17th April | 2021 | Saturday | 1:38:13 AM

जनता आन्दोलनमा किन जाने ?

प्रा. देवीभक्त ढकाल   POSTED ON : माघ १३, २०७७ (९:१२ AM)

जनता आन्दोलनमा किन जाने ?

हिजोसम्म हाम्रो राजनीतिक क्रान्ति पूरा भयो ! अबको पालो आर्थिक क्रान्तिको हो भनेर चर्को नारा घन्काउनेहरू नेपाली राजनीतिमा फेरि आन्दोलनको आँधीबेरीका कुरा किन गर्दैछन् ? राजनीतिक क्रान्तिको सफलताको युगपछि निर्वाचनमा अभूतपूर्व सफलता र कम्युनिष्ट एकताका प्रवर्तकहरू विकास र समृद्धिको गतिलाई अलपत्र पारेर तुरुन्तै पुनर्मिलनको सम्भावनालाई समेत अस्वीकृत गर्दै औपचारिकरूपमा आज किन एकाएक फुटेको हाँडीझँै दुई फ्याक भए ? गालीको बौछारले लाग्छ यिनीहरूको मिलान अब निकट भविष्यमा सम्भावना नै छैन ? 

यो राजनीतिमा आश्चर्यजनक मात्र होइन अविश्वसनीय घटना भन्नुपर्छ । स्थायी सरकारको नारा सधैं नेपाली राजनीतिको अपत्यारिलो शब्द सुशासनलाई जोडेर घन्काएको पचासौं वर्ष कम्युनिष्टहरूले शासन गर्ने उत्ताउलो नारालाई नारामै सीमित पारे । मतदाताहरूलाई मात्र होइन प्रतिपक्षसमेत छक्कियो । यसरी बीचैमा सत्ताको अवसर जुट्छ भन्ने अनुमानसम्म प्रतिपक्षले नगरेको परिस्थिति एकाएक कसरी विकसित भयो ? प्रजातान्त्रिक व्यवस्थामा हँुदाखाँदाको बहुमतलाई यसरी अलपत्र पार्ने विषय कल्पना गर्न सकिँदैन तर यहाँ भयो । विभाजनको कारण र औचित्यसमेत अझै दुवै पक्षले पुष्टि गर्नसम्म सकेका छैनन् । 

नेपाली राजनीतिलाई जित र हारको कोणबाट परिवर्तित परिस्थितिमा पुनव्र्याख्याको जरुरी देखियो । हाम्रो प्रजातान्त्रिक संस्कार र संस्कृति यति अविकसित देखियो कि निर्वाचनमा पार्टीले नभई गुटलेमात्र विजय प्राप्त गरेको प्रमाणित भयो । यहाँ के देखियो भने सत्ताका माध्यमले कमाउन पाउने गुटले जित्यो । एउटै पार्टी भए पनि जुन गुट कमाउनबाट वञ्चित भयो त्यो गुटले हा¥यो । यस्तै मान्यताको हार र जितले कम्युनिष्टहरूले अपार जनमतलाई टुहुरोमात्र बनाएनन् अलपत्र पारे । यस्तो जित र हारलाई समय सापेक्ष परिभाषित गर्नुपर्ने आवश्यकता खड्केको छ । यो विषयको टुंगो नलागी कसैलाई हराउने र कसैलाई जिताउने लाममा जनता किन सहभागी हुने ?

आन्दोलनको आवाहृन गर्नेले हिजोको आन्दोलनको परिणाम र प्रतिफल के आयो ? यसको जनतालाई चित्त बुझ्ने जवाफबेगर फेरि आन्दोलन किन ? केका लागि ? कसका लागि ? विगतका आन्दोलनबाट जनतालाई उपलब्धि के भयो ? अब हुने आन्दोलनको उपलब्धिको के ग्यारेन्टी छ ? हामी ठीक ऊ बेठीक किन ? के आधारमा भन्ने प्रश्न सधैं अनुत्तरित हुन हुन्छ ? यसको उत्तर सबै पार्टीका जिम्मेवारले दिनुपर्छ । गल्ती नगर्ने यहाँ कुनै पार्टीका जिम्मेवार छैनन् । सबैले आआफ्ना गल्तीहरूलाई सार्वजनिक रूपमा स्वीकार गर्नैपर्छ । क्षमायाचना गर्नैपर्छ । अन्यथा जनतासँग यिनहरूको उर्दीलाई अवज्ञा गर्नुको विकल्प नै छैन ।

जनताले गलत गर्नेहरूलाई ऐन मौकामा सजाय दिन चुक्नु हुँदैन । निर्वाचनमा नाम चलेको भ्रष्टलाई भोट हाल्ने अनि भ्रष्टाचार भयो भन्ने ? भ्रष्टलाई सजाय दिनेबेलामा पुरस्कृत गरेपछि भ्रष्टाचार नझ्यांगिए सदाचार झ्यांगिन्छ ? जसले गल्ती गर्छ उसले पछुताउनै पर्छ । अहिलेसम्मका आन्दोलनहरूले जनता लाभान्वित नभएकाले जुनजुन नेताहरू लाभान्वित भए उनीहरूका लागि आन्दोलनको आँधीबेरी जरुरत छ तर लाभबाट वञ्चित आमजनतालाई अहिले आन्दोलनको के जरुरी ?

अहिलेसम्मका आन्दोलनहरूको प्रतिफल र परिणाम नेता र तिनका आफन्तका लागिमात्र भयो । जनता करको मारमा, गरिबी, बेरोजगारी र अभावको थप मारमा पार्नेबाहेक परिवर्तनले के दियो ? शिक्षा, स्वास्थ्यजस्ता वस्तुहरू राजनीतिले कमाउने भाँडो बनाउँदा गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सुविधा जनताको पहुँचभन्दा टाढा भए । त्यसैले जनता किन आन्दोलनमा जाने ? हिजो गुणस्तरीय शिक्षा र स्वास्थ्य जनताको हक हो भनेर पैरवी गर्नेले आज ठूलाठूला स्कुल र ठूलाठूला अस्पतालका मालिक बनेर जनतालाई शोषण गरेका छन् । त्यसैले जनताले यिनको आन्दोलनको आवाहृनलाई अवज्ञा गर्नुको विकल्प छ र ?

जनताको काम सधैं आन्दोलनबाट सत्ता परिवर्तन गरिदिने र नेताको काम आन्दोलनपछि नयाँ राजनीतिक धनाढ्यका रूपमा आफैं स्थापित हुने ? जनताको नाममा वर्षांै वर्ष लुट गर्नेहरूको आन्दोलनको अवज्ञा भएन भने जनताले सधैं आफ्नै खुट्टामा बञ्चरो हान्ने काम हुन्छ । 

एउटै पार्टीमा पनि लुट्न पाउनेहरू सत्तामा बसेर निर्लज्जताका साथ विकासको मिथ्यांकको बेलिविस्तार गर्छन् । लुट्न वञ्चित भएकाहरू फेरि विकासको र समृद्धिको लालीपप देखाउँछन् । जनता आफैंले आफैंलाई अन्याय हुन नदिन सचेत हुन जरुरी छ । आन्दोलनको उपलब्धिलाई नेताहरूले सधैं एकलौटी गर्दा आन्दोलनप्रति आमजनताको मोहभंग भएको छ । जनता कुनै बाहनामा नेताहरूको नक्कली आश्वासन र भुलभुलैयामा पर्नु हुँदैन । 

यसको अर्थ सत्तारुढहरूको समर्थनको रूपमा लगाउनु हँुदैन । नेपालका सत्तारुढहरू त अन्याय र अत्याचारको पर्यायवाची भएका छन् । अन्याय जसले, जहिले, जहाँ गरेपनि जनताले सहँदैन र सहँदैनन् भन्ने कुरा सबैले बुझ पचाउँदा हाम्रो राजनीतिले स्पष्ट गति लिन सकेको छैन । राजनीतिलाई विधि, नियम, सिद्धान्तका आधारमा सञ्चालन गर्ने मनोविज्ञान र इच्छाशक्तिको विकास जिम्मेवारहरूमा नहुँदासम्म सत्ता दुरुपयोगको आपसी छिनाझपटी यो कारण होइन परिणाम हो । यसको समाधान परिणामबाट होइन कारणबाटै खोज्नुपर्छ ।

नेता कहाँ, कसरी र किन चुकेका छन् त्यसको आत्म समीक्षा र आत्म आलोचना आजको पहिलो आवश्यकता हो । हिजो खड्गप्रसाद ओलीलाई अब्बल नेता भनेर नथाक्नेहरू नै आज एकाएक उनको विरोधमा किन आए ? ओलीले गरेका ज्यादतीहरूमा हिजो किन समर्थन र आज किन विरोध ? भागबण्डा मिल्दासम्म सबै ठीक नमिले सबै बेठीक ? जनताको प्रतिनिधित्व गर्नेहरू आपसमा मिलेर जनता नै लुटने शासन कसरी हुन्छ प्रजातान्त्रिक ? 

यहाँ कुनै नेता र कुनै दल जनतामा लोकप्रिय छैनन् । यिनीहरू निर्वाचित हुने कारण र परिणाम त खाली एउटाको असन्तुष्टिको प्रकटीकरणको परिणाम हो न कि लोकप्रियता । यहाँ निर्वाचन जित्ने कुनै नेता र कुनै दल लोकप्रिय छैनन् । कसैले विजयलाई लोकप्रिय भन्ने बुझेको छ भने उसले गल्ती बुझेको छ । जनताको मत एक पार्टीबाट अर्को पार्टीमा र एक व्यक्तिबाट अर्को व्यक्तिमा जानु भनेको मतदाताको असन्तुष्टि र आक्रोशको स्थानान्तरण हो न कि पार्टी वा व्यक्तिको लोकप्रियता । 

यहाँ हाम्रोलाई मात्र राम्रो भनिन्छ वास्तवमा राम्रो एउटा छैन । यो वास्तविकतालाई सबै नेतृत्वमा हुने र दलहरूको नेतृत्व गर्नेहरूले बुझ्नैपर्छ । आफ्ना कार्यकर्ताको दृष्टिमा असल भनिने र असलमा गनिने भनिएका नेताहरू असलको परिभाषाभित्रै पर्दैनन् । यहाँ गुटका नेता छन् । समूहका नेता छन् । पार्टीका नेता छन् तर देशको नेताको भने सधैं खडेरी छ । हाम्रा नेताहरूले सत्तामा रहँदा आफूलाई निष्कलंकित प्रमाणित नै गर्न सकेनन् । 

राजनीतिको मुख्य गन्तव्य प्रतिष्ठा आर्जन हो तर हाम्रो राजनीतिले धनार्जनलाई अन्तिम गन्तव्य बनायो । राजनीतिको आदर्श र सफलताको मापदण्ड नै अर्थ संकलन भएपछि आर्थिक अनियमितता नै यस्तो परिपाटीको विशेषता हो । 

अब घटनाक्रमले अदालतबाट संसद पुनर्वाहालीको सम्भावना अत्यन्तै झिनो देखिन्छ । पुनर्वाहाली भए, निर्वाचन भए पनि कांग्रेस नेतृत्वलाई फेरि चिठ्ठा प¥यो भन्ने बुझाइ भयो भने कांग्रेस फेरि भूइँमा न भाँडामा हुन्छ । यस्तो परिस्थितिमा कांग्रेसले विकासको होइन विकृतिको खेती गर्न सक्छ । तर वर्तमानमा देशको बिग्रँदो परिस्थितिलाई बदल्ने अवसर र चुनौती दुवै एकैसाथ उपस्थित अवस्थालाई गम्भीरतापूर्वक लियो भने राजनीतिको साथै कांग्रेसको खस्केको छवि सुधार्ने यो अपूर्व अवसर हो । त्यसैले अहिले कांग्रेस जिम्मेवार भएन भने जनता असन्तुष्ट हुने क्रम रोकिँदैन र उत्तर दक्षिणको चलखेलले ठूलो दुर्घटना निम्तन सक्छ । 

त्यसैले कांग्रेस नेतृत्वले यो अहिलेको चुनौतीलाई सामना गर्न र जनतालाई सन्तुष्टि दिन भाषणमा होइन कर्मले विकास र परिवर्तनको स्पष्ट खाका कोर्नुपर्छ । फेरि अब जनता उधारो अश्वाशनमा विश्वास गर्दैनन् भन्ने कुरा कांग्रेसले बिर्सनु हँुदैन । इतिहासमा कांग्रेसले अवसरलाई दुरुपयोग गरेको विषयलाई यहाँ स्मरण गर्न पक्कै असान्दर्भिक हँुदैन । कांग्रेसले सरकारको जिम्मेवारी लिँदा आफ्ना नातागोता, गुटकालाई फेरि प्राथमिकता दियो भने अहिलेको कम्युनिष्टहरूको भन्दा धेरै दुर्दशा हुन्छ । 

यो अवसर कांग्रेसले सदुपयोग गर्न सकेन भने जनता र देशकै दुर्भाग्य हुन्छ भन्ने कुरा कांग्रेसले भुल्नु हँुदैन । कांग्रेसले आफू सुध्रेको, सप्रेको, इमानदार र जवाफदेही भएको सन्देश दिन पाउने अवसरलाई कसरी उपयोग गर्छ त्यसैमा देश र जनताको भाग्य र भविष्य निर्भर गर्छ । अहिलेको अवसरलाई कांग्रेसले सुशासनको माध्यमले सदुपयोग गर्न सकेन भने प्रजातान्त्रिक शासनको मात्र होइन देशकै अस्तित्वसमेत खतरामा पर्ने कुरालाई कांग्रेसले आत्मसात गर्नुपर्छ ।

न्यायालय र संवैधानिक निकाय पार्टीहरूका र नेताहरूका निजी सम्पत्ति होइनन् । यसका पदाधिकारीहरूको नियुक्ति देशका योग्यतम् नागरिकहरूमध्ये योग्यबाट गर्नुपर्छ । जुन पार्टीको सरकार भयो त्यही पार्टीका कार्यकताको भर्तिकेन्द्र न्यायालय र संवैधानिक निकायलाई बनाउने परिपाटीमा आमूल परिवर्तनलाई आत्सात नगर्ने नेता र पार्टीले चुनौतीको बेडा पार गर्न सक्तैन भन्ने कुरा तिनले बिर्सन हुँदैन । 

सुशासनको प्रष्ट खाका, योजना, व्यावहारिक प्रतिबद्धता र विगतको गल्तीको स्वीकारोक्तिका साथ अब सप्रने विषयमा जनतासँग क्षमा याचना नगर्दासम्म शक्तिमा जाने व्यक्तिमात्र परिवर्तन गर्ने आन्दोलनमा जनता किन जाने ?


Views: 224