17th April | 2021 | Saturday | 2:00:23 AM

बुद्ध जन्मस्थल लुम्बिनी र वास्तविक चुनौती

डा.उद्धव पुरी   POSTED ON : माघ १३, २०७७ (९:१९ AM)

बुद्ध जन्मस्थल लुम्बिनी र वास्तविक चुनौती

सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि उनीसँग सम्बन्धित स्थानहरू पवित्र मानिन थाल्यो । उनको महापरिनिर्वाणपछि त्यसको महत्व अझ बढी भयो । बुद्धका अनुयायीहरूका लागि ती स्थलहरू त जीवनभरमा एकपटक पुग्नै पर्ने अर्थमा रहे । गौतम बुद्धको प्रसंगमा उनको जन्मस्थल लुम्बिनी, उनले बुद्धत्व प्राप्त गरेको बोधगया, उनले पहिलो देशना गरेको सारनाथ र महापरिनिर्वाण भएको कुशीनगरलाई पवित्र तीर्थस्थल मानिन थाल्यो । पुण्यप्राप्ति, धर्म लाग्ने र अन्तरमनको शान्तिका लागि सम्बन्धित धर्मावलम्बीहरू यस्ता स्थानहरूमा सकेसम्म पुग्ने गर्दछन् । 

वर्तमान समयमा यी स्थानहरू धार्मिकमात्र नभएर पुरातत्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदाका रूपमा धेरैको चासो रहेकोले पर्यटकीय स्थल बनिरहेका छन् । यी स्थानहरू सांस्कृतिक पर्यटनको राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक गतिविधिको केन्द्र बन्न थालेका छन् । नेपालमा रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनी यस्तै महत्वको एक स्थान हो । जसको स्थान हिजो, आज र भोलि पनि उच्च कोटिमै रहिरहनेछ । किनभने बुद्धको शिक्षा नै अहिले संसारमा विश्व शान्ति, सद्भाव र करुणाका लागि अपरिहार्य रूपमा फैलिरहेको छ ।

गौतम बुद्ध इ.पू. ६ सय २३ मा पवित्र स्थल लुम्बिनीमा जन्मेका थिए । पश्चिम नेपालको यो भूमि नेपाल र अंग्रेज युद्धमा नेपालले हारेपछि भएको सुगौली सन्धिअनुसार भारतको ककरहवासँग जोडिएको छ । त्यस्तै हाल नेपाल भूमिमा रहेको तिलौराकोट दरबार प्राचीन कपिलवस्तुको राजधानी हो । त्यस समयको कपिलवस्तुको थोरै भाग अहिले भारततर्फ छ । गौतम बुद्धका बंशज शाक्यहरू बुद्धसँग जोडिएका अधिकांश क्षेत्र नेपालतर्फ रहे पनि भारततर्फ एक विहारको भग्नावश्वक रहेको देखिन्छ । केही वर्षअगाडिसम्म सामान्य अवस्थामा रहेको उक्त क्षेत्रलाई तिलौराकोट दरवारको क्षेत्रको रूपमा बनाउने प्रयत्न भइरहेकै छ । जसलाई भारतले अहिले कपिलवस्तुकै रूपमा नामकरणर गरी विकास गरिरहेको छ । 

यो आगामी दिनका लागि अर्थपूर्ण चुनौती हो । यसलाई सरकार र जनस्तरबाट महत्व दिइएको छैन । तर जन्मस्थल लुम्बिनीलाई विवादित बनाएर बुद्धको जन्मस्थल नेपाल भन्नमै धेरै लगानी भइरहेको छ । जसले नयाँ चुनौतीलाई नेपाली जनमानसमा ओझेलमा पार्ने काम भइरहेको छ । जुन कोही कसैद्वारा परिचालित हुनसक्ने अनुमान गरिन थालिएको छ । किनभने अहिले यो कुनै विवादित विषय होइन र छैन । 

यस्तै बुद्ध नेपालका हुन् वा भारतको यो बेकारको बहस हो । वास्तविकता के हो भने उनी प्राचीन कपिलवस्तुको लुम्बिनीमा जन्मेका हुन् र त्यसपछिको सम्पूर्ण जीवन उनले हालका भारतीय भूमि प्राचीन भारतका विभिन्न राज्यमा बिताएका थिए । जहाँ उनले आफ्नो शिक्षालाई फैलाए र ख्याती पाए । पछिल्ला दिनहरूमा बुद्ध संसारकै बन्न सफल भए र उनका अनुयायीले बौद्ध धर्मलाई स्थापित गरे । 

बुद्धत्व प्राप्तिपछि लुम्बिनीमा गौतम बुद्ध र उनका अनुयायीहरू कति पटक के कसरी कति आए त्यसको कुनै आधिकारिकता छैन । गौतम बुद्ध जन्मेको केही शताब्दीपछि ई.पू. २ सय ४९ मा भारती मौर्य सम्राट अशोक आध्यात्मिक गुरु उपगुप्तसँग लुम्बिनी आएका थिए । उनले लुम्बिनीमा भारतबाटै ल्याएको ढुंगे खम्बामा पाली भाषा ब्रहृमी लिपिमा साढे चार लाइन लेखाएर गाडेका छन् । जसलाई अहिले हामी अशोक स्तम्भ भन्दछौं । 

उक्त स्तम्भमा सम्राट अशोकले आफू आफ्नो राज्यभिषेकको बीसौं वर्षमा बुद्ध जन्मेको ठाउँमा आएको र यो भगवान जन्मेको लुम्बिनी हो भनी लेखेका छन् । जुन अंश यी हुन् ....हिद बुधे जाते सक्यमुनिति.......हिदभगवंं जातेति लुम्बिनी गामे........। त्यसपछि इ.पू.का केही वर्ष र सन् ६ सय ३६ सम्ममा त्सेङ साई, फाहियान र हुयेन सांगले गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेको भनी त्यहाँको विवरण आफ्नो यात्रा वृत्तान्तमा लेखेका छन् । उनीहरू चौथो, पाँचौं र सातौं शाताब्दीमा बुद्धसँग सम्बन्धित लुम्बिनीलगायत स्थानहरूमा पुगेका थिए । 

विशेषगरी हुयेन सांगले उल्लेख गरेको भौगोलिक विवरण र लुम्बिनीमा अवस्थित चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, कुवालगायत कुराहरू हालको लुम्बिनीबाहेक संसारको कुनै स्थानमा मिल्दैन । धर्म र पुुण्यका लागि मानिसहरू लुम्बिनी जाने आउने क्रम रहेकै थियो । कपिलवस्तु क्षेत्रमा गौतम बुद्धसँग सम्बन्धित रहेका क्षेत्रहरू, उनीभन्दा अगाडिका कनकमुनी बुद्ध र क्रकुछन्द बुद्धको जन्मस्थल, गौतम बुद्धको अस्तु धातुु भएको रामग्राम र बुद्धको मावली देवदह बौद्ध तीर्थ स्थलकै रूपमा रहेका थिए र छन् । 

यसै क्रममा आफ्नो विशिष्टता देखाउने काम पश्चिम नेपालको कर्णाली क्षेत्रका राजा रिपु मल्लले गरे । लुम्बिनी पुगेर उनले त्यही अशोक स्तम्भमा ॐ मणि पद्मे हुम रिपु मल्ल चिरं जयतु भनी खोपे । जसलाई अहिले पनि देख्न सकिन्छ । 

सन् १३१२ मा रिपु मल्लले छोडेको लिखतपछि कति समयसम्म लुम्बिनीमा मानिसहरू आएगए त्यसको यकिन गर्न सकिँदैन । यसताका भारतमा बौद्ध धर्मको व्यापक विनाश भयो । मुसलमानहरूबाट खेदिएर हिन्दू र बौद्ध गुरुहरूका भागाभाग भयो । काठमाडौंको पशुपति नाथदेखि लुम्बिनीसम्म उनीहरू पुगेको प्रमाणहरू छन् । जसले मन्दिर, चैत्य र मूर्तिहरूलाई काटे, फुटाए आदि गरे । त्यसपछि लुम्बिनी स्थलगत रूपमा पहिचानबाट हरायो । बौद्ध ग्रन्थहरूमा यात्रुहरूको वर्णनमा लुम्बिनी उल्लेख त छँदैथियो । 

केही शाताब्दीपछि पुन बौद्ध धर्मको उत्थान हुनथाल्यो । यस समयमा भारत वर्षमा अंग्रेजले शासन सुरु गरिसकेका थिए । हालको भारतको भौगोलिक स्वरूप तयार पार्ने काम पनि उनीहरूले नै गरेका हुन् । ससाना राज्यबाट नेपाल र भारतले बेग्लै रूप लिइसकेको थियो । सम्राट अशोकपछि अधुनिक कालमा बौद्ध धर्मको पुनरउत्थान वा पुनरुद्धारक बन्ने अनागरिक धर्मपाल हुन् । उनी श्रीलंकामा जन्मे पनि उनले भारतमा बौद्ध धर्म र बौद्ध स्थलको उत्थान गर्दै अमेरिका युरोपलगायत देशहरूमा बौद्ध धर्मको प्रचार संस्थागत रूपमै गरे । लुम्बिनीलगायत बुद्धसँग सम्बन्धित क्षेत्रहरूको महŒव पुनः बढ्न थाल्यो । 

गौतम बुद्धको अधिकांश गतिविधि आधुनिक भारतको भूमिमा परेकोले मानिसहरूमा लुम्बिनी पनि भारतमै पर्दछ भन्ने भयो र त्यस समयका पुस्तक, कथा, कहानी आदिमा लुम्बिनी भारतकै भूमिमा छ भन्ने उल्लेख भयो । त्यस समयमा भारतमा अंग्रेजले आधुनिक अध्ययन र अनुसन्धान गरिरहेका थिए । बौद्ध धर्म र सम्राट अशोकले राखेका स्तम्भहरूका सम्बन्धमा पनि खोजी भइरहेको थियो । 

यसै क्रममा १८९६ मा अंग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहररले यो गौतम बुद्ध जन्मेको स्थानमा सम्राट अशोकले स्थापित गरेको स्तम्भ हो भनी प्रमाणित गरिदिए । भारतबाट त्यस समयमा उनी लुम्बिनी नजिककोे गाउँ ककरहवाको स्थलमार्गबाट आएका थिए । 

उतिबेला नेपालमा राणा शासन थियो र नेपालको तर्फबाट पाल्पाका गभर्नर जनरल खड्ग शमशेर उक्त कार्यमा सहभागी थिए । यो अर्थात् लुम्बिनीको पहिचान बौद्ध धर्म र इतिहासमा चासो र चर्चाको विषय बन्यो । सीमाको हिसाबले उक्त क्षेत्र नेपाल भूमिमा थियो । भारतमा बौद्धक्षेत्रहरूको पुनरुद्धारक बनिरहेका बौद्ध गुरु अनगरिक धर्मपाल लुम्बिनी आए र स्वीकारे । त्यसपछि सन् १८९९ मा पुरातत्वविद् पिसी मुखर्जीले लुम्बिनीमा उत्खनन् गरी मायादेवी मन्दिरको मूर्ति पहिचान गरिदिए जसलाई यसअधि स्थानीयहरू वनदेवी भनी बली चढाउँथे । 

धेरैपछि यो प्रथा राजा महेन्द्रले रोकाएका हुन् । गलत मनसाय नभए पनि सन् १९३२ देखि १९३९ सम्मको अवधिमा केशर समशेरले आफ्नै तरिकाले गरेको लुम्बिनीको उत्खनन् र संरक्षणले धेरै पुरातत्विक कुराहरू मासिएको हुनसक्ने अनुमान छ । मायादेवी मन्दिरको उत्तरतर्फ उनले अवैज्ञानिक तरिकाले उत्खनन् गरी थुपारिदिएका पुराना इँटासहितका माटोका ठूला दुई ढिस्का केही वर्षअगाडिमात्र पूर्णरूपमा हटाइएको छ । मानिसहरू त्यसलाई प्राचीन स्तुपा हो कि पनि भन्ने ठान्थे । अहिलेको मायादेवी मन्दिरको बाहिरी आकार उनैले बनाएको जस्तै बनाइएको हो । 

उनले पुरातत्विक भग्नावशेषमाथि पक्की इँटाले बनाएका थिए जुन अहिले मायादेवीको मूर्ति, सन् १९९६ मा पहिचान गरिएको बुद्धको जन्म बिन्दु स्थानमा रहेको जन्मस्मारक शिला जसलाई अहिले गोलीले नोक्सान नपु¥याउने सिसाले ढाकिराखिएको छ र अन्य महत्वपूर्ण पुरातत्विक भग्नावशेषलाई समेत सुरक्षित हुनेगरी राख्न फलामको फ्रेममा खोल्न मिल्ने गरी उस्तै मन्दिर बनाइएको हो । 

यता अन्तर्राष्ट्रिय रूपमा राजा महेन्द्रले विभिन्न सम्मेलन र संयुक्त राष्ट्र संघसम्म लुम्बिनी नेपालमा पर्छ भन्ने तथ्यलाई पु¥याएका हुन् । लुम्बिनी त्यही हो भनी प्राचीनतम् प्राप्तिलाई अझ पुष्टि गर्ने र प्रमाणिक गर्ने कार्यमा भारतीय पुरातत्वविद् देवला मित्राले सन् १९६२ मा गरेको उत्खनन्, सन् १९६२ मा संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी आगमनलगायतका विषयहरू छन् । 

संयुक्त राष्ट्र संघको सक्रियतामा जापानी वास्तुविद् प्रा.कन्जो टांगेले करिब ६ वर्ष लगाएर बनाएको लुम्बिनीको गुरुयोजना नेपाल सरकार र संयुक्त राष्ट्र« संघले सन् १९७८ मा पारित गरी कार्यान्वयनमा ल्याए । सन् १९९७ मा गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भनी यसलाई विश्व सम्पदा सूचीमा समेत समावेश गरिएको छ । यसप्रसंगमा लुम्बिनी नेपाल भूमिमा पर्दैन होला भन्ने विषयमा कुनै नयाँ सोच बन्ने ठाउँ नै छैन । 

यो यथार्थतालाई विश्वका कुनै देशले अस्वीकार गरेका छैनन् । छिमेकी देश भारत र तिनका पुरातत्वविद्हरू समेतले समर्थन र सहमति जनाएका छन् । वास्तवमा यो यथार्थताको विगतदेखि भारतको सरकारका तर्फबाट र राज्यको आधिकारिक लिखतमा लुम्बिनीका सम्बन्धमा विवाद सिर्जना गरिएका छैनन् किनभने सत्य इतिहास लेखनको एउट यथार्थता प्रमाण हो । प्रमाण पूर्ण नहुन्जेलसम्म अग्रजहरूले अड्कलबाजीमा लेखेको कुरालाई गलत भन्न मिल्दैन । प्रमाणले पुष्टि गरेपछि त्यसलाई सच्याउनुपर्छ जुन भारत सरकारले पनि स्वीकारेको छ । 

लुम्बिनीको वास्तविकता र त्यसको महत्वलाई अझ उजागर गर्न अहिले निरन्तर राष्ट्रिय र अन्तर्राष्ट्रिय तवरमा सरकार, विश्वविद्यालय र ख्यातिप्राप्त पुरातत्वविद्बाट उत्खनन् गर्ने र नयाँ प्राप्तिका उपलब्धिहरू भइरहेकै छन् । अब लुम्बिनी अरू कसैको भूमिमा रहेको मानिँदैन बरु शाक्य राज्यका राजधानी अर्थात् गौतम बुद्धले २९ वर्ष बिताएको दरबार वा तिलौराकोट, कोलिय वंशको राजधानी वा बुद्धको मामाघर र ससुराली देवदह, बुद्धको वास्तविक अस्तधातुु रहेकोे आढमध्ये एकमात्र बाँकी स्तुपा रामग्रम जुन नेपालमा रहेका बुद्धसँग जोडिएका अरू महŒवपूर्ण पवित्रस्थलहरू हुन् जसलाई लुम्बिनीझैँ पुष्टि वा प्रमाणीकरण गर्न हामी चुक्दै गएका छौं । यो भविष्यका लागि चुनौतीपूर्णमात्र होइन समयमै विगतबाट पाठ नसिकेर सचेत भएर लाग्न ढिला हुने अवस्था हँुदैछ । 


Views: 160