद्यपि हरियोजति घाँस तिनैलाई हालेको छ ।।

देख्ता ओभरकोटजस्तै छ मेड इन जर्मनी नै अरे ।

तर थोत्रिएर गन्ने हो भने हजार ठाउँ टालेको छ ।।

छोरी बम्बै, छोरा अरब र गिट्टी–बालुवा विहारतिर ।

नोटबाहेक बाँकी केही नराखी जथाभावी फालेको छ !

(मुक्तआवाज पृ. २५)

हो, अकूत प्राकृतिक साधन र अत्यन्त परिश्रमी जनता भएको यो देश बेलायतको जस्तो थितिले चलाउने हो भने दश वर्षमा बेलायतलाई उछिन्न सक्छ । यो सत्य सबैलाई थाहा छ तब त यसलाई अत्यन्तै माया गर्दै यसका पौरखी छोराछोरीलाई सिपाही र मजदुर बनाएर एकमुट्ठी ऐश्वर्यभोगीको अगुवाइमा बहुसंख्यक जनतालाई आधा पेट र आधा आङमा टमारेर कहिले जातको नाममा, कहिले धर्मको बहानामा त कहिले वर्गको निहुँमा आपसमा लडाएर उठ्नै दिइँदैन, सोच्नै दिइँदैन र आपसमा मिल्नै दिइँदैन !

ताजा हालतअनुसार नेपालको यो कथित नेतृत्व पनि भनिने अग्रणी राजनीतिक हिस्सा समग्र देशलाई यही विसंगति र अकर्मण्यताको बन्दी बनाएर औँलामा गन्न सकिने एक प्रतिशत जतिको पनि शून्य दशमलव एक प्रतिशत महामहिमहरूको पदीय स्वार्थका निमित्त देशको दशक लामो संक्रमणकालीन रणभूमिकरणपश्चात् बल्लतल्ल निर्मित संविधानअनुसार निर्वाचित प्रतिनिधिसभालाई विघटित पारेर त्यसैको पक्ष र विपक्षको नवबहानामा बन्दुकविहीन रणभूमिकरणमा व्यस्त छ ।

चरम राजनीतिक तरलताको यस अवस्थामा मुलुकको राजनीतिक मैदानमा कति कुन–कुन कस्ता–कस्ता दाबेदारको शक्तिपरीक्षण चलिरहेको छ भन्ने थाहा पाउनु सान्दर्भिकमात्र होइन अत्यावश्यकै हुन्छ । 

यसमा पहिलो हो मूल स्वरूप जस्ताकोतस्तै राखेर कथित एकता गरिएको भनिएको ४६ सालको संविधानको सहनिर्माता भएर पनि त्यसलाई आलोचनात्मक समर्थनमात्र गरेर संसदीय धारमा प्रवेश गरेको भनिएको व्यक्तिहत्या गर्दै एमाले बनेको समूह र सशस्त्र युद्धका नाममा दश वर्षसम्म हिंसात्मक गतिविधि गरेर आफ्ना थाप्लामा हजारौं घाइते, बेपत्तासमेत जम्मा सत्रहजार नरसंहारको टीको लगाएको आपूmलाई माओवादी भन्न रुचाउने समूहको एकताबाट बनेको नेकपा नामक कथित कम्युनिष्ट पार्टी । 

स्मरणीय छ विद्यमान् समूह भङ्ग, नयाँ समूह निर्माण र नयाँ निर्वाचन नगरी बालुवामा लिपेभैmँ दुई अध्यक्षसहित गरिएको भागबण्डे एकता । 

दोस्रो हो आपूmलाई प्रजातन्त्रको ठेकेदार मान्ने तर प्रजातान्त्रिक सिद्धान्त, आचरण, संगठन र कार्यक्रमशून्य नेकपाका गुटउपगुटलगायत विद्यमान् राजनीतिक समूहसँग तालमेल मिलाएर च्याँखेदाउ खेल्दै यदाकदा लगाम समातेर सत्ताको मोज गरिहाल्न पल्किएको नेपाली कांग्रेस नामक कथित प्रजातान्त्रिक पार्टी ।

तेस्रो खोटोसिक्का सरह नचल्ने प्रमाणित भइसकेको र देशका शक्तिसमूहहरूसँग परम्परागत समीकरण गर्दै शासनमा बसिरहनेबाहेक कुनै ठोस सैद्धान्तिक दर्शन र कार्यक्रम नभएको पूर्वपञ्चसमेतको कथित राजतन्त्रवादी समूह ।

चौथो उपरोक्त दुई मुख्य कम्युनिष्ट घटकबाटै दीक्षित, पालित, पोषित, तिनैबाट टुटेका, फुटेका, भोलि तिनैसँग जुट्न सक्ने, सिद्धान्त, कार्यक्रम र ठोस संगठनात्मक जनाधारविहीन कम्युनिष्ट शब्दसँग मोहग्रस्त अनेकौँ भुरेटाकुरे कम्युनिष्ट पार्टीसमूह । 

पाँचौं सशस्त्र क्रान्तिबाट फर्किएर बृहत् शान्ति वार्तामा सामेल माओवादीबाट फुटेर हतियार परित्याग नगरी कथित क्रान्ति जारी राखेको भनेर बेलाबेला हिंसात्मक कारबाही गरिरहेको विप्लव माओवादीको नामबाट चिनिने चरित्रले दवाबसमूहका रूपमा कसैबाट पनि परिचालित हुनसक्ने समूह । 

छैटौं यी पाँचै राजनीतिक समूहबाट कहिले फुट्तै, कहिले जुट्तै, अवसरअनुसार पृथकतावादीसम्मको खोल ओढेर राष्ट्रिय बेथिति–विसंगति र त्यसबाट उत्पन्न जनअसन्तोषलाई भँजाउँदै दाहिनेबायाँको बैसाखीसमेत टेकेर सत्ता प्राप्त गर्ने र सकुन्जेल त्यसको तर मार्नेबाहेक कुनै सिद्धान्त, कार्यक्रम र भरपर्दो पूर्वउपलब्धि वा जनाधार नभएका कथित राजनीतिक व्यक्तित्वहरूको समूह ।

सातौं यी चारै समूहबाट आजित, पीडित, यिनैबाट वितृष्णसमेत देशमा स्वस्थ, इमानदार र देशभक्तिपूर्ण प्रजातान्त्रितक परम्पराको आवश्यकता ठान्ने र आपूmलाई त्यस्तो राजनीतिक समूह मान्ने तर राष्ट्रिय राजनीतिको मूलधारमा स्थापित भइनसकेका अपरीक्षित राजनीतिक व्यक्तित्वहरूको समूह ।

यी सात समूहमा पनि आन्तरिक गुटहरूको लामै परम्परा रहिआएको तथ्य बिर्सन मिल्दैन । अर्थात् कुनै दिगो, सिद्धान्त, गर्वलायक इतिहास तथा ठोस कार्यक्रम नभएर भ्रष्टाचार, दण्डहीनता र विदेशी दलालीका निमित्त बदनाम व्यक्तिगत महŒवाकांक्षा, आर्थिक प्रलोभन तथा आआफ्ना आन्तरिक कार्यकर्ता तथा नातेदारका झुण्डको निजीस्वार्थमा आधारित हुनाले कतिबेला कुन समूहबाट फुटेर, कुनसँग मिसिएर अरू कुन कुन कति समूह बन्ने हुन् र कुनको समर्थनमा कुनका विरुद्ध सडकमा आउने वा सिंहदरबार जाने हुन् भन्ने अनिश्चित स्थिति ।

त्यसबाहेक सचेत नागरिक समाज, बुद्धिजीवी, साहित्यकार, पेशागत समूह आदि भनिने राजनीतिक प्रभाव राख्नसक्ने स्वतन्त्र विचारकको प्रत्यक्ष अराजनीतिक संगठनात्मक र गैरसंगठनात्मक समूह । 

ताजा हालतअनुसार फुटेको भनिएको र नफुटेको तर एकअर्कालाई निष्काशन गरिएको भनेर आरोप÷प्रत्यारोपसहित सुध्रिएर आए स्वागत गरिने भन्दै दलालीको भाषामा चिच्याइरहेका केपी र प्रचण्ड–माधव समूह तथा यसैको संयुक्तकालीन उपाध्यक्ष भनिएका वामदेव गौतम भने पार्टी फुट्नु हुँदैन भनेर वकालत गरिरहेका सुनिन्छन् । 

उता प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा घनिघसाइ बहस चलिरहेको छ । तर अदालत कुनै ठहरमा नपुग्दै केही पूर्वप्रधानन्यायाधीशलगायत यी विभिन्न समूह भने अदालतमा विचाराधीन विषय भन्दाभन्दै धम्कीको आशयमा समेत आआफ्नो पक्षमा निर्णय हुनुपर्ने दाबी, माग र निष्कर्ष घन्काइरहेका छन् । 

यसरी नेपाली राजनीति अत्यन्त तरल स्थितिमा पुगेको छ जसलाई पर्यवेक्षकहरू इतिहासका कतिपय गम्भीर मोडसँग तुलनीय ठान्दछन् ।

निष्कर्ष के ? 

एक्काइसौं शताब्दीका फेदमा आइपुगेको विश्वमा हालसम्म प्रचलित सबै खाले राजनीतिक दर्शनको परीक्षण भइसकेको छ । समयको यस प्रवाहमा थिरिएका दुइटै सिद्धान्त देखिन्छन्– एउटा हो कानुनको शासन अर्थात् स्वतन्त्र अदालत, स्वतन्त्र प्रेस, अनिवार्य स्वतन्त्र निष्पक्ष आवधिक निर्वाचनमार्पmत् सत्ता गठन–सञ्चालन–हस्तान्तरणको स्थायी पद्धतिअन्तर्गतको राज्यतन्त्र तथा कानुनी अनुगमनअन्तर्गत कायम स्वतन्त्र बजारप्रणालीमा आधारित अर्थतन्त्र भएका (अध्यक्ष्यात्मक–व्यवस्थापिकात्मक तथा एकात्मक–संघीय) निष्ठावान् बहुलवादी समावेशी संसदीय प्रजातन्त्र । 

यो व्यवस्था बेलायतसहित पश्चिम युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, एसियाका जापान र दक्षिण कोरियामा मात्र कायम छ जुन विश्वकै सफल देशमा पर्दछन् । तदारुख प्रशासन, शून्य वा न्यूनभ्रष्टाचार, शून्य वा न्यूनदण्डहीनता, उच्चतम वा उच्च जीवनस्तर र जनसन्तोष तथा निरन्तर विकास र समृद्धि यी देशका पहिचान हुन् । यस्तो व्यवस्था यी देशका जनताले निरन्तरका बलिदानी संघर्षद्वारा बनाएका, टिकाएका र चलाएका हुन् । 

अर्को हो त्यसको विपरीत आकर्षक नाम हुने जसको शक्ति उसको भक्तिमा आधारित नातावाद–कृपावाद समर्थित तानासाही (मनपरितन्त्र) शासन जुन विश्वका बाँकी देशमा छ, जुन कम सफलदेखि चरम असफलसम्म रहेका छन् । यो परम्परागत लुटतान्त्रिक व्यवस्था नै हो जसमध्ये कतिमा देखावटी रूपमा संविधान, निर्वाचन, संसद आदि संसदीय पद्धतिका कतिपय प्रावधान अपनाइएका पनि हुन्छन् । चरम भ्रष्टाचार, चरम दण्डहीनता तथा निम्नतम जीवनस्तर र चरम जनअसन्तोष यिनको पहिचान हो । 

स्पष्ट छ नेपाल यही पछिल्लो खालेमा पर्दछ जहाँ गंगामाया अधिकारीको माग हावामै उडेको छ । राजा वीरेन्द्र, मदन भण्डारी अथवा निर्मला पन्त आदिका हत्यारा पत्ता लागेका छैनन् । उखु किसान रोएर फर्किए । करोडौंका भ्रष्टाचार आरोपी पदासीनै छन् । निर्वाचन हारेकाहरू संसदका सदस्य हुन र मन्त्री–प्रधानमन्त्री नै हुन खाँचो छैन । सत्तारूढ वा विरोधी दलका रूपमा आलोपालो सिंहदरबारमा हैकम चलाउनेदेखि सडकसम्म मुट्ठी उज्याई उज्याई नारा लगाउने यिनीहरू नै हुन् । 

यस्ता अगुवाद्वारा नेतृत्व गरिएको यस्तो परिवेश र परिपाटीमा अबको गन्तव्य कता ?


Views: 75