13th April | 2021 | Tuesday | 6:22:05 PM

वीरभद्रको वीरता : शक्तिमा होइन कर्ममा

पुरुषोत्तम दाहाल   POSTED ON : माघ २३, २०७७ (९:०२ AM)

वीरभद्रको वीरता : शक्तिमा होइन कर्ममा

मानिसहरूको योग्यता, योजना र कामको संयोजन अरू कसैबाट हुँदैन आफैंबाट प्रारम्भ हुन्छ । कर्मशील मानिसले आफ्ना पुर्खाको गौरवसँग आफ्नो वर्तमानलाई जोडिरहेको हुन्छ । भविष्यको सुरक्षा गर्न यसो गर्नु जरुरी पनि छ ।  हजुरबाले घ्यू खाए मेरो हात सुँघ भनेर बस्नेहरूको अहंकार समाजका लागि जति विडम्बनापूर्ण मानिन्छ त्योभन्दा बढी गौरवका गाथाहरूसँग कर्म र उद्यमलाई जोड्दै अगाडि बढ्नु प्रेरक हुन्छ । यो प्रेरक प्रसंग हो वीरु अर्थात् वीरभद्र आचार्यको । 

वीरभद्र आचार्य यतिखेर पूर्वी नवलपरासीको नारायणी किनारमा भेटिने गर्छन् । उनी त्यहाँ बालुवा झिक्न, रोडाढुंगा दोहन गर्न वा माछा मार्न पुगेका होइनन् । पौडी खेल्ने सोख उनमा त्यति छैन । उनी संगीतकार हुन् आफैं गीतको रचना गर्छन् र आफँं गाउँछन् पनि । उनको यो सिर्जनात्मक काम व्यवसाय होइन । नारायणी नदी किनारमा बनेको वटवृक्षको चौतारोमा बस्दा उनलाई आनन्द लाग्छ । एकान्तताले मानिसको मनोद्वेग जति रोक्छ त्यो विपरीत भयो भने विस्तार र विदु्रप पनि हुनसक्छ । तर, वीरभद्रको त्यो सायंकालीन सन्ध्या वा प्रभातकालीन साधनाले दिनभरको सिर्जना र कर्मका लागि ऊर्जा प्रदान गर्दछ ।

हामी पुग्दा वीरभद्र बाख्राको आधुनिक खोरमा व्यस्त थिए । नवलपरासीको गैंडाकोट जहिले पनि कर्मशीलहरूको भूमि हो । त्यहाँको भिडिआरसी र अन्य स्थापित संस्थाहरू त्यो कर्मशीलताका जीवन्त साक्षी हुन् । विजय विकास एफएमको ख्याति यहीँबाट चुलिएको छ । चारैतिर मोटरमार्ग व्यवस्थित छ । परबाट हेर्दा ठूलो नदी किनारको यो भूमि बालुवा र ढुंगाले भरिए जस्तो लाग्छ । भृकुटी कागज कारखानाको स्थापनाले यो भूमिलाई आकर्षक बनाउन पुगेको हो र पूर्वपश्चिम राजमार्गका यात्रीहरूले पूर्वबाट नारायणी पुल तरेपछि कारखानाको अवस्था बुझ्न सक्थे तर अब त्यो हिजोको कुरा भयो । आज केही फरक छ ।

 त्यो एकप्रकारको बन्जर जस्तो भूमिलाई नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी सूर्यभक्त अधिकारीले लमजुङदेखि आएर ऊर्वर बनाउन लाग्नुभएको थियो । पछि बाग्लुङबाट आउनुभएका तिलकप्रसाद सापकोटा अनि कास्कीबाट झरेका वर्तमान पुस्ताका अत्यन्त सहज र छन्द विधाका उद्भट प्रतिभाशाली कवि गोविन्दराज विनोदीहरूले यो भूमिलाई रसमय बनाउनुभयो । अरू धेरै स्वतन्त्रताका पहरेदारहरूले यो भूमिलाई विशिष्टीकृत गर्नुभएको छ । गैंडाकोट नगरपालिकाको एक कुनो वेल्डिहाको नदी किनारमा बाख्रा खेती गरेर बसेका छन् वीरु । उनी श्रीसम्पत्तिका अभावमा, खानलाउन नपुगेर अनि शिक्षाको उज्यालो नपाएर वा रोजगारी नमिलेर बाख्राको खेतीमा जुटेका होइनन् । उनका पिता पुर्खा खानदानी थिए ।

नेपालको राजनीतिक इतिहासमा टंकप्रसाद आचार्यको नाम जहिले पनि स्वर्णाक्षरले लेखिन्छ । खासगरी विसं १९९० पछि २००७ सालसम्मको राजनीतिको पाठका हरेक पन्नामा टंकप्रसाद आचार्य देखिनु हुन्छ । २०१३ सालमा प्रधानमन्त्री हुनुभएपछि राजनीतिको चक्रव्यूहले उहाँको स्थानलाई विपरीत बनाउँदै गयो तर पनि उहाँले स्वतन्त्रताको दियो निरन्तर बालिरहनुभयो । टंकप्रसाद आचार्यलाई इतिहासले जिउँदो शहीद बनाएको छ । प्रजापरिषद्को नेता, राणा शासनको क्रूर अन्यायविरुद्धको यात्रामा संलग्न हुँदा फाँसीको सजाय पाउने महान् शहीदहरू ः शुक्रराज, धर्मभक्त दशरथ चन्द र गंगालालसँगै उहाँको नाम प्राणहरणको सूचीमा थियो । तर सामाजिक संस्कारका कारण उहाँ फाँसीमा पुग्नु भएन । उहाँ र रामहरि शर्माको जात काढियो र जेल हालियो । 

गणेशमान सिंहसहित अनेक स्वतन्त्रता आन्दोलनकारीहरू जेलनेल यातनासहित श्रीसम्पत्ति गुमाउनेमा पर्नुभयो । जेलमा नै रहनुभएका आचार्यलाई नेपाली राष्ट्रिय कांग्रेसले विसं २००३ सालमा संस्थापक सभापति बनाएर पार्टी गठन ग¥यो । तर अहिले वीरुको गुनासो छ : संस्थापक सभापति टंकप्रसादलाई कांग्रेसले किन सम्झँदैन ? यो प्रश्न विवेच्य हुनसक्छ र विचारणीय पनि ।

इतिहासका तिनै स्मरणीय पात्रका कान्छो छोरा हुन् वीरभद्र आचार्य । उनी तीन दाजुभाइ र चार दिदीबहिनीमध्ये कान्छा नै हुन् । २०३८ देखि २०४० सालका बीचमा त्रिवि कीर्तिपुरको स्नातकोत्तर व्याचमा रहेका हामी धेरै साथीहरू राजनीति, पत्रकारिता, प्रशासन, शिक्षा र केही थोरै व्यापार व्यवसायमा संलग्न हुँदैआएका छन् । वीरभद्र भने अन्तर्राष्ट्रिय संस्था र राष्ट्रिय संस्थाहरूमा  कन्सल्ट्यान्ट भएर निकै वर्ष काम गर्न पुगे । उनी व्यवस्थापनमा राम्रो अंकका साथ स्नातकोत्तर हुन् । 

तर, किन हो वीरु जागिरभन्दा जमिनसँग सम्मोहित भए र उनी करिब एक दशकदेखि बाख्रापालनमा सक्रिय छन् । कैलाश सन्यासाश्रमसँगै उनको फार्म छ । छेउमा संस्कृतको, योगको पठनपाठन चल्छ । बिहानै वेदध्वनिको संगीतमय वातावरणले आच्छादित त्यो क्षेत्रमा करिब चार बिघाहामा फैलिएको जमिनमा तीन सय बोका, बाख्रा र पाठाहरूको समवेत ध्वनि निकै आकर्षक लाग्दछ वीरुलाई । धेरैलाई लाग्दो हो त्यहाँ त मारकाट हुन्छ, गन्ध दुर्गन्ध फैलिन्छ होला । यस्तो सोच्नु असत्य होइन तर यहाँ बाख्राको खेतीको अर्थ मासुको व्यापार भन्ने हुँदैन । 

वीरुले हामीलाई जानकारी दिए : अष्ट्रेलियाबाट ल्याइएका उन्नत बोका र बाख्राबाट सय प्रतिशत, पचहत्तर प्रतिशत र आंशिक विकास गरिएको बोका र बाख्रा उत्पादन र वितरणको काम गरिन्छ । अहिले करिब तीन सय हाराहारीमा उनका टाट्नामा बाख्राहरू छन् । यहाँबाट करिब आठ सय व्यक्ति र परिवारले आफूलाई बाख्रापालनमा प्रवद्र्धित गराएका छन् । करिब ६ करोडको लगानीमा सुरु भएको यो खेती सात वर्ष भयो । विगत चार वर्षदेखि राम्रो आम्दानी भइरहेको छ तर यहाँ मासुको व्यापार हुँदैन, काट्ने काम यहाँ गरिँदैन ।

बर्दियाबाट बुटवल बास बसेर आएका म, शान्ता र सहयोगी भाई सुमन भोकको सामना गर्दै थियौं । वीरुकी सहधर्मिणी लीलाले आग्रह गर्नुभयो ः पहिले भोजन अनिमात्र गोठ । वीरुकी दिदी पुष्पा पनि काठमाडौंबाट आइपुग्नुभयो । उहाँ हामी धेरै मध्येसँगै समकक्षी थियौं । टंकप्रसादको बानेश्वर हाइटको निवासबाट त्यसबेला त्रिवि जानेहरू लस्करै चारजना थिए । पुष्पा विज्ञानको विद्यार्थी । अरू दुईजना भाउजूहरू अंग्रेजी र शिक्षामा थिए जस्तो लाग्छ । पुष्पाले संयुक्त राष्ट्रसंघमा जागिर खाँदै गर्दा दुर्घटनामा परेको विवरण कारुणिक रहेछ ।

भोजनलगत्तै हामी बाख्रापालनको क्षेत्रमा पुग्यौं । वीरुलाई देख्नासाथ पाठाहरू उफ्रिँदै उनका गोडामा आइपुगे, बाख्रा र बोकाहरू पनि नजिक आएर टाउको कन्याउन आग्रह गर्न लागे । संसार विचित्र छ, पशु भनेर हुन्छ र ? स्नेहको लीला अपरम्पार छ । सबैमा उस्तै मन र भावना हुन्छ नि । वीरु सबैलाई केही भन्दै मुसार्दै हामीलाई जानकारी दिँदै थिए । मलाई आश्चर्य त के लाग्यो भने डिल्लीबजारको चहकमहकमा जन्मिएकी शहरमा नै हुर्किएकी र शहरमै पढेलेखेकी वीरुकी सहधर्मिणी लीला बडो प्रसन्न चित्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ः यी बाख्रा पाठाहरू हाम्रा प्रिय साथी भएका छन् र मलाई त असाध्य आनन्द लागिरहेको छ । 

कुँडो बनाउने मेसिन चलिरहेको छ, अग्र्यानिक तरकारीको खेतीमा पानी पटाउने काम चलिरहेको छ । बाख्राको बड्कौंलालाई मिहिन मलमा परिणत गर्ने काम र पिसाबलाई बारीमा लगाउने प्रविधि त्यहीँ देखिन्छ । उता धान खेत छ । नजिकै तरकारी । केही फलफूलका बोट । अनि ऋषिहरू बस्ने कुटीजस्तो बास । साठीको दशकमा पुगेका वीरभद्र र हाराहारीकी लीलाको व्यस्त दिनचर्या । दंग छन् वीरु र भन्छन् ः विदेशीहरूको जागिरभन्दा थोरै जग्गा जमिनमा भए पनि स्वदेशको माटोमै केही गर्ने उद्देश्यले म प्रेरित भएँ । 

मैले सोधेँ : त्यति ठूलो इतिहाससहितको राजनीतिक घरानाको मान्छे राजनीतिमा जाँने मन छैन ?

उनी मुसुक्क हाँसे र भने : देश बनाउने, देशको रक्षा गर्ने र जनताको भलो सोच्ने राजनीति हुनुप-यो नि ? घुस खाने, कमिसन खाने, दलाली गर्ने, प्रतिशोध साध्ने, परिवारको र चाकरीदारको झुण्ड पाल्ने, षड्यन्त्रको खेल भएपछि राजनीतिमा कसरी जानु र ? हाम्रा पिता पुर्खाले त आजको राजनीतिको होइन नैतिक आचरणसहितको सिद्धान्तको राजनीति सोचेका थिए । 

कुरा सही थियो वीरुको । हामीले सहमति जनायौँ । चन्दाजीवीहरूको झोले झुण्डलाई राजनीतिकर्मीको पगरी गुताउने संस्कृति मौलाउँदै गएपछि गरीखानेहरूले कसरी राजनीति गर्न सक्छन् र ? अनि बेरोजगार युवाहरूलाई कर्मविहीन अराजकतामा जोड्ने र विदेश पठाउँदै देश बनाउने हावाहल्ला गर्ने राजनीतिमा, गरिखाने र इमानदारीता खोज्नेहरू राजनीतिको त्यस मौलोमा कसरी अड्न सक्छन् र ? 

मैले सम्झिएँ : यसबेला कुनै दिन आतंकका र अराजकताका पर्याय भएका र मन्त्रीसमेत भएका लोकेन्द्र विष्ट दाङमा डे«गनखेतीमा रमाउन पुगेका छन्, नेपालको कम्युनिष्ट आन्दोलनमा माथिल्लो तह हुँदै मन्त्री बनेका त्रिलोचन ढकाल स्याङ्जाको कुनै बारीमा हलो जोतिरहेका छन्, नेपाली कांग्रेसको सांसद र पार्टीको मुख्य सचिव भएका ऋषिकेश तिवारी पर्वतमा लप्सीका बोट उमारेर बसेका छन्, तनहुँमा युवा नेता दयानिधि नराल बाख्रापालनमा व् यस्त हुनलागेका छन्, धादिङका युवा नेता वामदेव अधिकारीको कालिज खेती चम्कन लागेको छ, धनकुटाका पत्रकार मोहन वान्तवा  होटल तथा पर्यटन व्यवसायमा पुगेका छन् भने अर्का टेलिपत्रकार सरोज अधिकारी गौपालन र दुग्ध व्यवसायमा । यी केही प्रतिनिधि पात्रहरू हुन् जो राजनीतिको मौलोमा अनेक पात्रहरूलाई टेको दिँदै विगत लुटाएका आजका किसान र उद्यमी परिश्रमीहरू । वीरु र उनको परिवार यसैकारण सम्मानयोग्य छ । 

हामी यस्तै सोच्दै आज करिब दशजना शेयर सदस्य भएको त्यो बगैंचा फार्म हाउस रिसोर्ट प्रालिको ढोकाबाट बाहिरियौं । के वीरुले सिकाएको र सोचेको राजनीतिको पाठ राजनीतिको झुण्डमा लस्करित बेरोजगार कर्मशीलहरू सिक्न तयार होलान् त ? र, राज्य यसमा सहज र सहयोगी बन्ला ? अनि राजनीतिका खेलाडीहरू यसमा कति विवेकपूर्ण हुनसक्लान् ? भविष्यका लागि यी केही सामान्य प्रश्नमात्र हुन् । 


Views: 531