13th April | 2021 | Tuesday | 6:37:56 PM

शहीदका महान् सपना धूलो बनाउन उन्मुख त छैन वर्तमान ?

बद्रीप्रसाद दाहाल   POSTED ON : माघ १७, २०७७ (१:२४ AM)

शहीदका महान् सपना धूलो बनाउन उन्मुख त छैन वर्तमान ?

साम्राज्यवादी र विस्तारवादी परचक्री शक्ति वा आन्तरिक सर्वाधिकारवादी राज्यसत्ताविरुद्ध विद्रोहको ज्वाला बाल्दै देशभक्ति र जनआवाजलाई आत्मसात् गरेर आपूm बलिदान हुन तयार हुने निर्भिक रणवीर नै शहीद हुन् । जसका मुुटुमा राष्ट्रियता, राष्ट्रिय—अखण्डता, एकता, जनअधिकार, देशको सर्वपक्षीय उत्थान तथा आफ्नो सार्वभौमसत्ता अटल राख्न जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने प्रण हुन्छन् । तिनै महायोद्धालाई कुनै देशको स्वतन्त्रता सेनानी वा शहीद भनिन्छ । जोसित विस्तारवादी, पृथकतावादी, साम्प्रदायिक र जब्बर एकाधिकावादका पश्चगामी प्रतिनायकसित लोप्पा खेल्दै महानायकीय नमुना भूमिकामा बलवान् भई लड्ने अनुपम तागत हुन्छ ।

वास्तवमा शहीद भनेका देशका प्राणवायु, र त्यागका बिम्ब हुन् । उनीहरूका समर्पण, उत्सर्ग र बलिदानलाई गौरवले भरिएको छातीमा सजाएर संझना गर्ने तिथि हो शहीद दिवस । इतिहासको उत्खनन् गरेर हेर्दा नेपालमा शहीद दिवसको प्रारम्भ २००८ सालबाट भएको पाइन्छ । हरेक वर्ष माघ १०–१६ सम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइन्छ । खास गरेर माघ ११ देखि १५ सम्मको अवधिमा पारिवारिक निरंकुश शासनका पक्षधर राणाहरूले शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठजस्ता महान् सपूतहरूलाई राष्ट्रविद्रोहीको आरोप लगाएर प्राणदण्ड दिएको थियो । 

प्रजातान्त्रिक आन्दोलनका योद्धा नूतन थपलिया ज्यूले आफ्नो एक स्मृति आलेखमा (वहाँ त्यो बेला शहीदहरूसँगै सेन्ट्रल जेलमा हुनुहुँदो रहेछ) भने अनुसार–‘राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९७२ वि.सं.मा नेपालमा पहिलोपल्ट झ्यालखाना बनाएका हुन् । त्यति बेला गोलघरमा मृत्युदण्ड पाएका व्यक्तिलाई अलग्गै एकान्त राखिन्थ्यो । १८ महिनासम्म सफाइ नपाएमा पूर्वका भए भक्तपुर, तराईका भए ललितपुरको गोदावरी, काठमाडौं र अरू तिरका भए शोभाभगवतीको भाचाखुसी भन्ने ठाउँमा लगेर नृशंश रूपमा काट्ने र मार्ने कुकाम हुन्थ्यो । उनीहरूको फैसलामै लेखिएको हुन्थ्यो ‘काटी मारी दिनू’ । यसै क्रममा विसं १९९७ माघ ११ गते त्यही जेलमा २६ महिनादेखि कैदी बन्दै आएका अनुपम लडाका शुक्रराज शास्त्रीलाई प्रजापरिषद् काण्डमा फसाइ टेकूको पचली पु¥याइयो । त्यति बेला उनी रुखमुनि उठी–उठी गीता पाठ गर्दै थिए । फाँसीको फन्दा घाँटीमा लगाउनासाथ ठूलो स्वरले ‘ॐ कारको चर्को’ नाद गर्दै प्राण त्यागे । गुरुकुल महाविद्यालय सिकन्दरावाद उत्तर प्रदेशबाट वेदान्त विषयमा शास्त्री पास गरेका यिनी दर्शनशास्त्रका अब्बल विद्यार्थी थिए । नेपाली व्याकरण, वैदिक अग्निहोत्र, नेपाली वर्णमालालगायत शांकर वेदान्तको भाष्य लेख्ने एक कुशल प्राज्ञसमेत थिए यिनी । टेकूस्थित पचलीको खरीको रूखमा फाँसीमा लड्किएका यिनलाई हेर्न लगत्तै बिहानपख टाढा–टाढाबाट मानिसको भीड लागेको थियो । त्यसैबेला उनका ८२ वर्षीय पिता पण्डित माधवराज जोशी लौरो टेकेर छोराको मुख हेर्न पुगे । अनि शवअघि उभिएर गर्जिँदै भने—‘स्याबास् बाबू ! तिमी धन्य छौं ! तिमीले आमाबाको मात्र होइन देशको गौरव बढायौ । छोरो त यस्तो साहसिलो हुनुपर्छ’ । शुक्रराज जोशी शास्त्री संस्कृतका प्रकाण्ड पण्डित थिए । जसरी मध्यकालीन युरोपमा धर्मशास्त्रका प्राध्यापक जर्मनगुरु मार्टिन लुथरले ईशाई धर्ममा आएको विकृति इति गर्न ठूलो भूमिका खेलरे भोगी र कामुक पोप तथा पादरीहरूले बेचेका ‘पापमोचनपत्र’ खुला बजारमा जलाएर विद्रोहको महान् अभियानको थालनी गरेका थिए । त्योभन्दा पनि उदात्त सुकाम बलिदानका प्रतिरूप शुक्रराज जोशी शास्त्रीले देखाए । आर्यसमाजका अनुयायी आफ्ना पिता माधवराजको प्रेरणाबाट नेपालमा राजनीतिक परिवर्तनको अलावा धर्ममा स्वच्छता चाहन्थे । यी दुवै कुरा विलासी राणाका लागि पाच्य थिएनन् । त्यही कारण यी बहुमुखी प्रतिभाका धनी होनहार स्वतन्त्रता वीरको ज्यान लिने ‘क’ूकाम भयो । 

दयानन्द सरस्वतीबाट प्रभावित शुक्रराजका पिता माधवराजले नेपालमा आर्यसमाजखोलेकोमा चन्द्रशमशेर पहिलेदेखि नै मुरमुरिएका थिए । धर्मलाई सत्ताको सुरक्षा कवच बनाउने धूर्त तानाशाहहरूले केही अत्तो लाउन नपाएछि ‘माधवराजले पशुपति जस्तो देवतालाई ढुंगा भन्यो’ भन्ने आरोपमा देश निकाला गरेका रहेछन् । यही कारण एकाधिकारवादी राणासित माधवराज जोशीको परिवारै विद्रोहीका रूपमा देखिन पुगे । यसरी ११ गते माघदेखि १५ सम्म धर्मभक्त, दशरथचन्द र गंगालाल श्रेष्ठजस्ता सपूतहरूलाई फाँसी दिएर कालो इतिहासको बाटो रोज्यो जुद्धशमशेरको राजले । त्यसपछि जनतामा क्रान्तिको जागरण आउन थाल्यो । परिणाम स्वरूप विसं २००४ मा ‘नेपाल सरकार वैधानिक कानुन’ ल्याउनश्री ३ को सरकार बाध्य भयो । 

उता भारतमा निर्वासित जीवन बिताइरहेका राजनीतिज्ञ, विद्यार्थी, प्राज्ञजन र भारतीय स्वतन्त्रता संग्राममा भाग लिएका कयौं नेपाली योद्धाहरूले आततायी राणा शासनसमूल उच्छेदन गर्नपर्छ भनी विशाल सबल संंगठन गर्नथाले । यता राजा त्रिभुवन भारतीय राजदूतावासको शरणार्थी हुँदै दिल्ली पुगे । नेपालको बढ्दो आन्तरिक झगडालाई भारत मध्यस्थ बनेर तत्कालीन नेपालका तीन शक्तिगृह राणा, राजा र नेपाली कांग्रेसबीच दिल्ली संझौता हुनपुग्यो । वास्तवमा यिनै होनहार नेपाल आमाका सपूतहरूकै बलिदानको परिणाम थियो राणाराज इति हुनुमा । 

दिवस, उत्सव, जयन्ती, स्मृति तिथि श्रद्धा, आस्था, सम्मान र विश्वासका प्रतीक पर्व हुन् । जसले देशभक्तलाई गौरव, कर्तव्यबोध, दायित्वमा जुर्मुराउने कुराहरूमा प्रेरणा र सचेतना जगाउँछ । झन् देश हाँक्ने महान् उद्देश्य लिएर राजनीतिको रंगशालामा निस्किएका अभिनेताहरूका लागि त यो इतिहासको ज्ञान हुनु दर्शनसहित सुशासनको ब्रहृमसूत्र सिक्नु हो । शहीदहरूले देशको अखण्डता, सार्वभौम सत्ताको सम्मान, राष्ट्रिय एकता आमनेपाली जनतामा समानता, स्वतन्त्रता, समृद्धि, लसर्वसुलभ न्याय स्थापना गर्नुपर्छ भनेरै आफ्नो जीवन हाँसीहाँसी फाँसीमा चढाएका हुन् । उनीहरूको परमार्थी हृदय त अनेकतामा एकता, समावेशीता, गुणस्तरीयता, सुशासन, सर्वधर्म समभावको तन्त्री घनीभूत भएको हेर्न चाहन्छ । जंगबहादुरजस्ता क्रूर शासकसित पौँठीजोरी खेल्ने लखन थापा हुन् वा फितला र असक्षम राजा रणोद्दीपसँग प्राणको भिक्षा नमाग्ने नेपाली आमाका बहादुर छोरा सुपति गुरुङ, अनि नारी र पुरुष समान हुनुपर्छ भनेर अधिकारको वकालत गर्ने वीरांगना नेपालकी प्रथममहिला शहीद योगमाया यी सबैको प्राणोत्सर्गभित्रको गूढ रहस्य थियो जनताको मुखमा मुस्कान अनि मुलुकको समृद्धि र स्वतन्त्रता ।

यसरी हजारौं शहीदका दिव्य सपना वा दूरदृष्टिलाई कार्यान्वयनमा देख्न र भोग्न पाउनु नै समाजवादी प्रजातन्त्र वा लोकतन्त्र हो । के ती सपना लोकतन्त्रको ढोलक बज्न थालेको झन्नै तीन दशक नाघिसक्दा पनि कार्यान्वयनमा नलगेर नेपाल झन् अराजकता, विधिहीन मुलुक बन्न पुगेको छ यतिखेर । आज असी लाखभन्दा बढी युवा ऊर्जा अमेरिका, युरोपेली मुलुक, मलेसिया, अफगानिस्तान र खाडी देशका तप्त एवं शीतभूमिमा कष्ट खपेर मृत्युकर्म गर्न विवस छन् । न त देशमा औद्योगिक प्रतिष्ठान नै छन् न त कृषि क्षेत्रमा आशातीत प्रगति । देश निर्यातमुखी अर्थतन्त्रबाट पाताल धसिएर आयातमुखी अर्थतन्त्रमा आकाश छुन खोज्दैछ । लहलह अन्नका बाला झुल्ने उर्वराशील जमिन कंक्रिटको भयकारी बगर बनेर एकातिर प्रदूषण दिने र अर्कातिर उत्पादन शून्य बनाउने हुनु देश र जनताकै लागि दुर्भाग्य हुन पुगेको छ । पूर्वाधारका नाममा बनेका बाटाघाटा धुलो, हिलो र धुँवामा मडारिएर खेतका फसल, तर्कारी बारी, डिही डाबर चिन्न नसक्ने बन्न पुगेका छन् । देशमात्र विदेशी भिक्षा र विप्रेषणले आफ्नो दैनिकी घिसार्दै छ । राजनीतिक दलहरू विशेष गरेर सत्ताधारी नेकपा चरम झगडा र रगडा मच्चाएर शहीदहरूले देखाएको आदर्श र त्यागको मन्दिरमा देशै लुटेका अपचीहरूले नर्क फालिरहेका छन् । जनताले छानेका प्रतिनिधिले लिपिबद्ध गरेको संविधानमाथि कलहका हुलले आफ्नो निरंकुश कुशासनको बुट बजारिरहेको छ । वर्षौंदेखि सहीदका आदर्श विचारबाट चिप्लिएर आफन्त, व्यापारी, तस्कर, विचौलिया, डन र धनाढ्यको कमानमा बन्दी छ यहाँको जनताको नाममा चलेको सरकार । छिमेकीहरूको सीमा मिचान र हस्तक्षेप तथा विदेशी चलखेल सीमातीत रूपमा भष्मासुर बनेर नाचिरहेको छ । राजनीतिज्ञ र कर्मचारीतन्त्र भ्रष्टाचारको आहालमा चुर्लुम्म भएर डुबेका छन् । संवैधानिक, राजनयिक वा कूटनीतिक निकायमा नाता, धनदाता र अनुचरहरू नियुक्त भइरहेका छन् । घोटाला र अंशबण्डाले खुट्टो घुमाउँदा घुमाउँदै बण्डावाद मिलेन भनेर सत्ताधारी दल नै निर्लज्ज भएर सडक आन्दोलमा पुगेको अचम्मको आश्चर्य मञ्चन भइरहेको छ । 

मूल्यवृद्धि, असुरक्षा,आर्थिक तहसनहसमा देशलाई बलै असफल राष्ट्र बनाउन यहाँका तथाकथित कम्यनिष्ट भनिनेहरू न्वारनदेखिको बलमा लागेका छन् । राष्ट्रवादको नक्कली जामा फाटेर वाक्तस्करहरू नांगै सडकमा मार्चपास खेलिरहेका छन् । यी तमाम असंगतिलाई शमन गर्ने इरादा वा लक्ष्य स्वप्नद्रष्टा शहीदका बलिदानले कोरेका मार्गचित्र हुन् । तर सत्ताको तर मार्नेहरू उनीहरूका महान् गाथालाई माथापच्ची गर्नै भ्याउँदैनन् पारस्परिक तुच्छ गाली, निन्दा, आरोप प्रत्यारोप महँगा गाडी र भव्य महलमा राज गर्दै नव धनाढ्य बनेर देश चुस्दै छन् ।

बाइड बडी, न्यारोबडी, सुनतस्करी, बालुवाटारकाण्ड, कोभिड स्वास्थ्य सामग्री किन्दाको महाभ्रष्टाचार, मानव ओसारपसार, धर्म परिवर्तन, राष्ट्रका गौरवपूर्ण आयोजना, शिक्षा र स्वास्थ्यमा माफियातन्त्र हावी बनाउन न्वारनदेखिको बल खर्चिरहेका छन् । मेडिकल शिक्षा महँगो बनाएर मेधाशील जनशक्ति विदेश पलायन गराउने वातावरण हेरेर साध्यै छैन । ‘बेला न कुबेला बजिनाइला’ भनेझैं संविधानमै नभएको अधिकार प्रयोग गरेर स्वेच्छाचारी ढंगले संघीय संसद विघटन गरी अराजकताको पहाड नेपाली जनताको छातीमा ठड्याइरहेको छ । कोभिडको खोप जनतालाई लगाउन नसक्ने खञ्चुवा सरकार मध्यावधि चुनावको घोषणा गरेर नौटंकी मच्चाइरहेको छ । 

साँच्चै शहीदका सपना धूलिसात बनाउने कथित दोतिहाइको सत्ताधारी दल, कलंकको धब्बा लगाएर इतिहाससित जिस्किरहेको छ । हामी नवीन सोचका बिम्ब हौं भनेर हुक्काँ गर्ने तिल्के र तारे यतिखेर अन्तर्राष्ट्रिय क्षेत्रमै प्रहसनका नीच जन्तु बनेर आफ्नो जंगली रूप देखाइरहेका छन् । थारा नारा बोकेर जनतालाई तारा देखाउने मौकाबाजे यिनीहरूसित आत्म निरीक्षण, आत्मपरीक्षण र आत्मशोधन गर्ने हिम्मत छ ? केवल बतासे गफ दोचारेर, चमेरे चरित्र र छेपारे रङमा स्वार्थसा–धनाको अँध्यारो दुलो रोज्ने सापको नाच कसरी पटाक्षेप गर्ने ? नामात्रका विपक्षी दलहरूसित कुनै कार्ययोजना र भिजन छ ? यदि साँच्चै मुटुदेखि शहीदलाई मानेर दिवस मनाउने हो भने प्रधानमन्त्री भएकादेखि वाडसम्मका नायकहरू अनि सचिवदेखि पिउनसम्मका सबैको अस्वाभाविक सम्पत्ति राष्ट्रियकरण गर्ने अठोट लिएर कार्यान्वयनमा यथाशीघ्र जानुपर्छ । अन्यथा यति कमजोर अवस्थामा पुगेको राष्ट्रियताको धुकधुकी इति हुने खतरा छ । महान् शहीदका उज्ज्वल सपना धूलिसात् बनाउन कम्मर कसेको वर्तमान राज्यसत्ता धराशायी बनाउन जनता एकजुट हुन अनिवार्य छ । शहीद दिवसले सबैमा सद्बुद्धि दिऊन् । जय शहीद ! जय युद्धदवीर ! ! (सन्दर्भ: शहीददिवस २०७७)


Views: 136