13th April | 2021 | Tuesday | 6:14:40 PM

शालिनदी र बज्रयोगिनीको संयुक्त दर्शन

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : माघ २३, २०७७ (८:५६ AM)

शालिनदी र बज्रयोगिनीको संयुक्त दर्शन

स्वस्थानी व्रतारम्भ सुरु भएको छ । साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदीक्षेत्र छ । शालीनदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ क्षेत्र हो । पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दूधर्मावलम्बीहरूले घरघरमा श्री स्वस्थानीदेवीको व्रतउपासना गर्ने, स्वस्थानीकथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । 

माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजाआराधना र स्वस्थानीदेवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ । अघि यहीँ व्रतउपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् । 

शालीनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्यदेशकी रानी भएकी थिइन् । गोमानामकी ब्राहृमणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालीनदी क्षेत्रमा बसेर गर्ने गर्छन् । वर्षेनी हजारौं व्रतालुहरू शालीनदीमा स्नान गर्ने गर्छन् । हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले रही, नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन् । 

व्रतप्रतिष्ठा गर्दै माघशुक्ल पूर्णिमामा श्रीस्वस्थानीदेवीको व्रत सांगे गरी विशेष यज्ञसमेत गर्छन् । साँखुलाई पहिले लावण्यदेश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र । कुनैबेला यहाँ शंखदेवनामक राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यसअर्थमा यहाँको नाम शंखपुर र पछि शंखरापुर भनिन थाल्यो । शंखरापुर पछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो । 

शालीनदीक्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूला–ठूला पाटी र सत्तलहरू छन् । यहाँ सधैंजसो कथाप्रवचनहरू भइरहन्छन् । ४ सय मिटरजति दक्षिण समथर क्षेत्रमा चन्द्रावतीको शिला छ । स्वस्थानी कथाअनुसार यहाँं चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा–हुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) छ । स्वर्गदेखि अप्सराहरू आएर यहाँ माघस्नान र श्रीस्वस्थानीदेवीको पूजाउपासना गरेकाले यो क्षेत्र पुण्यक्षेत्र भएको हो । यसैक्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानीदेवीको उपासना गरेकी हुन् । स्वस्थानीदेवीको स्वरूप यस्तो छ । 

सुवर्णवर्णकी, तीन नेत्रधारी, प्रसन्नमुद्रामा रहेकी, कमलनयनी, सिंंहासनमा बसेकी, ४ हात भएकी देवीले सम्पूर्ण भक्तहरूको मनोकांक्षा पूरा गर्छिन् भन्ने जनविश्वास छ । एक हातमा नीलकमल, अर्काे हातमा शंख र अर्काे हातमा ढाल अनि अर्काे हातमा वरदमुद्रा लिएकी देवीले आमभक्तहरूको सदिच्छालाई साकार पार्छिन् । स्वस्थानीको शाब्दिक अर्थ हुन्छ– आआफ्नो स्थानमा बसेर आआफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्युत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आआफ्नो पदीयआचरण, मर्यादाअनुकुलको विधिव्यवहार गर्न सकेमा सबैतिरको कल्याण हुन्छ ।

साँखु (शंखरापुर) प्राचीन समयदेखि नै पावनक्षेत्र हो । बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिंग मध्येको पावन ज्योतिर्लिंगेश्वर मन्दिर छ । परम्परागतशैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको दुईतले कलात्मक मन्दिरलाई ज्योतिर्लिंगेश्वर मन्दिरको नामले चिनिन्छ । नित्य पूजा–आरती भइरहने कैलाश क्षेत्र हो । 

गणेश, शिव, देवीहरूका मन्दिर पनि रहेको यो क्षेत्रमा शालीनदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरूको भीड लाग्छ । शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्पराअनुसार शिवजीे विराजमान रहनुभएको यो क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । वैशाखशुक्ल पूर्णिमाका दिन यस मन्दिरपरिसरमा विशेष पर्वपूजा हुने गर्छ । यस वर्षको स्वस्थानी आरम्भ यही माघ १५ गतेदेखि भएको छ । १ महिनासम्म भनिने स्वस्थानी सत्ययुगीन इतिहास हो ।

कलियुगमा सदा यज्ञ, हवनादि कार्य सम्भव हुँदैन । पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरूले पुष्टि गरेका छन् । स्वस्थानी श्रवण, विभिन्न क्षेत्रमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्वापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुनेहुन्छ । स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, वस्त्र, सुन, धान्यादि वस्तुहरूको दानले तन, मन, धन सबै पवित्र बन्छ । माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्कामभावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघस्नान दिव्यधाम प्राप्त हुने शास्त्रहरूले गर्जन गरेका छन् । 

वज्रयोगिनीको चर्चा गर्दा सृष्टिको उषाकालमा विष्णुका पसिनाबाट उदय भएका मधुकैटभ सृष्टिकर्ता ब्रहृमाप्रति जाइलागे । ब्रहृमाजी डराएर योगनिद्रामा रहेका विष्णुलाई जागा भएपछि त्रिदेव ब्रहृमा–विष्णु–शिवले संयुक्त रूपमा स्तुति गरेकाले देवीको नाम योगिनी रहेको र योगिनीदेवीको कृपाबाट मोह र क्रोधरूपी मधुकैटभलाई वध गर्न सफल भए । यी देवीको निवास स्थानलाई योगकुट पर्वत भनिन्छ । तान्त्रिक विधिबाट नित्य वज्रयोगिनीको पूजा हुने गर्छ । काठमाडाँै खाल्डोबाट चोभारको डाँडो काटी पानी बाहिर पठाउन र स्वयम्भू स्तूपको निर्माण गर्न मञ्जुश्रीलाई प्रेरणा दिने देवी यिनै हुन् भन्ने विश्वास गरिन्छ । वज्रयोगिनीदेवी एक प्रसिद्ध शक्तिपीठ हुन् ।

काठमाडौं उपत्यकाको उत्तरपूर्व मणिचूडडाँडोमा वज्रयोगिनी मन्दिर छ । काठमाडौंबाट करिब २२ किमीको दूरीमा साँखुबजार छ । साँखुबजारदेखि उत्तर उकाली चढ्दै गएपछि वज्रयोगिनीमन्दिर पुग्न सकिन्छ । यो मन्दिर नेपाली शैलीमा बनेको छ । तीनतले यो मन्दिर अलि एकान्त स्थलमा छ । वरिपरि घनाजंगल छ । शहरलाई ८ देवीहरूले रक्षा गरेका छन् भन्ने जनश्रुति छ । लिच्छविकालको अभिलेखले साँखुशहर बौद्धतीर्थ हो भन्ने पनि जनाउँछ । हिन्दूहरूले प्रसिद्ध वज्रयोगिनीलाई काठमाडौंको दक्षिणतर्फ रहेकी दक्षिणकालीकै रूपमा मनाउँछन् । 

वज्रयोगिनीको अर्काे नाम डाकिनी पनि हो । हिन्दूहरूले ६४ ज्योतिर्लिंगलाई शिवलिंगका रूपमा विशेषगरी मनाएझँै ६४ योगिनीका रूपमा भगवतीलाई मनाउँछन् । ६४ योगिनीमा नैरात्मायोगिनी, खड्गयोगिनी, विद्यायोगिनी आदि प्रमुख हुन् । देवमालावंशावलीका अनुसार वज्रयोगिनीको मन्दिर सन् ८२४ मा निर्माण भएको हो । नेपालमा रहेका विभिन्न पीठहरूको अध्ययन गर्दा हालसम्म अन्यत्र क्षेत्रमा योगिनीदेवीको मन्दिर भेटिएको छैन । स्कन्दपुराण, हिमवत्खण्ड नेपालमाहात्म्यमा ‘ने’–नामक मुनिले योगिनीदेवीको विशेष उपासना गरी देवीको वरदकृपाबाट नेपालको स्थापना गरेका हुन् भन्ने उल्लेख भएको पाइन्छ । यसअनुसार ने मुनिले नेपालको स्थापना गर्न यिनै देवीको कृपाप्रसाद प्राप्त गरेको आकलन सहजै गर्न सकिन्छ ।

तन्त्रशास्त्रमा वज्रयोगिनीको स्वरूप बताइएको छ । देवीको स्वरूप र ध्यान मुद्रा फरकफरक छ । शरीरमा छिरबिर रंगको नरम पहिरन भएकी यी देवीको मुख भने पूर्णचन्द्र जस्तो छ । मृगनयनी, रसिला ओठ, सिन्दूर र चन्दनलेपन गरेकी, अति षोडशीरूप भएकी, कल्पवृक्षमुनि बसेकी, रत्न सिंहासनमा विराजमान भएकी, देव्रेहातमा त्रिशूल घुमाइरहेकी, तीननेत्रले शोभित, गुञ्जाफल लिएकी देवीको स्वरूप विचित्रको देखिन्छ । कँैची र नरमुण्डमालाले शोभित भएकी देवी अग्ली छिन् । घोररूप भएकीले डरलाग्दीे देखिन्छिन् । चन्द्रमुखीदेवीको मुखमा मासु, रगतसमेत अड्केको प्रतित् हुन्छ ।

धर्ममुद्रामा रहेकी वज्रयोगिनीदेवीले कमल र कलश धारण गरेकी छिन् । साँखुमा बस्नेहरू यी देवीलाई आफ्नो कुलदेवीका रूपमा हेर्छन् र नित्य उपासना पनि गर्छन् । अघि मणिचूडपर्वतबाट यिनको उदय भएको हो भन्दछन् । वज्रयोगिनी मन्दिर परिसरमा प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्छ । यो मेला एक हप्तासम्म चल्छ । योगिनीका दुई दिदी–बहिनीहरू छन् । माथिल्लो सत्तलमा रहेकी देवीलाई खटमा राखेर साँखुबजारमा ल्याइन्छ । ७ दिनसम्म साँखुबजारमा चहलपहल बढी हुन्छ । वरिपरिका असंख्य श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउँछन् । विशेष गरी स्थानीय नेवारसमुदायमा चाहिँ यो एउटा विशेष पर्व नै हुन्छ । 

देवीलाई बजारमा ल्याउँदा सिंहिनी, ब्याघ्रिणी र त्यहाँ रहेको बुद्धस्तूपलाई पनि खटमा राखेर ल्याइन्छ । वज्रयोगिनी मन्दिरसँगै रहेको चैत्य गुँ विहारको चैत्य मानिन्छ । अघि लिच्छविकालमा वज्रयोगिनी रहेको स्थानलाई गुंँ विहार भन्ने गरिन्थ्यो । प्राचीन समयदेखि आम नेपालीहरू हिन्दू र बुद्धधर्मलाई आत्मासात् गर्थे भन्ने स्पष्टोक्ति यसबाट मिल्छ । वज्रयोगिनीदेवी मन्दिरनजिकै रहेकी सरस्वतीदेवीको पनि पूजाउपासना गर्ने गरिन्छ । खासगरी वसन्तपञ्चमीमा त्यहाँ केटाकेटीहरू देवीको पूजा गर्न जान्छन् । विद्यालय परिवार वनभोज, मनोरञ्जन आदि कर्म पनि त्यहाँ पुगेको देख्न सकिन्छ । 


Views: 102