13th April | 2021 | Tuesday | 6:42:43 PM

कोरोनाकै बेडबाट मैले भोगिरहेका अनुभव

टेकराज पन्थी   POSTED ON : माघ १२, २०७७ (९:५२ AM)

कोरोनाकै बेडबाट मैले भोगिरहेका अनुभव

कोरोना भाइरसका बारेमा धेरैलाई थाहै छ । कोरोना भाइरसको वैज्ञानिक नाम सार्स कोभ २ हो । यसको संक्रमणबाट हुने रोगलाई कोभिड १९ भनिन्छ । कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ । संक्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्नसक्छ । संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोना भाइरस हुन्छन् । उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ । भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ । विस्तारै ती अंगलाई कोरोना भाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो संख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पु¥याउन सक्छन ।

मलाई कोभिड प्रवेश गर्दाको सुरुवाती समयको अनुभवलार्ई नियाल्दा म सधैंजसो मोर्निङ वाक गरेर फर्केपछि घरमा योगा गरी नुहाउने कार्य हुन्थ्यो । बिहानैदेखि अलि शरीरलाई अप्ठ्यारो असजिलो महसुस गरेको थिए । त्यस दिन मोर्निङ वाक नगई योगामात्र गरे । सार्वजनिक बिदाको दिन थियो । दिउँसो घाम लागेको थिएन चिसो थियो । साझ एउटा लेख लेखेर सुते । भोलिपल्ट शरीर पूरै दुखेको, आँखामा अश्रुग्यासको पिरोजस्तै पोलेको थियो । 

साँझ खाना खाने मन त थिएन तर श्रीमतीले खाना खानुपर्छ भनेर अलि प्रेसर गरिन् अनि हात धुन थालेको एक्कासि पूरै शरीर थरथरी काम्यो । तुरुन्त डाक्टर कमल भुसाललाई सम्पर्क गरेँ । उहाँले एक हजार एमजीको सिटामल खान सल्लाह दिनुभयो र थप समस्या भएमा हामी तयारी अवस्थामा भएकाले नआत्तिनू भनेर सुझाउनुभयो । सिटामल खाएर दुईवटा सिरक ओडेर सुतेँ, रातको १ बजे पसिना निस्किएपछि अलि हल्का भयो । शरीर भने रातभरि दुखिरहृयो, आँखा निकै पिरो भए । बिहानै स्वास्थ्यकर्मीलगायत सबैसँग सल्लाह लिएँ । बिहान स्वास्थ्य टोली अवस्था बुझ्न घरमै आइपुग्यो । स्वाव टेष्टका लागि पठाइयो । 

साँझ कोरोना पोजेटिभ भएको रिपोर्ट आयो । आयुर्वेद विभागका महानिर्देशक डा.वासुदेव अर्याल, काठमाडौंकै अर्का डा. कृष्णगोपाल महर्जन, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनाल, लुम्बिनी कोभिड १९ का फोकल पर्सन डा.सुदर्शन थापा, सैनामैनाका डा.कमल भुसाल, स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थी, नवीन अर्याल, दीपकजीलगायत मेडिकल पर्सनसँगको सल्लाहबाट घरमा बसी कोभिडसँग लडाइँ लडिरहेको छु । प्रायः दैनिक डाक्टरहरूबाट सल्लाह सुझाव पाइरहेको छु ।

स्वास्थ्यकर्मीहरूले दैनिक केही समस्या छ कि भनेर भेट्न आइरहनु भएको छ । सुरुमा १ सय १ डिग्री फरेनाइटभन्दा बढी ज्वरो आयो, आँखा पोल्यो, घाँटी दुख्यो, शरीर दुख्यो, गन्ध एवं स्वाद हरायो, पखाला लाग्यो, तालुमा दुखाइ अझ बढी भयो, दुई दिन राति १२ बजेदेखि २ बजेतिर सास फेर्न अलि अप्ठ्यारो बनाएको थियो । रातभरि तालु (टाउको) कपडाले थिचेर सुतँे, निद्रा लाग्ने कुरै भएन । तर, पनि यसलाई जित्नुपर्दछ भनेर प्रसस्त मात्रामा तातो पानी र झोलिलो पदार्थ खाएँ । मीठो नभए पनि खाना धकेलेरै भए पनि खान श्रीमतीले कर गरिरहिन् । 

त्यसैगरी खाना खाँदै गएँ । तेस्रो दिन एकछिन घाम ताप्न बसेको तुरुन्तै अँध्यारो भयो, चक्कर लागेजस्तै महसुस भयो तर पानी भनेछु थोरै पानी पिएर बेडमा कसरी आएँ भन्ने खासै थाहा पाइनँ । यस्तै समयमा ख्याल गरिदिने मानिस भइदिने हो भने कोरोनालाई परास्त गर्न सकिँदो रहेछ । म बिरामी परेको धेरैलाई त थाहा थिएन तर थाहा पाएकाहरू, मेरा भाइहरू, आफन्तजन, कार्यालयका स्टाफ साथीहरू, पत्रकार मित्रहरू, छरछिमेकी धेरै आउनुभयो । खासमा भेट्न आउनेहरूबाट धेरै साहसिला विषयको ज्ञान पाइँन्थ्यो । भेट्न आउनुहुने केही परे हामी तपाइँको साथमा छौं नआत्तिकन साहसिलो बन्न सुझाउनु हुन्थ्यो । 

खासगरी बिरामी परेको समयमा मलाई जो जसले भेट्न आउनु भयो उहाँहरूप्रति म सधैं ऋणी रहने छु । आफ्नो भन्ने मानिसलाई पहिचान गर्न बिरामी र अप्ठ्यरो भएको समयमा मात्र चिनिँदोरहेछ । यस्तैगरी सामाजिक दूरी कायम गरी शुभचिन्तकहरूले भेट गर्दा पनि आत्मबल बढ्ने रहेछ । ज्वरो आउनु र सुक्खा खोकी लाग्नु, घाँटी दुख्ने, शरीर दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने, सुँघ्ने क्षमता शिथिल हुने कोरोनाका लक्षणहरू रहेछन् ।

मेरा अनुभवहरूमा विशेषगरी कोरोना लाग्यो भनेर आत्मबल कमजोर नबनाई उच्च बनाउनुपर्छ । कोरोना लागेको शंका लागेमा तुरुन्तै परीक्षण गराउनुपर्छ जसले गर्दा उपचार गर्न सजिलो हुन्छ । विशेषगरी कोरोना लागेको ५ दिनसम्म बिरामीको एकदमै ख्याल गर्ने गर्नुपर्छ । झोलिले पदार्थ प्रसस्त मात्रामा खाने गर्नुपर्छ । चिसो वस्तु केही नखाने, १५–१५ मिनटमा तातो पानी खाने, झ्याल ढोका खुला गरेर सुत्ने, घाम लागेको समयमा प्रसस्त मात्रामा घाम ताप्ने गर्नुपर्छ तर त्यो समयमा पनि तातो पानी पिउनुपर्छ । सकेसम्म बाफ लिइरहनुपर्छ र खाना मीठो नभए पनि जबरजस्त खानुपर्छ । 

योग एवं नाचगान गरेर रमाइलो तथा मनोरञ्जन गर्नुपर्छ । भिटामिन डी, भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, जिंक ट्याबलेट, भिटामिन ई, खोकी लागेमा एन्टिबाअटिक पनि लिन सकिन्छ । यिनीहरू कोरोनाका औषधि नभए तापनि अन्य असर कम परोस् भनेर प्रयोग गर्न सकिँदो रहेछ । यसैगरी आयुर्वेदिकमा अश्वगन्धा चुर्ण, गिलोई चुर्ण, मह, कागती, लसुन, ज्वानो, मराठी, सिल्टिमुर, अदुवा, बेसार आदिको मिश्रण गरी पकाएर सुप खान हुन्छ । कालिज, लोकल कुखुराको सुप, बट्टाई चराका अण्डा, खसीका खुट्टाको सुप, दाल तथा गेडागेडीको सुप प्रसस्त मात्रामा खाएमा कोरोनालाई परास्त गर्न सकिन्छ भन्ने मेरा अनुभव रहेको छ । 

(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ कोरोना पोजिटिभ भएर उपचाररत हुनुहुन्छ ।) 


Views: 178