17th April | 2021 | Saturday | 2:44:18 AM

कहिले सकिएला नौटंकी ?

शान्तिकृष्ण अधिकारी   POSTED ON : माघ १५, २०७७ (८:५८ AM)

कहिले सकिएला नौटंकी ?

कुनै गाउँको चौतारामा भद्र भलाद्मीहरूको भेला बस्नै आँटेको थियो । भेलामा पालैपालो गरेर एकपछि अर्को व्यक्ति आउने क्रम चलिरहेको थियो । औपचारिक बैठक सुरु हुन केही समय बाँकी थियो । अनौपचारिक गफगाफ चलिरहेका बेला एकजना भलाद्मीले भने– हाम्रो गाउँको त्यो साइँलो छ नि, त्यो त साह्रै नै बिग्रिसकेको छ । त्यसलाई कसरी सुधार्ने होला ? अर्कोले सोधे– होइन, त्यो त ठीकै देखिन्छ त, के बिग्य्रा छ र ? पहिलोले भने– त्यसलाई त दिन्दिनै मैले साँझ झ्याप्लीको भट्टीमा भेट्छु । साइँलो खान नआएको दिनै हुँदैन ।

कुरा त ती भद्र भलाद्मीले ठीकै भनेका हुन् । दैनन्दिन भट्टीमा छिरेर मदिराले लठ्ठ हुने मान्छे निश्चय नै सप्रेको मानिँदैन । समाजमा देखिने गरेर उसले कुनै बिगार गरेको नदेखिए पनि त्यसको अप्रत्यक्ष असर धेरै नै परेको हुन्छ । उसको घर परिवारभित्र पर्ने प्रभाव त बेग्लै छ । पक्कै त्यो साइँलो बिग्रेकै हो तर दिन्दिनै भट्टीमा भेट्छु भन्ने ती भद्र भलाद्मी चाहिँ किन दैनिकै त्यहाँ जाँदा रहेछन् त ? गाउँका को को जान्छन् भनेर नियाल्न त पक्कै होइन होला । साइँलोलाई जुन आरोपमा बिग्य्रो भन्दैछन्, त्यही आरोप आफूलाई पनि लाग्छ भन्ने तिनले कुनै हेक्का राखेनन् । ठ्याक्कै त्यस्तै अहिले नेकपाका नेताहरूका भनाइमा देखिन्छ ।

विसं २०७६ को मंसिर महिनादेखि नै नेपाल कम्युनिष्ट पार्टीको नाटक र त्यो पार्टीका नेताहरूको नौटंकी नेपाली आमनागरिकले मात्र होइन कि देशी विदेशी सबैले हेर्न पाएका छन् । २०७७ को पुस पाँच गतेपछि त नेकपाका नेताहरूको भाषण सुन्न बसियो भने नेपालमा दैनन्दिन गाईजात्रा मनाइन्छ र नेपालका चर्चित हास्य कलाकारहरूको पहिलो दर्जाको श्रेणीमा नेकपाका पहिलो तहका नेताहरू परेको अनुभूति हुन्छ । कामचलाउ वर्तमान प्रधानमन्त्रीले त सबै चर्चित हास्य कलाकारलाई पछारीसके भन्दा हुने अवस्था छ ।

नेकपाका एउटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषण सुन्ने हो भने यो मुलुकको सबैभन्दा ठूलो गद्दार वर्तमान कामचलाउ प्रधानमन्त्री केपी ओली हुन् । भ्रष्टाचारको मुहान र खानी खोज्न कतै जानु पर्दैन । कि प्रधानमन्त्री निवास बालुवाटार गए हुन्छ या भ्रष्टाचारीहरूका नाइकेको मुख हेर्न मन लागे केपी ओलीको मुख हेर्दा हुन्छ । लोकतन्त्रका सबैभन्दा ठूलो शत्रु वर्तमान प्रधानमन्त्री नै हुन्, जसले बयल गाडा चढेर अमेरिका पुगिँदैन भन्दै गणतन्त्रको आन्दोलनलाई निस्तेज पार्न हरबखत सकेसम्मको प्रयत्न गरेका थिए ।

अर्का अध्यक्ष माधव नेपालका भनाइहरूलाई अध्ययन गर्ने हो भने केपी ओली न कहिल्यै गणतन्त्रवादी थिए, न कम्युनिष्ट नै । उनको कहिल्यै लोकतन्त्रमाथि आस्था रहेन । देश र जनताका पक्षमा संघर्ष गर्ने र सत्तामा रहँदा सर्वजनहिताय काम गर्ने मनसाय केपी ओलीको कहिल्यै रहेन । बोलाइ र गराइमा कहिल्यै तादात्म्य भएन । कोखामा छुरा राखेर धस्नबाहेक केही जानेनन् ओलीले । उनले देश, जनता र नेकपा पार्टी सबैलाई डुबाए ।

नेकपाका प्रथम अध्यक्ष एवं वर्तमान कामचलाउ प्रधानमन्त्रीका भाषणहरू त अहिले सर्वत्र चर्चित छन् । उनले बोलेका प्रत्येक वाक्यमा श्रोता नहाँसेको त क्षण नै हुँदैन । प्रत्येक वाक्यमा मात्र होइन, प्रत्येक शब्दमा या त प्रचण्डलाई घोचेका हुन्छन् या माधव नेपाललाई छेडखानी गरेका हुन्छन् । नेकपा पार्टीलाई धूलोमा मिलाउनेमात्र होइन कि देश र जनताका सबैभन्दा ठूलाविरोधी यिनै दुई नेता भएको पुष्टि गर्न घण्टौं खर्चने गरेका छन् । 

समग्रमा भन्दा यी तीनैजना नेता त्यही चौतारामा बसेर अर्कोलाई बिग्य्रो भन्ने भलाद्मीभन्दा कुनै दृष्टिले तलमाथि देखिएका छैनन् । ओलीका दृष्टिमा हरतरहले खतम नेताहरू प्रचण्ड र माधव नेपाल हुन् भने प्रचण्ड–नेपालका हेराइमा प्रधानमन्त्री ओलीभन्दा पत्रु नेता यो मुलुकमा त के विश्वमै छैन । एक समूहले अर्कोलाई लगाएका आरोपहरूको शृंखलाले नेकपाका नेताहरू यस्तो अवस्थामा पुगिसकेका छन् कि अब यिनीहरूले यो जीवनमा एकले अर्काको मुख हेर्ने छैनन् तर नेपालका कम्युनिष्टहरूमा त्यस्तो वैरभाव भने दीर्घकालसम्म रहँदैन भन्ने इतिहासले पुष्टि गरिसकेको छ ।

जसले जसलाई जे भनेको भए तापनि नेकपाका नेताहरूले आफैंले आफैंलाई बेस्सरी नंग्याए । धोती न टोपीका बनिसके तैपनि ऊ त नांगै छ, मैले लुगा लगाएको छु भन्न छाडेका छैनन् । दुवै समूहलाई गरेर लगभग दुई तिहाइ सांसद संख्या जिताएर पठाएका नेपाली नागरिकले तिनै नेताहरूमाथि अपार विश्वास गरेका थिए तर अहिले आएर भ्रममा परेर डुबिएछ भन्ने हुन पुगेको छ । सच्याउनै नसिकने गल्ती गरिएछ र अब त्यसको प्रतिफल भोग्न बाध्य हुनुपरेको छ भन्ने अनुभूति हुन थालेको छ नेपाली जनतालाई ।

दैनिक रूपमा एकले अर्कालाई गाली गरेकै छन् । सञ्चारमाध्यममा अचेल राम्रा शब्दहरू सुन्नै पाइन छाड्यो । यी नेताहरूका भाषण सुन्दा नेपाली जनताले कसको कुरा पत्याउने ? सर्पको खुट्टा सर्पले नै देख्छ भनेझैँ सँगै एउटै पार्टीमा बसेर एउटै थालमा भात खाएका नेताहरूले भनेको कुरा सबैको सत्य हो भनेर मान्नै पर्दछ । निष्पक्ष जनताका हैसियतले मूल्यांकन गर्दा पक्षपात गर्न हुँदैन । दुवै समूहका कुरा सुन्दा र पत्याउँदा जनताले अब नेकपाको र नेताहरूको कसरी विश्वास गर्ने भन्ने संकट पैदा भएको छ । 

देश र जनताका पक्षमा काम गर्छुभन्दा तिम्रा पो छोराछोरी छैनन्, मेरा त छन् भनेर प्रचण्डले भने भन्छन् प्रधानमन्त्री ओली । जनताका कामपछि गरौंला, पहिले मेरा छोरी, बुहारी, भाइभतिजाको काम गर भनेर प्रचण्डले दबाब दिए भन्दैछन् । चुनावमा हार्ने अनि जहिले सत्तामै रहन खोज्ने माधव प्रवृत्तिले देश र जनतालाई डुबायो भन्छन् । यिनैबाट मुक्ति पाउन संसद विघटन गरेको दलिल छ केपी ओलीको ।

सत्र हजारको जिम्मा प्रचण्डले लिनुपर्ने आरोप लगाउँदैछन् । तिमी पनि त व्यक्ति हिंसाबाटै आएका हांै नि भनेर ओलीलाई प्रचण्ड प्रत्यारोप गर्दछन् । आमनागरिकलाई विधवा, टुहुरा, घरबारविहीन बनाउने प्रचण्डलाई जनता हँसाउनुको मज्जा के थाहा भन्छन् ओली । कोरोनाले देशै थलिएका बेला ओम्नी, सेक्युरिटी प्रेस आदिमा भ्रष्टाचार गरेर जनताको आँशुमा पौडी खेल्ने भनेर ओलीको तेजोबध प्रचण्डले गर्दैछन् । एक दुई कक्षामा पढ्ने बालबालिकाले झगडा गर्दा तेरो बाउ उस्तो, तेरो हजुरबाउ उस्तो, तेरो शाखासन्तान नै उस्तो भनेको भन्दा लाजमर्दो र तल्लोस्तरको देखिएको छ अहिलेको नेकपाको द्वन्द्व ।

अवस्था यस्तो हुँदाहुँदै अहिले देश यिनै नेताहरूका हातमा छ । एउटा त सर्वशक्तिमान प्रधानमन्त्री नै छन् । उनलाई आडभरोसा दिने राष्ट्रपति पनि छन् । एउटाले लाखौं जनता राजधानीमा उतारेर अर्कोको सत्तोसराप गरिरहेको छ भने अर्कोले साँघुरो गल्लीमा मान्छे जम्मा पारेर धेरै देखाउने, जुलुस भनेको कस्तो हुन्छ मंसिर २३ गते हेर्नु भन्दैछन् । यी नेताहरूको पछाडि र यिनको विश्वास गर्नेहरू अझै यतिका संख्यामा हुनु नै यी नेताहरूले गौरव गर्ने विषय हो ।

नेताहरू यसरी खुइलिँदै जाँदा यिनीहरूसँगै देश र जनताको अवस्था दयनीय बन्दै गएको छ । गएको वैशाखदेखि यो सरकारले जनता नहेरेको कुरा त्यसपछिका समाचारहरू हेर्ने पढ्ने हो भने कसैले प्रमाणित गर्नु पर्दैन । यहीबीचमा जनतालाई कोरोना भाइरसले च्याप्यो तर देश चलाउनुपर्ने नेताहरू आपसी झगडामै व्यस्त रहे । करिब दश महिनाको समय बित्यो दुई तिहाइको शक्तिसहितको सरकार भएको देशमा सरकार नै नभएको अनुभूति हुन गयो ।

नेकपा र नेकपाका नेताहरूको यो नौटंकीले देशको अर्थतन्त्र खोक्रो बनाइसकेको छ भने निर्वाचनको खेल रचेर अझै कमजोर बनाउने प्रयास गरिँदैछ । निरन्तरको आन्दोलनले मुलुकलाई झन् कमजोर बनाउनेमा कुनै शंका छैन । निर्माणमा लाग्नुपर्ने हातहरू एकअर्काका विरुद्धमा ढुंगा उठाउन कस्सिएका छन् । यसलाई तत्काल अन्त्य नगर्ने हो भने जनताका दुर्भाग्यका दिनहरू लम्बिँदै जाने निश्चित छ र यस्तै कष्ट भावी पिँढीले व्यहोर्नु पर्नेछ । 

निर्वाचन आयोगको निर्णयले के शुभसंकेत गरेको छ भने नेकपाका नेताहरू यसरी द्वन्द्वमा अल्झिने दिन धेरै छैन । अहिले जसरी आरोप–प्रत्यारोपमा उत्रेका छन् अब त्यसैगरी छिटै एकअर्काको प्रशंसामा समय व्यतीत गर्नेछन् भन्ने आशा गर्न सकिन्छ । पहिला ओली यस्ता र प्रचण्ड कस्ता भनी गाली नगरेका यी नेता थिएनन् र नेकपा एक हुँदा कसरी प्रशंसामा रमाए अनि अहिलेको परिस्थितिमा के गरे छर्लंगै छ । निर्वाचन आयोगले दुईवटा पार्टी बनाइदिएन भने एउटै हुन्छन् र फेरि यिनीहरूको अर्को नाटक आरम्भ हुन्छ भन्ने अनुमान गर्न थालिएको छ । त्यसैले यस्ता निरर्थक नौटंगी चाँडै समाप्त गरिदिए हुन्थ्यो भन्ने आमनागरिकको अपिल छ ।

Views: 439