5th March | 2021 | Friday | 3:33:09 AM

पूर्वकृषि मन्त्री खेतीमा रमाउँदै

युवराज पौडेल   POSTED ON : माघ १०, २०७७ (८:४९ AM)

पूर्वकृषि मन्त्री खेतीमा रमाउँदै

पञ्चायतकालीन निरङ्कुशताविरुद्ध भूमिगत संघर्ष गर्ने कम्युनिष्ट नेता त्रिलोचन ढकाललाई नचिन्ने कम्युनिष्ट नेता कमै होलान् । आजको मूलधारको नेतृत्वमा रहेका धेरै कम्युनिष्ट नेताहरूसँग ढकालले काम गरेका छन् । स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका वडा–६ फापरथुममा जन्मिएका ढकालले लगभग दश वर्ष कम्युनिष्ट आन्दोलनमा लागेर भूमिगत जीवन बिताउनुभयो । भूमिगत हुँदा उहाँले पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीहरू समाल्नुभयो । उहाँ पहिले राति राति लुकेर गाउँ पुग्नुहुन्थ्यो भने कहिले आँधीखोलखोलै धवलागिरि पुग्नुहुन्थ्यो । 

सङ्घर्षका क्रममा उहाँ कैयौं रात भोकभोकै बस्नुभयो । त्यतिबेला क्रान्तिको राप र ताप थियो । नेताहरूमा एउटा छुट्टै आदर्श थियो । उहाँ भन्नुहुन्छ–‘आस्थाले विश्वास जन्माउँदो रहेछ । हामीलाई कम्युनिष्ट आस्था र विश्वासले कठिन यात्रातर्फ पनि सहजै डो¥याउँथ्यो’ ढकाल आप्mना भूमिगत दिनहरू सम्झिनुहुन्छ ।

ढकाल विसं २०४८ सालमा नेकपा मालेका तर्फबाट लुम्बिनी इन्चार्ज हुनुभयो भने विसं २०४९ सालमा नेकपा एमाले भारत प्रवास इन्चार्ज बन्नुभयो । उहाँ अखिल नेपाल किसान महासंघको केन्द्रीय अध्यक्षसमेत हुनुभयो । आइएस्सी पढ्दाखेरिबाटै कम्युनिष्ट प्रभावमा ढल्किनुभएका ढकाल विसं २०५६ सालमा नेकपा एमालेको तर्फबाट कृषिमन्त्रीसमेत हुनुभयो । कृषिमन्त्री हुँदा कृषि क्षेत्रमा सुधारको थालनी गरे तापनि छोटो समयमै सरकार ढल्दा उनका योजना अधुरै रहे । गरिब किसान जनताका दुःखलाई बुझेकाले केही नयाँ गर्ने विश्वासका साथ उहाँले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालनु भएको थियो तर दुर्भाग्य उहाँले सोचेजस्तो भएन । 

नेकपा विभाजनपछि उहाँ नेकपा मालेतिर लाग्नुभयो । विसं २०५६ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को पोलिटब्युरो र स्थायी कमिटी सदस्यसमेत हुनुभयो । तर, समय बित्दै जाँदा उहाँले राजनीतिमा नदेख्नुपर्ने दृश्यहरू देख्नुभयो । कम्युनिष्ट आचरण र व्यवहारको खडेरी पर्दै गएको देख्नुभयो । राजनीतिमा नैतिकता र आदर्श स्खलित भइरहेको महसुुस गर्नुभयो । कम्युनिष्ट आस्था र विश्वासमा धमिरा लाग्दै गएको महुुस गरेपछि उनलाई राजनीतिप्रति नै एक प्रकारको वितृष्णा जाग्यो । 

पण्डित परिवारमा जन्मिएका ढकालमा संस्कृत भाषाको पनि ज्ञान छ । पारिवारिक विरासतका कारण होला, उहाँमा भाषा संस्कृति र साहित्यमा एक प्रकारको लगाव छ । साहित्य उनको जीवनको एउटा महत्वपूर्ण आयाम बनेको छ । पछिल्लो समय उहाँका लागि बिग्रँदो राजनीति र चारैतिरको अव्यवस्थालाई बिर्साउने एकमात्र चौतारी बनेको छ–साहित्य र सिर्जना । 

राजनीतिबाट विरत हुँदै साहित्यतिर तानिनुभएका ढकालले करिब दुई दर्जन पुस्तककार कृतिहरू प्रकाशित गरिसक्नु भएको छ । राजनीतिक सिद्धान्त, अनुभव, भोगाइ, सामाजिक विभेद, छुवाछूत, कुसंस्कार, असङ्गति, अभाव, बेरोजगारी आदि विषयमा उहाँको कलम निरन्तर वेगमय ढङ्गमा दौडिरहेको छ । कविता, बालकविता, बाल उपन्यास, यात्रा निबन्ध, गजल आदि विविध फाँटमा उहाँको सिर्जना अगाडि बढिरहेको छ । 

कृषि विषयमा स्नातक गरेर कम्युनिष्ट राजनीतिको महासमरमा डुबुल्की मार्नुभएका ढकालले जीवनको उत्तराद्र्धमा आएर हिँडिरहेको मूलधारको बाटो मोड्नुभयो । राजनीति नै जीवनको सर्वस्व ठान्दै सर्वहारा मुक्तिको महान् सपना मुटुमा सजाएर युवा अवस्थामै राजनीतिको बेलगाम उडान भर्नु भएका ढकालले अन्ततः गीताको ‘तत्वबोध’ भनेझैँ राजनीतिको तत्वबोध प्राप्त गर्नुभयो । 

उहाँले मूलधारको कम्युनिष्ट राजनीति छाडेर लेखनको नयाँ यात्रा तय गर्नुभयो । उहाँले यसो किन गर्नुभयो त्यो इतिहासको समीक्षाको विषय होला तर एउटा कुरा सत्य के हो भने चाहे ढकाल चाहे लोकेन्द्र बिष्ट जो हुन् वा गोपाल किराती नै किन नहुन् थोरैमात्र इमानको राजनीति गर्नेहरूका लागि ढिलोचाँडो ‘तत्वबोध’ अनिवार्य छ । 

भविष्यमा लाभको पदमा नजाने र कम्युनिष्ट पार्टीको साधारण शुभचिन्तक भएर बस्ने उहाँको सोचाइ छ । ढकालको जीवनभोगाइ समकालीन नेपाली राजनीतिको एउटा तीतो यथार्थ हो । नैतिकता, इमानदारी र आस्थाको राजनीति गर्नेका लागि वर्तमान राजनीति कति जटिल, दुरुह र पेचिलो छ भन्ने कुराको दृष्टान्त उहाँको भोगाइ हो । 

यद्यपि देश र जनताको सेवा गर्न राजनीतिमात्र निर्विकल्प बाटो होइन, अरू माध्यमबाट देश र समाजमा योगदान दिन सकिन्छ नै । राजनीतिबाट समाज परिवर्तन गर्ने बाटो अवरुद्ध भएपछि उहाँले कलमको बाटो रोज्नुभएको हो भन्ने कुरा बुझ्न धेरै घोत्लिनु पर्दैन । कतिपय सन्दर्भमा राजनीतिले बदल्न नसक्ने विषय कलमको शक्तिले पनि बदल्न सक्छ । यही विश्वासमा ढकालले बुढ्यौली जीवनका दिन काटिरहनु भएको छ । 

अहिले उहाँ स्याङ्जाको फापरथुमको आनन्द आश्रम (उनका बुबा आनन्दमणिको नाममा बनाइएको) मा बस्नुहुन्छ । गाउँमा आजकल युवाहरू भेटिँदैनन् बरु मलेसिया, कतार र अरबका भेडीगोठमा भेटिन्छन् । उहाँका गाउँमा पनि बुढाबुढीहरू पिँढी रुँगेर बसेका छन् । युवायुवती सहरबजार र विदेशमा छन् । ‘छोराले अलिकति कमाउन थालेपछि छोराछोरी पढाउने बाहनामा बुहारीले खुट्टो उचालिहाल्छे’ ढकालका गाउँकै एक वयोवृद्ध दम्पतीले हामीसँग गुनासो गर्नुभयो । आँधीखोलामा देखिएको यो प्रवृत्ति लगभग समकालीन नेपाली समाजको साझा प्रवृत्ति नै बनेको छ । 

यस्तो परिवेशमा काठमाडौंमा ठूलो घरमा बसेको, मन्त्रीसम्म भएर देशविदेश घुमेको मान्छे, कम्युनिष्ट पार्टीको पोलिटब्युरोसम्म भएको नेता गाउँमा आएर खेती किसान गर्ला, हलो जोत्ला भनेर कसैले पत्याएका थिएनन् । यसलाई गाउँलेहरूले एउटा सकारात्मक पाठका रूपमा लिएका छन् । उहाँ गाउँमा बस्न थालेपछि सबैलाई आढआधार भएको छ । वडाध्यक्ष कृष्णप्रसाद ढकाल भन्नुहुन्छ, ‘उहाँ आएपछि गाउँको परिवेश नै छुट्टै भएको छ । गाउँमा छुट्टै रक्तसञ्चार भएको छ । सबैमा उत्साह छाएको छ’ ढकालले स्थानीय समाजका विविध क्षेत्रमा आर्थिक तथा भौतिक सहयोग गरिरहनुभएको छ । विपन्न वर्गका छात्रछात्राका लागि अक्षयकोषको स्थापना गर्नुभएको छ । गाउँका सानाठूला समस्यामा साथ दिइरहनुभएको छ ।’ स्थानीय ख्यामनारायण ढकाल भन्नुहुन्छ, ‘उहाँ गाउँमा बस्न थालेपछि युवाहरू विदेशिने प्रवृत्तिमा समेत कमी आएको छ । मानिसहरूले जन्मभूमि र गाउँको महत्वलाई बिस्तारै बुझ्दै गएका छन् ।’  

राजनीतिमा टुटेफुटेका अधूरा सपनाहरूले उहाँलाई आजपर्यन्त घोचिरहन्छ । जनतासँग गरिएका वाचा पूरा गर्न नपाएकोमा पीडा पनि हुन्छ । तर, अहिले उहाँसँग ती सब पूरा गर्ने शक्ति र सत्ता छैन । पछिल्लो समय नेताहरू धन पैसा र पदप्रति आशक्त भएको देख्दा उनलाई चिन्ता लागेको छ । आफूले आदर्श मानेका नेताहरू नै खराब बाटोमा हिँडिरहेको देख्दा असहृयै पीडा हुने गरेको ढकाल बताउँनुहुन्छ । वर्तमान राजनीतिक अन्योलताका बारेमा हाँहाँ भन्नुहुन्छ, समाजवादी आचरण अँगाल्न नसक्ने वर्तमान नेतृत्वले समाजवादउन्मुख संविधान कार्यान्वयन गराउँनै सक्दैन । यसबाट प्रतिक्रान्तिको खतरा जन्मिरहन्छ ।’ 


Views: 253