8th March | 2021 | Monday | 9:07:53 AM

अहिलेको संविधानले नदेखेको कुरा !

ओम आचार्य   POSTED ON : माघ ९, २०७७ (८:५८ AM)

अहिलेको संविधानले नदेखेको कुरा !

संसद विघटन र निर्वाचनको बाटो वर्तमान संविधानले नदेखेको विषय हो । संसद विघटनपछि यो निर्णय कानुन र संविधानसम्मत नभएको भन्दै संसद पुनःस्थापनाका लागि अहिले सर्वोच्चमा बहस भइरहेको छ । अहिले कानुन व्यवसायी र सरकारबाहिर रहेका राजनीतिक दलहरूसमेतले संसद विघटनको विरुद्धमा सडक आन्दोलन चलाइरहेका छन् । नेपाली कांग्रेस भने यसमा द्विविधामा रहेको देखिन्छ । कांग्रेसमा अहिले यो विघटन मुद्दामा दुई फरक विचार आइरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवा संसद विघटन असंवैधानिक भन्दै निर्वाचनमा जाने विचार व्यक्त गरिरहनु भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पुनःस्थापनाका लागि सडक आन्दोलनमा जानुपर्ने आफ्नो अभिमत राखिरहनु भएको छ । 

संसद विघटन असंवैधानिक भनिरहनु भएका पार्टी सभापति शेरबहादुर देउवाको निर्वाचनमा जाने रणनीति कति सान्दर्भिक र उपयुक्त छ ? असंवैधानिक भनिसकेपछि त्यो सच्याउन सडक आन्दोलनमा जाने कि निर्वाचनमा जाने यो नेपाली कांग्रेसले सही निर्णय गर्ने बेला आएको छ । 

नेपालको राजनीतिक इतिहासमा पटकपटक संसद विघटनले नेपाली राजनीतिमा धेरै अस्थिरता पैदा गरेको मात्र होइन यसले प्रजातान्त्रिक व्यवस्थामा निराशाजनक वितृष्णा उत्पन्न गर्दै लोकतन्त्रको सफलतामा यसले प्रश्न खडासमेत गरेको अवस्था त छँदैछ र अर्कोतर्फ धेरै ठूलो धनराशि निर्वाचनमै खर्चिनुपर्ने अवस्थाले समेत देशको विकास र समृद्धिमा प्रतिकूल अवस्था सिर्जना गरेको जगजÞाहेर छ । 

यस्तो परिस्थितिले आजित भएको हुँदा संविधानसभामा समेत यस्तो परिस्थितिको निराकरणका लागि विसद बहस र छलफल भएर पुनः यस्तो अवस्था मुलुकले ब्योहर्नु नपरोस् भनेर नै संसद विघटन गर्ने अधिकारमा संकुचन संविधानमा व्यवस्था गरेको छ । 

अब यहाँनेर सबै राजनीतिक दलहरूले बुझ्नुपर्ने कुरा छ कि पाँच वर्ष दुई निर्वाचन थेग्न मुलुकले नसक्ने कारणले नै संविधानसभाबाट छलफल र बहस भइआएको संविधानको मूल भावना र आदर्शबाट अहिले राजनीतिक दल विमुख हुन पाउँछन् त ? तिनै राजनीतिक दलले त्यो भावना र विचारबाट ल्याएको संविधान अहिले आफैं त्यसको विरुद्धमा जान मिल्छ त ?

यो कुरा विशेष गरेर म नेपाली कांग्रेसलाई भन्न चाहन्छु किनभने संविधान नेपाली कांग्रेसकै नेतृत्वमा प्रधानमन्त्री सुशील कोइरालाले ल्याएका हुन् । अहिले नेपाली कांग्रेसको निर्वाचनमा जाने रणनीति संविधानतः कति सही निर्णय हुन्छ । संविधानले पटकपटक संसद विघटन गरेर निर्वाचनामा जाने भावना र मर्मविपरीत अहिलेको संविधानले रोकेको छ र यस्तो अवस्थामा कांग्रेस निर्वाचनमा जाने निर्णय गर्न हुन्छ कि हुँदैन यसमा कांग्रेसले विचार पु¥याउन नसकेको देखिन्छ । 

अर्को कुरा प्रधानमन्त्रीले मलाई काम गर्न नदिएको आफ्नै पाटीका साथीहरूको असहयोग भएको भन्दै बाध्यात्मक अवस्थामा संसद विघटन गर्नुपरेको विचार व्यक्त गरिरहेको देखिन्छ । यो प्रधानमन्त्रीको बाध्यात्मक कदम नभएर आफ्नो व्यक्तिगत रक्षात्मक कदम हो । आफ्नो कुर्सीको रक्षामा चलाइएको यो संसदको विघटनले मुलुक अत्यन्त संवेदनशील मोडमा पुगेको छ । प्रधानमन्त्रीको यो कदमले सबैभन्दा प्रहार संविधानमाथि भएको छ भने अर्कोतर्फ सर्वोच्च अदालतको गरिमा र मर्यादामाथि पनि आँच पु-याउने काम गरिरहनु भएको छ । 

प्रधानमन्त्रीले संसद पुनःस्थापना हुँदैन भन्न मिल्छ कि मिल्दैन ? सरकार प्रमुखबाटै यस्तो अभिव्यक्ति आउनुले संविधानको र अदालतको गरिमा र मर्यादा प्रभावित बन्छ कि बन्दैन ? सरकार अदालतमा विचाराधीन मुद्दामा मौन रहनु नै श्रेयकर होइन र ? संसद विघटनको मुद्दा सार्वजनिक सरोकारको विषय हो र अझ राजनीतिक दल र नागरिक समाजको सरोकारको विषय हो । यसमा अरूले आफ्नो धारण राखेर अदालतलाई ध्यानाकर्षण गराउन पाए पनि सरकारले पाउँदैन । पूर्वप्रधानन्यायाधीशहरूको पनि यसरी नै ध्यानाकर्षणको लागि आएको निजी विचार हो । अदालतले कुनै निर्णय गर्नुपूर्व यस्तो विचार र कानुनसम्मत कुराहरू बाहिर आइरहँदा विचाराधीन मुद्दामा निर्णय गर्न पनि सहज र सहयोग नै पुग्छ जस्तो लाग्छ ।

नेपाली कांग्रेसको अबको बाटो संसद पुनःस्थापनाका पक्षमा लाग्नु नै श्रेयस्कर हुनेछ । संविधानले संसद विघटन गरेर निर्वाचनमा जाने सहमति दिएकै छैन । संविधान निर्माणामा रहनु भएका तत्कालीन संविधानसभा सदस्यहरूबाट विगतको अनुभव र प्रयोगको गलत अभ्यासले गर्दा यस्तो व्यवस्था जुनअहिले प्रधानमन्त्रीले गरेका छन् त्यसलाई रोकेको छ । कांग्रेसले कानुनीराज्यको अवधारणा मान्छ र कांग्रेसको धर्म संविधानको रक्षा गर्दै प्रजातन्त्र र नागरिक हक अधिकारलाई संविधानतः अक्षुण राख्नु उसको पहिलो धर्म हो । 

यहाँ कांग्रेसले के बुझ्नुपर्छ भने संविधानमा नभएको व्यवस्थापन प्रयोग गर्दै आफ्नो बाध्यात्मक भन्दै रक्षात्मक रूपमा उत्रिएका प्रधानमन्त्रीको कदम संविधानतः उचित छैन भन्दै असंवैधानिक कदम भनेर भनिरहँदा संविधानको रक्षामा कांग्रेस सडकमा जानुपर्नेमा संसद विघटन गरेर निर्वाचन मिति तोकेको सरकारी निर्णयमा कांग्रेस उभिन पुगी निर्वाचन भन्नु कति जायजÞ र संविधानतः उचित छ ? वास्तवमा प्रधानमन्त्रीको उक्त कदम उपयुक्त छैन किनभने आज संविधानमा प्रहार भएको छ र त्यसको रक्षामा उभिनु नेपाली कांग्रेसको पहिलो धर्म हो । कांग्रेसको लागि संसद पुनःस्थापनाका पक्षमा लागेर सडक संघर्ष गर्नु नै सही निर्णय हुनेछ ।


Views: 85