13th April | 2021 | Tuesday | 7:22:06 PM

प्रथम गणतान्त्रिक शहीद मधेस पुत्र दुर्गानन्द झा

निनु कर्ण   POSTED ON : माघ २१, २०७७ (९:०५ AM)

प्रथम गणतान्त्रिक शहीद मधेस पुत्र दुर्गानन्द झा

निरंकुशतालाई अन्त्य गर्ने र समाजलाई स्वतन्त्र बनाउने महान योद्धाहरूको बलिदानीलाई बिर्सेर फेरि नेपालको भूमि रक्तीम बनाउने कार्य नहोस् ! वीर शहीदहरूले रगत बगाएर आएको गणतन्त्रलाई कहीँबाट पनि धमिल्याउने प्रयास उनीहरूका आत्माले कदापि स्वीकार्ने छैन । २०१७ सालको राजा महेन्द्रको राष्ट्रघाती कदमको विरोध गर्नमा पनि मधेस अग्रपंक्तिमा रहेको थियो । विद्रोहको झण्डा दोस्रो पुस्ताका अनगिन्ति तरुणहरूले उठाए । राजा महेन्द्रको सैन्य ‘कू’ पछि गिरफ्तारीबाट बचेका नेता तथा कार्यकर्ताहरू भारतमा राजनीतिक शरण लिन गए । तात्कालीन उपप्रधानमन्त्री सुवर्ण शमशेरको नेतृत्वमा पार्टीले सशस्त्र क्रान्ति गर्ने निर्णय लियो पार्टीको क्रान्ति गर्ने निर्णयबाट उत्साहित भएका युवामध्ये दुर्गानन्द झा र अरविन्द ठाकुरले राजा महेन्द्रमाथि २०१८ सालमा बम प्रहार गरेका थिए । 

विसं २०१८ साल माघ ९ गते जनकपुर धामको जानकी मन्दिरको प्रांगणमा तात्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेको अभियोगमा २०२० माघ १५ गते दुर्गानन्द झालाई मृत्युदण्ड दिइएको थियो । तात्कालीन नेपालको प्रचलित मुलुकी ऐन (१९१०) अनुसार ब्राह्मण जातिलाई मृत्युदण्ड दिने व्यवस्था नरहे पनि तात्कालीन निरंकुश शासकहरूद्वारा मुलुकी ऐन (१९१०) संशोधन गरेर भए पनि ब्राहृमण दुर्गानन्द झालाई मृत्युदण्ड दिनुपर्ने थियो । तात्कालीन राजाको गाथगद्दी ताकेर ज्यान लिन खोज्ने व्यक्तिलाई क्रुर शासकले संशोधन गरिएको मुलुकी ऐनअनुसार मृत्युदण्ड दिएका थिए । 

दुर्गानन्द झाले प्रहार गरेको बम राजा महेन्द्रलाई त लागेन तर उनी चढेको गाडीलाई क्षति पु¥यायो । दुर्गानन्द र अरविन्द दुवै पक्राउ परे । राजामाथि बम प्रहार गरी ज्यान लिन खोजेको अभियोगमा दुर्गानन्द झालाई फाँसी दिइयो । प्रथम गणतान्त्रिक शहीद स्थल बन्ने सौभाग्य धनुषालाई वीर शहीद दुर्गानन्द झाको बलिदानीले प्राप्त भएको हो । धनुषाको भूमिमा वीर योद्धाहरूको बलिदानीले पवित्रता हासिल गर्ने अवसर त दुर्गानन्द झा जस्ता वीर सपूतहरूले आफ्नो ज्यानको आहुति दिएर गर्न खोजेको हो तर बलिदानीप्राप्त भूमिलाई अपवित्र पार्नेहरूको उदयले आज फेरि पनि शहीदको बलिदानीलाई अपमान भएको छ । 

धनुषाको जटही गाउँमा विसं १९९९ वैशाख १४ गते दुर्गानन्द झा जन्मिनु भएको थियो । निरंकुुश जहानियाँ शासनको अवस्थामा गाउँको वरिपरि विद्यालयहरू हुँदैन थियो । भारतीय सीमाको उक्त गाउँमा रहेको माध्यमिक विद्यालयमा सीमा नाकामा रहेका गाउँका युवाहरू शिक्षा हासिल गर्दथ । सामाजिक स्वतन्त्रता र न्यायमूलक समाजको परम्परा स्थापित गराउने उद्देश्य थियो दुर्गानन्द झाको । गणतान्त्रिक प्रणालीको पक्षधर युवा दुर्गानन्द झा त्यसका लागि अत्यन्तै सक्रियता देखाउने गर्थे । 

राजा महेन्द्रको सैत्य ‘कु’ र नेताहरूलाई धडपकडको रवैया देखेर आक्रोशित युवा आफ्नो ज्यानको बाजी लगाएरै तत्कालको प्रतिबन्धित समयको आगोमा कुदेका थिए । त्यसबेला चालिएको क्रुर दमनमा कतिपय नेताहरू गिरफ्तारीमा परे भने कतिपय निर्वासित भएर भारतका जयनगर, ६ तौनी, हर्लाखी, उम्गाउँमा जीवन निर्वाह गर्न थाले । सो ठाउँहरूमा राजनीतिक क्याम्पहरू सञ्चालन गर्दै आन्दोलनका योजनाहरू बन्ने गर्दथे । 

विसं २०१८ माघ ९ गते विवाह पञ्चमी महोत्सवमा राजा महेन्द्रको जानकी मन्दिर दर्शन गर्ने र जनकपुरको रंगभूमि मैदान (बाह्र बिघा) मा अभिनन्दन गर्ने कार्यक्रम रहेको थियो । राजाले शासन आफ्नो हातमा लिएपछि राजधानीभन्दा बाहिर पहिलो राजकीय भ्रमण पनि थियो । 

जनकपुरलगायतको वरिपरि क्षेत्रमा व्यापक चर्चा परिचर्चासहितको तयारी हुँदै गर्दा सिमानाकाको क्याम्पमा रहनु भएका तात्कालीन प्रजातान्त्रिक योद्धाहरूको बीच पनि चर्चाको विषय बनेको थियो राजा महेन्द्रको जनकपुरको राजकीय भ्रमण । उम्गाउँ क्याम्पमा राजा महेन्द्रमाथि बम हान्ने कुरा चल्यो । भारतका क्रान्तिकारी योद्धा भगत सिंह र चन्द्रशेखर आजाद राज गुरुहरूबाट प्रभावित रहेका दुर्गानन्द झाले प्रजान्त्रका हत्यारा राजा महेन्द्रलाई सिध्याउने प्रण गरे । राजामाथि बम प्रहार गर्ने योजना बन्यो विद्यार्थी सहकर्मीलगायत नेताहरूसँगको बैठक, छलफल र योजना बन्यो । बम प्रहार गर्ने जिम्मा दुर्गानन्द झा र अरविन्द ठाकुरले लिएका थिए । 

उम्गाउँबाट अरविन्द ठाकुर जनकपुरधाम विमानस्थलका लागि र दुर्गानन्द झा जानकी मन्दिरका लागि अलग अलग ग्रिनेड बम बोकेर राजा महेन्द्रमाथि प्रहार गर्न भनेर प्रस्थान गरे । विमानस्थलमा योजना विफल भए जानकी मन्दिरमा प्रहार गर्ने योजना थियो । विमानस्थलमा प्रहरी प्रशासन एवं गुप्तचरहरूको व्यापक परिचालन र कडा सुरक्षा व्यवस्थाको कारण अरविन्द ठाकुर ग्रिनेड बमसहित समातिए । विमानस्थलमा हलचल मच्यो र सुरक्षा व्यवस्था अझै कडा बनाउँदै सजगता अपनाउन थालियो । पूर्ण सुरक्षा दलबलसहित राजा महेन्द्र ल्यान्डरोभर गाडीमा जानकी मन्दिर प्रास्थान गरे । 

जानकी मन्दिर प्रहरी प्रशासन गुप्तचर, सैनिकहरूद्वारा भरिभराउ थियो । त्यो स्वाभाविक पनि थियो । राजाको गाडी जानकी मन्दिरको पूर्वपट्टिको ढोकामा पुगेर रोकिनासाथ ठूलो धमाका भयो । त्यो धमाका नै साहसी दुर्गानन्द झाले प्रहार गरेको बमको थियो । बम कम शक्तिशाली भएको कारण गाडीलाई मात्र क्षति हुन पुग्यो किनभने क्रान्तिको उद्घोष गर्ने उद्देश्यमात्र थियो । बम प्रहार गरेपश्चात दुर्गानन्द झा सुरक्षा घेराबाट बच्न सफल भएका थिए । तात्कालीन क्रान्तिकारीलाई भारतको सिमानाका उम्गाउँमा गएर बच्ने सम्भावना बढी हुने गर्दथ्यो । 

दुर्गानन्द झा पनि सतर्कता अपनाउँदै भोलिपल्ट बिहानै उम्गाउँ पुग्न सफल भइसकेका थिए । यता व्यापक रूपमा प्रहरी दमन हुन थाल्यो । अनुसन्धानको नाउँमा अन्धाधुन्ध धडपकड सुरु भयो । समातिएकालाई निमर्म तरिकाले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिन थालिसकेको थियो । तात्कालीन शासनको क्रुरताले जनकपुरवासी त्राहिमाम थिए । 

यो क्रम निरन्तर चल्दै गर्दा दुर्गानन्द झासम्म खबर पुग्दै थियो र उहाँ मानसिक रूपले विचलित हुनुभयो । उहाँलाई मैले गरेको अपराधको सजाय निर्दोषहरूले भोग्नु परेको भन्दै अत्यन्तै मर्माहत बनायो र आफूलाई गिरफ्तारी दीई जस्तोसुकै सजाय भोग्नको निम्ति तयार भई जयनगरबाट रेलमा चढेर जनकपुर फर्कदा नेपालको सिमानाकामा पर्ने पर्बाहा रेल्वे स्टेसनमै उहाँलाई गिरफ्तार गरी जलेश्वर कारागार पु¥याइयो । भोलिपल्ट महोत्तरीको पर्कौलीमा रहेको सैनिक व्यारेकमा लगेर हेलिकप्टरद्वारा काठमाडौं लगियो र केन्द्रीय कारागार सुन्धारामा राखियो । त्यसपछि उहाँलाई २०२० माघ १५ गते मृत्युदण्ड दिइयो । यस्ता वीर योद्धाप्रति हामी सबै नतमस्तक हुनैपर्छ । 

शहीद दुर्गानन्द झा जसले मृत्युको सजाय आफैं स्वीकार गरेका थिए । उनले आफ्नो राजनीतिक क्रान्तिको आस्था र प्रतिबद्धतालाई आफ्नो जीवन र परिवारभन्दा महŒवपूर्ण मान्दै आहुति दिने प्रण गरेका थिए किनभने दुर्गानन्द झाको एउटा नै सपना थियो देश र समाजमा हुने गरेको शोसनबाट मुक्त बनाउने प्रणालीको स्थापना । वास्तवमा यो गणतन्त्र दुर्गानन्द झा जस्तै महान सपूतहरूको सहादतको परिणाम हो । 

तात्कालीन विशेष अदालतको फैसलामा मृत्युदण्ड भनिएको थियो तर ब्राहृमणलाई सकेसम्म मृत्युदण्ड नदिन राजा महेन्द्रके उनलाई माफी मगाउने प्रयास गरेका थिए । राजा समक्ष माफी मागेपछि मृत्युदण्डलाई आजीवन कारावासमा परिणत गर्न सकिने संवादलाई दुर्गानन्द झाले अस्वीकार गर्दै भनेका थिए ‘निरंकुश र अन्यायको विरुद्ध लड्ने मधेस पुत्र कहिल्यै शिर झुकाउँदैन ।’ जो निरंकुशता, अन्याय, उत्पीडन र कूरीति, कुसंस्कारको विरुद्ध लड्न तयार हुन्छ ऊ कहिल्यै पनि झुक्दैन बरु आफ्नो ज्यानसमेत आहुति दिन तयार हुन्छ । 

यही विद्रोहको परम्परा कायम राख्दै सैयौं युवा विद्यार्थी निरंकुशताको विरुद्धमा उत्रिए । दुर्गानन्दको पदानुशारण गर्दै कामेश्वर र कुशेस्वर दाजुभाइ जस्ता सपूतहरूले पनि सहादत वरण गर्न पुगे । २००७ सालको क्रान्तिमा होस् वा २०१५ सालको प्रथम निर्वाचन वा पञ्चायत कालभरि न त कम्युनिष्ट, न पञ्च मधेसवादी दलको त नामैनिशान नभएको अवस्था थियो तराई क्षेत्रमा । २००७ सालदेखि कांग्रेसको एकक्षत्र वर्चस्व रहेको थियो । दुर्गानन्द झालगायतका युवा तरुणहरूको बलिदानले मधेस प्रजातन्त्रवादीको प्रेरणाको पुण्यभूमिको रूपमा पहिचान स्थापित गराउन सफल भएको हो । 

आजको यो परिवर्तनका पछाडि अनेक सपूतहरूको त्याग छ । ती परिवर्तनका वास्तविक अधिकारीहरू पुजनीय छन्, वन्दनीय छन् । मुलुककै पहिलो गणतान्त्रिक शहीद दुर्गानन्द झा मधेस पुत्र हुन् । दुर्गानन्द झाको जन्मस्थल जटहीमा नेपाल भारतको सिमानामा दुर्गानन्द द्वार निर्माण गरिएको छ त्योबाहेक उहाँलाई अन्य सम्मान भएकाके पाइँदैन । 

शहीद दिवसका दिनमात्र शहीदलाई सम्झिने परम्परा त्यागनुपर्छ र सधैं सम्झिनुपर्छ । समाजमा विद्यमान अन्यायविरुद्ध उनीहरूले जीवनको आहुति दिएका हुन् तर फेरि पनि शासकीय विधिमा अन्यायकै अनुभूति भइरहेकै छ । दुर्गानन्द शहीदमात्रै होइनन् गणतन्त्रको पथप्रदर्शक पनि हुन् उनको स्मरण गर्नु हामी सबैको कर्तव्य हो । 

सुगा, महोत्तरी । 


Views: 296