17th April | 2021 | Saturday | 2:16:53 AM

विदेशमा तन स्वदेशमा मन : मेरो प्यारो ओखल्ढुंगाका प्रिय शिवजी

पुरुषोत्तम दाहाल   POSTED ON : माघ १६, २०७७ (८:११ AM)

विदेशमा तन स्वदेशमा मन : मेरो प्यारो ओखल्ढुंगाका प्रिय शिवजी

शिवजी श्रेष्ठ अहिले बेलायतमा बसेर नेपाली समुदायलाई चिनाइरहेका छन् । उनको ओखल्ढुंगादेखि काठमाडौं हुँदै बेलायतसम्मको यात्रा कम कठोर छैन । तर उनले नेपाल चिनाइरहेका छन्, नेपाली चिनाइरहेका छन् र जन्मथलो ओखल्ढुंगाको गौरव बढाइरहेका छन् । अहिले धेरै कारणले उनको चर्चा हुने गरेको छ । त्यसो त ओखल्ढुंगा चिनाउने युग कवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखल्ढुंगा एक अमर रचना भएको छ । अनि कुमार बस्नेतले गाएको लोक लहरीको गीत रुम्जाटारका गुरुङसेनी प्रसिद्ध छ ।

ओखल्ढुंगाको प्रसिद्धिका लागि रुम्जाटारका सुन्तला र राडीपाखी मात्र पर्याप्त छैनन् पोकली झर्ना पनि छ । ओखल्ढुंगाले अनेक साहित्य र कला क्षेत्रका सपूतहरू राष्ट्रलाई प्रदान गरेको छ । सन्त दिलदास सामाजिक अभियान र जीवन दर्शनका ऋषि नै हुन् । त्यस समयको समाजको चित्रण गरेको छ यस वाक्यले : धर्म र कर्म गुरुङले गरे छक परे बाहुन । साहित्यको उचाइ छोएर योगदान दिने प्राध्यापक घटराज भट्टराई, प्रा.पीताम्बर दाहाल, डा.कृष्णप्रसाद भट्टराई, कलानिधि दाहाल, दिनेशहरि अधिकारी, कविताराम श्रेष्ठ, हुन् कि कलाको गला र संगीतका साधक मेलवादेवी, गंगा राणा अनि रामेश र रायन हुन् एकसे एक साधकहरू छन् । 

संघीय लोकतान्त्रिक गणतन्त्रको लागि राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइँला) ले पछिल्लो पुस्तालाई ओखलढुंगा चिनाएका छन् । पत्रकारिता क्षेत्रको उचाइमा हुनुहुन्छ होमनाथ दाहाल भने लोकतान्त्रिक आन्दोलनका अनेक सहिदहरू जस्तो केशव, महेश, लीला, ठगी, खगेन्द्र, गोकर्ण, पेशल, क्या.यज्ञबहादुरहरूको नाम अग्रपंक्तिमा छ । नेपाली सेना र बेलायती सेनामा रहेर उच्चस्थान हासिल गर्ने अनि अन्य सुरक्षा निकायदेखि प्रशासनिक क्षेत्रमा जिम्मेदारी समाल्ने अनेक नायकहरू दिएको छ ओखलढुंगाले । ती सबैको चर्चा अरू समयमा हुनसक्छ । आज भने शिवजी श्रेष्ठ । 

ओखल्ढुंगा बजार सामान्य छ तर त्यहाँको बजार गाउँलेहरूका लागि लत्ताकपडा, नुन, तेल, जिरामसला, फाली, कोदालो र अरू समानका लागि केन्द्र नै हो । सदरमुकामका कारण राज्यका प्रतिनिधि बस्नेहरूको त्यो ठालु ठाउँको गणना फरक हुने गर्दछ । कतिपय गाउँलेहरूले आफ्नो श्रम यहीँ पोखे, विपन्नहरूको कमाइको चरम शोषण यहीँ भयो र अनेक विपन्न र निमुखाहरूले सहयोग र न्याय पनि पाए । व्यक्तिअनुसारको आचरण र व्यवहार । सबैलाई एउटै डालोमा राखेर वा एउटै तुलोमा जोख्नु गलत हुनेछ । 

त्यही बजारको एक सामान्य परिवारमा आजभन्दा करिब पाँच दशकपहिले जन्मिएका शिवजी उच्च शिक्षाको भोकले राजधानी पुगेपछि प्रहरी सेवाको आकर्षणमा तानिए । उनी स्नातक तह पूरा गर्नासाथ खुला प्रतिस्पद्र्धामा प्रहरी निरीक्षक बने । माओवादीले आरम्भ गरेको अत्यन्त क्रूूर हिंसाले आक्रान्त समयमा उनी प्रतिरक्षामा सक्रिय भए । तर, उनी यो हिंसा प्रतिहिंसाप्रति विरक्त भए र बेलायतमा पुगे अवसरको खोजीमा । बेलायत पुगेर पनि उनले देश बिर्सिएका छैनन् । 

मेरा परम मित्र प्रेमप्रसाद गैरे विगत चालीस वर्षदेखि बेलायतमै छन्, आत्माराम दाहालहरू उतै छन् । सहपाठी डा.केशवराज भट्टराईदेखि विद्यार्थीहरू सपना, शिव, शेखर र अनेक सम्बन्धका आफन्तहरू छन् । उनीहरू पनि नेपाल चिनाएर विदेशमा बसेका छन् । विदेशमा पुगेर पनि आफ्ना सुखदुःखहरूको सामना गर्दै माटो र समुदायको परिचय विस्तार गर्नु सजिलो छैन । 

नेपालमा बसेर हेर्नेहरूले युरोप, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, कोरिया कतै पुग्नेहरू डलर कमाउन पुगेका भनेर अलि उपेक्षाभाव राख्ने गरेको सुनिन्छ । तर, त्यहाँ पुग्नेहरूका दुःख, उनीहरूको अनुशासन, कामप्रतिको लगन र देश र समुदायप्रतिको अनवरत स्नेहको मूल्यांकन गर्ने काम कम हुने गर्दछ । तर जुन देशमा बसेका छन् ती देशले उनीहरूको योग्यताको परख गरिरहेको हुन्छ । शिवजीका कामको परख बेलायतमा भइरहेको छ । 

उनी अहिले सांसद एममालियामिलरको अध्यक्षतामा गठित रंगभेद र असमानता गतिविधिको नियमन र रणनीति बनाउने स्थानीय समितिको सदस्य, हेम्स सायर प्रहारी कन्स्टनबरीको एफएस्आइजीको सल्लाहकार, लेबोेर पार्टीको बेजिङस्टक कार्य समिति सदस्य तथा आप्रवासी विभाग प्रमुख, कार्लवर्न कलेज गभर्नर, २७ देशका ८० संघ संस्थाकाहरू रहेको बेजिङस्टक मल्टिकल्चरल फोरमको अध्यक्ष भएर काम गरिरहेका छन् । 

बेलायतमा नै हुने अनेक जातीय विभेदको न्यूनीकरणमा उनको योगदान जति रहने छ त्यति नै उनले सुरक्षा रणनीतिमा योगदान पु¥याउने आशा गर्न सकिन्छ । बेलायतमा बसोबास गरिरहेका नेपाली समुदायको हित संरक्षणमा पनि उनी उत्तिकै सक्रिय छन् । उनले आफ्नो जन्मभूमि नेपाललाई बिर्सेका छैनन् । उनले आफ्नो जन्मथलो ओखल्ढुंगालाई कहिले स्वास्थ्य सामग्री, कहिले पाठ्य सामग्री, कहिले अरू कुनै न कुनै सहयोग गरिरहेका छन् ।

उनी स्पष्ट छन् : हिंसा र अशान्ति राष्ट्रको विकास र समृद्धिका मुख्य बाधक हुन् । हिंसा र अशान्तिले नै लोकतन्त्रका मूल्यमाथि घात गरिरहेका हुन्छन् । लोकतान्त्रिक स्वतन्त्रतासहितको शान्ति, एकता र समानताले मात्र राष्ट्रको विकासमा योगदान पुग्दछ । जो जहाँ पुगे पनि माटोमा माया सदा रहनुपर्छ । 


Views: 546