17th April | 2021 | Saturday | 2:52:00 AM

श्रीस्वस्थानी व्रत र १०८ वस्तु अर्पणको महिमा

नारायणप्रसाद निरौला   POSTED ON : माघ १९, २०७७ (८:५८ AM)

श्रीस्वस्थानी व्रत र १०८ वस्तु अर्पणको महिमा

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानी व्रत धारण गरिन्छ । चान्द्र मासअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना हुन्छ । सोही महिना दिनसम्म आद्य शक्ति श्रीस्वस्थानी भगवतीको उपासना गर्ने विधिविधान रहेको छ । आद्यशक्ति भगवतीको उपासना गरी इच्छित मनोकामना पूरा हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । 

श्रीस्कन्दपुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्य वर्णन गर्ने क्रममा श्रीस्वस्थानी व्रत कथाको महिमा गान गरिएको छ । परापूर्व कालदेखि नै माघ स्नान गरी श्रीस्वस्थानी भगवतीको व्रत उपासना एवं कथा श्रवण गर्ने चलन रहिआएको पाइन्छ । लोक परम्परामा कतिपय विधि विधानमा लौकिक छनक देखिए पनि मूल रूपमा आद्य शक्ति भगवतीको उपासा नै श्रीस्वस्थानी व्रतकथाको मुख्य उद्देश्य हो । 

व्रतारम्भ विधि 

पौष शुक्ल पूर्णिमाका दिन नदी, तलाउ वा कुवा वा शालीनदीमा गई स्नान गर्नुपर्दछ । घरमा आई दीप, कलश, गणेश पूजनपूर्वक श्रीस्वस्थानी भगवतीको प्रतिमा स्थापना गरी विधिपूर्वक पूजा सामग्री सम्पादन गर्नुपर्दछ । सोपश्चात् मनोकमना पूरा होऊन् भन्दै कुश, तील जलसहित प्रतिज्ञा संकल्प गर्नुपर्दछ । सोपश्चात् दीप, कलश गणेशजीलगायत श्रीस्वस्थानी भगवतीको पाद्य, अर्घ, आचमनी जल, स्नानीय जल, शुद्धजल, पञ्चामृत, मधुपर्क, चन्दन, अक्षता, पुष्प, माला, धूप, दीप, फल, नैवेद्य, आदि षोडशोपचारले पूजा गर्नुपर्दछ । यसरी श्रीस्वस्थानी भगवतीको पूजा गर्दा श्रीस्वस्थानी भगवत्यै नमः भन्नुपर्दछ । यसका साथै ॐ नमः शिवाय भन्ने मन्त्रको जप पनि गर्न सकिन्छ । 

यसपछि श्रीस्वस्थानी व्रतकथा पुस्तकको पूजा गरी फल नैवेद्यादि अर्पण गरेर पुस्तकमा बताएनुसार विभिन्न देवीदेवताको प्रार्थना गर्नुपर्दछ । सोपश्चात् एकभक्त भई, चित्त स्थिर गराई हातमा फूलपाती लिई कथा श्रवण गर्नुपर्दछ । कथा समापनपश्चात् भगवान्का स्तुति प्रार्थना गरी पुस्तकलाई ढोगी प्रसाद ग्रहण गर्नुपर्दछ । 

यो क्रम महिना दिनसम्म नित्य गर्नुपर्दछ । माघ शुक्लपूर्णिमाका दिन विधि विधानपूर्वक थालीमा श्रीस्वस्थानी भगवतीको प्रतिमा स्थापना गरी अक्षता, वेलीपुष्प, जनै, पान सुपारी, तिल, जौ, रोटी, बत्ती आदि वस्तु एक सय आठका दरले चढाउनुपर्दछ । सोपश्चात् पूर्णपात्रो, आरति पुष्पाञ्जलि गरी व्रतको समापन गर्नुपर्दछ । यसरी गरिएको व्रत धारण पूर्णफलदायी रहने गर्दछ । 

१०८ वस्तु अर्पणको महिमा

श्रीस्वस्थानी व्रतको समापनमा १०८ बेलीपुष्प, रोटी, सुपारी आदि वस्तु अर्पण गर्नु भन्नुको विशेष महिमा छ । यो व्रत परिपूर्णका निम्ति निर्देश गरिएको हो । हाम्रो यो विश्व ब्रहृमाण्ड नै १०८ मा परिपूर्ण भएको छ । किनकि १०८ भनेको परिपूर्णताको द्योतक हो । श्रीस्वस्थानी व्रत धारणमा १०८ वस्तुको प्रयोग गर्नुका पछाडि पनि पूर्ण ब्रहृमको रहस्य रहेको छ । जसले परिपूर्णता प्रदान गर्ने भएकाले १०८ संख्याका वस्तु अर्पण गर्नु भनिएको हो । जो परमात्माप्रतिको साक्षत्कार पनि हो । 

श्रीस्वस्थानी भगवती भनेकी आद्यशक्ति हुनुहुन्छ । जसलाई ब्रहृम पनि भनिन्छ । ब्रहृम शब्द ब+र+ह+म चारवटा अक्षरले बनेको छ । जसको वर्णानुक्रम अंक २३+२७+३३+२५= १०८ हुन्छ । १०८ का पनि तीन अंकको योग १+०+८ = ९ हुन आउँछ । अंकमध्ये सबैभन्दा ठूलो ९ हो । किनकि ९ भन्दा अर्को ठूलो अंक छैन । ९ अंकमा नै संख्या परिपूर्ण वा अनन्त हुन्छन् । यसरी नौ अंकका पछाडि पनि आद्य भगवतीका मुख्य लीलावतारकै प्रसंग जोडिएको पाइन्छ । यसैको प्रतीकका रूपमा नवदुर्गा भगवतीको उपासना गरिन्छ । 

यसैगरी महादेवका पनि मुख्य १०८ नाम र स्वरूप रहेका छन् । शिव (कल्याण स्वरूप), महेश्वर (माय स्वरूप), (शम्भु (आनन्द स्वरूप), पिनाकी (धनुषधारी स्वरूप), शशिशेखर (चन्द्रमा जस्तै दीप्त स्वरूप) आदि । यसरी भगवान् १०८ स्वरूपले परिपूर्ण अर्थात् पूर्ण ब्रहृम महेश्वर हुनुहुन्छ । श्रीस्वस्थानी व्रतमा पनि महेश्वर भगवान्को उपासना गरिने भएकाले व्रत परिपूर्णताका निम्त १०८ वस्तु अर्पण गर्नू भनिएको हो । 

यसैगरी महादेवका पनि मुख्य १०८ नाम र स्वरूप छन् । शिव (कल्याण स्वरूप), महेश्वर (माय स्वरूप), शम्भु (आनन्द स्वरूप), पिनाकी (धनुषधारी स्वरूप), शशिशेखर (चन्द्रमा जस्तै दीप्त स्वरूप) आदि । यसरी भगवान् १०८ स्वरूपले परिपूर्ण अर्थात् पूर्ण ब्रहृम महेश्वर हुनुहुन्छ । यसैले गर्दा शिवजीको उपासनामा पनि १०८ को संख्या प्रयोग गरिएको हो । 

ज्योतिषशास्त्र नवग्रहले परिपूर्ण भएको छ । जसअन्तर्गत सूर्य, चन्द्रमा, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु पर्दछन् । यो ब्रहृमाण्डलाई १२ भागमा विभाजन गरी १२ वटा राशिको संज्ञा दिइएको छ । प्रत्येक राशिमा नक्षत्रका नौवटा अक्षर रहने गर्दछन् । जस्तै मेष राशि हुने व्यक्तिको नाम चू चे चो ला, ली, लु ले लो, अ यी नौ अक्षरबाट उठ्ने गर्दछ । यसरी १२ राशिका प्रत्येक ९ वटा अक्षरले १२× ९=१०८ संख्या हुन्छ । जो परिपूर्णताको द्योतक हो । 

यसैगरी नक्षको संख्या २७ रहेको छ । एक नक्षत्रमा चार चरण हुने गर्दछन् । यसरी हेर्दा २७ नक्षत्रमा २७ × ४=१०८ हुन आउँछ । अर्थात् भनौ ज्योतिष शास्त्रमा पनि १०८ संख्याले नै परिपूर्णता प्रदान गरेको छ । हाम्रो नामका अक्षर पनि यिनै १०८ अक्षरमध्येबाट नै हुने शास्त्रीय व्यवस्था छ । 

यसैगरी हामीले हरेक देवी देवताको पूजामा पनि १०८ वस्तुको प्रयोग गर्नुको रहस्य पनि यही परिपूर्णताका निम्ति नै हो । १०८ भन्नु नै ९ हो । जो हरेकमा परिपूर्ण छ । 

यसैगरी वेदको पूर्ण ज्ञानका निम्ति पनि १०८ कै प्रयोग गरिन्छ । ९, १०८ र १ हजार ८ भन्नु कुरो एउटै नै हो । जसको एउटै अर्थ परिपूर्णता वा ईश्वर भन्ने हुन्छ । ज्योतिश्चक्र, नक्षत्र, राशि, काव्य शास्त्र, तन्त्र, आदिमा पनि १०८ को विशेष महिमा रहेको छ । कार्यमा सिद्धिका साथै परिपूर्णता प्रदान गर्ने भएकाले व्रतको पूर्णतका निम्ति १०८ वस्तु अर्पण गर्नू भनिएको हो । 

श्रीस्वस्थानी व्रत कथाको महिमा 

श्रीस्वस्थानी व्रत कथा इतिहासमा घटेको वास्तविक घटना हो । इतिहासको विकासक्रममा परापूर्व कालमा घटेका घटनालाई उदाहारणका रूपमा व्यक्त गरिएको उक्त कथालाई आजको सन्दर्भमा बुझ्नुपर्दछ । तत्कालीन समयमा गोमा ब्रहृमणी, शिवशर्मा जस्ताको विवाह सामान्य मानिन्थ्यो । यसैगरी नवराज जस्ता व्यक्ति पनि व्रतको प्रभावले राजा भएका थिए । हिजो जे थियो आज पनि त्यही रहँदैन । किनकि समय गतिवान् र परिवर्तनशील छ । समयसँगै हरेक विषयवस्तुहरू परिवर्तित भइरहेका हुन्छन् । त्यसैले इतिहासका उक्त कथाका माध्यमबाट आजको जीवनलाई सही मार्गमा अघि बढाउनुपर्छ । व्रतको प्रभाव अवश्यमेव पर्ने गर्दछ । आजको सन्दर्भअनुसार फल पनि प्राप्त गर्न सकिन्छ । 

श्रीस्वस्थानीको व्रतमा आद्या शक्ति भगवतीको उपासना गरिन्छ । आद्य शक्ति भगवतीको उपासना पद्धतिमध्ये माघ स्नानपूर्वक गरिने आराधना पनि एक विशिष्ट पद्धति हो । श्रीस्वस्थानी भगवतीको उपासना गर्नाले इच्छित वर प्राप्त हुने कुरा शास्त्रमा फल वर्णन गरिएको छ । श्रीस्वस्थानीको कथा सर्वोपयोगी र सर्वहितकारी रहेको छ । स्कन्ध पुराणको माघ माहात्म्यअन्तर्गत कुमार अगस्त्य संवादको कथा प्रसंग नै कथाको आदि स्रोत हो । पार्वती पुत्र कुमार र अगस्त्य ऋषिको संवादमा उक्त कथा आधारित छ ।

यस कथामा आद्य शक्तिको विशेष महिमा गान गरिएको छ । चराचर जगत्का नियन्ता भगवान शिव र पार्वतीको कथा प्रसंग नै श्रीस्वस्थानीको मूल आख्यान हो । महिनादिनसम्म विधिपूर्वक कथा श्रवण गर्नाले मनोकामना पूरा हुने कुरा श्रीस्वस्थानी व्रतकथामा समेत उल्लेख पाइन्छ । 

संसार के हो ? यो चराचर जगत्का नियन्ता को हुन् ? किन हामीले व्रत उपासना गर्नुपर्छ ? व्रत उपासनाले के फल पाइन्छ ? यसको निन्दा गर्नाले कस्ता दुःख र कष्ट भोग्नुपर्छ भन्ने कुराको ज्ञान विभिन्न कथामा व्यक्त गरिएको छ । विशेषतः चित्त शुद्ध गरी परमेश्वरप्रति भक्ति भाव व्यक्त गर्नाले यो लोकमा सुुख शान्ति प्राप्त हुनुका साथै परलोकमा पनि उत्तम गति प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ । 

श्रीस्वस्थानी व्रतकथाको श्रवणले यो चराचर जगत्को विशद ज्ञान हासिल गर्न सकिन्छ । ब्रहृम, ब्रहृमाण्ड, भूगोल, द्वीप, समुद्र आदिको बारेमा विस्तृत व्याख्या श्रीस्वस्थानी कथामा उल्लेख गरिएको छ । सृष्टिकर्ता ईश्वर, पालन कर्ता पनि उनै महेश्वर अनि संहार कर्ता पनि उनै शंकर हुन् । भगवद् भक्तिविना संसारबाट पार पाउँन सकिँदैन भन्ने कुरा कथामा व्यक्त गरिएको छ । 

यसैगरी यो संसरको सृष्टिसम्बन्धी सांख्य शास्त्रीय मत कथामा प्रस्तुत गरिएको छ । आद्य वस्तु प्रकृति र पुरुषको संयोगबाट संसारको सृष्टि भएको कुरा आजको भौतिकवादले स्वीकार गरेका छन् । सम्पूर्ण, भू, भुर्व, स्व, मह, जन, तप, सत्य लोकको व्यवस्थाका साथै अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पातालकोको वर्णन कथाले विस्तृत रूपमा गरेको छ । भूगोलको विशेष ज्ञान श्रीस्वस्थानी कथाबाट पनि प्राप्त गर्न सकिन्छ ।

 यसैगरी काल अर्थात् समयको व्यवस्थिति, सत्य, त्रेता, द्वापर, कलियुगको प्रसंग, ब्रहृमाको आयु देवताको आयु अनि मनुष्यको आयुको बारेमा विशेष ज्ञानवर्धक कुराहरू कथाका माध्यमले प्रस्तुत गरिएको श्रीस्वस्थानी व्रतकथाबाट थुप्रै ज्ञानराशि हासिल गर्न सकिन्छ । सरल भाषा शैलीका मध्यमबाट साधारणदेखि विद्वान्सम्मका लागि मननीय कुराहरू श्रीस्वस्थानी कथामा रहेकाले यो व्रत सबैले धारण गर्न र कथा श्रवण गरी ज्ञान हासिल गर्न उपयोगी सिद्ध हुने देखिन्छ । आध्यात्मिक ज्ञानका साथै भौतिक विषयवस्तुको पनि विशद विवेचना भएकाले कथा सबैले श्रवण गर्न योग्य छ । कथा श्रवण गर्नाले उत्तम फल पाइने भएकाले पनि यसको महिमा दिनानुदिन बढ्दै गएको हो । मानवलाई सही मार्गमा हिँड्न अभिप्रेरित गरिएको कथा श्रवणीय छ । हरेक वस्तुका नकारात्मक र सकारात्मक पाटा हुन्छन् । समयको सान्दर्भिकताका आधारमा श्रीस्वस्थानी व्रतकथालाई हामीले बुझ्नुपर्छ । यो कथामा नकारात्मकभन्दा पनि सकारात्मक कुराहरू थुप्रै रहेका छन् । त्यसैले गर्दा आज पनि हरेकका घर घरमा श्रीस्वस्थानी व्रत कथा गुञ्जयमान भइरहेका छन् । शरीर शुद्धिका लागि स्नान, चित्त शुद्धिका लागि कथा अनि व्यवहार शुद्धिका लागि आचरणको व्यवस्था भएको श्रीस्वस्थानी व्रतकथाको महिमा छ । (लेखक ज्योतिषाचार्य, वास्तुविद् हुन्)


Views: 107