13th April | 2021 | Tuesday | 6:50:27 PM

नेपाली समाज, राजनीतिक नेतृत्व र वर्तमान परिवेश

मेघनाथ दाहाल   POSTED ON : माघ १३, २०७७ (९:१५ AM)

नेपाली समाज, राजनीतिक नेतृत्व र वर्तमान परिवेश

आधारभूत रूपमा नेपाली समाज कृषिमा आधारित, हिन्दू धर्मको विभिन्न शाखा तथा उपशाखाहरूको प्रभुत्व भएको, भारतीय उपमहाद्वीपसँग सामाजिक, सांकृतिक, भौगोलिक तथा यौनिक सम्बन्ध राख्ने, हिमालय पर्वतको पानीढलोले सिञ्चित, जीवन जगतलाई प्राकृतिक वा ईश्वरको वरदान स्वरूप, दान, धर्म, सेवा, पुनर्जन्मलगायत कुरामा विश्वाश राख्ने, एक्काइसौं शताब्दीमा पनि उत्पादनमुखी नाफा नोक्सानमा धेरै घुलमिल हुन नसकेको तर सूचना र सञ्चारको साथै वैदेशिक रोजगारको कारण विश्व परिवेशसँग परिचित अति कम विकसित मुलुकहरूको सूचीमा परेको तेस्रो मुलुकको समूहभित्र पर्दछ । 

जनसंख्याको हिसाबमा तीन करोडको छेउछाउमा पुग्न लागेको मुलुक सबै प्रकारको आर्थिक सूचांकहरूमा पछि परेको देखिन्छ । हामीसँग उपलब्ध प्रमाणलाई हेर्दा के देखिन्छ भने समाजको एउटा निश्चित वर्गमात्र सुख चयनका साथ जीवन सदीयौंदेखि बस्न सफल भएको र अधिकांश मानिसको जीवनस्तर प्रायः अफ्ठ्यारो र अभावमै बितेको देखिन्छ । लिच्छविकालीन समाजलाई इतिहासको पानामा स्वर्ण अक्षरले लेखिएको बताए पनि बहुसंख्यक मानिस त्यो कालखण्डमा सुविधा सम्पन्न नभएर व्यापार र नाफा कमाउन सफल साथै दरबारको नजिक भएकाहरू मात्र सजिलोसँग जीवन चलाउन सफल थिए ।

विसंको १८२५ पछिमात्र एउटा सिंगो राष्ट्रको निर्माण तथा सञ्चालनमा देश चल्न थालेको पाइन्छ तर राजाहरूको लाचारीपन र भारदारहरूको नालायकीपनका कारण जंगबहादुरले जसरी सत्ता हत्यायर आफ्नो कुलवंशमा ल्याए । त्यसपछिका दिनमा शासक र जनताबीच कहिल्यै सौभार्दपूर्ण सम्बन्ध स्थापित हुन नसकेको देखिन्छ । एक सय चार वर्षसम्म चलेको यो कालखण्डले एउटै वंशको मात्र उत्थान तथा उन्नति गर्न सफलता पायो ।

यो कालो समयलाई बिदा गर्दै सात सालपछि प्रजातान्त्रिक व्यवस्थाको सुरुवात गरिए तापनि सत्र सालमा फेरि राजाद्वारा सम्पूर्ण कार्यकारिणी अधिकार आफ्नो हातमा लिएपछिका तीस वर्ष दरबार र राजाको नजिकका जनताहरूको मात्र भौतिक तथा सबैखालको उन्नति तथा प्रगति भएको पाइन्छ भने बहुसंख्यक जनताहरूको अवस्थामा केही सुधार देखिएन । प्रजातन्त्रको पुनस्र्थापनापछिको सबै किसिमको जात्रा प्रत्यक्ष तथा परोक्ष किसिमले अहिलेको पुस्ता नै भुक्तभोगी छ ।

मूलधारको राजनीति, तिनको नेतृत्वको साथै तिनीहरूको राजनीतिक, आर्थिक तथा वैदेशिक नीतिहरूमा के कस्ता समस्या तथा कमजोरीहरू रहन पुगे वा व्यक्तिगत रूपमै नेतृत्वको गुट तथा उपगुटको अकर्मण्यताको कारण देश जनता र आउने सिंगो पुस्ताले आशाको किरण देख्दैन वा नयाँ पुस्ता नै महŒवकांक्षी छ जस्ता कुरामा अब सोच्ने बेला भएको जस्तो देखिन्छ । 

विश्व परिवेश औद्योगिकीकरण तथा नाफामा आधारित श्रमको विशिष्ठीकरण र प्राविधिक ज्ञानको कारण जसरी उत्पादन, रोजगार, आय, वितरण तथा जीवनस्तरलाई मानवीय कल्पनाभन्दा माथिल्लो स्तरको सकारात्मक परिवर्तन गरिरहेको छ ठीक त्यसको विपरीत हाम्रो आर्थिक परिवेश कुनै पक्षमा मेल नखाने कच्चा श्रमलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर प्राप्त विप्रेषणमा आधारित अर्थतन्त्रमा रमाएर दिन कटाइरहेका छौं । 

यो बाटोले हामीलाई कुन गन्तव्यमा पु¥याउँछ भन्ने कुराको हेक्का सबैलाई हुन आवश्यक छ । नेपाली जीवनको आधारभूत क्षेत्र कृषि पनि धिमा गतिमा चलिरहेको छ भने व्यावसायिक जगत त्यति धेरै उत्साहित देखिँदैन । युवा जनशक्तिको पलायन डरलाग्दो गतिमा विदेशिँदो छ र गाउँघर तथा दूरदराजको समुदाय नचाहेरै पनि शहर भित्रिन बाध्य छ ।

हिजो राजाको शासन व्यवस्थामा जनताको कुरालाई मुठ्ठीभर व्यक्तिहरूले कत्ति पनि सुनेनन् र जनताको शासन व्यवस्थाका लागि पञ्चायत तथा राजालाई बिदा गरिसकेपछिका दिनहरू त आखिर जुन जोगी आए पनि कानै चिरेको भन्ने स्थितिमा किन गइरहेका छन् । के नीतिगत रूपमै मूलधारको राजनीतिक पार्टीहरूका मुद्दाहरू काम नलाग्ने भए ? वा नेतृत्व समयसापेक्ष नभएर गयो वा आमकार्यकर्तामा नैतिकता तथा नागरिकको दायित्व हराएर गयो भन्ने कुरामा अब व्यापक रूपमै छलफल गर्ने दिन आएकै हो त ? 

नेपाली राजनीतिका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा वा तत्कालीन माओवादी सबैलाई नेपाली जनताले सिंहदरबार तथा बालुवाटारको गद्दीमा आसीन गराइसकेको अवस्थामा मौलिक रूपमा विद्यमान संरचनात्मक समस्या ज्युँका त्यूँ रहनुले नेतृत्व र तिनको नीतिगत तथा संगठनात्मक स्वरूपमै नितान्त नयाँ तथा आधुनिक एवं आजको परिवेशमा सुहाउने हिसाबमा पुनर्संरचना गर्नुपर्ने दिन आउन लागेको छ । 

नेपाली समाजलाई प्रजातान्त्रिक परिपाटी तथा यसमा आधारित शासन व्यवस्थाको चेतना दिने कार्यको थालनि तथा राणाकालीन स्थितिबाट मुलुकलाई निकास दिने काम नेपाली कांग्रसले दियो भने सँगसँगै वामपन्थी विचार तथा कम्युनिष्ट धारको विकास भएको पाइन्छ । सत्र सालको महेन्द्रको ‘कू’पछि नेपाली राजनीतिमा कम्युनिष्टहरूको संगठनात्मक तथा सबैखालका गतिविधि वृद्धि भई आजका दिनसम्म सैयौंपटकको टुटफुट तथा खिचातानीका बाबजुद सिंगो हुन लागेको वामआन्दोलन फेरि चौबाटामा पुगेर अल्मलिएको छ । 

माओवादीसहितको कम्युनिष्ट घटकको एकीकरकणपछिका दिनहरूमा जुन किसिमको उत्साह तथा आर्थिक उन्नतिको कल्पना नेपाली जनताले गरे त्यो एउटा सपनामात्र हुन पुग्यो । नेकपाभित्रको आन्तरिक रडाकोले सत्तामात्र तलमाथि भएन पूरै नेपाली राजनीति नै अफ्ठ्यारो मोडमा पुगेर दिशाविहीन हुने स्थितिको आंकलन हुन थालेको पाइन्छ । आखिर यसैका लागि ती सत्र हजार नेपालीले शाहदत दिएका हुन् त । भौतिक संपत्तिको कुनै लेखाजोखा छैन । एउटा राजनीतिक पार्टीभित्रको गुटउपगुटलाई समान्य मानिन्छ तर सोही गुट तथा उपगुटको मूल्य देश, समाज र सिंगो मुलुकले तिर्नुपर्ने स्थितिको कारक को हो ? 

आफ्नो पार्टी तथा कार्यकर्तालाई सही एवं अनुशासित तबरले सिद्धान्त र निष्ठाको सिमानाभित्र राख्न नसक्ने हो भने त्यो नेतृत्व नीति तथा कार्यक्रमको औचित्य केका लागि भन्ने जस्ता प्रश्नहरू आम मतदाताले गर्न थालेको पाइन्छ । वर्तमान नेकपाको रडाकोको केन्द्रबिन्दुमा मात्र पाँच, छजना माथिल्लोस्तरका नेताहरूको चित्त दुखाइको मूल्य पूरै देशले नै व्यहोरिरहेको छ । समान्य जनताहरूको जीवनसँग सम्बन्धित कुनै पक्षहरूसँग सडकमा ननिस्कने नेताजीहरू आज लाजै पचाएर सडकमा हामी यता छौं भनेर आन्दोलनमा होमिएको देख्दा हाँसो लाग्ने स्थितिको नाटक मञ्चन दिनानुदिन भइरहेको छ ।

आजसम्मका प्रजातान्त्रिक उपलब्धिलाई जोगाएर जानुपर्छ भन्ने कुरामा दुई मत छैन तर घरमा आगो लगाएर इनार खन्न थाल्ने प्रवृत्तिले निम्त्याएको असहज परिस्थितिप्रतिको मन दुखाइमात्र हो । व्यक्तिका आफ्नै स्वभाव तथा व्यवहार हुने गर्छन् । यस्ता पक्षहरूलाई चेक एण्ड ब्यालेन्स गर्न पार्टीभित्र विभिन्न खालका संयन्त्रहरू हुन्छन् । एउटा राजनीतिक पार्टी आजको भोलि तयार हुँदैन । लामो कालखण्डको प्रयास, त्याग, तपस्या तथा लगानिपछि मात्र बन्ने कुरामा जुन किसिमको तानातान तथा अतिवादको प्रयोग दुवै पक्षबाट भयो त्यसैको परिणाम आज कोरोनाको माहामारीको बीचमा नेताजीहरूको तथा तिनका कार्यकर्ताको ताण्डव सडकमा देखिँदैछ यो त्यति राम्रो संकेत होइन ।

सत्तापक्ष आफ्नै जात्रामा व्यस्त भएको बेला प्रमुख प्रतिपक्ष यता न त्यता भएर बसेको भान हुन्छ । नेपाली कांग्रेस जस्तो पार्टीले यो विषम परिस्थितिमा आफूलाई एउटा स्पष्ट अडानका साथ जनता सामु जाने र ठोस निर्णय गर्नुपर्ने योभन्दा सुनौलो अवसर कहिले प्राप्त गर्छ । इतिहासको यो अफ्ठ्यारो स्थितिमा पनि च्याखे दाउ खोजेर बस्ने कि आफ्नै विरासतलाई जोगाएर खस्केको स्थितिमा सुधार ल्याउने ? 

यसले आन्तरिक राजनीतिमा आफ्नो वर्चस्वलाई मात्र नजोगाएर अन्तर्राष्ट्रिय उपस्थिति पनि मजबुत बनाउन सक्दछ । वामशक्तिहरूको वर्तमान अवस्थाबाट गैरवामपन्थीले धेरै पाठ सिक्ने अवसर त प्राप्त गरे तर राजनीतिक तरल अवस्थाले सही मार्ग लिने कि नलिने भन्ने बारेमा चासो रहेको छ ।

प्रजातान्त्रिक परिपार्टीभित्र आजको दिनसम्म सत्ताको नेतृत्वको परीक्षामा सामेल हुन नपाएको तराईको राजनीतिक शक्तिमात्र बाँकी छ । यो शक्तिले क्याबिनेटको नेतृत्वसहित सिंहदरबार तथा बालुवाटारको वागडोर सम्हाल्न सकेको पाइँदैन तर सत्तामा उनीहरूको उपस्थिति बाक्लै पाइन्छ । तिनको आफ्नै किसिमको टुटफुट तथा विहार, उत्तर प्रदेशलगायत दिल्लीलाई आफ्नो ठान्ने तर काठमाडौंलाई जहिले पराइको ठानेर विश्वासको घेराभन्दा बाहिर राख्ने व्यवहारको कारण सत्ताको स्वादमा सधैं अगाडि भएर पनि न त आफ्नो मुद्दालाई स्पष्ट अडानका साथ राख्न सफल भयो न त भूगोल तथा मानव निर्मित पूर्वाधारमा अरू प्रदेशहरूभन्दा अगाडि नै भएर पनि सामाजिक, आर्थिक पक्ष सधैं पछि परेको स्थिति छ । 

तराईको राजनीतिक शक्तिको आधिकारिक उदय संघीयतासहितको मुद्दाले राष्ट्रिय राजनीतिमा जरो गाडेदेखि नै हो तर सीमित जात, वर्ग तथा परिवारवादभन्दा राजनीति बाहिर जान नसकेको यथार्थले तराईको राजनीति सधैं अस्थिर एवं गन्तव्यहीन हुँदै गएको पाइन्छ ।

राजनीतिक दलहरूको यो र यस्तो खालको अस्तव्यस्तताबीच राजनीतिमा सधंै नयाँ शक्तिले जन्मने मौका पाउँछ । यदि मूलधारका राजनीतिक पार्टीहरू र तिनको दर्शन तथा कार्यक्रमहरू भुत्ते हुँदै गएको भान जनमानसमा प¥यो भने भोलिका दिनमा नयाँ एवं नौलो प्रकारको शक्तिले वागडोर समात्न सक्ने कुरालाई राजनीतिक दल, तिनका कार्यकर्ता एवं समस्त शुभचिन्तकहरू तयारी अवस्थामा रहनुपर्ने देखिन्छ । 


Views: 526