17th April | 2021 | Saturday | 1:37:19 AM

पार्टीहरूले विवेक गुमाउँदा जनताले विवेक पु-याउनुपर्छ

प्रा.देवीभक्त ढकाल   POSTED ON : माघ २०, २०७७ (९:१९ AM)

पार्टीहरूले विवेक गुमाउँदा जनताले विवेक पु-याउनुपर्छ

नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरूबीच विगतमा भएको एकताको अभूतपूर्व सफलतालाई संसारभरका कम्युनिष्ट जगतमा २०७७ पुस ४ गतेसम्म उदाहरण बनेको थियो । ऐतिहासिक नामाकरण गरिएको एकीकरण नै बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टीका समर्थकसमेतले सधैं गर्व गर्दा नथाक्ने एकीकृत नेपाल कम्युनिष्ट पार्टी व्यवहारतः र कानुनतः २०७७ पुस ५ गते संसद विघटनको घटनाले विभाजनको संघारमा उभिएकाले दुवै पक्षले राजनीतिक व्यापारका लागि त्यसै दिनदेखि औपचारिक रूपमै कार्यकर्तालाई व्यवस्थापन गर्ने दुई फरकफरक नयाँ स्थान बनाएका छन् । 

दुवैतिर आकर्षण गर्ने विज्ञापनको प्रतिस्पर्धा नै कम्युनिष्टहरूको विशेष क्षमता योग्यता हो भन्ने धारणा सार्वजनिक गरेका छन् । अहिले नेपाली कम्युनिष्ट राजनीतिलाई पन्ध्र असार लागेको छ । सिजनमा मिहिनेत नगरे भोलि सरकारमा गएर ढुकुटी लुट्न पाइँदैन भन्ने कुरा बुझ्नेहरूका लागि यो जीवन र मरणको लडाइँ हो । अहिले चटारो छ । हिजोका जिग्री दोस्तहरू, पचासौं वर्ष कम्युनिष्टहरूले शासन गर्छ भनेर सामूहिक हुंकार गर्नेहरू आज एकले अर्कोलाई झटारो हान्ने असभ्य, अश्लील भाषा र शैलीले समाजलाई सदीयौं पछाडि धकलेको छ । 

गालीगलौजमा यसरी उत्रिए कि छुद्रता र निकृष्टताको सीमा नै राखेनन् ? सायद यस्तै कारणले होला कम्युनिष्ट राजनीतिलाई विश्वमै गाली र हत्या हिंसाको राजनीतिको नाममा बुझ्नेहरूको संख्या अधिक छ । नेपाली कम्युनिष्ट राजनीतिका केही लालमोहरियाले कम्युनिष्ट पार्टीमा विगतमा काम गरेका र भोट हालेकाहरू र अन्य पार्टीका असन्तुष्टहरू, पदलोलुप र राजनीतिका मुनाफाखोरलाई खोरखोर भन्दै आआफ्ना गोठमा हुल्न थालेका छन् । विचराहरू एउटा खोरबाट अर्को खोरतिर बोलाउन विभिन्न प्रलोभनका हरिया स्याउलाहरू देखाएर आमजनतालाई दिग्भ्रमित गर्दैछन् । मानिसलाई लोभ र दबाबमा पारेर गर्ने राजनीति कहिल्यै प्रजातान्त्रिक हुन्छ ? तानाशाहहरू प्रजातान्त्रिक आवरणमा स्वार्थ पूरा गर्न छचन्डाएको देख्दा यिनीहरूको राजनीतिक जनाधारले कुरीकुरी गरेको छ ।

नेपालका पार्टीहरूको नेतृत्व पंक्ति कुनै पनि राम्रो, इमानदार, जनताप्रति उत्तरदायी नभएको कुरा समयक्रममा सबैले व्यवहारबाट पुष्टिमात्र गरेनन् प्रमाणित नै गरेका छन् । उनीहरूको ध्यान धन, पद, नातागोता र गुटलोलुप भएकाले देश र जनतालाई सुशासन दिनै चाहेनन् । सुशासनको दृष्टिकोण, चाहना र संस्कार नै नभएकाबाट सुशासनको आशा गर्नुपर्ने अवस्था नेपालीहरूको स्थायी दुर्भाग्य भन्नुपर्छ ।

देशले संविधानतः दलीय शासन व्यवस्था अंगीकार गरेकाले बहुदलीय व्यवस्थामा अहिलेको परिस्थितिमा पार्टीहरूको विकल्प पनि नहुने हुँदा देशको शासनभार समाल्न खराबहरूमध्येकै कम खराब पार्टी रोज्नुपर्ने अवस्था भने नेपाली जनताको बाध्यात्मक विडम्बना नै भन्नुपर्छ । अहिले खराबहरूमध्ये कम खराब रोज्नुपर्ने बाध्यात्मक अवसर सिर्जना भएको छ । अन्यको तुलनामा थोरै इमानदारीताको बाटो अवलम्बन गर्नसक्छ कि भन्ने अन्तिम आशा र भरोसा अब जनताको कांग्रेसमा छ । 

कम्युनिष्टहरूको झुट र भाँडभैलोले अनायास सिर्जना गरेको परिस्थिति हो यो । वर्तमान सन्दर्भमा कांग्रेसले आफूलाई समयसापेक्ष सुधार गरेको खण्डमा अबको राजनीतिमा अभिभावकीय भूमिका कांग्रेसकै रहनसक्ने समभावना छ । त्यसलाई कांग्रेसले कसरी व्यवस्थापन गर्छ त्यो समयक्रममा देखिनेछ । कांग्रेसले आफ्नो इतिहासप्रति थोरै इमानदारीता प्रदर्शन गर्न छिट्टै गृहकार्य गर्नुपर्ने बेला आएको छ । 

कम्युनिष्टहरूको एकता र दम्भ सिसाझँै चकनाचुर भएको अवस्थाबाट कांग्रेसले पाठ सिक्दै पार्टीका कार्यकर्ता र मतदातालाई समेटन अब नयाँ शैली र चरित्रको सांगठनिक एकता र समझदारी प्रदर्शन आजको मुलभूत आवश्यकता हो । जनताको प्रजातान्त्रिक हकको संरक्षण र आर्थिक सुदृढीकरणको फराकिलो राष्ट्रिय स्वार्थसँग जोडिएको विषय व्यवहारमा बुझ्ने, आत्मसात गर्ने र प्रयोग गर्ने इच्छाशक्ति कांग्रेसको नेतृत्वमा ढिलै भए पनि विकास हुनुपर्ने दबाब सिर्जना भएको छ । 

कांग्रेसलाई इतिहासले यति भाग्यमानी बनाएको छ कि थप मतदाता खोज्न पर्दैनमात्र सबैलाई समेटन सक्यो भने उसलाई निर्वाचनमा पराजय गर्ने शक्ति यो शताब्दीमा जन्मने नै छैन । मतदाताहरूलाई मतदान केन्द्रसम्म पु¥याउनमात्र कांग्रेसले सक्यो भने उसको जित निश्चित छ । कांग्रेसका नेताको व्यवहार, विलासी जीवनशैलीले कांग्रेसका कार्यकर्तालाई मतदान केन्द्रसम्म जाने जाँगर मरेको छ । कार्यकर्तालाई उत्साहित, आशावादी बनाउनुपर्नेमा सबै तहका नेतृत्व पंक्तिले चरम निराशा उत्पन्न गर्ने वातावरण नै निवाचनमा कांग्रेसको पराजयको प्रमुख कारण हो । 

कांग्रेसको नेतृत्वमा रहने र मतदाताका नजिकका कार्यकर्तालाई नमस्कार र अनुहार हसिलो गरेर बोल्नमात्र सिकाउँदा आठ÷दश प्रतिशत भोट बढ्छ भन्ने हेक्का कांग्रेसले राख्न सकोस् । कांग्रेसका नेतासँगको असन्तुष्टिका कारणले कांग्रेसलाई भोट नदिएर स्थानीय नेतासँग मतदाताले प्रतिशोध लिने रोग, परिस्थिति र मनोविज्ञानलाई कांग्रेसले थोरै ध्यान दिन सक्यो भने उसलाई मतदाताको अनिकालको सामना गर्नु पर्दैन । 

उम्मेदवारीको छनौटमा हुने धाँधली रोक्नुपर्छ । आफ्नै मतदातासँग गएर विनयशीलतापूर्वक भोट माग्नेसम्मको चरित्र र शिष्टाचार पनि अधिकांश कांग्रेसका उम्मेदवारसँग नहुँदा धेरै ठाउँमा झिनो मतले पराजित हुनुपरेको तीतो अनुभव विगतको चुनावमा कांग्रेसले गरेको विषय हो । पुरानु कार्यकर्ता, प्रतिबद्ध कांग्रेसबाहेक तस्कर, व्यापारी, नातागोता र गुटलाई टिकट दिने कामले मतदाताको मनोविज्ञानलाई कति नकारात्मक प्रभाव पर्छ भन्ने कुरा पुष्पकमल दाहाल कि छोरीलाई शेरबहादुरले दिएको समर्थनको दुष्प्रभावबाट सधैं कांग्रेसले सिक्नुपर्छ । 

विगतमा कांग्रेसको मति भ्रष्ट हुँदा सत्ताभोगको अवसर कम्युनिष्टले पाएका हुन् । त्यस्तै कम्युनिष्टहरूको मति भ्रष्ट हुँदा अहिले अप्रत्याशित मौका कांग्रेसलाई आइपरेको छ । कांग्रेसको विगतको विलासी व्यवहारले आममानिस कांग्रेसप्रति अगाध माया हुँदाहुँदै वर्तमान नेतृत्वसँग खुशी छैन । त्यसैको परिणाम हो विगत निर्वाचनमा लज्जास्पद पराजय । यस्तो परिस्थिति आफूलाई समाजवादीहरूमध्येको अग्रपंक्तिको समाजवादी र बीपीवादी हुँ भन्ने नेताहरूमा अझ बढी छ । यसको मुख्य कारण हो उनीहरूको अवैध आम्दानीको दम्भ । 

बीपीको जस्तो तरिकाले कालो टोपी लगाउँदैमा कोही पनि बीपीवादी र सक्कली समाजवादी हुन सक्दैन । सामाजवादी जीवन एउटा आदर्श चरित्र हो यो भाषण र लेखनमा होइन व्यवहारमा प्रतिबिम्बित हुने विषय हो । यो चेतनाको विकास कांग्रेस नेतृत्वपंक्तिको शुद्धीकरणको आधार हो । यो कुरा सामान्य कृषकलाई थाह छ भन्ने कुरा कांग्रेसका नेतृत्वले बुझ्नुपर्छ । मौका आउँछ पर्खँदैन र जनताले अब बारम्बार क्षमा दिने मनस्थितिमा छैनन् भन्ने कुरालाई आत्मसात गर्दै नेतृत्वमा रहेको बडप्पन, विलासी पारिवारिक जीवनजस्ता आर्थिक दम्भलाई परित्याग गर्नुपर्ने आवश्यकता देखिन्छ । यो पक्कै असान्दर्भिक हुनेछैन । 

अहिलेसम्म विकसित भ्रष्टाचार, दूराचार, परिवारवाद, नातावाद, गुटवाद, झुटवाद जस्ता तमाम विकृतिलाई परित्याग गरेर नेपाल र नेपाली जनताको हितमा कांग्रेस प्रतिबद्ध भएको सन्देश दिने काममा कांग्रेस नेतृत्व सजग बनोस् । अबको बदलिँदो परिस्थितिमा विगतमा नेता मोटाउने राजनीतिको उल्टो जनतालाई बलियो, सक्षम र समुन्नत बनाउन व्यवहारबाटै रूपान्तरण भएको सन्देश आम मतदातासम्म पुग्नुपर्छ । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयालाई व्यवहारबाट प्रमाणित गरेर कांग्रेसले प्रायश्चित्त गरोस् । कांग्रेस नेतृत्वले एकपटक देश, जनता र पार्टीको सिद्धान्तप्रति निष्ठा र सम्मानका खातिर नेता र नातेदारको मात्र कल्याणलाई स्थगित गरेर देश र जनताको एकमुष्ठ कल्याणमा आफूलाई समर्पित गरोस् ।

सिधासादा जनतालाई बटुलेर शक्ति प्रदर्शनको नाममा सडक, जनजीवनलाई अस्तव्यस्त गर्ने, युवाहरूलाई उक्साएर रेलिङ भत्काउने, असभ्य गालीगलौज गर्ने र आग्जनी जस्ता सरकारी सम्पत्तिको क्षति गर्ने विकृत राजनीतिको खेती आज फेरि सडकमा मौलाउन लागेको देखिएको छ । लाग्छ शक्तिमा हुनेहरू र निकट भविष्यमा शक्तिको सपना देख्नेहरू शक्ति छिट्टै जान्छ कि भनेर एकथरि र अर्काथरि शक्ति छिट्टै आउँछ कि भनेर बौलाएको अवस्था छ । यहाँ देशको र जनताको चिन्ता र चासो कसैलाई छैन । कोरोनाजस्तो महामारीको समयमा जनताको चासो र चिन्ता न सरकारमा हुने कम्युनिष्टले लिए न सरकार बाहिरकाहरूले नै लिए । न प्रतिपक्षले शसक्त दबाब दिन सक्यो ? 

अहिले निर्लज्जताका साथ सत्तारूढ दलका दुवै पक्ष राजनीतिलाई थप दुर्गन्धित गर्ने पूर्वयोजनाका साथ जनता जम्मा गर्न लागेको छ । सत्ता बाहिरका कम्युनिष्टलाई सत्ताधारी कम्युनिष्टले आमसभा भनेको कस्तो हुन्छ देखाइदिन्छु भन्दै राजनीतिलाई सडकमा लाजनीति बनाउन गर्ने प्रतिस्पर्धा र विकृतिको खेतीमा जनताप्रति जवाफदेही शून्यहरूको योजनामा आफ्नो उपस्थिति नजनाउन किन विवेक प्रयोग गर्दैन नेपाली जनता ? एउटा भ्रष्टलाई विस्थापित गरेर अर्का थरि झन् भ्रष्टलाई सत्तारूढ गर्न जनता किन सडकमा जाने ?

जनताले त मतदानको आधारमा नेतृत्व छान्नुपर्छ । तर उम्मेदवार छनौटमा पार्टीहरूले र निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोगले भूमिका खेल्नुपर्छ । त्यसो भयो भने परिस्थिति सप्रन्छ । यो चेतना, सद्बुद्धि, नैतिकता, इमानदारीता सम्बन्धित सबैलाई प्राप्त होस् शुभकामना ! 


Views: 239