8th March | 2021 | Monday | 8:51:05 AM

नेपालका छ यी रत्नबाट सिक्नुपर्छ

प्रा.डा. कुलप्रसाद कोइराला   POSTED ON : माघ ९, २०७७ (८:५० AM)

नेपालका छ यी रत्नबाट सिक्नुपर्छ

आधुनिक नेपालको तस्वीर खिच्ने काम २००७ सालमा भएको क्रान्तिले गरेको हो । यो समयदेखि मात्र हो नेपालीले विश्वका कुनै पनि मुलुकमा नेपालीको परिचय पाएको र दिएको । यसभन्दा पहिले बेलायत, जर्मनी र भारतका सैन्यमा नेपाली जान्थे तर गोरखा भनिन्थे । नेपाली आज पनि विश्वका धेरै देशमा गएका छन् । त्यहाँ तिनले सानो ठूलो जस्तोसुकै काम गरेर बसेका भए पनि नेपाली भएर नै बसेका छन् । बहादुर या गुरखा होइन । सगरमाथा भएको देशका नागरिक कहलिएर बसेका भेटिन्छन् । आजको विश्व एकअर्कामा राम्ररी निर्भर भएर रहेको छ । 

नेपालका केही राजनीतिक विचार राख्नेहरू सडकमा चर्का नारा उराल्छन् र सत्ताको वागडोर समातेकै क्षणबाट तिनको क्रान्तिकारी आवाज ताबेदारी र आशीर्वाद पाऊँ स्वामीमा रूपान्तरण हुँदोरहेछ भन्ने अब त सबैभन्दा सोझो सरल नेपालीले पनि बुझिसकेको हुनुपर्छ । २००७ लाई धोका हो, दिल्ली सम्झौताले देश बेचियो, भन्नेहरूले चलाएको शासन पनि त देखियो । अहिले बाह्र बुँदे धोका हो भन्ने र बाह्र बुँदे गर्नेगरी दुई खेमामा विभाजित भएर देशलाई दोहन र जनतालाई सन्त्रास दिने काम यिनले गर्न छाडेका छैनन् । २००७ देखि २०१५ को आमनिर्वाचनपूर्वको नेपाली राजनीति केटाकेटीको चाकाचुली खेलभन्दा गतिलो देखिएन नै । 

आमनिर्वाचनले आधुनिक नेपाल बनाउन आवश्यक म्यान्डेट र नेतृत्व प्रदान गरे पनि २२० वर्षदेखि हामीले पालेको सामन्तले त्यसलाई चल्न दिएन । असमयमै राष्ट्रघाती ‘कू’ गरेर एक देश, एक भेष, एक भाषा, निर्दल नामको एक दल, चलाउन या लाद्न खोजे पनि नेपाली जनताको साहसपूर्ण बलिदानले त्यो अँधेरी रातलाई चिरेर बहुलवादी दर्शनमा आधारित राजनीति स्थापना गरेरै छाडे । धेरैका बीचमा देखिने जनताको एकता नै राष्ट्रवाद हो ।

आजको नेपाली समाजमा बहुधा चर्चा गरिने नाम हुन् पृथ्वीनारायण शाह, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी र सुशील कोइराला । राजनीतिमा जब नैतिकता, सुचरित्रता, संकल्प र सादगीपूर्ण जीवनका क्रममा मात्रै होइन शक्ति सामथ्र्यको सदुपयोग र देश तथा जनताप्रति यिनले देखाएको भावपूर्ण निष्ठाका कारणले जनजनका मुखमा यी पाँच÷छजना मान्छे अति नै प्रिय बनेर रहेका भेटिन्छन् । बाँकी अरूका समर्थन र विरोधी दुवैतिर मान्छे लाम लाग्छन् । स्वार्थीहरूबाट भने यिनीहरूलाई ओल्चिने काम गरेको यदकदा भेटिँदो हो भन्छु । 

भूगोल एकीकरण गरेर आजको नेपालको नक्सा बनाउने जस्तो कठिन र महान् काम पृथ्वीले गरे । यिनको विरोध गर्नु भनेको आफैंलाई जन्माउने आमा र बीजवपनकारी पिताको अपमान या अवमूल्यन गर्नु समान हो भन्ने धेरैलाई लाग्दो हो र मलाई पनि लाग्छ नै । नेपाली समाजको बुद्धि उदेकलाग्दो छ । भानुबाट शिक्षाका खुट्किला चढ्न लागेको युवक भानुलाई घृणा गर्न सिकेर विश्वविद्यालयबाट दीक्षित हुन्छ । 

भानुले नेपाली संस्कार संस्कृति र भाषाभेषमा एकता ल्याएको र सबैका बीचमा सामन्जस्य मिलाएर नेपाली संस्कृतिको निर्माण गरेका थिए । यसरी हेर्दा भूगोल एकीकरण पृथ्वीले गरे भने १३२ भन्दा बढी भाषा संस्कृतिलाई नेपाली भाषा संस्कृतिका धागामा उनेर राष्ट्रनिर्माणलाई जीवन्तता प्रदान गरेथे ।

विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाल निर्माणका नायक र प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन् । उनको राजनीतिक विचार मन नपराउने पनि आज उनलाई नेपालका महान् राजनेता, त्यागी, मूल्य र निष्ठाको जीवनचरित्र भएका सबैभन्दा अग्लो कदका नेता मान्न विवश छन् । जनताको आधिकारका निम्ति जीवनभरि हण्डर खाएर जनताको न्यानो माया पाउन सफल यिनीभन्दा लोकप्रिय नेता अर्को नेपालमा आजका दिनसम्म कोही बन्न नसकेको यथार्थ घामजत्तिकै सुबो छ । 

पृथ्वी, भानु र विश्वेश्वरप्रसाद कोइराला आफ्ना समर्थकका बीचमा मात्र होइन विरोधीका बीचमा पनि प्रिय छन्, पूज्य छन् र स्मर्तव्य छन् । बीपीभन्दा अलग धारको राजनीति गर्नेले शासन गर्दा झनै बीपी हरपल स्मर्तव्य बनेर चम्केर आएका छन् । यो मूल्याधृत राजनीतिको परिणाम हो । यद्यपि उनकै पथानुगामी या विचार चिन्तनका अनुगामीले यो रहस्य कति बुझेका छन् भन्न सकिँदैन । 

वाम विचारतिर मनमोहन अधिकारी र संसदीय पद्धति चाहने बहुल्वादीतिर बीपी दुनियाँसँग हात पसारेर मागेर खाने भाँडावर्तनमा परिणत गरिएका पनि भेटिन्छन् तापनि यिनीहरू दुवै नेपाली जनमानसमा चम्किलो छवि भएका राजनेता हुन् । अहिलेसम्म दुवै धारकाले अति सम्मान गरेर नाम लिनेमध्ये यी दुई नै सबैभन्दा उच्चासनमा रहेका देखिन्छन् एकातिर भने अर्कातिर सर्वसामान्य नेपालीले पनि चिनेका बुझेका र विश्वास गरेका राजनेतामा यी दुई अग्र पंतिमा रहेका छन् ।

कृष्णप्रसाद भट्टराई सादा जीवन उच्च विचारका जीवन्त मूर्ति बनेर नेपालीका अन्तर्हृदयमा रहेका सन्त नेताका रूपमा चिनिएका व्यक्ति हुन् । यिनले असम्भव काम पनि सम्भव गराएर एकै वर्षमा २०४७ सालको संविधान बनाएर देखाइदिए । यिनको समन्वयकारी व्यक्तित्वले पाँच वर्ष काम गर्न पाएको भए नेपालको राजनीतिमा अस्थिरताका किटाणु सखाप हुन्थ कि भनेर पनि अड्कल काट्ने गरिन्छ । चुनावमा यिनले हारे भन्ने समाचार आउनासाथ एक जना सचिव हृदयगति बन्द भएर स्वर्ग भएबाटै मान्छेले यिनलाई गरेको विश्वास र भरोसाको आकलन गर्न सकिन्छ । 

प्रजातान्त्रिक पद्धतिका प्रतिको निष्ठाका कारणले पार्टीले कागलाई मयूर बनाउने गणतान्त्रिक पद्धति अवलम्बन गरेपछि पनि यिनी संवैधानिक राजतन्त्रात्मक बहुल्वादी संसदीय पद्धतिको पक्षपाती रहेर नै इहलीला समाप्त गर्ने राजनेता हुन् । पराजित भएर सत्तासयर आकाशको फलबन्दै गएको कांग्रेसले यिनलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि पुनः नेपाली कांग्रेसले बहुमत ल्याएको थियो र यिनी प्रधानमन्त्री पनि बनाइए तर नेपाली राजनीतिमा जमानादेखि नै लागेको असहिष्णुताका कीराले यिनलाई नराम्रोसँग खाइदियो । दशै महिनामा सत्ताबाट बाहिरिनु प-यो । 

छाता, सुराही र एउटा थोत्रो बाकस यिनका बाहृय परिचय चिहृन बनेर रहेका छन् । गीतापाठी यिनी निष्काम कर्मयोगी नै थिए पनि । यिनकै पथानुगामी भने पैसा, पद र नसनाता–पुत्र–कलत्रपोषणनिरत रहेकाले आज पार्टी कहिले यता त कहिले उता भएर आफ्नो परिचय नै गुमाउन लागेको छनक दिन पुगेको छ । राष्ट्रघाती संवैधानिक ‘कू’ हुँदासमेत नेपाली कांग्रेस अनिर्णयको बन्दी बनेर यता न उता लपरझुत्ता बन्दै गएको छ । अब यस दलले आफूलाई संसदबाट संविधानको रक्षाका निमित्त उभ्याउने हो या चुनावबाट जनादेश लिएर शासनबाटै संविधान क्रार्यान्वयन गर्न कम्बर कस्ने हो ढिलो नगरी जनतालाई स्पष्ट सन्देश दिनु अपरिहार्य भएको छ ।

सुशील कोइरला जसले आफ्नो वैयक्तिक प्राप्तिको सगरमाथा समानको यशलाई धूलीसात बनाएर यो संविधान घोषणा गरे । यदि उनले सहमतिअनुसारको राष्ट्रपति पदका निमित्त आफूलाई तयार पारेको या लोभ देखाएको र मधेसवादी दलले अघि सारेका संशोधनका प्रस्तावलाई समातेर प्रधानमन्त्रीका निमित्त संसदीय पद्धतिमा आफूलाई सरिक नगराएको भए यो संविधान र अहिलेको संसदभन्दा बाहिर एउटा ठूलो जनताको शक्ति रहने सुनिश्चित थियो । 

आफू हार्ने र केपी ओलीले जित्ने सुनिश्चित अंकगणित र माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसबीचको सहमति पनि टुट्ने अवस्थामा यो संविधानलाई हिमाल, पहाड र मधेसका सबै जनताको साझा र सर्वमान्य बनाउन उनले निर्वाह गरेको सुझबुझपूर्ण राजनीतिक कदमबाटै आज नेपालको नक्सा सुधारमा अभूतपूर्व एकता र राष्ट्रिय सहमति देखिएको हो भन्ने कुरो यदि कसैले आज बुझेन भने पनि आगामी दिनमा यो कुरो पुस-माघ महिनाको घामको रापजस्तो प्यारो बन्नेछ ।

आजको नेपालको नक्सालाई अगाडि राखेर मैले मेरै छाती र मस्तिष्कसँग अन्तर्संवाद गर्दा माथिका व्यक्ति र तिनले निर्वाह गरेको भूमिकाले मलाई च्वास्स च्वास्स पार्न लागेको अनुभव भयो । एकपल्ट तराई, पहाड र हिमालतिर बस्ने केही मान्छेसँग यस विषयमा सामान्य टेलिफोन संवाद गर्दा आजको नेपाल दिशाविहीन र गन्तव्य हराएको अवस्थामा पुगेको कुरो पनि गरे । साथै नेपाली कांग्रेसको राष्ट्रिय तथा अन्तर राष्ट्रिय हैसियतको नेतृत्वको अभाव पनि उनीहरूले व्यक्त गरे ।

बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले निर्माण गरेको मार्गमा काँडा र ढुंगा राखी आफ्नै स्वार्थमा रिंग्नाले कांग्रेस राष्ट्रिय अन्तार्राष्ट्रिय जगत्मा पुड्के बनेको देखियो । पुष्पलाल र मनमोहन पुराना भए भनेर खड्ग–प्रचण्ड मार्ग निर्माणले वाम आन्दोलनलाई विसर्जनको अवस्थामा पु¥याएको छ । अतः चेतना भए सुध्रौं । अन्यथा भीरबाट लडेका गाईलाई राम राम भन्न सके पनि काँध थाप्न सकिँदैन भन्छन् हाम्रै पुर्खा ।


Views: 271