8th March | 2021 | Monday | 9:10:38 PM

खडानन्दको ‘नेपालमका स्थानीय तह’

सुशीला घिमिरे   POSTED ON : माघ १०, २०७७ (८:४५ AM)

खडानन्दको ‘नेपालमका स्थानीय तह’

खडानन्द लुइटेलद्वारा संकलित तथा लिखित पुस्तक हो ‘नेपालका स्थानीय तह’ यसलाई उहाँले ‘सङ्कलित स्थानीय तहहरूको अध्ययन विवरण’ भन्नुभएको छ । पुस्तक धेरै माटोइको छैन, पातलो छ । यसमा १२+६४ गरी जम्माजम्मी ७६ पृष्ठ छन् । डिएमआई साइजको यस पुस्तकको प्रकाशक प्रेमकला लुइटेल रहनुभएको छ । सर्वाधिकार लेखकमा रहेको यस पुस्तकको प्रथम संस्करण २०७६ साल चैत भनिएको भए पनि कोरोनाबाट सिर्जित परिस्थितिका कारण यस पुस्तकको लोकार्पण केही महिना पहिलेमात्र भएको थियो । 

पुस्तकको पहिलो संस्करण १ हजारप्रति छापिएको उल्लेख भएको छ भने मूल्य १०५ रुपैयाँ छ । एपिएस प्रेस काठमाडौंमा मुद्रण भएको यस पुस्तकमा हिमाल, पहाड र तराईको समेत चित्रण हुनेगरी आकर्षक आवरण राखिएको छ । सेता हिमाल, लाली गुराँस रातै फुलेको पहाड तथा गोरु जोतेर रोपाइँ गरिरहेको तराईको फाँटको लोभलाग्दो आवरणले पनि पुस्तकलाई आकर्षक बनाएको छ । 

आवरणको पृष्ठ भागमा पुस्तकका लेखक खडानन्दको चिनारी दिइएको छ । जसबाट उहाँ ओखलढुङ्गाको बासिन्दा हुनुहुन्छ र हाल काठमाडौं बूढानीलकण्ठ १२ कपनमा बसनुहुन्छ भन्ने थाहा हुन्छ । सोही पृष्ठमा उहाँले लेख्नुभएका अन्य पुस्तकहरूको सचित्र जानकारी गराइएको छ । यसपहिले उहाँले ‘लुइटेल वंशावली’, ‘१०१ व्यक्तित्व’ र ‘नेपाली थर गोत्रको चिनारी’ रहेका छन् । 

संघीयता वास्तवमा नेपालमा हाल अभ्यासका क्रममा रहेको राज्य प्रणाली हो । यो नेपालका लागि नयाँ छ । विश्वका भारत, बेलायत, अमेरिकालगायत केही देशमा निकै पहिलेदेखि नै प्रचलनमा रहेको यो राज्य प्रणाली नेपालमा पाँच वर्ष पहिले २०७२ सालको संविधानले व्यवस्था गरेको हो । साढे तीन वर्षदेखि नेपालमा यो व्यवस्था अभ्यासका क्रममा छ । मात्र एकपटक स्थानीय निकायको र संसदको निर्वाचन भएको छ । यसको सफलता र असफलताको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । 

पुस्तकको सन्दर्भ त्यसतर्फ होइन । यस पुस्तकले त नेपालीको संघीय स्वरूप र स्थानीय निकायहरूको विवरणात्मक जानकारी दिने काम गरेको छ जुन यसको उद्देश्य हो । नेपालको वर्तमान राज्यव्यवस्था बमोजिम केन्द्रमा एउटा संघ र विभिन्न सात प्रदेशहरू रहने व्यवस्था छ । तल्लो तहमा विभिन्न ७५३ स्थानीय तह रहने व्यवस्था गरिएको छ । हो, तिनै स्थानीय तहबारे विवरणात्मक जानकारी यस पुस्तकले दिएको छ । 

पशुपति बहुमुखी क्याम्पस चावहिलका प्राचार्य प्रयागराज भट्टराई वाशिष्ठको ‘उपयोगी खोजपूर्ण सङ्कलन, नेपालका स्थानीय तह २०७६ सम्बन्धमा’, तिलकप्रसाद लुइटेलको ‘शुभकामना’ तथा लेखकका ‘दुई शब्द’ पुस्तकको भूमिका खण्डमा छन् । त्यसपछि समर्पण र विषयसूची राखिएको छ । समर्पणमा ‘सुशासन कायम गर्नका निम्ति नेपाली माटोमा आफ्नो अमूल्य जीवन आहुति दिने उनै वीर शहीदप्रति यो पुस्तक हार्दिक समर्पण गर्दछु’ भनिएको छ । शहीदहरूकै बलिदानीबाट वर्तमान राज्यव्यवस्था प्राप्त भएको र स्थानीयता कायम भएका कारण उहाँले शहीदहरूप्रति समर्पण गर्नु भएको सन्दर्भ प्रासङ्गिक लाग्दछ । 

पुस्तकमा स्थानीय तहको सङ्ख्या तालिका, चौध अञ्चलमा रहेका जिल्लाहरू, हिमाली क्षेत्र, पहाडी क्षेत्र, भित्री मधेस, तराई र काठमाडौं उपत्यकामा रहेका जिल्ला, प्रदेशअनुसार जिल्लाहरू, प्रदेशअनुसार स्थानीय तह आदि दिइएको छ । हालको विभाजनभन्दा पहिलेको विभाजन कस्तो थियो ? ७५ वटा जिल्लाको क, ख, ग श्रेणी, २०१८ सालअघिको अवस्था, त्यसपछि गरिएको अञ्चल र जिल्लाको व्यवस्थासमेत यस पुस्तकमा उल्लेख गरिएको छ । 

हालका यी प्रदेश र स्थानीय निकायबाट हुने निर्वाचित संख्यासहित त्यसको विवरण आदिको क्रमिक जानकारी पनि पुस्तकमा छ । यसका साथै नेपालका उच्चपदस्तहरूको पदीय मर्यादाक्रम १ देखि २२औं स्थानसम्ममा को कहाँ पर्छन् भनेर यस पुस्तकमा जानकारी गराइएको छ । यसैगरी सातैवटा प्रदेशमा रहने मन्त्रालयहरूको जानकारी यसमा छ । 

शाह वंशीय राजाहरू तिनको जन्म र मृत्युमिति, शासनकाल, पूर्वराष्ट्रपति तथा वर्तमान राष्ट्रपतिको जन्ममिति र राष्ट्रपति भएको समयावधि पनि लेखक लुइटेलले यस पुस्तकमा उल्लेख गर्नुभएको छ । नेपालका हालसम्मका प्रधानमनत्रीहरूको सूची र उपलब्ध भएसम्मको तिनको जन्म मृत्युको सालसम्वत पनि यस पुस्तकमा उल्लेख भएको छ । यति धेरै मिहिनेत गरेर खडानन्द लुइटेलले जुन काम गर्नुभएको छ त्यो उपलब्धिपूर्ण र फलदायी प्रमाणित भएको छ । 

यसका साथै उहाँले संघीय व्यवस्थाका लागि आकर्षित हुने वर्तमान संविधानका धाराहरू, राष्ट्रिय सभाको गठन विधि, हालका सात प्रदेश र तिनका अस्थायी रूपमा तोकिएका राजधानी, प्रदेश प्रमुखहरूको नाम जस्ता कुरा उल्लेख गर्नु भएको छ । 

पुस्तकको अन्त्यतिर मालपोतसम्बन्धी केही व्यवस्था, जग्गाको परम्परागत मापन र हाल त्यसको वर्गमिटरमा हुने परिमाण, विभिन्न ब्लडबैंकका सम्पर्क नम्बरहरू दिइएको छ जसले गर्दा यो पुस्तक व्यवहारोपयोगी बन्नपुगेको छ । पुस्तकको अन्त्यमा उहाँले ‘रक्षकको उर्दी’ शीर्षकको आफ्नो कविता र सन्दर्भ सामग्री दिनुभएको छ । 

नेपालका वर्तमान स्थानीय तहबारे जानकारी दिने उद्देश्यले लेखिएको यो पुस्तकमा धेरै जानकारीमूलक तथ्यतथाङ्क छन् । सामान्यज्ञानमा रुचि राख्ने जो कोहीका लागि यो पुस्तक उपयोगी छ । यसका साथै लोकसेवाका विद्यार्थीका लागि त यसको अझै धेरै महत्व हुने कुरा निर्विवाद छ । लेखक सङ्कलक खडानन्द लुइटेललाई यसका लागि धन्यवाद र भावीदिनमा पनि अन्य पुस्तकहरूको सिर्जनाका लागि हार्दिक शुभकामना ।


Views: 107