13th April | 2021 | Tuesday | 8:01:08 PM

वैदेशिक लगानी : केमा लिने, केमा नलिने ?

शान्तिकृष्ण अधिकारी   POSTED ON : माघ २२, २०७७ (९:०९ AM)

वैदेशिक लगानी : केमा लिने, केमा नलिने ?

नेपाल सरकारले कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णय केहीअघि गरेदेखि नेपालको कृषिक्षेत्र र आर्थिकक्षेत्रमा हलचल पैदा भएको छ । कृषिमा वैदेशिक लगानी अपरिहार्य भन्ने र ल्याउनै हुँदैन भन्नेहरूका बीचमा ठूलै विवाद हुन थालेको पाइन्छ । विदेशको सहायताविना नेपालको विकास असम्भव देख्नेहरूका बीचमा र आफ्नो विकास आफैं गर्नुपर्छ भन्नेहरूका बीचको द्वन्द्वले सामान्य नागरिकमा भ्रम पैदा गरेको छ । कतिपय किसानले त सरकारको यो निर्णयविरुद्धमा आन्दोलन आरम्भ गरिसकेका छन् ।

नेपालमा एकथरि विद्वान् छन्–जो विदेशमा पढेर आएका छन् । अर्थशास्त्रका ठूलाठूला ठेली पढेका छन् । उनीहरूले पढेका शास्त्रमा विकासोन्मुख वा विकासको मार्गमा अघि बढ्न नसकेका मुलुकहरूले विदेशी सहयोगमा योजना–परियोजनाहरू सञ्चालन गर्नुपर्छ भन्ने लेखिएको छ । विकसित मुलुकहरूको सहयोग विना साना तथा कमजोर अर्थतन्त्र भएका मुलुकहरूले पछिल्लो विकासक्रमलाई पछ्याउन सक्दैनन् भन्ने मान्यता छ । यिनै मान्यताका आधारमा नेपालमा वैदेशिक लगानी भित्र्याउने होडबाजी चल्ने गरेको छ, त्यो आवश्यक हो कि होइन भन्ने कुनै मूल्यांकन गरिँदैन । हाम्रा अर्थशास्त्रीहरूको निक्र्यौल स्वामी हरिदासले बिहान–बिहान धार्मिक कार्यक्रममा भन्ने गरेको एउटा कथासँग ठ्याक्कै मिल्दो देखिन्छ ।

स्वामी हरिदास भन्छन्–गाउँमा एकजना बिरामी भएपछि वैद्यलाई बोलाउन बिरामीका मान्छे आए । वैद्यले आफ्ना एकजना सहयोगी लिएर केही औषधिसहित बिरामी भएको ठाउँमा गए । बिरामीको नाडी छामे, छाती–पेट आदि छामछुम गरे । कोठामा यताउता हेरे । अनि भने–तिमीले हिजो धेरै चना खाएछौं, त्यही चनाले तिमीलाई बिरामी पा¥यो । अब चना खान कम गर, स्थिति त्यति धेरै खराब छैन । एक÷दुईदिन औषधि खाएपछि ठीक हुन्छ । ल यो औषधि खाऊ, निको हुन्छ ।

वैद्यका सहयोगी छक्क परे, गुरुले चना खाएको कसरी थाहा पाए होलान् भन्ने उनको मनमा कैतुहल जाग्यो । फर्कँदा बाटामा सोधे–होइन गुरु, त्यो बिरामीले चना खाएको तपाइँले कसरी थाहा पाउनुभयो । गुरुले भने–हेर बाबु, बिरामी जाँच्न जाँदा हामीले त्यहाँको वातावरण, अवस्था र परिस्थिति हेर्नुपर्छ । कोठाको यताउता हेर्दा त्यहाँ चनाका बोक्रा देखिन्थे, त्यसैबाट मैले त्यो अनुमान लगाएँ ।

अर्को दिन कुनै बिरामीलाई हेर्नु प-यो भन्दै गाउँबाट वैद्यलाई लिन आए । संयोगवश, वैद्य बाहिर गएको बेला प¥यो । वैद्य नभए तपाइँ नै भए पनि हिँड्नुस् भन्दै सहयोगीलाई अनुरोध गरे । उनलाई खोजे जस्तै भयो । गए, बिरामी हेरे, कोठाको यताउता हेरे, त्यहाँ घोडाको काठी देखे । अनि बिरामीलाई भने–हेर, तिमीले हिँजो घोडा खाएछौं, त्यसैले बिरामी प¥यौ, अबदेखि घोडा नखानू ।

कतै हाम्रा अर्थशास्त्रीहरूले यस्तै निर्णय त गरिरहेका छैनन् भन्ने संशय पैदा हुन थालेको छ । विकासका लागि वैदेशिक लगानीको आवश्यकता पर्दछ भनेर पढेका, देशविदेश देखेका अर्थशास्त्रीहरूले कतै त्यही घोडा खाएछौ भनेझैं चाहिँदो नचाहिँदो क्षेत्रमा विदेशी लगानी भिœयाउने सल्लाह सरकारलाई दिइरहेका त छैनन् ? नत्र नेपालले वैदेशिक लगानी भित्र्याउन थालेको वर्षौं भइसक्यो तर जे आशा देखाएर ल्याइन्थ्यो सो अनुरूपको प्रतिफल नेपाली जनताले पाएको अनुभूति आजसम्म गर्न सकिएको छैन । एनसेलकै उदाहरण काफी छ, जसले नेपाली जनताकै कमाइ खर्बौंमा विदेश लगेको सबैलाई जानकारीमै छ । विना उत्पादनको व्यापारमा त यो हालत छ भने उत्पादनमुखी क्षेत्रमा गरिएका वैदेशिक लगानीको अवस्था के होला यसैबाट अनुमान लगाउन सकिन्छ ।

अर्कातर्फ पुरातनवादी सोच त्यत्तिकै हावी छ । विदेशी प्रभावलाई देशभित्र छिर्न दिनै हुँदैन भन्ने मान्यता बोकेकाहरू त्यत्तिकै छन् । अरूले जे गरे, त्यही गर्नुपर्दछ भन्ने छैन । नेपालको मूल स्रोत कृषि हो र कृषिकै विकासद्वारामात्र नेपालको विकास गर्न सकिन्छ, जसमा सरकारले लगानी बढाउनुपर्छ भन्ने धारणा व्यापक छ । पृथ्वीनारायण शाहको विदेशीको प्रविधि सिक्नु तर विदेशीलाई प्रवेश नदिनु भन्ने विचारसँग सहमत भएर विदेशी र विदेशी लगानीलाई पूर्णतः निषेध गर्नुपर्ने मान्यता राख्नेहरू ठूलै संख्यामा भेटिन्छन् । 

विश्वव्यापीकरणको यो युगमा नेपालमात्रै उल्टो मार्ग तय गरेर निश्चित रूपमै अघि बढ्न सक्दैन । व्यापार र अर्थशास्त्रका नयाँ नयाँ सिद्धान्तहरूको अवलम्बन गरेर जता हावा चलेको छ त्यतै पाइला बढाउनु नै हितकर हुनेमा कुनै शंगा छैन तर यही नीति लिने नाममा जथाभावी निर्णय गर्दा भने नेपाल र नेपालीका लागि म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो भइरहेको छ । आवश्यक के हो र अनावश्यक के हो भन्ने विचार विमर्श नगरी मेरो पालाको सरकारले यति अर्ब विदेशी सहायता ल्याउन सफल भयो भन्ने कुरामा घमण्ड गर्ने बानीले गर्दा नै प्रत्येक नेपालीको टाउकामा जन्मने बित्तिकैदेखि ऋणको भार पर्ने गरेको छ ।

सन् २०१६ मा प्रत्येक नेपालीका टाउकामा २१ हजार ६ सय ३३ को भार थियो भने सन् २०१७ मा २४ हजार १ सय ४७ थियो । यो बढ्दै गएर अहिल गर्भबाट निस्कने बित्तिकै नेपाली बालकले ४४ हजार ८ सय ९२ ऋण बोक्नुपर्ने भएको छ । आफूले नगरेको गल्ती, आफ्ना बाबुआमाले नलिएको ऋण तर आफ्ना देश सञ्चालकका महाभूल एवं भ्रष्टाचारका कारण धर्तीमा आउँदै नआएको मानिसलेसमेत अर्काको ऋणी बन्नुपर्ने अवस्था यही जथाभावी वैदेशिक सहायता लिन नै भएको हो । यस्तै गल्ती गर्दै जाने हो भने देशको अर्थतन्त्रको अवस्था चाँडै भयावह हुने निश्चित छ ।

नेपाल अहिले आत्मनिर्भर हुन थालेको भनेको माछा, मासु र दुग्ध पदार्थमा हो । यी क्षेत्रमा लाखौं युवा समाहित छन् र यी पदार्थहरूको व्यवसायबाट हजारौं परिवार पालिएका छन् । कतिपय अवस्थामा दूध नबिकेर बाटोमा फालिएका समाचार त आएका छन् तर यसमा सरकारको थोरैमात्र प्रयास बढाए व्यवस्थित हुन सक्दछ । अहिले वैदेशिक लगानी आउने भनेको यिनै तीन पदार्थमा हो जसले थोरै लगानीबाट रोजगारमा रहेका र व्यवसाय गरेका नेपालीहरूलाई विस्थापित गर्ने हो ।

के सरकारले नेपालका बाँझा जमिन जोत्नका लागि कृषिमा वैदेशिक लगानीलाई आकर्षित गर्न खोजेको हो ? के अब विदेशबाट आउने पैसाले जुम्ला र मुस्ताङबाट सहजै काठमाडौं वा शहरी बजारमा पुग्न नसकेको स्याउलाई खरिद बिक्री हुने व्यवस्था गर्न लागेको हो ? सडक अभावका कारण गाउँगाउँमै कुहिएका तरकारी तथा फलफूललाई सहज बजार व्यवस्थापन गर्न कृषि सडक निर्माण वा अन्य त्यस्तै पूर्वाधार निर्माणका लागि विदेशीहरूले लगानी गर्न लागेका हुन् ? निश्चय होइन । 

जुन बजार व्यवस्थित भइसकेको छ, त्यसैमा हात हाल्ने हुन् विदेशीले । जुन कठिन छ, त्यसलाई सहज बनाएर नयाँ बजार खोज्न पक्कै ती आउने होइनन् । त्यसैले हचुवामा निर्णय गरेर विदेशी भित्र्याउने खेल भयो भने अबका एक दुई वर्षमै अरू पाँच सात लाख बेरोजगार थपिने निश्चित छ ।

नेपालमा जेमा चाहिन्छ, त्यसमा वैदेशिक लगानी आउँदैन । जुन कुरामा आवश्यक छैन, त्यसमा पैसाको खोलो बग्ने गरेको छ । कृषिक्षेत्रको माछा, मासु र दूधमा केही मिहिनेत गर्ने हो भने नेपाली आफंै आत्मनिर्भर हुन सक्दछन् तर त्यसमा विदेशीको आँखा परेको छ । अर्को क्षेत्र राजनीति हो, राजनीति नबुझेको र नगर्ने नेपाली भनेको शायदै भेटिन्छ, यसमा विदेशीको पैसा आवश्यक छैन । राजनीतिक क्षेत्रमा विदेशबाट एक पैसा पनि नआए देशले अग्रगति लिने थियो भनेर आमनेपाली भन्ने गर्दछन् तर राजनीतिक दलहरू र नेताहरूका लागि विदेशी पैसाको ओइरो छ भन्ने निरन्तर सुनिन्छ ।

प्रयास गरौं, सफल भइन्छ । मिहिनेत गरौं, सफलता हात लाग्छ । यी दुई क्षेत्रमा आफ्नै पैसामात्र प्रयोग गरौं, आत्मनिर्भर बनिन्छ । यदि उत्पादनमूलक उद्योगहरू जसले नेपाली कच्चा पदार्थ, श्रम र सीप उपयोग गरेर रोजगारी सिर्जना गर्दछन्, त्यस्तालाई सहज बाटो खोलौं । नेपालीको सामथ्र्यले स्थापना गर्न नसक्ने ठूला उद्योगहरू स्थापनामा विदेशी तम्सिन्छन् भने स्वागत गरौं । जे गर्दा पनि नेपाल र नेपालीको भलो चिताएरमात्र गरौं तर ६५ प्रतिशत जनता आश्रित कृषिक्षेत्रमा लहडका भरमा र केही स्वार्थी व्यक्तिहरूको हितमा हुने गरी कुनै निर्णय नगरौं ।


Views: 287