8th March | 2021 | Monday | 8:48:37 PM

नेपालीले कहिलेसम्म रमिता हेर्ने !

प्रा.डा. तीर्थप्रसाद मिश्र   POSTED ON : माघ ११, २०७७ (८:४० AM)

नेपालीले कहिलेसम्म रमिता हेर्ने !

नेपाली समाजमा उखानटुक्काले आफ्नै किसिमको विशेष पहिचान बनाएको छ । इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक, आर्थिक र सामाजिक घटनाको पृष्ठभूमिमा उखानटुक्काको सिर्जना भई प्रचलनमा आएको देखिन्छ । उखानटुक्काहरू इतिहासका मौलिक स्रोत हुन् । यसबाट समाज, राजनीति र समय बुझ्न सकिन्छ । सन्दर्भ वर्तमान राजनीतितिर मोड्न चाहन्छु । उखानटुक्काको ज्यादातर प्रयोग गर्ने हुँदा प्रधानमन्त्री केपी ओलीलाई ‘उखाने प्रधानमन्त्री’ भनी आलोचना पनि गरिएको पाइन्छ । वास्तवमै ओलीको भाषणकला, वाक्पटुता र श्रोताअनुसारको अभिव्यक्ति दिने शैली गज्जबकै छ । 

उहाँ उखानटुक्काको समुचित प्रयोग गर्न सिपालु हुनुहुन्छ । त्यसैले उहाँको भाषणको प्रस्तुति श्रोताहरूका लागि निकै रोचक हुन्छ । तर, रोचक भाषण र घोचक व्यवहार हुँदा विगत एक÷दुई वर्षमा नेपालीले सास्तीमात्र भोग्नुपरेको अनुभूति गरेका छन् । यसबाट नेपाली जनताले विस्मृतिमा जान लागेका अनेकौं उखानटुक्काहरूको स्मरण गरिरहेका छन् । नेपालका लागि शान्ति र समृद्धि आकाशको फल आँखा तरी मर नै भयो । प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र जे भए पनि बाँदरको हातमा नरिवल भएको इतिहास साक्षी छ ।

विसं २०७६ साल चैत महिनाको सुरुदेखि नै मजस्ता सेवानिवृत्तहरूका लागि (अरूका लागि पनि हुन सक्छ ।) रेडियो, टेलिभिजन, डुलुवा फोन तथा पत्रपत्रिका नै अन्तरंग साथी बन्न पुगे । साथीभाइ तथा आफन्तसँग दूरभाषमा कुराकानी गर्ने र पुराना कुरा सम्झेर नै अधिकांश समय बित्न थाल्यो । जीवनमा यति लामो समयसम्म घरमै आफूखुशी बन्दी भएर बस्ने म जस्ताको संख्या पनि धेरै छ । 

यस अवधिमा कोरोना महामारी र नेपालको राजनीतिका नकारात्मक पक्ष दुवैको मुकदर्शक भएर घरमै बन्दीसरह बस्नुपर्ने स्थितिआउनु वास्तवमा नेपालीको पुर्पुरोमा नै लेखेकै रहेछ । सन् २०१९ को अन्तिमतिर चीनको वुहानबाट सल्केको महामारीको आगो संसारभरि नै फैलिइसकेको छ । यसको पहिलो लहरबाट उक्सिन नपाउँदै विश्वका अनेक देश दोस्रो लहरबाट प्रभावित हुन थालेपछि पुनः बन्दाबन्दीको अवस्थामा पुग्न बाध्य भइरहेका छन् । र, अब यो महामारीको आगो कुन बिन्दुमा पुगेर निभ्ने हो कुनै ज्योतिषीले भविष्यवाणीसमेत गर्न सकेका छैनन् । 

जब भयो राति तब बुढी ताती भनेजस्तै सुरुमा नेपालले यस महामारीलाई बेवास्ता मात्र गरेन अत्यन्त हल्का रूपमा समेत लियो । समाजले पनि यस रोगको गम्भीरतालाई कहिल्यै बुझ्न चाहेन वा सकेन । सरकार त झन् यो एक साधारण फ्लु हो भने जसरी यसको रोकथामका लागि तयारी गर्नुको साटो कानमा तेल हालेर सुत्यो । देशकै प्रधानमन्त्रीले यसलाई ‘हाच्छ्यु साच्छ्यु ग¥यो, बेसार पानी खायो, कोरोना भाइरस भागी हाल्छ’ भन्ने जस्ता अत्यन्त हल्का टिप्पणी गर्नुभयो । 

यसबाट सरकारको गैरजिम्मेवार रवैया प्रष्ट झल्क्यो । छिमेकी मुलुक भारतले यो महामारी नियन्त्रण गर्न जुन नीति लियो त्यही रणनीति नै नेपाल सरकारले पनि लियो, जसोजसो बजू तसै तसै बुहारी । यस महामारीलाई सामना गर्न सरकारको कदम कागजी घोडा सावित भयो । अस्पताल, क्वारेन्टाइन तथा भौतिक दूरी कायम गर्न भएका प्रयास सबै हात्तीले देखाउने दाँत जस्तै भए । न त कुनै पूर्वतयारी थियो न त चुस्त व्यवस्थापन । बरु अपारदर्शी ढंगले उपचार सामग्रीको खरिद, खरिदमा आशंकायुक्त ढिलाइले आमजनतामा सरकारको रवैयाप्रति नै शंका गर्न बाद्य तुल्यायो । 

हवाइजहाजबाट आउनेहरूलाई ज्वाइँजस्तो व्यवहार गरियो भने स्थलमार्गबाट पैदलै नेपाल भित्रिने आफ्नै नागरिकप्रतिको व्यवहार सौताका छोराछोरीलाई गरिने जस्तो देखियोे । क्वारेन्टिन र आइलोसन स्थलको व्यवस्था गर्न ठूलै बजेट त बाँडियो तर कतैतिरको व्यवस्थापन चुस्त हुन सकेन । विश्व स्वास्थ्य संगठनको मापदण्डको कतै पालना गरिएन । मानिस बस्नसमेत अनुपयुक्त ठाउँलाई क्वारेन्टिन बनाइयो र बजेट सिध्याइयो । चिकित्सक र प्राविधिकलाई महामारीसँग लडन बन्दुक त दिइयो तर गोली दिइएन । 

अर्थात् विनास्वास्थ्य सामग्री उपचार गर्नुपर्ने अवस्था देखियो । स्वास्थ्य सामग्री उपलब्ध गराउने कुरामा गोलमाल, अनियमितता र भ्रष्टाचारका अनेकौं काण्ड चर्चामा आए । म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भन्ने हिसाबले कारबाही पनि गरियो । कोरोनाले आक्रान्त पारेको अवस्थामा नेपाली राजनीतिमा मौकामा चौका पनि देखिए । नेताहरूमा यस संगीन र गम्भीर घडीमा पनि कसैको के धन्दा घरज्वाइँलाई खानको धन्दा भन्ने प्रवृत्ति देखा प¥यो । छेपाराले रङ फेरे जस्तै नेताहरूको क्रियाकलाप देखियो ।

कोरोनाको यस महामारीमा कुनै नेता कार्यकर्ताले जनताको सुखदुःख बुझ्न सार्थक कार्य नै गरेनन् । निर्वाचनको बेलामा घरदैलोमा पटकपटक पुग्ने नेताकार्यकर्ता मुसाको दुलामा लुक्न पुगेको प्रतीत भयो । कोरोनाको संक्रमण वृद्धि हुने रफ्तारमै नेपाली राजनीतिमा असंख्य आरोह अवरोहहरू देखिए । कहीँ नभएको जात्रा हाँडी गाउँमा जनताको अभिमतविरूद्ध सत्तासीन पार्टीभित्रको किचलोले उग्र रूप लियो । संघीय संसद्को चालु अधिवेशन अन्त्य गरियो । 

अध्यादेशको घोषणा भयो र विरोधका कारण खारेजी पनि भयो । मन्त्रिपरिषद्को सिफारिशमा सम्माननीय राष्ट्रपतिद्वारा अध्यादेशको घोषणा एवं खारेजीबाट ताक परे तिवारी नत्र गोतामे हुने राजनीतिक अस्त्र प्रयोग हुँदा राजनीतिका पण्डित र विश्लेषकहरूले बूढी मरेकामा होइन काल पल्किएकामा चिन्ता जाहेर गरेका छन् । नेपालमा ठूला भनाउँदा सबै राजनीतिक पार्टीमा आन्तरिक कलह देखाप¥यो, मात्रामा मात्र घटिबढी रहृयो । यस महामारीको संकटकालीन अवस्थामा राजनीतिक शक्ति, प्रतिबद्धता सामूहिकता र समन्वय देखा परेन ।

नेपालको इतिहासका ठूलाठूला आन्दोलन व्यापक जनसहभागिता र समर्थनबाटै सफल भएका थिए । तर, कहिल्यै नेपालीको अपेक्षा पूरा भएन । उल्टो जनमतकै तिरस्कार भयो । सबै पार्टीमासत्तामा आएपछि अठ्ठा लाग्ने रोग र जुन जोगी आए पनि कानै चिरेका प्रवृत्तिबाट नेताहरू माथि उठ्न सकेनन् । नेपाली राजनीतिमा विसं २०४६ को परिवर्तनपश्चात् कसैले पनि पछाडि फर्किएर हेरेनन् । राजनेताले अगाडि हेर्नु चार हात पछाडि हेर्नु बाह्र हात भन्ने नीतिशास्त्रको वचनलाई ध्यान दिएनन् । हिजोका घटनालाई नजरअन्दाज गर्दा जनतालाई सबै किसिमका परिवर्तनजसकी जोई उसैलाई हेर्न नदिइझैँ भइरहृयो ।

विसं २०४६ को आन्दोलन विशेष गरेर कांग्रेस बाम एक ठाम भएर सफल भएको थियो । यी दुवैको मत मिलेकै कारण २०४७ सालको संविधान पनि आउन सकेको थियो । निर्वाचन पनि सम्पन्न भयो । कांग्रेसलाई बहुमत र एमालेलाई बलियो प्रतिपक्षीको भूमिकामा जनताले पु¥याए । तर, यी दुवैले इतिहासको मर्म त बिर्सिए बिर्सिए आफ्नै पार्टीभित्र पनि कुकुर र बिरालो जस्तो भएर झगडा गरे । नेपाली कांग्रेस, एमाले, सद्भावना तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सबै आन्तरिक संघर्षको जालोमा जेलिए । शत्रुका शत्रु पनि मित्रझैँ भए । मध्यकालीन नेपालका राज्यहरू जस्तो एकले अर्कोसित मिली तेस्रोलाई पछार्ने कामहरू भए ।

हिजोका बापबैरी आज छब्बीस दिने दाजुभाइझैँ भए । नदुखेको कपाल निधारमा डोरी बाँधेर कृत्रिम दुखाइ निकाले । छँदाखाँदाका संसद् विघटन भए र विघटन गर्ने अनेकौं प्रयास भए । रिस खा आफू बुद्धि खा अर्को भयो । यिनै पार्टीको क्रियाकलाप, स्वार्थ नीति र सत्ताका लागि जे पनि गर्ने प्रवृत्तिबाट माओवादीद्वन्द्वलाई मलजल गरेको थियो । नेपालको राजनीतिमा नमच्चिने पिङको सय झड्का देखियो । पार्टीका मुखियाहरूले तैँ बाहुन मै बाहुन घरका पैसा कतै नजाऊन् भन्ने नीति लिए । सरकारमा बस्नेहरूले आफ्नै हात जगन्नाथ गरे । 

सबैतिर राम्रा होइन हाम्राहरूले प्रश्रय पाए । सिँगारी हरायो चितुवा करायो जस्तै भयो । बकुल्लाले माछा कुरेकोमा ठूलै माछा हात पा¥यो । नेताकै कारण के गर्छस मंगले आफ्नै ढंगले भन्दै ज्ञानेन्द्रले २०१७ साल दोहो¥याए । राजाको निगाहका लागि बिन्तीपत्र हाल्नेहरूचोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भए । तँ चिता म पु¥याउँछु भनेझैँपछि गएर सबै पार्टी माओवादीसित नजिकिए । पुनः एकपटक दिल्ली दरबारको दवदवाले नेपाली राजनीतिमा प्रवेश ग¥यो । 

उसकै रोडम्यापले नेपालको राजनीतिले कोल्टे फे¥यो तर काँक्रोलाई थाक्रो हाल्दा थाक्रो धनी भनेझैँ नेपाली राजनीतिको रिमोट फेरि थाँक्राकै हातमा पुग्न गयो । पार्टीहरूले आफ्नो अदूरदर्शीता र राष्ट्रप्रतिको असंवेदनशील व्यवहारले गर्दा पटक पटक नेपाल र नेपालीले हार्नुपर्ने स्थिति पैदा भइरहृयो । स्वयं म नै सर्वशक्तिमान हुँ भन्ने राजा ज्ञानेन्द्रको गति पनि म ताक्छु मुढो बन्चरो ताक्छ घुँडोजस्तै भयो । उनैको कार्यले गर्दा उनी आफू त गए गए नेपालबाट राजतन्त्रलाई पनि सिद्धयाएर गए । न रहे बाँस न बजे बाँसुरी भयो । जो हुनु नै थियो । जस्तो बिउ रोपियो उस्तै फल फल्ने नै भयो । 

विसं २०६३ सालदेखि नेपालको राजनीतिका अनेक रङ अर्थात् इन्द्रेणीका सातै रङ देखिए । भोको भन्छ डाँडावारि खाऊँ अघाएको भन्छ डाँडापारि खाऊँको अवस्था देखियो । काले काले मिलेर खाऊँ भालेतर्फ नेता गए । जनता भने अमिलो चामल खाएर हिस्स बुढी हरिया दाँत भए । नेतालाई मुढा पाएपछि झिक्राको मतलब भएन । संविधान बनाउने कार्य माझीको सल्लाहले सय गाउँ डुबेजस्तै भयो । नेताले भाषण र रासनमा मात्र जोड दिए । 

कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर चरितार्थ भयो । यस बीचमा नेताले जनतालाई चटक्कै बिर्सिए । खोला त¥यो लट्ठी बिर्सियो भयो । जनचाहनाको आठपाँज कसैले सोचेनन् । कुनै नेताले आफूलाई बीसको उन्नाइस ठानेनन् । बाघ बूढो र स्यालतन्नेरी हुँदैन भन्ने तथ्य सुशील कोइरालाको नेतृत्वमा केही हदसम्म देखियो । संविधान आयो । जनताले आशाको लामो सास फेरे ।

संविधान आएपछि हिजो पानी बाराबार भएका एमाले र माओवादी मिलिजुली चुनावमा गए । अभूतपूर्व सफलता पाए । झण्डै दुई तिहाइको समर्थनबाट सरकार बन्यो । केपी ओली प्रधानमन्त्रीमात्र भएनन् शक्तिका हिसाबले जंगबहादुर र बीपी कोइराला जस्तै शक्तिशाली भएको देखियो । अन्य पार्टीको विशेषगरी नेपाली कांग्रेसको किन चाउरिइस् मरिच आफ्नै रागले भने जस्तै भई नुन खाएको कुखुराको हाल भयो । माओवादी र एमाले मिलेर बनेको कम्युनिष्ट पार्टीमा डचेज एण्ड ज्वेलर्स जस्तै एकले अर्कोलाई प्रयोगमात्र गर्ने कार्यले उनीहरूको मधुमासपश्चात् नै विग्रहका संकेत देखा परे । उनीहरू तरबार र घ्यू बेचुवा जस्ता भए । सर्पलेमात्र सर्पको खुट्टा देख्छ । 

हिजो मिलेका बेला सबै गुहृय खोल्दा बाहिर आएका रहस्यबाट एकले अर्कोलाई तर्साउन थाले । दुई तिहाइको बहुमत पाएपछि नेताहरूको महŒवाकांक्षा जाग्ने नै भयो । अम्मलीले अम्मल खान नपाउँदाको छटपटी हुने नै भयो । यसै छटपटीबाट विवादहरू आए । पार्टीका अध्यक्षबीच जुट्ने, र फुट्ने घटना भइरहे । यस सरकारबाट जनताले धेरै आशा गरेका थिए । अझ भनूँ दिउँसै सपना देखेका थिए । तर, अब त भन्न थाले,जुन जोगी आए पनि कानै चिरेका । शान्ति सुव्यवस्था र विकास वीरबलको खिचडी भयो ।

कोरोना महामारीबाट आक्रान्त नेपालीलाई ढाडस, हौसला तथा हिम्मत दिने बेलामा सत्तासीन पार्टीभित्र भुसको आगो दन्कियो । नाक काटेर कान टाल्ने प्रवृत्ति देखियो । संकटको घडीमा छलफल गर्ने संघीय संसद्को अधिवेशन अन्त्य गरियो । अध्यादेश आउँदै जाँदै गर्न थाले । जनताको विरोधलाई सरकारले वास्तै गरेन । काग कराउँदै छ पिना सुक्दै छ भयो । 

पदको मात बढ्दै गयो । बुहारीको रिसले सासुले छोरी कुटेको घटना चरितार्थ भयो । संसद् विघटन भई निर्वाचन घोषणा भयो । यो अप्रत्याशित तथा नेपाली जनताको इच्छा, स्वार्थ र मुलुककै हितविपरीत हुने कदमबाट नेपालीले कति सास्ती खेप्नु ? नेपालमा संघीयता बोकाको मुखमा कुभिन्डो अर्थात् भालुको कन्पट भएकै हो त ? नेताहरूले बाघ हेर्नुछ भने बिरालो हेर्नु शत्रु हेर्नुछ भने भाइ हेर्नु भन्ने उखान बुझ्दै बुझेनन् । 

हामी नेपालीमा चेत कहिले खुल्ने हो थाहा छैन । प्रत्येक निर्वाचनमा अड्को पड्को तेलको धुप भन्दै तिनै नेतालाई विश्वास ग¥यौँ । नेताहरूले तँ आइस् मोही लिएर जा, गोठाला पठा दूध दिउँला भन्दै रहे । हामीले पत्याउँदै गयौँ । विभिन्न परीक्षण गर्दा बाबु दुष्ट नेता इष्ट हुँदैनन् भन्ने हेक्का नै राखेनौँ । जतिबेला उनकै शरण पर्दै चोरलाई साँचो दियौँ । जसको फल आज खाँदै छौँ । नेपालको राजनीतिमा चोरलाई चौतारो साधुलाई शूली देखियो । नेपाली सदैव धान खाने मुसो चोट पाउने बिरालोजस्तै भए । अब भने समय आएको छ नेतालाई भन्ने एक माघले जाडो जाँदैन है ।

विसं २००७, २०४६ र २०६२–०६३ को आन्दोलन जस्ता सबै आन्दोलनमा नेपाली जनता निर्णायक थिए । तर, कालान्तरमा सबै आन्दोलनको उपलब्धि नेपाली जनतामा निराशामात्र हात लाग्यो । अब त जनतामा आन्दोलनप्रति नै वितृष्णा पैदा हुन लागेको छ । यी राजनीति नामका बेमौसमी गाईजात्राबाट अरू केही नभए पनि सञ्चारमाध्यमलाई असल खुराक प्राप्त भएका छन् । नत्र भने त समाचारको खडेरी नै पर्ने थियो । घर जलेपछि खरानीको के पीर भयो र ? 

देशमा कोरोनाको महामारी छ । जनता मरेका म-यै छन् । उता सबै पार्टीकाले जुलुस, भेला तथा आमसभा गरेका ग¥यै छन् । मानौँ अब नेपाल कोरोनाबाट मुक्त भएको छ । यस विषम परिस्थितिमा पनि आफ्नै दुनो सोझ्याउने राजनीतिबाट पीडित जनताले पीडाबोध नै गरेनन् । जति गरे तिनै नेता र पार्टीको पछाडि लाग्ने नेपाली के वास्तवमै धन्यवादका पात्र हुन् त ? अब सोच्ने बेला आएको छ यस्तो अवस्था सिर्जना हुनमा हाम्रा नेता दोषी हुन् कि यस्ता नेतालाई छानेर पठाउने हाम्रो बुद्धि र विवेककै दोष हो । 


Views: 294