17th April | 2021 | Saturday | 1:16:50 AM

होम स्टे, रुद्रमान र सिरुबारी

युवराज पौडेल   POSTED ON : माघ १७, २०७७ (१:३३ AM)

होम स्टे, रुद्रमान र सिरुबारी

पहिले पहिले पाहुनाहरूले कतै यात्रा गर्दा वा घुमफिर गर्दा आजका जस्ता होटल लजहरू हुँदैनथे । गाउँघरतिर यात्रा गर्दा त झनै समस्या हुन्थ्यो । तर, त्यतिबेला पाहुनाहरूलाई बस्न सजिलो होस् भनेर ठाँटी बनाइन्थ्यो, पौवा बनाइन्थ्यो । यात्रुहरू त्यस्तै ठाउँमा ओत लाग्थे । गाउँमा मानिसहरूले बास दिन गाह्रो मान्दैनथे । पाहुनालाई देवता समान सम्मान गर्ने हाम्रो मौलिक संस्कार नै हो । ‘अतिथि देवो भव’ हाम्रो संस्कृतिको मूल मन्त्र हो । रातसाँझमा आएका पाहुनालाई जसरी बास दिने, मीठो नमिठो एक छाक खान दिने, पिँढीमा गुन्द्री ओछ्याइदिने र आतिथ्यपूर्ण व्यवहारद्वारा सम्मान गर्ने नेपाली संस्कारको नयाँ संस्करण हो–होम स्टे अर्थात् घरबास । 

सिरुबारी होम स्टेको नाम नसुन्ने मानिस सायदै होलान् । सिरुबारी गाउँ नेपालको पहिलो ग्रामीण पर्यटकीय गाउँ हो । यो नेपालको मात्र होइन, दक्षिण एसियाको पहिलो सामुदायिक होम स्टे हो । जतिबेला सिरुबारीमा होम स्टे स्थापना हुँदै थियो, त्यतिबेला नेपालका धेरै मानिसहरूलाई होम स्टेको बारेमा केही थाहा नै थिएन । ग्रामीण विकासको महŒवपूर्ण आधार होम स्टे हो भन्ने कुरा धेरै विकासवादीहरूलाई थाहै नभएका बेलामा भारतीय पूर्वक्याप्टेन तथा पूर्वसांसद रुद्रमान गुरुङको दिमागमा विसं २०४८ सालभन्दा अगाडि नै सिरुबारी होम स्टे मोडेलको हुटहुटी चलिसकेको थियो । उनको त्यो हुटहुटीले अन्ततः विसं २०५४ सालमा मात्र सार्थकता प्राप्त ग¥यो । 

स्वर्गीय क्याप्टेन रुद्रमान गुरुङ विसं २०४८ सालमा सांसद भएपछि त्यतिबेला रेडियो नेपालमा आउने ‘सांसद फोन इन’ कार्यक्रममा एकजना प्रश्नकर्ता (जनता) ले ‘चामल महँगो भयो अब के खाने ?’ भनेर सोधे । गुरुङले जवाफ दिए, ‘चामल महँगो भए ढिँडो खानोस् । ढिँडो खाए भइहाल्छ नि ।’ यो अभिव्यक्तिलाई त्यतिबेला कतिपय मिडियामा एक सांसदको गैरजिम्मेवार भनाइका रूपमा समेत प्रस्तुत गरियो । प्रतिपक्षीलाई राजनीतिक मसला बन्यो । तर, अहिले झण्डै दुई दशकपछिको समयमा उभिएर हेर्दा गुरुङले बोलेको उक्त कुरा धेरै अर्थपूर्ण लाग्छ । सायद अहिले आएर थाहा हुँदैछ, उनले बुझेर नै त्यो कुरा भनेका हुन् । 

उनको चेतनाको त्यो स्तरलाई हामी धेरैले त्यतिबेला बुझेनौँ कि भन्ने लाग्छ । अहिले राजधानीका तारे होटलदेखि चर्चित होम स्टेहरूको मुख्य परिकार बन्दै गरेको छ, कोदोको ढिंडो र रोटी । उनले भन्न खोजेको कुरा ‘जहाँ जे उत्पादन हुन्छ, त्यहाँ त्यही वस्तुलाई उपभोगको मुख्य आधार बनाउनुपर्छ’ भन्ने हो । यो कुरा आज जैविक विविधताका क्षेत्रमा काम गर्नेहरूले जोडतोडका साथ उठाइरहेकै विषय हो । आफ्नो ठाउँमा उत्पादन भएको महŒवपूर्ण वस्तुलाई उपेक्षा गरेर आफूसँग नभएको कमसल वस्तु खोज्नु अशिक्षाबाहेक केही होइन । 

हाम्रा बारीमा जहाँ पनि सजिलै फल्ने कोदाको परिकारलाई कुअन्न भनेर उपेक्षा गर्ने प्रवृत्तिप्रति र खानेकुरा भनेकै भात हो भन्ने रुग्ण चिन्तनप्रति गुरुङले गम्भीर व्यंग्य गरेको कुरा अहिले बल्ल बुझिँदै छ । आफ्नो ठाउँको उत्पादनलाई जोड दिनु, त्यसको उपभोगलाई जीवनमा जोड्नु भनेको अन्ततः चामलको भोकमरीबाट सिर्जित समस्याको समाधान गर्नु हो । जैविक विविधता र स्वास्थ्यका दृष्टिले उक्त तथ्य वैज्ञानिक नै ठहर्छ । यसरी हेर्दा गुरुङको सोच निकै दीर्घकालीन थियो ।

सिरुबारी होम स्टेका प्रणेता अर्थात् ग्रामीण पर्यटनका पिता भनेर चिनिने रुद्रमान गुरुङको गाउँ सिरुबारी पुग्न सिद्धार्थ राजमार्गबाट पोखरा हुँदै स्याङ्जा जाने बाटोबाट नागडाँडा भन्ने ठाउँबाट पश्चिमतिर लाग्नुपर्छ । नागडाँडा, सेतीदोभान, निबुवाबोट, बेझाङ हुँदै सिरुबारी पुगिन्छ । अर्काे बाटो सिद्धार्थ राजमार्गको बाडखोलाबाट सतौं हुँदै जाने बाटो छ भने सेतीदोभान–कार्किनेटा–घण्टे हुँदै जाने बाटो छ । सबैभन्दा सहज नागडाँडा सेतीदोभान बेझाङ हुँदै सिरुबारीको बाटो छ । 

समुद्री सतहबाट करिब १ हजार सय १० मिटरको उचाइमा रहेको सिरुबारी सुन्दर गुरुङ बस्ती हो । ३९ घरबाट सुरु गरिएको सिरुबारी होम स्टेमा अहिले भने होम स्टेका रूपमा १७ घरहरूमात्र छन् । यो गाउँमा पछिल्लो समय आधुनिकताको प्रभाव पर्दै गएको छ । अधिकांश लाहुरेहरू भएको यहाँका मानिसहरू प्रायः पोखरा र काठमाडौंमा बस्छन् । कतिपय बेलायत, अमेरिका आदि ठाउँमा छन् । बाहिर भएका र विदेशमा भएकाले पनि गाउँको विकासमा निरन्तर हातेमालो गरिरहेका छन् । प्रत्येक अभियानमा उनीहरूको पनि सहयोग रहेको छ । नव युवाक्लब र बुद्ध आमा समूहको अभियानलाई उनीहरूले जहाँ बसे पनि सहयोग गरिरहेका छन् । 

चिटिक्क परेको बस्ती हो, सिरुबारी । ढुंगाका छानो, ढुंगाकै गाह्रो, ढुंगाकै पर्खाल हेर्दा स्थानीय प्रकृतिको र स्थानीय जनशक्तिको सुन्दर प्रयोग गरिएको देखिन्छ । कलात्मक तरिकाले कुँदिएका ढुंगाहरूको बाटो चारैतिर देख्न सकिन्छ । घरका आँगनमा समेत ढुंगा छापिएका छन् । गाउँमा होम स्टेका पिता स्वर्गीय रुद्रमान गुरुङको सालिक बनाइएको छ । बुद्धको मूर्ति बनाएको भए पनि विसं २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि फेरि त्यसको भव्य पुनर्निर्माण गरिएको छ । गाउँमै पर्यटन भवन छ, गुरुङ संग्रहालय छ । गुरुङ संग्रहालयमा गुरुङ जातिका सांस्कृतिक परिचय जनाउने वस्तुहरू संगृहित गरिएको छ । 

सिरुबारी गाउँदेखि पन्ध्र–बीस मिनेटको बाटोमा सिँढी चढेपछि ‘पञ्चमूल–सिरुबारी भ्यु टावर’ आउँछ, जहाँबाट वरिपरिको मात्र होइन, अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरि र लमजुङ हिमालका लर्कनहरू स्पष्ट देख्न सकिन्छ । दृश्यावलोकनका लागि यो टावर महŒवपूर्ण छ । आकाश खुलेको दिन यहाँबाट धेरै ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । गाउँनजिकै पञ्चमूलमा त्रिशहीद प्राविधिक माध्यमिक विद्यालय छ, जहाँ कम्प्युटरलगायत विभिन्न प्राविधिक विषयमा पढाइ हुन्छ । गाउँका बारीहरूमा सागसब्जी, तरकारी, कोदो, फापर लगाइएको छ । यहाँका गाउँलेहरूले उत्पादन गरेको अर्गानिक खानेकुरा होम स्टेहरूका पाहुनालाई खुवाइन्छ । कोदाको ढिँडो, कोदाको रोटी, कोदाको जाँडको स्वाद लिन चाहनेहरूले यहाँ मज्जा लिन सक्छन् । 

यहाँ जानका लागि पहिले नै सम्पर्क गरेर गइयो भने धेरै सजिलो हुन्छ । गाउँमा आउने पाहुनाहरूलाई स्वागत गर्न दिदीबहिनीहरू फूलका माला लिएर जुट्छन् । स्वागत गरिसकेपछि बुद्धको मूर्तिमा परिक्रमा गराउने चलन छ । बुद्धको मुर्तिमा दर्शन गराएपछि पाहुनाहरूलाई शुभ हुन्छ भन्ने विश्वास उनीहरूमा छ । त्यसपछि उनीहरूलाई जलपान गराइन्छ । त्यसपछि होम स्टे व्यवस्थापन समितिका सदस्यहरूले पाहुनाहरूलाई यहाँको विशेषता र पाहुनाहरूका आचारसंहिताका विषयमा ब्रिफिङ गर्छन् । 

अनि पाहुनाहरूलाई बाँडेर घरमा राखिन्छ । बेलुका पाहुनाहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम हुन्छ, जहाँ सालैज्यूका भाकाहरू घन्कन्छन्, रोइलाको मृदुलयमा गाउँ नै रन्किन्छ । गुरुङ ठिटाठिटीहरूको जोसिलो नृत्यले सारा थकान मेटाइदिन्छ । नाच्न र गाउन ढंग हुने पाहुनालाई पनि सम्मानका साथ अवसर दिइन्छ । ती रोदीका भाकाहरूमा कतै पनि कृत्रिमता हुँदैन, सरलता, सहजता, मौलिकता र प्राकृतिकपन तिनको आफ्नोपन हो । 

गाउँको सबैभन्दा महŒवपूर्ण पक्ष भनेको गाउँलेहरूको आत्मीय र आतिथ्यपूर्ण व्यवहार हो । न्यानो माया र हार्दिकतापूर्ण शैलीबाट पाहुनाले आफ्नो परिवारमा सँगै बसेको अनुभूति गर्न सक्छन् । सहरबजारको कोलाहलबाट थाकेर प्रकृतिको खोजी गर्दै जानेहरूको लागि होस् वा रुसोको ‘ब्याक टु नेचर’ को मर्मलाई बुझेर जानेहरूका लागि सिरुबारीको एकान्तपनले वास्तवमै छुट्टै भूस्वर्गको अनुभूति गराउँछ । गाउँको जीवन र प्रकृतिको सामिप्यभित्रको रहस्यमा डुब्न चाहने ध्यानीहरू, आध्यात्मिकहरूका लागि समेत यो उत्तम आश्रयस्थल हो । गाउँदेखि केहीमाथि डहरे देउरालीको डाँडामा मन्दिर छ, आश्रम छ, जहाँ बालाचर्तुदशीको दिन भव्य मेला लाग्छ । 

यहाँको अर्काे विशेषता भनेको सफासुग्घर वातावरण हो । सिरुबारी प्रवेश गर्ने ठाउँदेखि पूरै गाउँ वरिपरि जता डुले पनि एउटा फोहोरको सानो टुक्रासमेत देख्न पाइँदैन । बाटाबाटामा डस्टबिनहरू राखिएका छन् । फोहोर नगर्न सचेत गराउने होडिङबोर्डहरू राखिएका छन् । घर आँगन त्यस्तै सफा छन् । भान्सा, सुत्ने कोठा, विस्तारा, शौचालय सबै चिरिच्याट छन्, व्यवस्थित छन्, सफा छन् । यो संस्कृति स्वर्गीय रुद्रमान गुरुङकै पालादेखि भएको गाउँलेहरू बताउँछन् । गाउँमा सोलार प्यानलहरू जडान भएपछि झिलिमिली छ गाउँ । पछिल्लो समय बुद्धिजीवी तथा पूर्वसांसद प्रा.डा.गणेशमान गुरुङले सिरुबारीको विकास र समुन्नतिको नेतृत्व गर्नुभएको छ । 

सिरुबारीमा प्याराग्लाइडिङको सम्भावना छ । त्यतिमात्र नभई यहाँमाथिको तालपोखरी भन्ने ठाउँमा स्विमिङ पुल बनाएर डुङ्गा चलाउन सकिन्छ । यहाँ मौरीपालन, स्थानीय जातका कुखुरापालन, व्यावसायिक तरकारीखेतीको ठूलो सम्भावना छ । ‘होम स्टे पाठशाला’का रूपमा सिरुबारीलाई विकास गर्न सकिने सम्भावना छ । देशभरिबाट होम स्टेका बारेमा बुझ्न र जान्न चाहने मानिसहरू आउने गरेका छन् । यहाँबाट थुप्रै होम स्टे ट्रेनिङहरू चलाइएको छ । यो ‘होम स्टे स्कुल’ का रूपमा विकास भइरहेको छ । 

आज मुलुकभर च्याउझैँ होम स्टेहरू फैलिरहेका छन् । होम स्टेको आफ्नो मौलिकतालाई तिनले प्रदर्शन गर्न सक्छन् कि सक्दैनन्, तिनले आफ्नो निजात्मकता देखाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा अहम् बनेको छ । बजारकै वस्तु, बजारकै शैली, बजारकै आयातीत संस्कृति, सबै कुरा बजारकै हुने तर नाम होम स्टे राख्ने हो भने त्यसको कुनै औचित्य रहँदैन । 

पछिल्लो समय धेरै ठाउँमा खुल्दै जाँदा कतै घरबास वा होम स्टेको मौलिकतामार्फत् ग्रामीण विकासमा क्रान्ति गर्ने रुद्रमानको सपना अर्कै दिशातिर बरालिन थालेको त होइन भन्ने आशंका बढ्दै गएको छ । आधुनिकताको तीव्र प्रभाव र उपभोक्तावादी संस्कृतिको चेपुवामा पर्दै जाँदा गाउँको मौलिकता हराउँदै गएको छ । युवाहरू विदेशिएका छन् भने गाउँ उजाड भइरहेका छन् । सिरुबारी पनि यो प्रवृत्तिबाट अछुतो भने छैन 

। 


Views: 891