17th April | 2021 | Saturday | 1:31:59 AM

बृहस्पति अस्त र यसले पार्ने प्रभाव

उपप्राध्यापक नारायणप्रसाद निरौला   POSTED ON : माघ १२, २०७७ (९:५० AM)

बृहस्पति अस्त र यसले पार्ने प्रभाव

आकाशमा रहने ग्रह र ती ग्रहले पार्ने प्रभाव निरन्तर नै रहिरहन्छ । पृथ्वीवासीका निम्ति जसरी सूर्यले आफ्ना रश्मीमार्फत् विभिन्न प्रकारका ऊर्जा प्रदान गरिरहेका हुन्छन् । त्यसैगरी अन्य ग्रहले पनि पृथ्वीवासीलाई कुनै न कुनै प्रभाव पारिरहेका हुन्छ । यस्तै मध्येको विशेष प्रभाव पार्ने एक ग्रह हो बृहस्पति । पृथ्वीबाट मंगलभन्दा पनि टाढाको दूरीमा रहने बृहस्पतिको आफ्नै गति छ । यसरी गतिमा चलायमान रहँदा एक प्राकृतिक घटनाको सिर्जना हुनआउँछ जसलाई बृहस्पति अस्त भनिन्छ । 

अस्तको अर्थ लोप हुनु अर्थात् हराउनु हो । आकाशमा बृहस्पति नदेखिनु नै बृहस्पति अस्त हुनु हो । बृहस्पति आकाशमा देखिने अवस्थालाई उदय भनिन्छ भने आकाशमा नदेखिई कतै हराएको वा लुप्त भएको अवस्थालाई बृहस्पति अस्त भनिन्छ । यसरी अस्त हुँदा र उदय रहँदा पृथ्वीवासीलाई पार्ने प्रभावमा भिन्नता रहने गर्दछ । 

अस्त विभिन्न प्रकारले हुने हुन्छ । विशेषगरी बृहस्पतिको बिम्बलाई सूर्यले छेकेको समयमा बृहस्पति अस्त मान्ने प्रचलन रहेको छ । सूर्य र बृहस्पति एउटै राशिमा अर्थात् पृथ्वीको कुनै स्थानबाट आकाशमा एउटै कोणीय अन्तर पर्दा यस्तो स्थितिको सृजना हुन्छ । बृहस्पतिको स्थान सूर्यभन्दा पनि निकै टाढा छ । आकाशमा जब सूर्यले बृहस्पतिको बिम्ब छेक्छ उक्त निश्चित समयमा बृहस्पति अस्त हुनपुग्छ । अर्थात् हाम्रो भूअवस्थितिबाट आकाश मण्डलमा बृहस्पति देखिँदैनन् । हाम्रो दृष्टिपथमा नआएका ग्रह सामान्यतः अस्त अवस्थामा रहने गर्दछन् । ग्रहहरू उदय अस्त, बक्र मार्ग हुनु नियमित प्रक्रिया हो । हाम्रा धार्मिक कार्यसम्पादनमा बृहस्पति र शुक्रको अस्तले भने विशेष महŒव राख्ने गर्दछ । 

हाल वर्तमानको अवस्थामा बृहस्पति अस्त रहेका छन् । सूर्य र बृहस्पति दुवै ग्रह मकर राशिमा विद्यमान छन् । यसैले सूर्य बिम्बले बृहस्पतिलाई हाम्रो दृष्टिपथबाट छेकेका छन् । यसरी अस्त हुँदा बृहस्पतिले प्रदान गर्ने ऊर्जा हामीमा प्राप्त नहुने भएकाले बृहस्पति अस्त रहँदा काम्य विशेष कर्म विवाह, व्रतबन्ध, विशेष यज्ञ अनुष्ठान आदि नगरिएका हुन् । यस्ता विशेष कार्यका निम्त बृहस्पतिजन्य प्रभाव सबल रहनुपर्दछ भन्ने ज्योतिष एवं धर्मशास्त्रको मान्यता छ । यस्तो अवस्थामा तत्जन्य प्रभाव न्यून रहने भएकाले विशेष कार्यको सिद्धिका निम्ति गरिने यज्ञ अनुष्ठान आदि काम्य कर्म नगर्नू भनिएको हो । किनकि यस्तो अवस्थामा बृहस्पतिजन्य बल कमजोर रहन्छ र कार्य पनि प्रभावकारी बन्न सक्दैन । 

विशेषतः बृहस्पतिको बिम्बलाई सूर्यले हाम्रो दृष्टिपथबाट छेक्दा बृहस्पति अस्त हुने गर्दछ । यस्तो अवस्था हुन सूर्य र बृहस्पतिको कोणीय अन्तर न्यून रहनुपर्दछ । सामान्यतः यस्तो स्थिति वर्षमा एकपटक पर्ने गर्दछ । किनकि सूर्यले एक वर्षमा ३६० अंश (डिग्री) पार गर्दछन् भने बृस्पतिले एक वर्षमा लगभग एक राशि अर्थात् ३० अंश (डिग्री) मात्र पार गर्दछन् । यसरी हेर्दा बृहस्पति र सूर्यको भेट हुने एक वर्षमा एकपटक सम्भावना रहन्छ । सूर्य र बृहस्पति नजिकिएको अवस्था बृहस्पति अस्तको हो । विशेषतः सूर्य र बृहस्पतिको ११ कालांशको अन्तरसम्मको समयलाई बृहस्पति अस्त मानिएको छ (सूर्यसिद्धान्त, ९।६) ।

बृहस्पति विशेषतः ज्ञान र अर्थ तत्व प्रदान गर्ने ग्रह हो । महजस्तै पहेलो दृष्टिवाला, बुद्धिमान्, पुष्ट मांस भएको, कफ प्रकृतिको, गोरो वर्णको, पहेलोे केश भएको, अधिक मज्जायुक्त लामो (अग्लो) शरीर भएको गुरुको स्वरूप छ भनी वराहमिहिराचार्यले उल्लेख गरेका छन् ः मधुनिभनयनो मतिमानुपचितमांसः कफात्मको गौरः । ईशत्पिंगलकेशो मेदःसारो गुरुदीर्घः ।। (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.५) । 

यसरी ग्रहको स्वरूप र प्रकृतिअनुसार पृथ्वीवासीमा फल पनि प्राप्त हुने गर्दछ । यसैले बुद्धिपक्षको क्षेत्र बृहस्पति अस्तमा कमजोर रहने गर्दछ । यसका साथै बृहस्पतिअस्त भएको अवस्थामा कफ प्रकृतिको विकार अधिक रहनसक्छ । किनकि बृहस्पतिले कफ प्रकृतिलाई प्रतिनिधित्व गरेको हुन्छ । यसका साथै ज्ञान एवं बुद्धिपक्षमा पनि यसले विशेष प्रभाव पार्ने गर्दछ । यसरी रहने प्रभाव व्यक्तिको जन्मकुण्डली अनुसार फरक रहने गर्दछ । बृहस्पतिको बलका साथै निवास, अन्य ग्रहसँगको युति र वर्तमान अवस्थाका आधारमा यसको फल प्रक्षेपण हुन्छ । 

निर्बल बृहस्पति रहने व्यक्तिका निम्ति बृहस्पति अस्त हुँदा तद्क्षेत्रमा कमी रहनसक्छ । यसैले व्यक्तिको कुण्डलीगत प्रकृतिअनुसार यसको उदय अस्त आदि फल विचार हुन्छ । तर काम्य कर्मको सम्पादनमा भने अस्तको समय निषेधित नै रहन्छ ।

अस्त भएको बेलामा बृहस्पति निर्बल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, बगैँचा, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अष्टका श्राद्ध, गोदान (केशान्तककर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाँकी संस्कार, देवताको प्रतिष्ठा, दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ ः वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताद्रद्ररम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके । गोदानाग्रयण–प्रपा–प्रथमकोपाकर्म वेदव्रतम् । नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।। दीक्षा–मौञ्जि–विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् । सन्यासाग्निपरिग्रहौ नृपतिसन्दशाद्रभिषेकौ गमम् । चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद् । वृद्धत्वास्तशिशुत्व इजय–सितयोन्र्यूनाधिमासे तथा ।। (मुहूत्र्तचिन्तामणि, १।४६।४७) । 

यसका साथै व्रतको आरम्भ पनि यो समयमा नगर्नू भने व्रतराजमा यसरी बताइएको छ ः अस्तगे च गुरौ शुक्रे बाले वृद्धे मलिम्लुचे । उद्यापनमुपारम्भं व्रतानां नैव कारयेत ।। (व्रतराज, पृ.२) । यसरी अस्तको समयमा शास्त्रले निषेध गरेका कार्य प्रमादवश गरेमा अनिष्ट फल भोग्नुपर्ने कुरा मुहूत्र्तचिन्तामणिको पीयूषधारा टीकामा उल्लेख गरिएको छ । 

बृहस्पति अस्त भएको बेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्मअन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिँदै आएका व्रत उपासना पनि रोकिँदैनन् । यसैगरी नैमित्तिक कर्मअन्तर्गत अइपर्ने नामकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । अन्नप्राशन पनि नैमित्तिकअन्तर्गत पर्ने भएकाले गर्न कुनै बाधा पदैन । शान्ति कर्मका निम्ति पनि छुट दिएको पाइन्छ शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा । गुरुभार्गवमौढ्येद्रपि दोषस्तत्र न विद्यते ।। 

यसैगरी महिना तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ ः न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ । अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः । तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।। (वायुपुराण) अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्राबाहेक अन्य यात्रा नगर्नू भनिएको छ । 

यसैगरी बृहस्पतिअस्तमा सीमन्तोन्नयन, जातकर्म, अन्न प्राशन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ ः सीमान्तजातकादीनि प्राशनान्तानि यानि वै । न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।। (मुहूत्र्तचिन्तामणि पीयूषधाराटीका) नित्य कर्म, ग्रहशान्ति, नैमित्तिक कर्मअन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य बृहस्पतिअस्त भए पनि गर्दा कुनै दोष नलाग्ने कुरा शास्त्रले बताएको पाइन्छ । 

बृहस्पति तŒव हराएको समयमा गरिएका कार्य निष्फल रहने भएकाले पनि अस्तका समयमा विशेष काम्य कार्य निषेध गरिएको हो । बृहस्पति अस्त अर्थात् निर्बल भएको बेला रोगले आक्रमण गर्न सक्छ । धन, विद्या, बुद्धि र पराक्रम प्राप्तिको कामना राखी गरिने यज्ञ प्रभावकारी नहुने भएकाले यो समयमा काम्य विशेष कर्म गरिँदैनन् । 

प्रकृतिको नियमित चक्रका आधारमा ऋषिप्रणित शास्त्रले दिएका निर्देशन नै हाम्रा मार्गदर्शन हुन् । आकाशीय पिण्डको प्रभाव पृथ्वीवासीलाई अवश्यमेव पर्छ । सूर्यको विम्बमा परी बृहस्पति हाम्रो दृष्टिपथमा नआएको अवस्थामा बृहस्पति अस्त हुन्छन् । यो प्रकृतिको एक नियमित चक्र जस्तै हो । यस्तो बेला उक्त पक्षको बल कमजोर रहन्छ । ग्रहजन्य बल कमजोर रहेका बेलामा गरिएका काम्य कर्म सिद्धिदायी हुँदैनन् । बृहस्पति अस्त हुँदा तत् जन्य प्रभाव कम हुने भएकाले विवाह, व्रतबन्ध आदि गरिएका ठूला काम्य कर्म गर्न शास्त्रर्ले निषेध गरेको हो । काम्यबाहेकका नित्य र नैमित्तक कार्यमा भने अस्तको प्रभाव रहँदैन भन्ने शास्त्रको निचोड रहेको छ । 


Views: 185