17th April | 2021 | Saturday | 2:56:40 AM

सच्चा शहीदको अवमूल्यन

विश्वनाथ खरेल   POSTED ON : माघ १५, २०७७ (९:०० AM)

सच्चा शहीदको अवमूल्यन

विश्वमा हरेक राष्ट्रले आफ्ना वीर सपूत तथा शहीदहरूलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दछन् । जसले आफ्नो राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताप्रति कुदृष्टि राख्नेहरूको विरुद्धमा शारीरिक तथा मानसिक रूपले संघर्ष गर्दागर्दै इहलीला समाप्त गर्छ त्यस्तो व्यक्तिलाई नै शहीद भनिन्छ । थोरै बाँचेर पनि आफ्नो अदभ्य जोश, जाँगर, सुरता, वीरता, रगत र पसिनाले आफ्नो मातृभूमिको सेवा गर्दागर्दै शहादत प्राप्त गरेका व्यक्तिहरू नै शहीद हुन् र उनीहरू नै युगयुगान्तसम्म बाँचिरहन्छन्, जस्तै बलभद्र कँुवर, भक्ति थापा आदि । 

हाम्रो देशमा यस्ता वीर शहीदहरू हजारौंको संख्यामा छन् । उनीहरूले नेपाली जनता र नेपाल आमाको खुशीका लागि आफ्नो खुशी छोडेर गएका छन् । हाम्रो देशमा प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रप्रेमीहरूका लागि महŒवपूर्ण दिवस हो । उक्त दिवसको अवसरमा शहीदको बलिदानबाट प्रजातन्त्रको पुनःस्थापना भएको हो भन्दैमा शहीदहरूप्रति राजनीतिक व्यक्तिहरूको कर्तव्य सम्पन्न भएको मान्न सकिँदैन । शहीदगेट बनाउँदैमा, शहीदहरूको फोटोमा माल्यार्पण गर्दैमा, शहीदहरूको नाममा एक मिनेट मौनधारणा गर्दैमा शहीद दिवसको सार्थकता पूरा हुँदैन । 

तर, तिनै शहीदका परिवारहरू विचल्लीमा परी अत्यन्त दयनीय अवस्थामा रहनुपरेको तर्फ हाम्रो दृष्टि नपुगेको हुन सक्छ । एक सय चार वर्षीय जहानियाँ राणाशासन समाप्त पारी प्रजातन्त्र ल्याउन र तीस वर्षीय निरंकुश पञ्चायती व्यवस्थालाई समेत लत्याई बहुदलीय व्यवस्था ल्याउन आफ्नो बुद्धि र विवेकले भ्याएसम्म आफ्ने ज्यानको पर्वाह नगरी छातीमा गोली थापेर आहुति दिने वीर शहीदहरू नै सच्चा शहीदहरू हुन् । 

शहीदहरूको सम्मान र संस्मरणस्वरूप सामाजिक एवं गैरसरकारी क्षेत्रबाट भएका र हुने गरेका कामहरू सराहनीय छन् । अतः राणा शासनको विरुद्ध प्राण उत्सर्ग गर्ने चार महान शहीद गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलगायत ज्ञात÷अज्ञात शहीदहरूको सम्झनामा मनाइने शहीद सप्ताह पञ्चायती व्यवस्थाविरुद्ध लड्ने शहीदहरूप्रति पनि समानान्तर रूपने समर्पित हुनु आवश्यक छ ।

नेपालको इतिहास अध्ययन गरेर शहीदहरूलाई सम्झन खोज्दा थाहा हुन्छ, १९९७ साल माघको जाडोमा शुक्रराज र धर्मभक्तलाई रूखमा झुण्डयाइएको, दशरथ चन्द र गंगालाललाई बाँसमा बाँधेर ठाउँठाउँमा गोली हानिएको । हुन त त्यसभन्दा अगाडि पनि राणाशासनको विरोध गरेबापत जेलमै वा बन्दी रूपमै कृष्णलाल अधिकारी, खण्डमान सिंह, मैनाबहादुर खत्री आदि थिए तर सर्वप्रथम राजनीतिक दल गठन गरी क्रान्तिकारी गतिविधि चलाएको कारणले शहीद भएका थिए उपर्युतm चार जनामात्र । 

त्यसपछि पनि जनसंघर्षले समयको साथसाथै व्यापकता प्राप्त गर्दै लगेकाले देशव्यापी संघर्षकै सिलसिलामा सयौं कार्यकर्ताले जेलको यातना भोगिरहेकाले २००७ सालसम्म राजबन्दीहरूले जेल टनाटन भरिएका थिए । विसं २००७ सालको संघर्षको फलस्वरूप राणा सरकारको पतन भई प्रजातन्त्रको उदय भयो । यही क्रममा विसं २०१७ पुसदेखि २०४६ सालसम्म देशका विभिन्न भागमा शहादत प्राप्त गर्ने देशभक्तहरूको संख्या बढ्दै रहृयो । सरकारी तथ्यांकअनुसारै यिनीहरूको संख्या झापादेखि बैतडीसम्मका ४८ जिल्लाका जम्मा २६८ जना पुगेको भए पनि पक्रिएका, थुनिएका, जेलभित्र वा बाहिर पिटिएर धाइते भएका मानिसहरूको लेखाजोखा नै थिएन । 

देशमा पञ्चायती व्यवस्थाको विरोध तीव्र रूपमा नेपाली कांग्रेस र संयुक्त बाममोर्चाकोे पहलमा देशभरि नै जनसंघर्ष सुरु भयो । विसं २०४६ साल चैत २७ गते रातिदेखि २०४७ साल वैशाख १० गतेसम्म शहीदहरूको संख्या ८१ र घाइतेहरूको संख्या १ हजार नाधेको भन्ने तथ्यांक एउटा मानवअधिकार संगठनले दिएको भए पनि यसबारे सरकारी तथ्यांक हालसम्म प्रकाशित भएको छैन । यी वीर आत्माहरूको नामसम्म पनि संकलन गर्न नसक्नु दुःखलाग्दो कुरा भएको छ । यस्ता वीर सपूत तथा अज्ञात शहीदहरूको खोजी गर्नु जरुरी छ ।

मुलुकमा यस्ता शहीदहरू नभएका भए आज पनि नेपालीहरूले जनअधिकार र स्वतन्त्रता पाउने थिएनन् । ती सपूतहरूले ज्यानको बाजी लगाएर तानाशाही प्रवृत्तिसँग सिँगौरी नखेलेको भए यो मुलुक यतिको हुने थिएन । त्यसैले शहीदहरूको स्मृतिमात्रले पनि हामीलाई कर्तव्यपथतिर डोहो¥याउन मद्दत मिल्छ । देशमा व्याप्त अराजकता, स्वार्थीपना, भ्रष्टाचार, अनियमितता, जनउपेक्षाजस्ता अनुत्तरदायी व्यवहारले शहीदले देखाएको बाटो हामीले भुलेको त होइन भन्ने आशंका गर्न बाध्य पारेको छ । शहीदहरू जसले आफ्नो देशको स्वतन्त्रता र देशको रक्षाका लागि आफ्नो जीवनको बलिदान दिए त्यस्ता व्यक्तिहरूको भावना र आकांक्षालाई बुझनु आवश्यक छ । 

शहीदको योगदानको चर्चा परिचर्चा शहीद दिवसको दिनमा मात्र गर्नाले यिनीहरूको योगदानको सम्झना सबैको मानसपटलमा रहँदैन । त्यसको गहिरो सम्झनाका लागि शहीद स्मारक, शहीद पुरस्कार, शहीद आवासगृह, शहीद स्मारिका, पुस्तिका प्रकाशित गर्नु, शहीदहरूको नाममा पार्कको स्थापना गर्नुपर्दछ । उनीहरूको योगदानलाई वर्षमा एक पटकमात्र सम्झना गर्दैमा पुग्दैन । त्यसका लागि हामीले पलपलमा आदर सम्मान गरी उनीहरूका इच्छा र आकांक्षाका अधुरा सपनालाई जीवन्त रूप दिनुपर्छ । आजको हाम्रो प्रमुख दायित्व भनेको नै शहीदहरूको सपना साकार पार्नु हो । देश र समाजमा भएका राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रका विकृति र विसंगतिलाई निर्मूल पार्नु हो । 

शहीदहरूको रातो रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई अवलोकन गरी अज्ञान र अशिक्षाले तड्पिरहेका शहीदका परिवारहरूलाई शिक्षाको उज्यालो घामले सिञ्चित गर्न रोजगारका अवसर दिलाउनुपर्छ । उनीहरूका सन्ततिहरूको उचित शिक्षाको सम्बद्र्धन र विकासका लागि अक्षयकोष स्थापना गर्नुपर्दछ । जसले गर्दा शहीदका सन्तानहरूलाई पढ्नमा प्रेरणा प्राप्त होस् । उनीहरूको मर्म, भावना र उद्देश्यलाई बुझ्नका लागि विभिन्न सञ्चारमाध्यम जस्तै ः रेडियो, टेलिभिजन, पत्रपत्रिका आदिमार्फत सबैमा बोध हुनु आवश्यक छ ।

गत शनिबारबाट शहीद सप्ताह औपचारिक रूपमा सुरु भएको छ । मूलतः १०४ वर्षीय जहानियाँ राणाशासनको विरुद्धमा आन्दोलनमा होमिएका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद सप्ताह आयोजना गरिँदै आएको छ । राणाशासनविरुद्ध आन्दोलनमा सरिक हुनुभएका शुक्रराज शास्त्रीलाई टेकूस्थित खरीको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो । त्यस्ता कर्मठ देशभक्तहरू जसले आफ्नो राष्ट्रिय अखण्डतालाई जोगाउन ज्यानको पर्वाह नगरी शत्रुको गोलीसँग लडी अमरत्व प्राप्त गर्दछन् । सुनौलो इतिहासको पानाहरूमा हराएका अनगिन्ती यस्ता व्यक्तिहरू छन् जसलाई मरणोपूर्व लाञ्छना लगाइन्छ, देशद्रोही, राष्ट्रधाती आदि भनिने गरिन्छ । तर, तिनै देशद्रोहीले मरणोपरान्त दिएको प्रेरणाको मार्ग पहिल्याइएपछि तिनलाई शहीद शब्दले पुजिन्छ ।

शहीदहरू पूजनीय एवं सबैका साझा हुन् । यिनको कदर गर्नु सबैको जिम्मेवारी हुन आउँछ । त्यसैले आजको प्रजातान्त्रिक वातावरणमा हामी सबैले प्रजातान्त्रिक चरित्र निर्वाह गरी हाम्रा मुटुका ढुकढुकीलाई यथार्थरूपमा कदर गरी उनीहरूले पहिल्याएको बाटोमा अग्रसर हुन सकेमात्र शहीदप्रति वास्तविक सम्मान गरेको ठहरिनेछ ।


Views: 246