17th April | 2021 | Saturday | 3:08:35 AM

स्वस्थानी व्रतबारे संक्षिप्त चर्चा

तोयराज नेपाल   POSTED ON : माघ १५, २०७७ (९:०३ AM)

स्वस्थानी व्रतबारे संक्षिप्त चर्चा

स्कन्दपुराणअन्तर्गत माघमाहात्म्यमा वर्णित स्वस्थानीको व्रत पौषशुक्ल पूर्णिमादेखि आरम्भगरी माघशुक्ल पूर्णिमासम्म महिना दिन गर्नुपर्दछ । 

..............

पौषस्य पौर्णमास्यां तु स्वस्थानीव्रतमारभेत् । 

माघस्य पौर्णमास्यां तु व्रतस्योद्यापनं चरेत् ।। 

अर्थात् पौषशुक्ल पूर्णिमाका दिनदेखि आरम्भ गरी माघशुक्ल पूर्णिमासम्म पूरा एक महिनासम्म गरिने व्रतलाई स्वस्थानीव्रत भनिन्छ । यस व्रतमा शिवजी तथा स्वस्थानी परमेश्वरी पार्वती अर्थात् परमेश्वर शिव र पार्वती परमेश्वरीको नित्य मध्याहृनकालमा पूजा आराधना गर्नुपर्दछ । 

सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलाननाम् । 

सिंहासनसमासीनां सर्वालंकारभूषिताम् । 

नीलात्पलधरां वामे दक्षिणे वरदां शुभाम् ।।

खड्गचर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात् । 

चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतनम् । 

एवं ध्यात्वा महादेवीं स्वस्थानीजगदीश्वरीम् ।। 

अर्थात् सुवर्णभन्दा पनि दिव्य पहेलो वर्ण भएकी, तीन आँखा भएकी, कमलको फूलझै उज्यालो मुखभएकी, सिंहासनमा बसेकी, नाना अलंकार लगाएकी, हातमा खड्ग चर्म (ढाल) र नीलो कमल लिएकी, चारहात भएकी यस्ती स्वस्थानी परमेश्वरीलाई सम्झिएर मेरो अर्थात् सदाशिवको र स्वस्थानी परमेश्वरीको पनि साथसाथै पूजा गर्नुपर्दछ भनेर शिवजीले पार्वतीलाई बताउनुभएको छ । पूजा आरम्भ गर्नुभन्दा १ दिनअगाडि नै हात गोडाका नङ् काटी स्नान गरी पवित्र भएर शुद्ध वस्त्र पहिरिई श्रद्धा एवं भक्तिसाथ गर्नुपर्दछ । पूजा गर्दा पूजाका सामग्री वस्त्र, जनै, धागो, सौभाग्यद्रव्य, चन्दन, अक्षता, फूलपाती, तिल, जौ, दूबो, अघ्र्य, पञ्चामृत, सिन्दूर, अबीर, धूप, बत्ती, कपुर नैवेद्य, सुपारी, भेटीआदि सबै तयार पारी मध्याहृनकालमा पहिले कर्मपात्रो बनाएर कुश तिल जौ आदि लिएर संकल्प गर्नुपर्दछ ।

‘म आज पौषशुक्ल पूर्णिमाका दिनदेखि एक महिनासम्म माघशुक्ल पूर्णिमासम्म नियममा रही श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी पूजा गर्दछु र कथासमेत सुन्छु ।’ भनी संकल्प गरेर अघ्र्य बनाएर सूर्यनारायणलाई अघ्र्य दिएर नमस्कार गरी प्रायश्चित्त गोदान गर्नुपर्दछ । त्यसपछि पहिले दियो, कलश र गणेशको पूजा गर्नुपर्दछ । अनि कलशमाथि स्थालीमा अष्टदल लेखी सदाशिवसहित स्वस्थानी परमेश्वरीको प्रतिमा राखी त्यस प्रतिमामा पूजा गर्नुपर्दछ । यसरी नित्य मध्याहृनकालमा पूजा गरी कथा सुनी एक छाक हविष्य भोजन गर्नुपर्दछ । 

यसरी महिना दिनसम्म व्रत पूजा गरेपछि माघ शुक्लपूर्णिमाका दिन व्रतको उद्यापन गर्नुपर्दछ । यस दिन १०८ अक्षता, जौ, तिल, फूल, दूबो, जनै, सुपारी आदि सबै कुरा १०८ चढाउनुपर्दछ । रोटी मालपुवा आदि नैवेद्य पनि चढाई फेरि १०८ छुट्टै रोटी मालपुवा चढाउनुपर्दछ । त्यसपछि अग्निस्थापना गरी १०८ हवन गर्नुपर्दछ । 

अनि स्वस्थानी परमेश्वरीको भजन, कीर्तन र कथा श्रवण गर्दै रात्रिमा जाग्राम गर्नुपर्दछ । उज्यालो भएपछि स्नान गरेर उत्तरांगपूजा गरी अघ्र्य दिएर यो तलको मन्त्र उच्चारण गर्नुपर्दछ । 

नमस्तेक्स्तु जगन्मातः स्वस्थानि सर्वमंगले । 

तव प्रसादाद्देवेशि व्रतपूर्णं तवाज्ञया ।। 

हे स्वस्थानी माता ! हजुरका प्रसादले मेरो यो व्रत पूर्ण हवोस् भनी प्रार्थना गरी विसर्जन गरेर ब्राहृमणहरूलाई यथाशक्ति दक्षिणा दिई भोजन गराएर ती १०८ मध्ये सबैकुरा आठ आठवटा झिकी पतिलाई दिनुपर्दछ, पति नभए छोरालाई, छोरो पनि नभए मीत छोरालाई दिनुपर्दछ र मीत छोरो पनि नभए मेरो मनःकामना पूर्ण होस् भनी नदीमा लगेर बगाइदिनुपर्दछ । सय रोटी आफूले भोजन गर्नुपर्दछ । यसरी व्रत गर्दा मानिसका आआफ्ना सबै मनः कामना पूर्ण हुन्छन् । 

पहिले यो व्रत पर्वतीले विष्णुका उपदेशले शिवजी पति पाऊँ भनी लिनुभएको थियो । दक्षप्रजापतिका तेत्तीसकोटि कन्यामध्ये जेठी छोरीको नाम सतीदेवी थियो । सतीदेवीबाहेक सबैको विवाह देवताहरूसँग भएको र सतीदेवी बाँकी थिइन् । शिवजीले माग्दा दक्षले शिवजीलाई गाली गरेपछि शिवजी विष्णु भएका ठाउँमा गएर विष्णुले छल गरी झुक्याएर सन्यासी रूप शिवजीका हातमा सतीदेवीको औंठो थाप्न लगाई शिवजीसँग सतीदेवीको विवाह भयो । 

दक्षप्रजापति शिवजीसँग रिसाएका थिए । दक्षले यज्ञ गर्दा शिव र सतीलाई नबोलाएपछि सतीदेवीले थाहा पाएर बाबाको यज्ञ हेर्न शिवजीले नजाऊ भन्दाभन्दै गइन् । त्यहाँ दक्षले शिवको निन्दा गरेका हुँदा सतीदेवीले सहन नसकी अग्निकुण्डमा प्रवेश गरी प्राण त्यागिन् र हिमालयकी छोरी पार्वती भएर जन्मिइन् । अनि उनै पर्वतीले विष्णुका उपदेशले शिवजी पति पाउनका लागि स्वस्थानीको व्रत लिइन् र त्यसै व्रतका प्रभावले शिवजीसँग पार्वतीको विवाह भएको थियो । 

शिवशर्मा नामका ब्राहृमण र सती ब्राहृमणीका सन्तान नहुँदा सिद्धिविनायकको उपासना गरी गाईको गोबरबाट एउटी कन्या उत्तपत्ति भइन् । तिनको नाम गोमा राखियो । गोमा पाँच वर्षकी हुँदा शिवजीले भिक्षुक रूप धारणगरी भिक्षा माग्दा गोमाले ढिलो थाहा पाएर भिक्षा दिन जाँदा तैले भिक्षा दिन ढिलो गरिस्, त्यसकारण तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासँग तेरो विवाह हवोस्, तैँले पनि ठुलो दुःख पाउनेछस् भनी श्राप दिए । अनि सात वर्षकी हुँदा सत्तरी वर्षका शिव शर्मा नामका ब्राहृमणसँग गोमाको विवाह भयो । 

गोमा गर्भिणी भएपछि जातकर्म, नामकर्म आदि संस्कार गर्नका लागि सम्पत्ति आर्जन गर्न गएका शिव शर्मा बेपत्ता हुँदा गोमाले अर्काका ढिकी जाँतो गरी बडो दुःखले नवराजका संस्कार गरी उनलाई हुर्काइन् बढाइन् । नवराज ठूला भएपछि बाबुको खोजी गर्न गएका नवराजले बाबु रूखबाट लडी मरेका उनका हाडखोड भेटी संस्कार गरी उनी पनि धेरै दिनसम्म बेपत्ता भए । यता गोमाले झन् ठूलो दुःख पाइन् । त्यसपछि सप्तर्षिका उपदेशले गोमा ब्राहृमणीले यो स्वस्थानीको व्रत लिएर बाबु खोज्न गएका र धेरैदिन बेपत्ता भएका गोमाका छोरा नवराज तत्काल आएका र आमाले लिएका यसै व्रतका प्रभावले नवराज राजा भएका थिए । 

त्यस्तो दुःखमा परेकी गोमा स्वस्थानीका व्रतका प्रभावले राजमाता भइन् । नवराजकी रानी चन्द्रावतीले स्वस्थानीको निन्दा गरेकी हुँदा कुष्ठरोग लागी दुःख पाएकी र पछि अप्सराहरूका उपदेशले यिनै स्वस्थानी भगवतीका व्रतका प्रभावले बालुवाका रोटी साँच्चै रोटीमा परिणत भएका र कुष्ठ रोग निको भई फेरि नवराज राजाकी पटरानी भएकी हुन् । चन्द्रवतीले नदीमा बगाएका रोटी नाग र नागिनीले भेटेर धेरै दिनसम्म वियोग भएका नाग र नागिनीको भेट भएको थियो । डोलेहरूले अप्सराहरूसँग संसर्गमा यो व्रत गरेका हुँदा स्वर्गीय सुख भोग गर्न पाएका थिए ।

यो कथा पहिले महादेवले पार्वतीलाई बताउनुभएको र पछि स्कन्दकुमारजीले अगस्त्य मुनिलाई बताउनुभएको हो । ॐ स्वस्थानी ।


Views: 111