अव्यापारेषुव्यापारं यो नरः कर्तुमिच्छति... यो पौरस्त्य नीतिशास्त्रको कुरा हो । आवश्यक काम छाडेर सरोकारै नभएको काम गर्ने व्यक्ति काहीको रहँदैन भन्ने यसको आशय हो । अहिले नेपाली समाजमा अन्य कुनै काम छैनन् जस्तो भएको छ । केवल सत्ताको राजनीतिमात्र छ वर्तमान नेपालमा । प्रतिपक्षका पनि आँखा सत्तामै परिकेन्द्रित भएका खबर बेलाबेलामा आउँछन् । सत्तारुढ दलले सत्ता पचाउन नसकेर देशैभरिका सडक फोहर गर्दै हिँडेका परिदृश्यले नेपालीका आँखा टट्टाएका छन् भने अलिकति बुद्धि खेलाउनेलाई कोनि के गर्नेलाई भन्दा देख्नेलाई लाज लागेर मुख छोप्नुपर्ने भएको छ । पुरानो टकमा खिया लाग्दोरहेछ ।
सुत्केरी नभएकी आइमाईले सुत्केराको व्यथा बुझ्दिन् भन्थे हाम्रा पुर्खा । अहिलेका नेपाली राजनीतिका सानादेखि ठूलासम्म सबै दलमा यो लक्षण देखिएको छ । हिजो कुन उद्देश्य राखेर कस्तो परिस्थितिमा कुन प्रकारको वैधानिक व्यवस्था प्राप्त गर्न र नेपाली समाजलाई कुन प्रकारका राजनीतिक अधिकारयुक्त बनाउन यी दल त्यो बेलाका महामनाले खोलेथे ।
आज तिनका खन्चुवा उत्तराधिकार पाएका कथित नेता र सभापति भनाउँदाले अग्रपुस्ताले बनाएका घरमा आगो लाएर अर्काका मतानमा आश्रय माग्न र आफ्नो खेत जोत्नका दुःखले अर्काको खेताला गएर एकदुई पाथी धान बनीमा ल्याएर खोले खानमा सान र सुख देख्न थाले । विष्टका घराँ रोटीपाको पुहुनीलाई छट्पट भनेजस्तो भएको छ । छिमेकीको सत्तामा बाझोजुधो देख्नासाथ, हाड देख्दा... ले ¥याल काढेझैँ कोट सिलाउन दिने प्रवृत्ति मौलाएको देखिन्छ । यस प्रवृत्तिलाई देशका तमाम बुद्धिजीवी, व्यापारी साहुसन्त, सेठकार महान् महन्त आदिले रोक्न अग्रसर हुने बेला आएको देखिन्छ ।
लगभग सत्तरी पचहत्तर वर्षको त्याग तपस्या र संघर्ष गरेर संविधानसभाबाट बनाएको संविधान जसमा संसदले विकल्प दिनसक्ने अवस्था छउन्जेल संसद विघटित हुन नसक्ने अवस्था घामजत्तिकै छर्लंग हुँदाहुँदै र खड्गका धारले संसदको गर्दनमा प्रहार गरी जनताका अधिकारलाई मार हान्नासाथ यो असंवैधानिक कदम हो, यो अलोकतान्त्रिक काम हो, सर्वसत्ता र अधिनायकवादतिरको कदम हो भनेर निर्णय गरिसकेपछि पनि यस पार्टीका नेता, सभापति र वरिष्ठ नेता तथा तिनका खेमामा लाम लाग्न चाहने तमाम कार्यकर्ताका क्रियाकलापलाई हेर्दा यसले जनतामा विश्वसनीयता कायम गर्नेतिर भन्दा सत्तासयरको अवसर ढुकेजस्तो देखिन लागेको छ ।
पार्टीसभापतिका बोलीव्यवहार खड्गतिर ढल्किएका र वरिष्ठ नेताका कुरा र व्यवहार प्रचण्डतिर कोल्टिएको स्पष्ट देखिन लागेका छन् । पूर्वाञ्चलतिर गएर रामचन्द्र पौडेलले प्रचण्ड माधवलाई सहयोग गर्ने कुरो सत्तालिप्सा नै हो भने एक नम्बर तथा ३ नम्बर प्रदेशमा कांग्रेस ओली सघाउन पदमा जाने प्रस्ताव आफ्ना घरमा बोलाएर सभापतिले राखेको पनि सत्तालिप्सा नै हो ।
यस अवस्थामा कांग्रेसका इमानदार कार्यकर्ताले यी दुवैजनालाई खेताला जाने प्रवृत्तिबाट रोकेर आफ्नै गैरीखेत खन्न मेलामा लैजान सक्नुपर्दछ । नेतालाई आफ्ना मनमा लागेका कुरा बोल्ने छुट हुँदैन कुनै पनि राजनीतिक दलमा । दलको आदर्श, दलको विधान र परिपाटीका परिधिभित्र रहेर जनतामा त्यस दलको जुन प्रभाव र छवि छ त्यसमा आँच आउने गरी बोल्न, लेख्न र काम गर्न पाइँदैन भन्ने कुरो आमकार्यकर्ताले बुझ्नुपर्छ । राजनीतिको प्रयोगशाला भनेको जनता र विगत हो । विगत हेरेर कांग्रेसले आफूलाई मझधारमा उभ्याउन नसक्ने हो भने इतिहासले यस दललाई सराप्ने निश्चित छ ।
नेपाली कांग्रेसको विधानले दिएको एक वर्ष थप्ने सुविधाको प्रावधान पनि सकिइसकेको छ । देशको संविधानले दिएको अर्को सुविधा आगामी भदौमा सकिन्छ । यो संविधान नै फालिने अवस्थातिर अभिमुख भइरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेसमा यस प्रकारको ढुल्मुले नीति अख्तियार गरिनु भनेको अत्यन्त नै खेद र चिन्ताको विषय भएको छ । एउटा प्रजातान्त्रिक विधिपद्धतिको अनुयायी नागरिकका निमित्त । संवैधानिक ‘कू’ भन्नेहरूका तर्कमा बल देखिन लागेको छ । एकातिर निर्वाचन आयोगले ओली र माधव–प्रचण्ड दुवैका कागजपत्रलाई अवैध भनेर कानुनतः यिनलाई विभाजित हुन नदिने भएपछि र देशैभरका सडकमा छताछुल्ल भएपछि एकाघरमा रहनसक्ने अवस्था पनि देखिँदैन ।
सर्वोच्चले संविधानका अक्षर तथा भावको पनि व्याख्या गरेर एउटा दिशा देला तर देशका र देशभन्दा बाहिरका अशद्वृत्तिमा रुचि भएका शक्तिले नेपाललाई आफ्ना चाहनाको खेलमैदान नबनाउलान् भन्न सकिन्छ र ? अफ्गानिस्थान हाम्रा अगाडि आज पनि निरीह दृश्य बनेर देखिएको छैन र ? यस दृष्टिबाट हेर्दा नेपालको राजनीति विस्तारै अँध्यारो सुरुङतिर प्रवेश गर्ने तयारीमा लागेको देखिन्छ । हामीले नै २००७ देखि २०१४ सम्म निर्वाह गरेको राजनीति या अस्थिरताको खेल अनि २०५२ देखि २०७३÷०७४ सम्म व्यहोरेको अस्थिरताका खेलतिर आज फेरि जानाजान मुलुकलाई लैजाने या जान दिने ? नेपाली कांग्रेस आज आफ्नो बल नबुझ्ने हनुमान भएछ ।
नेपाली कांग्रेस आफ्नो स्थापनाकालदेखि नै वामपन्थ र दक्षिणपन्थका बीचमा रहेर ती दुवैलाई र तिनका पक्षपोषकलाई समेत आफ्ना दायाँ र बायाँ काखीमा च्यापेर मध्यमार्गबाट यात्राशील रहेको पार्टी हो । आज यसको सान्दर्भिकता त्यही मार्गमा रहेको देखिन्छ । उत्तर कार्ड र दक्षिण कार्डले आज प्रजातन्त्रलाई मात्र होइन यसका विधिपद्धति र विकास निर्माण सँगसँगै अस्तित्वलाई नै सन्देहास्पद सुरुङतिर धकेल्दै लगेको छ । अतः आजका अवस्थामा कांग्रेस सबै कुरा छाडेर एकलव्यभावले आगामी भदौभित्र यसको महाधिवेशन गर्ने गरी त्यता लाग्नुपर्ने देखिन्छ । एकपल्ट भुलवश या उन्मादवश आफू बसेका घरमा आफैंले सलाई कोरेर आगो ताप्ने काम भएका घाउको खत खाटा बसिसकेको छ ।
अब इतिहास निर्माण गर्ने अवसर प्राप्त भएका बेला पनि पेशेवर व्यक्तिका चाटुकारी कुरालाई विश्वास गरेर सत्ताका निमित्तमात्रै परिसीमित भएर त फेरि त्यही खाटा बसेका घाउको पाप्रो उक्काउने चेष्टामात्र देखिनेछ र आमजनतादेखि कार्यकताकै बीचमा पनि विश्वाससमेत गुम्दै जानेछ । अतः नेपाली कांग्रेसका आदरणीय सभापतिले अब न नसनाता न ग्रुप दुवैभन्दा पनि एउटा आदर्श सभापतिमा आफू रूपान्तरित भएर देखाउन सके झुसिल्कीरो नै पुतली बन्ने प्राणीशास्त्रीय विज्ञान राजनीतिमा पनि लागू हुन सक्दोरहेछ भन्ने उदाहरण बनाउन लाग्नुहुनेछ । बीपीपछि उच्चशिक्षा लिएको सभापतिका क्रियाकलापमा पनि आमजनताले त्यो क्रियाकलाप देख्न चाहँदा रहेछन् ।
यस मनोविज्ञानलाई पनि बुझेर अन्तिम समयसम्म कुर्सीमै बसेर जाने लोभ प्रदर्शन गर्न पक्कै सर्म मान्नुहुनेछ भन्ने पनि आशा गरौं । मौकामा कदम चाल्न जानिएन भने पुर्खौली राजपाट त गुम्दोरहेछ भन्ने उदाहरण २४० वर्षको इतिहास भएको राजसत्तालाई तपाइँ पनि लागेर नै वनबास पठाएको इतिहास साक्षी छैन र ? यदि अहिले देखापरेका अनेकौं अप्ठ्यारा जस्तैको शृंखला बढ्दै गएर आगामी भदौभित्र नेपाली कांग्रेसको महाधिवेशन हुन सकेन भने इतिहास पनि त दोहोरिँदैन र ? पटकपटक देउराली रुवाउनु र इतिहास दोहो¥याउनु तपाइँजस्तो उच्चशिक्षित व्यक्तिलाई नसुहाउने कुरो हो भनिरहनु पर्ला र ?
अब ढिलो नगरिकन नेपाली कांग्रेस आफ्नो महाधिवेशनतिर लाग्यो भने उसका दुवै हातमा लड्डु पर्ने सम्भावना छ । यो पार्टी कथित खातापिता वर्गको होइन, यो देशका कुनाकन्दरामा रहेका तमाम गरिब, निमुखा, खेतिहर मजदुर, ढाक्रे र डोको नाम्लो थाप्लामा राखेर प्राण त्याग्न विवश नेपालीको प्रिय पार्टी हो । चन्द्र शमशेरका ज्यादतीबाट नेपाली जनतालाई जोगाउन र विश्वविरादरी समक्ष समान लहरमा नेपालीलाई पनि उभ्याउन तीन–तीनवटा अति ठूला आन्दोलनको नेतृत्व गरेर विश्वविख्यात भएको पार्टी हो ।
महाधिवेशनमा जाँदा अहिलेसम्म भएका गतिविधिको समीक्षा भएर आमजनताका बीचमा ती कुरा पुग्ने, प्रजातान्त्रिक विधिपद्धतिको जय चाहने विश्वका दाजुभाइ अबका नेकाका क्रियाकलापबाट आश्वस्त हुने पक्का हुन्छ । नेपालका अन्य प्रजातान्त्रिक शैली र पद्धतिका अनुयायीले पनि यसका प्रवाहका पाश्र्वबाट प्रवाहित हुने मौका पाउने भएकाले प्रजातन्त्रमाथि प्रहार गर्ने वर्तमान बामक्रियाकलाप पनि उदांगिएर जनताका आँखामा पुग्ने भएकाले पनि नेपाली कांग्रेस आफ्नै पूर्वगरिमा प्राप्त गर्ने महाधिवेशनका कर्ममैदानमा जुट्नु नै अहिलेको बुद्धिमानी कदम हुनेछ ।
हुन त धेरै बुढो मान्छे काम गर्न सक्दैन । धेरै बुढो रूखमा पनि हरिया पात हुँदैनन् । विधिले नै नेपाली कांग्रेसलाई सिध्याउन चाहेको हो भने त कसको के लाग्ला र ? पाप डरलाग्दोमात्रै हुँदैन लोभलाग्दो हुन्छ र त पाप गरेर मान्छे पतनतिर लाग्छ नि ।
Views: 174